प्रिय,
तिम्रा केशहरूमा आज कसैका औँला खेल्दै छन्
तर मेरा केशहरूले तिम्रा औँलाहरूको चञ्चलता खोजिरहन्छन्
तिम्रा औँलाहरूको यादमा यी केशहरू फुलिसकेछन् अचेल
तिम्रा बाटुला आँखाहरूले बारम्बार याद दिलाइरहन्छन्
तिमीले मेरा ओसिला आँखाहरूसँग गरेको घण्टौँ लामो संवाद
तिमीले घुम्टो ओढेको दिनदेखि
यी ओठहरूले वर्षौँ भयो आफ्नो मुस्कानमा कफन ओढाएको।
प्रिय,
तिमी उसको अङ्गालोमा त्यसरी नै बेरिइरहनु
जसरी मेरा औँलाहरूमा तिमी आफ्ना औँलाहरू बेरिरहन्थ्यौ
तिमीलाई त मैले आफ्नो जिन्दगी नै मानेको थिएँ
तिमी गएपछि यो जिन्दगी नै जिन्दगी रहेन
अब यो जिन्दगीलाई जिन्दगी भन्न
म कुन जिन्दगीसँग बात मारौँ
यो बेरङ्गी जिन्दगीलाई रङ्ग दलेर
अब रङ्गिन बनाउन चाहन्नँ म।
तिमीले चुम्ने मेरा यी परेलीहरू
आज खुसी भई बर्सिरहन्छन् गालाभरि
मेरो यादको हावा तिम्रो गाउँसम्म
पुग्छ या पुग्दैन त्यो त थाहा छैन
तर,
तिम्रो यादको आँधी भने
मेरो घरको कोठाभित्र सधैँ आइरहन्छ।
यदि मलाई जीवनमा एक पटक पनि सम्झियौ भने
भन्दिनु आकाशलाई
मेरो निधारमा कसको हात छ?
त्यो थाहा छ?
जसको हात छ
ऊ स्वयम् अथाह छ
भाग्यले भाग्यसँग मलाई कहाँ छ सोधे
भन्दिनु ऊ जहाँ भए नि ढुकढुकीको माझ छ
यहाँ छ, त्यहाँ छ
म जहाँ ऊ त्यहाँ छ
अरू सबै सधैँ छ
तर जीवन एक क्षण छ।
प्रिय,
अब तिम्रा यादहरूको बन्धकी बाहेक मसँग अरू केही छैन
तिम्रा यादहरूका बेलुन फुट्दै छन् आज छातीभर
तर पनि म हाँसिरहेको छु
तिमी कसैको भित्तामा मुस्कान लिई सजिएको देखेर।
तर,
तिमी सधैँ मुस्कुराइरहनु उस्तै
जसरी मलाई देख्दा तिमी
हाम्रो पहिलो भेटमा मुस्कुराएकी थियौ।