जन्मिने बित्तिकै मेरो ठेक्का परेको छ
परीक्षा नै नदिई लाइसेन्स खल्तीमै झरेको छ
हो, यो समाजको संस्कार जोगाउने ठेक्का मलाई परेको छ!
जोगाउनु छ समाजको इज्जत अनि पितृसत्ताको साख
मैले केही गडबढ गरे बल्नसक्छ समाजको इज्जतको राख
किनकी यो समाजको संस्कार जोगाउने ठेक्का मलाई परेको छ!
मनोमानी रूपमा बाहिर निस्कनु
छोटो लुगा लगाएर समाजले नचाहेको मान्छेसँग जिस्कनु
छोरी भएर बिस्तारै हिँड, बिस्तारै बोल किन पर्यो र मस्कनु
झन्डै एकदिन समाजको संस्कार सँगै इज्जत र प्रतिष्ठा छरपष्ट भएको
जब मलाई समाजले देख्यो राति ८ बजे रेष्टुरेन्ट गएको
त्यही दिन मेरो झण्डै लाइसेन्स नै रद्द भएको
ओ हो! म त समाजको पहरेदार, बफादार, दिल्दार, असल किरदार
यो समाजको इज्जत र संस्कार बचाउने म हुँ ठेकेदार
राति ८ बजेसम्म घर नआए घरको इज्जत जाने
मलाई कसैले घुरेर हेरे मेरै दोष भनी मैले नै गाली खाने
मैले लगाएको लुगा, हिँडेको समय, बोलेको स्टाइलमा प्रश्न
म जन्मिएको नै यो समाजको संस्कारको ठेकेदार भएर बस्न
हरेक व्यक्तिको, घरको, समाजको अनि सिंगो देशको इज्जतको डोरो मेरो हातमा
आफ्नो सबै कुरा भुलेर नचुँडाइ अघि बढ्नुपर्ने छ मजस्तै अरूका साथमा
किनकी समाजको संस्कार बचाउने र जोगाउने ठेक्का मलाई परेको छ।
भित्रभित्रै पिल्सिएर, थिच्चिएर, गुम्सिएर, पिस्सिएर,
मिच्चिएर, किच्चिएर भए पनि घरको, बुवाआमाको, दाजुभाइको,
समाजको अनि देशको इज्जत बचाउनै पर्नेछ
अन्यथा यो समाजले मेरो ठेक्काको लाइसेन्स नै रद्द गर्नेछ!