धेरै वर्ष अघिको कुरा हो। भजन मण्डलीका बिच पण्डित विराजमान थिए। देश-विदेशमा उनको ख्याति फैलिसकेको थियो। रूप, स्वर र सम्मोहनको कलामा निपुण उनी मधुर धुनमा कृष्णका लीलामय कथाहरू वाचन गर्थे।
कथा बिचबाट निकालिएका चुट्किलाले भक्तहरू लट्ठिइरहेका हुन्थे। बिच-बिचमा दाताहरूको नामावली उद्घोषण, ठुला दातालाई फूलमाला र अबिरको आलिङ्गनको दृश्य पनि उत्तिकै हेर्न लायक थियो।
आयोजक मण्डलीका सिकारीहरू रसिलो र पोटिलो सिकार खोज्न कोही गाउँमा पुगेका, कोही बजारतिर घुम्दै गरेका र कोही सहरतिर छरिएर बसेका थिए। उनीहरूको काम गाउँ, बजार र सहर घुमी सोझा र धार्मिक व्यक्तिको पहिचान गर्ने, दाम कमाएका तर नाम र इज्जत बटुल्न नसकेकाहरूलाई दानको महिमा सुनाउने, फकाउने र जुनसुकै जुक्तिले रङ्गमञ्चसम्म ल्याइपुर्याउने हुन्थ्यो।
सिकारीको हातमा दानको मेनु हुन्थ्यो र मेनुमा लेखिएको थियो-
१ हजारमा नाम उच्चारण!
१ हजारभन्दा माथि ५ हजारसम्म नाम उच्चारण, माला र प्रमाण पत्र!
५ हजारभन्दा माथि ५० हजारसम्म नाम उच्चारण, माला, खादा, प्रमाण पत्र, शिलापत्रमा नामांकन र आजीवन सदस्य!
५० हजारभन्दा माथि ३ लाखसम्म ...ऐ ऐ... का साथ बिल्डिङको एउटा कोठाको नामांकन!
३ लाखभन्दा माथि १० लाखसम्म ..ऐ ऐ... बाजागाजाका साथ नगर परिक्रमा, बिल्डिङ ब्लकको नामांकन!
१० लाखभन्दा माथि ३० लाखसम्म ..ऐ ऐ... बाजागाजाका साथ नगर, अर्ध कदको सालिक विद्यालय प्राङ्गणमा स्थापित गरिने!
रङ्गमञ्चमा नाचगान चल्दै गर्दा कुनै एक मण्डली दूतले ठुलेलाई लिएर नाटक घरसम्म आइपुग्यो। स्वागत द्वारमा लस्करै उभिएका अधबैँसे नारी दूतको जत्थाले कुटिल मुस्कानका साथ ठुलेलाई स्वागत गर्यो।
भर्खरै उसको गाउँमा कच्ची मोटर बाटो पुगेको रहेछ। बजारदेखि गाउँ टाढा थिएन। मानव बस्ती, विकासको क्रममा थियो र गाउँ-गाउँबाट मान्छेहरू फाँट झर्दै थिए। ठुलेका बारीमा पनि २-४ घडेरी निस्केको विवरण मण्डली दूतको ढड्डामा चढिसकेको रहेछ।
‘भज गोविन्द भज गोविन्द
स्वर्ग लोक पाउनलाई भज गोविन्द।
राम वनैमा राम वनैमा
सीता पुगिन् लङ्कैमा राम वनैमा’
हरे
भज गोविन्द भज गोविन्द....!’
(गाना बजाना र नृत्य चल्दै गयो। मण्डलीका सबै सदस्य आ-आफ्ना जिम्मेवारीका काम पूरा गर्न लागिपरेका देखिन्थे।)
यी र यस्तै पाकेका मिठा सितनसँगै खैँजडी, मुजुरा, हार्मोनियम, मादल र बाँसुरीको प्यालाबाट खन्याइएको रसिलो धुनले ठुले मात्तिँदै गयो। ठुले पुरापुर बेहोस जस्तै भइसकेको थियो। आनन्द रस उसको नशा नशामा दौडिँदै थिए। यो नशाले आफ्नो काम फत्य नगरेसम्म त्यति सजिलै छाड्ने वाला थिएन।
मञ्चमा पण्डितले मेनुमा उल्लेखित धर्म आइटम किनिहाल्ने र बोली लगाउनेहरूको नामोच्चारण गर्दै गए।
सानो मेनुलाई छोटो ताली, लामो र महँगो मेनु किन्नेलाई लामो ताली पिट्दै अबिर माला गर्दै गरेको दृश्य ठुलेले पनि देख्यो।
यही मौका छोपी मण्डली मध्यकै एउटी सुन्दर अधबैँसेले ठुलेका अगाडि मेनु तेर्साइन्। ठुले पनि के कम! गोजीमा पैसा नभए पनि बाउ बाजेको जायजेथा छँदै थियो। धर्मै गर्ने त हो भनी मेनुमा उल्लेखित पाँचौँ नम्बर बोली दियो, घडेरी दिउँला भनी। बोले बमोजिम ढड्डामा नाम चढ्यो। जे जे फ्यासिलिटी मेनुमा उल्लेखित थिए ठुलेले सबै पाउने भयो!
एवं रीतले त्यो दिनका लागि रंगमञ्च विसर्जन गरियो।
रंगमञ्च सकिएपछि पण्डितसँगै उभिएर ठुलेले फोटो खिच्यो। यो सबै गर्न पाउँदा ठुले मक्ख थियो। अहिलेसम्म कै दानवीर मध्येमा ठुलेको नाम अग्रपङ्क्तिमा आयो। सबैका नजर ठुलेमा थिए, यो उसले महसुस गर्यो।
हुन पनि ठुलेले त्यसभन्दा अघिसम्म यतिका सम्मान पाएको थिएन। गाउँलेहरूले थोरै ऋणमा पनि उसलाई पत्याउँदैन थिए। बारीका पाटाहरूमा उसको घडेरी निस्केका थिए। त्यसपछि मात्र ठुलेलाई गाउँलेहरूले थोरै मान सम्मान दिन थालेका थिए।
साँझपख ठुले घर फर्कियो। म पनि घर फर्किएँ। उसको घर र हाम्रो घर १० मिनटको दूरीमा पर्थ्यो। घरमा फर्केपछि कता-कता ठुलेलाई भेट्न मन लाग्यो। तर त्यो दिन त्यता लागिनँ।
भोलिपल्ट म ठुलेलाई भेट्न उसको घरमा गएँ। ठुलेकी श्रीमती अगेनामा थिइन्। स-साना तीन जना छोरीहरू पिँडीमा बसेर होमवर्क गर्दै थिए। काखको छोरो ठुलेसँगै खेल्दै थियो।
‘भाइले आज कताबाट बाटो बिराएछ?’ आश्चर्य मान्दै ठुलेले भने।
‘हैन दाइ यत्तिकै, यसो दाइलाई भेटम् भनेर नि,’ मैले भनेँ।
भित्रबाट ठुलेकी दुलही निस्किइन् र नमस्कार पड्काइन्।
हाम्रो वार्तालाप चल्दै गर्दा एक्कासि कान्छी छोरी नजिक आई भनी, ‘बा, दिदीको र मेरो स्कुलको फिस तिरेको छैन। पैसा दिनु नत्र क्लासमा बस्न पाइन्न नाम काटिन्छ।’
उसले एकै स्वरमा आफ्नो पीडा र आवश्यकताको बेली बिस्तार लगाउँदै ठुलेसँग पैसा मागी।
‘तेरा बाजे! मसँग केको पैसा छ र दिने हो? मास्टरसँग कुरा गरम्ला,’ ठुलेले ठुलै स्वरमा जवाफ दिए।
कान्छीले अँध्यारो अनुहार लगाई र फेरि होमवर्क गर्नतिर लागी।
मैले भनेँ, ‘हिजो खुबै जोसिँदै ठुलै दान गर्यौ त दाइ! भएरै त होला भन्ने लागेको थियो। बरु त्यो घडेरी बेचेर केटाकेटीको पढाइ र घर खर्च चलाएको भए हुने!’
मेरो कुराले ठुलेको अनुहार अँध्यारियो। सबैका सामु छाती पिटेर घोषणा गरेको कुरा फिर्ता हुनेवाला थिएन। ठुले सिकारीको जालमा फसिसकेको थियो। मातले छाडेपछि पछुताएर के गर्नु?
अब म बोल्नुको कुनै अर्थ थिएन। अन्तमा गोजीमा भएको केही रकम ठुलेको हातमा थमाई म आफ्नो बाटो लागेँ। ठुलेका आँखाले परैसम्म मलाई पछ्याउँदै थिए।