राइफल र जिलेटिन बोकेर
देश बदल्न निस्कियो ऊ
मार्क्स र माओको सिद्धान्तले कण्ठस्थ
मर्न र मार्न सशक्त
हेला गरेको व्यवस्थालाई अपदस्त गर्न
राइफल र जिलेटिन बोकेर निस्कियो ऊ
न्वारनको नाम त्यागेर
क्रान्तिको बाटो रोजेर
अग्नि, चट्टान, बारुद जस्ता उपनामले प्रख्यात ऊ
परिवर्तनको ल्याकत राखेर
विभेदको नारा ओढेर
समानताको झोला बोकेर
निस्कियो ऊ देश बदल्न काँधमा राइफल भिरेर
तेर्स्यायो नाल दुस्मनतर्फ
पड्कायो गोली क्रान्तिको
आइया र आत्था मरेँ नि आमै
मच्चियो खैलाबैला अशान्तिको
बलिदान र त्यागले सम्मानित
कहलियो ऊ शहीद राष्ट्रको
व्यवस्था फाले, फाले शासन
वार्ता भयो, भयो कुर्सीमा आसन
रोजी रोजी, मनमर्जी, पालै पालो,
मोजमस्ती
मार्यो उसले परिवर्तनको आस
व्यर्थै गयो उसको बलिदान र त्याग
निस्कियो ऊ फेरि परिवर्तनको झोला बोकेर
पासपोर्ट च्यापेर अनि घाँटीमा दोसल्ला बेरेर
देशलाई त सकेन तर आफूलाई बदल्छु भनेर।