यति बेला देशभर स्वतन्त्र विद्यार्थी युनियनको चुनावको माहौल तातेको छ। त्रिभुवन विश्वविद्यालय अन्तर्गतका अधिकांश क्याम्पसहरूमा चुनाव सकिएर नतिजा आएको छ भने कतिमा हुने संघारमा छ, कतिमा स्थगित गरिएको छ।
यस्तै हाम्रो विश्वविद्यालयमा चैत २७ गते चुनाव हुने गरी तयारी भइरहेको छ। उम्मेदवारहरूको प्रचारप्रसार गर्ने कार्यहरू अत्यधिक बढेको छ। यस्तै क्रममा उनी पनि प्रचारमा छिन्, म पनि छु।
मलाई लाग्थ्यो हरेक क्षेत्रमा स्वार्थ हुन्छ। यहाँ पनि यस्तै भयो। मलाई थाहा थियो, उनी कुनै पार्टीकी सदस्य हुन् र उनलाई पार्टीले संरक्षण गर्छ। तर पनि म नजिकिन पुगेँ लागेको थियो। अरूले सहयोग नगरे पनि उनी मलाई गर्नेछिन् लागेको थियो। तर मेरै विपक्षमा भनौँ या मलाई हराउनकै लागि उनले चुनाव लड्ने भएपछि अब भन्नु के नै रह्यो! जहाँ पनि स्वार्थ मात्रै त छ।
कस्तो सस्तो प्रेम रहेछ बुझ्न सकिनँ! स्ववियु चुनावले छुट्न पुग्यो। अझ त चुनावै भएको छैन। कसले हार्छ कसले जित्छ थाहा छैन। प्रचारप्रसारकै क्रममा बोलचाल बन्द भयो। उनी विद्यार्थी नेता भइन्, म अब चुनाव नलड्ने गरी साधारण मतदाता मात्रै। अब त स्तर मिल्ने पनि कुरै भएन, विचार त परको कुरा। यस्तै भयो मेरो लागि स्ववियु चुनाव र उनको प्रेम हाँडी गाउँको जात्रा जस्तै।
दोधारमा त अब छु। मतदान कसरी गर्ने? मेरो अगाडि धर्मसंकट आएको छ। प्रेमिकालाई गर्ने कि आफ्नै विपक्षमा मलाई हराउनकै लागि चुनाव लड्न आउने उनलाई गर्ने? फेरि मेरो लागि यी दुवै एउटै व्यक्ति हो। म कसरी छुटाऊँ सोचमग्न छु।
मलाई देख्दा अँगालो मार्न आउने उनी आजभोलि निश्चित दूरीबाटै नमस्कार गर्छिन्। अनि सँगै मिठो मुस्कानसहित भन्छिन्- सपोर्ट गर्नुपर्छ है। सायद त्यो मुस्कान मेरो लागि बन्दुकबाटै आएको गोली हो। मुटुमा ठुलो घाउ परेको छ। तर पनि जस्तालाई त्यस्तै भनेर हाँसे जस्तै गरेर ‘हुन्छ’ म पनि भनिदिन्छु।
सँगै बसेर मलाई साथ सपोर्ट दिनुपर्छ है भन्थिन्। मैले सोचेको थिएँ जिन्दगी जिउने साथ सपोर्ट चाहिएको होला। उति बेला हुन्छ भनिहालेँ तर साथ त चुनाव लड्नको लागि पो रहेछ। मलाई के थाहा, उनी नेता त पहिलादेखि नै रहेछिन्। उति बेला मेरो भावनासँग राजनीति गरिन्, अब मैदानमा उत्रिएकी छिन्। मेरै विरुद्ध राजनीति गर्न।
म त्यति कठोर पनि छैन, आफूले माया गरेको मान्छेलाई हराउन या भनौँ हारेको देख्न विपक्षी हुने। म उनको विपक्षीभन्दा पनि उनलाई पूर्व प्रेमिका घोषित गर्दै चुनावमा जिताउन लाग्छु। उनलाई विद्यार्थी नेता बनाउँछु। ताकि कसैको भावनासँग पछि उनी राजनीति गर्ने मौका नपाउन्।
मलाई थाहा थियो राजनीति एउटा खेल हो र जोसँग पनि खेल्न सकिन्छ। आमाबुवा, छोराछोरी, दाइभाइ, पतिपत्नी सबैसँग त्यही खेल उनले मसँग पनि खेलिन्, यत्ति हो। तर उनको राजनीतिक खेल मेरो विचारै नमिल्ने पार्टीबाट सुरु भयो र पो म टाढा हुन बाध्य भएँ।
म विद्यार्थी राजनीति गर्छु भनेको भए म पहिलादेखि नै उनको लागि छोडिदिन्थेँ होला सायद तर जब मैले चुनाव लड्ने फिक्स गरेँ, त्यही दिनदेखि उनको दूरी टाढा भयो। सायद उनको पार्टीबाट तय भएको होला (फलाम काट्न फलाम नै चाहिन्छ) यसैले उनी पनि चुनाव लड्ने गरी तयारीमा लागिन्।
मैले चुनाव लडे पनि सायद हार्न सक्छु। मसँग उनको जस्तै हाँसेर हजारौँलाई लट्ठ बनाउने झुटो मुस्कान छैन। म कसैको भावनासँग राजनीति गर्न सक्दिनँ। म त्यति स्वार्थी पनि छैन आफू गन्तव्यमा पुग्न अरूलाई उठ्नै नसक्ने गरी लडाउन परोस्। सायद राजनीति गर्न सक्ने यस्ता यावत गुण उनीसँग छन् र पो उनी राजनीति गर्दै छिन्।
स्ववियु चुनावले कतिलाई के दियो त्यो एउटा कुरा हुन सक्छ। तर कतिको के-के खोस्यो भन्ने कुरा पनि महत्त्वपूर्ण अंशका रूपमा रहेको देखिन्छ। यसले विद्यार्थीबिच भाइचारा खोस्यो, आपसी सम्बन्ध बिगार्यो, मनमुटाब सिर्जना गर्यो, आफ्नै नजिकमा बस्ने प्रिय साथीलाई विपक्षी बनायो। हुँदाहुँदै कसैको प्रेमिका, कसैको प्रेमीलाई समेत ध्रुवीकरण गरिदियो।
यस्तै मसँग पनि भयो, उनी मेरो लागि विपक्ष भइन्। चुम्बकीय ध्रुव जस्तै विभाजन भइन्। सायद स्ववियु चुनाव नजिकिँदै गर्दा मसँग भएको गुरुत्वाकर्षण बल उनको लागि कम भएर पनि होला। बुध ग्रह जस्तै नजिक भएकी उनी आज एकाएक ब्रह्माण्डको यम ग्रह जस्तै टाढा भएकी छिन्। हो, मलाई र उनीलाई स्ववियु चुनावले सूर्य र यम ग्रह जस्तै अलग पारी दियो। जसरी ब्रह्माण्डमा अब यम ग्रह अन्य ग्रहसँगै घुम्न सक्दैन। सायद म र उनी पनि सँगै अगाडि बढ्न असम्भव जस्तै देखिन्छ।
यस्तै बनायो यो स्ववियु चुनावले; उनलाई नेता, मलाई मतदाता। तर पनि म चाहन्छु स्ववियु चुनावको नतिजा उनको पक्षमा आओस्। किनकि म ढुङ्गाले बनेको पक्कै पनि होइन। उनको लागि म अहित सोच्न सक्दिनँ, अग्रिम शुभकामना छ उनलाई।