ऊ मेरो खुसी बनेर आएको थियो। म बाँच्नुको एउटा कारण बनेर आएको थियो। मेरो हाँसो बनेर आएको थियो। दिनभरी काम गरेर थकित भएर आउँदा खाने औषधि बनेर आएको थियो। मैले त जीवनभरी उसको खुसीको लागि बाँच्ने छु भनेर कसम खाएको थिएँ तर सायद ऊ सानै भएर होला मेरो खुसी केमा छ बुझ्न सकेन। जे होस् ऊ मेरो मुटु, मेरो छाेरो बनेर आएको थियो।
बिहान विनय उड्यो। दिन उराठलाग्दो भयो, राति निन्द्रा लागेन, घर बाहिर निस्केँ। एकछिन कालो रातलाई नियालेर हेरेँ, आकाशतिर चम्किला तारा थिए। तिनलाई पनि हेरेँ एकटकले। मस्तिष्क खाली थियो न ती तारा राम्रा लागे न नराम्रा नै, ती तारा मात्र थिए मेरो लागि, भित्र फर्किने बेलामा विनयको ताला लागेको कोठामा नजर पुग्यो, आफैले चाबी खोजेँ र खोलेँ मन भारी भयो अनि आँखा विगततिर गए।
विनय म २५ वर्षको हुँदा जन्मिएको थियो। दिन संघर्षका थिए मेरा त्यसबेला। म बानेश्वरमा जागिरको लागि इन्टरभ्यू दिन गएको थिएँ। इन्टरभ्यू सकिएपछि मलाई फोन आएको थियो घरबाट, 'बधाई छ छोराको बाउ भएकोमा।'
म सायद आजसम्म त्यति खुसी कहिल्यै पनि भएको छैन। त्यसकै भोलिपल्ट आएको जागिर मिलेको खबरले पनि त्यो खुसी दिएको थिएन। त्यो चरम खुसी थियो। खै किन लाग्छ त्यस्तो खुसी, कताबाट आउँछ त्यो खुसी मसँग यसको जवाब छैन तर मलाई विश्वास गर्नुस् त्योभन्दा धेरै खुसी म आजसम्म भएकै छैन।
विनयको किताब र्याकमा नजर गयो, त्यहाँ एउटा किताब थियो 'दी अलकेमिस्ट'। पहिलो पाना पल्टाएँ त्यता २० वर्ष अगाडि मैले लेखेका केही शब्द थिए, 'बाबु मलाई थाहा छ, मैले तिमीलाई तिमी पढ्न सक्ने नहुँदा नै यो किताब दिएको छु। तिमी पढ्न सक्ने भए पछि पढ्नु, मलाई थाहा छ तिमी पढ्न सक्ने हुँदा पनि तिमी पढ्ने मात्र छौ बुझ्नको लागि समय लाग्ने छ। तिमी जति पटक पढ्ने छौ त्यति तिमीलाई किताब नयाँ लाग्ने छ।
किताबमा शक्ति छ बाबु, यो किताबमा मात्र हैन जुनैमा पनि छ। मैले मेरो छोराले सबैलाई जितोस् भनेर यो पुस्तक दिएको हैन र यो लेखेको पनि हैन, म तिमीसँग कहिले पनि कति अंक लिएर आयौ सोध्ने छैन। मैले किताब दिनुमा मेरो स्वार्थ छ, त्यो स्वार्थ यति हो कि तिमी परीक्षामा फेल नै भए पनि किताब पढ्न नछोड्नू।
तिमी पिँजडाको चरा नबन्नू, तिमी सधैं उड्नू' मेरो आँखा रसाए। किताबमा आँसुको थोपा खस्यो टपलक्क, आँसुले शब्द मेटाउला भनेर किताबको पानामा फुफु गर्दै फुकेँ। मलाई प्रत्येक सामानले पुराना दिनमा फर्काउन लागे, विनयको सानो कालो टि- सर्ट देखेपछि म सिरानीमा घोप्टिएर रोएँ, त्यतै बस्ने हिम्मत गर्न सकिनँ। बाहिर निस्किएँ र ताला लगाएँ मन भारी पार्दै।
विनय मेरो हिम्मत बनेर आएको थियो। मैले विनय जन्मेपछि चुरोट छोडेको थिएँ। मलाई डर थियो छोरोले सिक्ने छ, त्यसैले मैले छोडेँ। मेरो सबै बानी सुधारिए म मेहेनती भएँ म ओभर टाइम गर्थें। दिनभरिको थकान विनयको कलिलो मुस्कानले मेटाइदिन्थ्यो। उसको आगमनले मेरो जीवन सुनौलो भएको थियो। मैले आजसम्म जति मेहेनत गरें, त्यो मेरो लागि त छँदै थियो विनयको लागि पनि थियो।
तर मैले माया गरिरहँदा ममा माया फिर्ता पाउने चाहत पलाउन लागेछ, त्यो थाहा भयो जब विनय ले भन्यो 'बाबा म अमेरिका जान्छु।'
खासमा उसकी प्रेमिका उता जाने भैछिन्। मैले 'नजा बाबु।' त भनेँ तर उसले मानेन। मैले सम्झाउन सकिनँ। भन्न सकिनँ कि मलाई हरदिन तँलाई हेर्ने बानी परेको छ। मैले भन्न सकिनँ मलाई तेरो काखमा मर्नु छ। मैले धेरै कुरा भन्न सकिनँ किनकि भन्दै गर्दा मेरो स्वार्थ म आफैले देख्न थालेँ। खै यो स्वार्थ हो कि हैन तर मेरो माया स्वार्थभन्दा माथि हुनु पर्दछ भन्ने लाग्यो त्यसैले मैले भने, 'म तेरो खुसीमा खुसी हुन्छु बाबु जता जानु मन छ जा।'
तपाईंहरूलाई लाग्ला अमेरिका जानुले के बिगार्यो र तर बाबु भएर हेर्नुहोस् अनि यस्तो बाबु भएर हेर्नुहोस् जसलाई थाहा छ उसको छोरो अब फर्किने छैन,जसलाई थाहा छ कि उसले अब छोरालाई हेर्न वर्षौं कुर्नुपर्ने छ।
पैसा पठौला उसले मलाई तर पैसा मेरो छोरो हैन। पैसा पाउँदा म छोरोलाई पाउने छैन। मैले उसको सामिप्यता गुमाएँ, मलाई थाहा छ तर यसमा गल्ती मेरै हो। मेरो इच्छा पूरा गर्न ऊ जन्मिएको हैन। ऊ उड्न जन्मिएको हो, त्यसैले मैले उसलाई उड्न दिएँ।
म चाहन्छु मेरो छोरो उडोस्, गगन चुमोस्,कतै मेरो नाम लिने ठाउँ आयो भने बरू नलियोस् तर मैले सिकाएका संस्कार लियोस्। म मर्दा बरू नआओस् तर न्याय मर्दा ऊ आओस्।
म चाहन्छु ..... ऊ सधैं खुसी होस् जसरी ऊ नयाँ खेलौना कार मेरो झोलामा देख्दा खुसी हुन्थ्यो।