ती चिसा लेखकसँग बुर्तिबाङबाट छुट्टिएपछि भौतिक भेट हुन नसके पनि 'हाई/हेल्लो' चलिरह्यो। चलिरह्यो पनि के भन्नु, सम्बन्ध बरकरार राख्न मैले फेसबुकमा उनका हरेक पोस्टमा लाइक, लभ रियाक्ट र कमेन्ट गरिराखेँ।
ती लेखक बढी 'पोलिटिकल' पोस्ट राख्थे।
अमेरिकादेखि रुसी राजनीति मात्रै होइन, भारतीय राजनीतिलाई मिहिन रूपमा केलाउँथे। रुस/युक्रेन युद्धबारे आफ्ना धारणाहरू फेसबुकमार्फत सार्वजनिक गर्थे। तर ती चिसा लेखकले मलाई कुनै वास्तै गर्दैन थिए।
एउटा संयोगले बुर्तिबाङ सँगै पुगेर २५ दिन सँगै 'होमस्टे' मा बिताएपछि ती चिसा लेखक मनमनै मन परेका थिए। पूर्ववर्ती सम्बन्धमा बसेका तथाकथित मेरा दुई प्रेमीभन्दा लेखक सफा र खुला हृदयका थिए।
उनी कम बोल्थे, मेरा गफहरू अर्जुन दृष्टि सरह ध्यान दिएर सुन्थे। खाना, खाजा खाँदा पहिला मलाई सोध्थे। कतैबाट साह्रै सानो चिज किनेर ल्याए भने त्यसको भाग मलाई लगाउँथे।
बिहान सबेरै उठिसक्थे। लेखक मलाई जिस्क्याउँथे- 'लोक सेवा पास गरेर अधिकृत बन्ने मान्छे पनि सात बजेसम्म सुत्छन् त?'
लेखक 'नोबेल' तुर्दै थिए। करिब साढे दुई वर्षहरू बिते। तर खै कता हरायो लेखकको त्यो नोबेल?
बुर्तिबाङमै बस्दा सेतो 'एफोर पेपर' मा लेखेको चित्त नबुझेपछि अगेनामा बालिदिन्थे।
म त छक्क परेको थिएँ। कस्ता लेखक हुन् यिनी?
लेखकले उनको नोबेल प्रकाशित नगरे नि मैले चाहिँ अधिकृतमा नाम निकालेँ।
चिसा लेखकको फेसबुकमै बधाई देलान्, अझै मेरो नाम 'मेन्सन' सहितको बधाई नै आउला भनेर कुर्दाकुर्दै रात पर्यो तर लेखकको एउटा सानो शुभकामना सन्देशसम्म आएन।
म भने उनको जन्मदिनमा रातको बाह्र बजेसम्म बसेर 'फर्स्ट बर्थडे विस' गरेर मात्र सुत्दथेँ। नेपालीको नयाँ वर्ष होस् कि अंग्रेजीको 'न्यु इयर', बडा दसैँ होस् वा भ्यालेन्टाइन, लेखकको मेसेञ्जरमा टुङ्ग घण्टी बजाउँथेँ। तर तिहारमा म शुभकामना दिन्न थेँ। मलाई लाग्थ्यो चिसा लेखकले त्यसको आशय बुझुन्।
'कति कुरा नभनेर नै मिठा-मिठा मिठा हुन्छन्।'
म यही गीतको रुमानी कल्पनामा हराउँथेँ। तर चिसा लेखकले मलाई बुझेनन्। बुझ्दै बुझेनन्।
भ्यालेन्टाइन डेमा समेत 'हेपी भ्यालेन्टाइन डे, डियर राइटर' नामक सन्देशलाई आठ/दश दिनपछि जर्रो रिप्लाई गर्थे। एक मनले लाग्थ्यो, यी (अ)लेखकलाई के 'डियर राइटर'को पदवी भिडाउनु? तर मन आगोको छेउको नौनी पग्ले सरी पग्लिहाल्थ्यो।
हिजोआज त मलाई लाग्छ 'किन भेटे जुरेछ यी पागल उर्फ चिसा लेखकसँग? न म यिनलाई छोड्न सक्छु न आफ्नो बनाउने कुनै उपाय लगाउन सक्छु। मेरा प्रिय पागल लेखकको 'वान साइडेड लभमा' म शनैः शनैः डुब्दै गएँ।
म बुटवलको बसपार्क आइपुग्दा सूर्य डुब्न लागे पनि उधुम गर्मी थियो। वैशाखको अन्तिम सातामा महिना चल्दै थियो। यसको अर्थ बुटवलमा अझै गर्मीको फरेनहाइट (पारो) निकै उछालिने वाला थियो। बुटवलमा गर्मी उछालिने पिरभन्दा मलाई बुटवलबाट पनि बुर्तिबाङ पुग्नुपर्ने तनाव थियो। तनावै त भन्न मिल्दैनथ्यो। म यो वैशाखबाट 'टेम्पोररी' निजी बोर्डिङको जागिर छोडेर 'पर्मानेन्ट' सरकारी अधिकृत बन्न लोक सेवाको तयारीमा पूर्ण रूपले होमिएको थिएँ।
करिब सात वर्ष काठमाडौँको खाल्डोमा बस्दाबस्दै म 'बोइलर' कुखुरामा परिणत भइरहेको अनुभूत गर्थेँ। म त नुवाकोटको विदुर दसैँ/तिहारमा बाहेक त आक्कलझुक्कल पुग्न पनि छोडिसकेको थिएँ।
म त स्कुल, ट्युसन र कोचिङ सेन्टर अनि होम ट्युसनमा आफैलाई बिर्सने गरी पढाउन थालेछु। म त अधिकृत बनेर चट्ट परेको निजामती ड्रेसमा आफूलाई सजिएको सपना देख्थेँ। आफूलाई निजामती ड्रेसको सारी चोलोमा कुनै फिल्मी नायिकाभन्दा कम आँक्दैन थिएँ। यी सबै कल्पनाहरूलाई यथार्थमा बदल्न लोक सेवा आयोगको शाखा अधिकृतको परीक्षा पास गर्नुपर्ने हुन्थ्यो। त्यही 'मिसन सेक्सन अफिसर'को तयारी सुरु गर्न अनि वर्षौँको 'ह्याङओभर' बाट मुक्त हुन म बागलुङको बुर्तिबाङ जाँदै थिएँ।
राति आठ बजे हिँड्ने भनेको माइक्रो करिब नौ बजे बल्लबल्ल गुडे पनि पाँच कदम गुड्न नपाई बिग्रियो। ड्राइभर र यात्रुहरू संसदका सत्ता र प्रतिपक्ष जस्ता भए। माइक्रो चेक गर्न आएको मिस्त्रीले पाता भाँच्चिएको र अरू अरू पाँच/सात खराबी देखायो। डाक्टरले बिरामीलाई एकै पटक सुगर, प्रेसर, कोलेस्ट्रोल र थाइराइड सबै रोगहरू देखा परे भन्दा बिरामी थप बिरामी भएजस्तै पो भएछु। फेरि आफैँलाई सम्झाएँ, 'मलाई बुर्तिबाङ पुग्नै पर्छ भन्ने के छ र?'
माइक्रो बुर्तिबाङ नजाने भएपछि लास्ट सिटमा कोचिएर बसेका युवक उत्रिए। उनले अरू यात्रुहरूले जसरी वादविवाद गरेनन्। माइक्रो समीपमा बसेर शान्तिपूर्वक चुरोट जलाइरहे। उनलाई एउटा सिगरेटको डोजले नपुगेर अर्को चुरोट जलाए। मलाई लाग्थ्यो ती युवकलाई रातिको यात्रा र पुग्नु पर्ने गन्तव्यको कुनै 'तकलिफ' नै थिएन।
६ फिट जति अग्लो, न दुब्लो न मोटो अनि कत्ति पनि नमिलाइएको कपाल र दारीले उसको 'हेन्डसम'को ग्राफलाई घटाएको थियो। अँधेरी रातमा ती युवकका निला आँखाहरू टलक्कै टल्किएका थिए। युवकको नमिलाएको कपाल वैज्ञानिक 'आइन्स्टाइन'को जस्तो जिङ्ग्रिङ्ग थियो। युवक पहिरनमा पनि कुनै 'चुजी' थिएनन्। 'हिप्पी'हरूले लगाउने जस्तो पाइन्ट र टी-सर्ट ह्वार्लाङ्ग थिए। तर ज्याकेट टाइट र छोटो थियो। भिरेको सानो कालो झोलाले भने युवकलाई सुहाएकै थियो। युवकले लगाएको दायाँ खुट्टाको जुत्ताको 'लेस' फुस्किएको उसले चाल पाएको थियो वा थिएन यसै भन्न सकिन्नथ्यो।
'तपाईं बुर्तिबाङ नै पुग्ने हो र?' मेरो प्रश्नले युवक तिलमिलाए।
युवकले मुखबाट सिगरेट निकाले र निला नयनहरूका नजर मपट्टि तेर्स्याए। मैले प्रश्न दोहोराएँ। युवकले हाँस्दै जवाफ दिए, 'हिँड्न त बुर्तिबाङ नै हिँडेको तर पुग्नै पर्छ भन्ने बाध्यता चाहिँ होइन।'
युवक र मेरो यात्राको विशेषता एउटै थियो। हामीलाई बुर्तिबाङ पुग्नै पर्छ भन्ने थिएन। तर युवकले हार मानेनन्। प्रत्येक सामान बोक्ने जिपहरूका ड्राइभरहरूसँग बुर्तिबाङ पुग्ने हो भनेर सोधिरहे। एउटा जिपको ड्राइभरले एक जनाको लास्ट सिट बाँकी भएको बताए।
युवकले तपाईं जानुस् भनेर अनुमति दिए तर मलाई एक्लै जिप चढ्ने हिम्मत आएन।
‘जोडी हुनुहुँदो रहेछ। लौ काखमै राख्नुस् भाइ, आफ्नै 'मुयालु' भएपछि केको लाज?’
युवकले मलाई हेरे। मैले युवकलाई उसै गरी हेरेँ। हाम्रा आँखाहरूले मौन सहमति गरे। म त युवकको काखमै बसेँ।
तर जतिसुकै बाटो कच्ची भए पनि युवकले ममाथि कुनै 'ब्याड टच' गरेनन्। जिपले घ्याच्च ब्रेक हान्दा पनि युवक सम्हालिएर बस्थे। जिप रिडीमा रोकियो। अरू यात्रुहरू झरे पनि हामी झरेनौँ। म युवककै काखमै बसिरहेँ। युवकले सरी है भन्दै सिगरेट सल्काए। फेरि लगातार तीन खिल्ली सिगरेट जलेपछि जिपले बाटो ततायो।
ड्राइभरले फेरि जिस्क्याए 'बाफरे ,प्रेमिकालाई त काखको काखमै बुर्तिबाङ पुराउनु हुने भयो गाठ्ठे।'
यात्रुहरूले एकै पटक एकटकले युवक र मलाई नियाले। म लाजले लाल भएँ। युवक के सोच्दै थिए, कुन्नि? जिपको बत्ती निभ्यो। बत्ती निभेको बेलामा समेत युवकले कुनै अमानवीय हरकत गरेनन्। म पापी थिएँ। मेरो मनले पाप सोचेकोमा आफैलाई 'गिल्टी फिल' भयो।
बिहानको दुई बजे गुल्मी खैरेनीमा जिप खाना खान रोकियो। युवक र मैले 'फेन्टा' पियौँ। युवकले अरू तीन खिल्ली सिगरेट पिए।
युवकले ड्राइभरलाई कुनै होमस्टेको ठेगाना सोधपुछ गरे। होमस्टे साह्रै नजिकै थियो। म लुरुलुरु युवकको पछि लागेँ। होमस्टेका साहुले निद्राले गलेका हामीलाई एकाबिहानै गाउँको ढुंगामाटोको घरको दोस्रो तलामा एउटा कोठामा दुई वटा खाट भएको 'कमरा' देखाइदिए।
हाम्रा आँखाहरू एक पटक फेरि जुधे। युवकले सुत्नु अगाडि झ्यालमा मुन्टो अडेस राखेर तीन खिल्ली सिगरेट सक्काए। हामी भुसुक्कै निदाएछौँ।
हामीलाई उठाउन होमस्टेका साहु नै आएका थिए। दिउँसो तीन बजिसकेछ। हामीले खाना खाइसक्दा पाँच बजेको थियो। युवक निरन्तर सिगरेट पिउँदै ल्यापटप निकालेर बुर्तिबाङ नजिकैको बडीगाड नदीमा बगेको पानी जसरी लेखिरहन्थे। पानीको कलकल आवाजको साटो ल्यापटपका बटमहरू 'कटट' दाबिन्थे र टाइप हुन्थ्यो, सायद।
लेखकले रातको खाना खाएनन्। खानाको सट्टा मध्यरातसम्म सिगरेट सल्काइरहे। ल्यापटपमा एकाग्र भएर टाइप गरिरहे। मैले ल्यापटपका बटमहरू थिचिएका आवाजहरू सुनिरहेँ।
'कटट अनि किटिटी!’
लेखक म उठ्दा सेतो एफोर पेपरमा रातो बाक्लो डायरी ओछ्याएर लेखिरहेका थिए। लेखकले बिहानै नुहाइसकेका थिए। उनको लामो कपाल सुकिसकेकै थिएन। उनले बिहानको खाना पनि निकै ढिलो खाए। खाना खाएर नारायण गोपालका गीत सुन्दै लेखक भुसुक्क निदाए।
'म त लालीगुराँस भएछु...'
ल्यापटपमा सानो आवाजमा नारायण गोपालको आवाज कति मिठो लाग्यो। मलाई त सुत्दा यसरी गीत बजाएर सुत्नु पर्छ भन्ने थाहै रहेनछ। जीवन त नारायण गोपालको एउटा गीत सुन्दा पनि मज्जा आउने रहेछ। मलाई चाहिँ लाग्थ्यो नारायण गोपाल सुन्नु भनेको तनावको जिन्दगीलाई थप 'फ्रस्टेड'को बिन्दुमा पुर्याउनु हो। तर खै त लेखक त मज्जाले सुन्दै निदाए त?
ल्यापटपमा भक्तराज गुन्जिन थाले।
'हजार सपनाहरूको माया लागेर आउँछ…'
मलाई त एउटै अधिकृत बन्ने सपना पूरा गर्न हम्मे छ, कसरी हजार सपनाहरूको माया लाग्नु थियो र? नारायण गोपाल, भक्तराज हुँदै लेखकको ल्यापटपमा लता मंगेश्वरका मिठा गीतहरू बजिरहे। एकनास बजिरहे।
लेखक ब्युँझिए।
ल्यापटपमा 'मेरो आँखामा राख्ने फूलबारी छैन...' भन्ने नारायण गोपालको गीत मन्द मन्द बजिरह्यो। लेखकले गीत सुन्दै खाटमा घोप्टो परेर लेखिरहे।
होमस्टेका दाइ खाजाको अर्डर लिन आए। लेखकले खाजा नखाने भने पनि राति कोदाको लोकल पाइन्छ कि भनेर जिज्ञासा राखे। सितनमा बडीगाड नदीको लोकल माछा मगाए। रातको खाना दस बजेपछि मात्र खाने बताए। होमस्टेकी दाइकी जहान आएर रातिको खाना नौ बजेभित्र खाइदिन खुब कर गरिन्। लेखकले नखाने भनिदिए। कति चिसा लेखक होलान् भनेर दाइकी जहानले मेरो कानमा खुसुक्क भनिन्।
लेखकले साँझ पर्दा नपर्दै पिउन थाले।'लोकल कोदाको रक्सी' नामको जिनिस पनि ड्युको जम्बु बोटलमा थियो। लेखकले २.२५ लिटर अर्थात् करिब ५ माना रक्सी र एक थाल लोकल माछा खान सुरु गरे। सिगरेटका त उनी सदाबहार लती भइहाले।
म खाना खान जाँदा दाइकी जहानले मुख बिगार्दै भनिन्, 'ल है नानी, यस्ता जाँडका पुङसँग 'लपसप' नगर्नुस्। तिम्रो हुनेवाला पोइ चिसो लेखक होला तर बडो 'लोफर' लाग्यो है मलाई त।'
तर होमस्टेका दाइ आफ्नी बुढीसँग रिसाउँदै भने, 'मायाले जस्तासुकै कुलतहरू छुट्छन् नि नानी, मेरी जहानको कुरा मनमा नराख्नुस् है, नानी तपाईंका हुनेवाला खसम काँक्रोको चिरो जस्तै सर्लक्कै छन्। अलिकति चुरोट कम जलाए फोक्सो रोगी हुँदैनथ्यो। अनि अलिकति 'मालपानी' कम पिए कलेजो कुहिन पाउँदैनथ्यो।'
होमस्टेका दाइका कुराले मनमा सिसाले घोचे झैँ घोच्यो।म किच्च हाँसिदिएँ। म दोस्रो तला उक्लने बेला दाइकी जहानले भनिन्, 'कस्ता गँजडीसँग यस्ती विश्व सुन्दरी फस्न पुगी, बाँच्नुपर्छ कलियुगमा अनेक देखिन्छ भन्थे, हो रहेछ। यस्ती रसिली सिन्धुलीकी जुनार जस्ती पोटिली मायालाई चुस्न कसले बाँकी राख्लान् र?'
होमस्टेका दाइको कुराले भने म भावुक भएँ। तर चिसा लेखक सिगरेट र कोदोको माल पिउँदै एफोर पेपरमा धमाधम लेख्दै थिए। माछा फ्राई पाँच मिनेटमा बल्ल मुखमा हाल्थे। मेरो उपस्थितिलाई अनदेखा गरिदिए। मलाई किन-किन ती चिसा लेखकको खुब माया लागेर आयो। लेखकले तुँइतुँई कोदोको झोल पिइरहे। म रोइरहेँ। मुटु कुट्किइरह्यो।
'गल्ती हजार हुन्छन्,यहाँ होस हराएको बेला, एक्लै तिमी नआऊ, म मातिएको बेला।'
अलिक चर्को स्वरमा ल्यापटपमा नारायण गोपाल गुन्जँदै थिए।
गीतले वास्तविक धरातल समातेको थियो। म त झन् रोएँ। लेखकलाई नपिउनुस् भनेर भन्न सकिनँ। म निदाएछु। बिहान दुई बजे ब्युँझिएँ। बत्ती बलिरहेको थियो। तर अचम्म ल्यापटपमा भक्तराज आचार्यको भजन 'तन मन बचनले प्रभु नाम गाऊँ...' बज्दै थियो।
रक्सी र माछा सबै सक्काएका थिए। सूर्य टोबाकोका तीन वटा खाली बट्टाहरू भुइँमै थिए। लेखक पनि भुइँमै सुतेका के भन्नु, पसारिएका थिए। उचाल्न त खोजेँ तर लेखकको ज्यान 'सतभतार' थियो। मैले खाटमा उचालेर राख्न के सक्नु ?
लेखकको खुट्टामा काउकुती लगाएपछि ब्युँझिए। खाटमा उक्लिए। मैले सानो च्यादर ओढाइदिएँ। मौकामा चौका हानेँ। लेखकको रातो मोटो डायरीका सुरुवाती पन्नाहरू पढ्दै गएँ।
लेखक पढ्न जापान पुगेपछि नेपालको दोलखा घर भएकी अठार वर्षे युवतीसँग रारा तालको गहिराइमा भन्दा बढी डुबेछन्। चुम्बक टाँसिएभन्दा पनि मायामा टाँसिएछन्। तर प्रेमिका लेखकलाई छलेर अमेरिका बिहे गरेर पुगिछ। लेखक नेपाल फर्किएछन्। प्रेमिकाको घर खोज्दै पुगेछन्। संयोग त्यसै दिन प्रेमिकाको बिहे परेछ। लेखकको दिन दशा त्यही दिनबाट सुरु भएको रहेछ।
लेखक आफ्नै कथाहरू बुनेर नोबेल लेख्दै रहेछन्। कुनै डायरीका पानामा एक्ली आमोई नभएकी भए सम्भवतः मरिसक्ने भनेर लेख्छन् भने कतै जीवनलाई पूर्णिमाको जूनसँग तुलना गर्छन्। उनी आफै 'कन्ट्राडिक्सन'मा थिए। दोलखाली मायालाई भुल्नै नसकेको भनेर सयौँ पटक पानामा लेखेका थिए।
मैले चिसा लेखकलाई सुधारेको थिएँ। त्यसो त बिहान पाँचै बजे उठेर बडीगाड नदीमा नुहाएर फर्किँदा शरीरमा अर्कै स्फूर्ति आएको थियो। पागल लेखक सधैँ झिसमिसे उज्यालोमा बडीगाड नदी पुगेर नाङ्गै नुहाएको प्रसङ्गले म लाजले भुतुक्कै लजाएको थिएँ।
मैले बडीगाड नदीको दर्शनढुंगाले लेखकको ढाडको मयल निकालिदिएँ। मैले पहिलो पटक केटा मान्छेको पुष्ट शरीर देखेँ। त्यसो त दिनदिनै मैले पनि नुहाउँदा लुगाको मात्रा घटाउँदै लगेँ। मलाई चिसा लेखकको परीक्षा लिनु थियो। उनी पटक्कै मेरो शरीरमा लोभिएनन्।
बुर्तिबाङ बसाइको अन्तिम पाँच दिनहरू चाहिँ मैले चिसा लेखककै नाउँमा ज्यान जिम्मा लगाइदिएँ।
हामी माछा/माछी जसरी नदीमा पौडियौँ।
अब म पनि पागल लेखककै पारामा नुहाउन थालेँ। चिसा लेखकले ब्रह्मपुत्र पुरुष नदी भएको बताए। अरू नेपाल र भारतवर्षका सबै नदीहरू 'स्त्री' नदीहरू भएको बताउँदा मैले लेखकलाई पागल भनिदिएँ। अझै बह्मपुत्र 'नद' भन्दा म खित्का छोडेर हाँसेको थिएँ। अनलाइन बृहत् नेपाली शब्दकोशमा नदी र नदको अर्थ थाहा पाएपछि मेरो ज्ञान सतही भएको निष्कर्ष निकालेको थिएँ।
त्यसपछि लेखक ब्रम्हपुत्र र म यमुना भएको थिएँ। बुर्तिबाङमै लेखकको दारी, जुँगा र आइन्स्टाइन कपाल मेरो मर्जीमा कटाएको थिएँ। कपडाहरू काठमाडौँ पुराएर फेराएको थिएँ। सिगरेट डेल्ली दस खिल्लीमा झारेको थिएँ।
७५० एमएलको भोड्का लेखक र मैले ड्यु मिसाएर सिनित्तै सक्काएका थियौँ। २५ दिनको लामो बुर्तिबाङ बसाइले चिसा लेखकसँग पिरती जकडिएको थियो।
चिसा लेखकले मलाई बिर्सिए।
म लोक सेवा पास गरेर शाखा अधिकृत भएँ, खै त तिम्रो उपन्यास पागल लेखक?
मैले नोबेलको पाण्डुलिपि जलाएँ। लेखकको उत्तरले म काँपिरहेँ। दोलखाली प्रेमिका र पागल लेखकको रियल कहानी दमदार थियो।
म शाखा अधिकृत भएँ, बह्मपुत्र। यस पटक मायालु लवजमा बोलेँ।
पागल लेखक मौन बसे।
‘मेरा मातापितासँग हात माग्न विदुर कहिले आउँछौ?’ लेखक पुनः मौन बसे।
एक बारको जीवनमा लाछी र निम्छरो पोइ आफ्नो भागमा परेछ।
लेखक रिसाएनन्।
शाखा अधिकृतको नियुक्ति लिनु अगाडि बा-आमा भेट्न विदुर पुगेँ। सबै बिहेका प्रस्तावहरू एकमुस्ट क्यान्सिल गरिदिएँ।
बडीगाड नदीमा खिचेका पुराना जोडी सेल्फी फोटाहरू हेर्न नसकेर बा हिँडे। मैले तिनै पुराना फोटाहरू जुन बडीगाड नदीको किनारमा चिसा लेखकसँग सेल्फी लिएको थिएँ। तिनै मध्येको एउटा फोटो फेसबुकमा पोस्ट्याएँ र क्याप्सन लेखेँ- 'बह्मपुत्र नद र यमुना नदी अब छिट्टै एक भएर बग्नेछन्।'
म विदुरबाट आमाबाको आशीर्वाद नलिई काठमाडौँ रमाना हुँदै थिएँ। पुग नपुग तीन सय कमेन्टमा एउटा कमेन्टले मन खिच्यो।
‘सही निर्णय गर्नु भयो। लेखक पागल त छन् तर सच्चा इमानदार छन्, अरू त इमानदार छु भन्ने नाटक मात्रै गर्छन्।’
कमेन्ट गर्ने लेखककी दोलखाली प्रेमिका थिई।
भन्न त पागल लेखककी दोलखाली पूर्व प्रेमिका भन्नुपर्ने। तर राजा र प्रेमिका 'पूर्व' हुँदैनन् अरे।