हिजो बेलुकी अंकलसँग म्यासेन्जर च्याटमा भएको कुरा अनुसार आज भेटनुपर्ने थियो। साँझको ५ बजिसकेको थियो। अंकललाई मिसकल गरेँ। उताबाट उत्तिखेरै कल आयो र अंकलले भेट्नलाई सुर्खेत कालिञ्चोकको एक चिया पसलमा बोलाउनु भयो।
म त्यहाँ उहाँले भनेकै समय पुगिसकेको थिएँ। हाम्रो ढोगा भेट भयो अनि गाउँ घरतिरको हालचाल सोधपुछ भयो। मैले चिया अर्डर गर्नु अगाडि साहुजीसँग वाइफाई पासवर्ड मागेर नेट कनेक्ट गरिसकेको थिएँ। चिया पर्खेर बसिरहेका थियौं। त्यतिकैमा एकछिन केही मौनता छायो। किनकि हामी दुबै काकु बाबुको ध्यान आ-आफ्नो मोबाइलतिर थियो। मोबाइल चलाइरहेका थियौं। त्यतिकैमा अंकलले मोबाइल देखाएर भन्नुभयो।
'बाबु यो विनोदलाई हेर त फेसबुकमा कहिले के लेखेको हुन्छ, कहिले के? आज फेरि राज आऊ देश बचाऊ भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहको फोटो फेसबुकमा पोस्ट गरेको छ। अस्ति फेरि बालेन शाह अब यो देशको प्रधानमन्त्री हुनुपर्छ लेखेको थियो। त्योभन्दा अगाडि मिसन चौरासी, अब यो देश रवि दाइ बाहेक कसैले बनाउन सक्दैन।
अबको प्रधानमन्त्री रवि दाइ! हाई हाई!! भनेर लेखेको थियो। केही महिना अगाडि राजनेता केपी बा आइ लभ यू लेखेको थियो। होइन दिन प्रतिदिन फरक फरक व्यक्ति प्रधानमन्त्री राष्ट्रपति चाहने कस्तो बेकुफीपन हो? अचेल यस्तै लेखेको धेरै युवाहरूलाई देख्छु। एकैदिनमा घण्टा पिच्छे फरकफरक व्यक्ति राष्ट्रपति, प्रधानमन्त्रीदेखि राजा चाहने आजभोलिका हाम्रा नयाँ पुस्ता के सारो बेकुफ भएका हुन्?
हुन त विनोद हाम्रै गाउँको भाइ हो। काठमाडौंमा बसेर बाहिरी देशतिर जाने तयारी गर्दैछ। अंकलले विनोद भाइलाई देखाउँदै अहिलेका युवा के सारो बेकुफ भएका हुन् भनी गरिएको प्रश्नले पनि मलाई कताकता घोचेजस्तो लाग्यो। आखिर आफू पनि त युवा परियो नि! कहिलेकाहीँ मैले कतै कुनै परिस्थितिमा कुनै भावनामा बहकिएर कुनै व्यक्तिको बारे यस्तै लेखेको पो थिएँ कि भनेर मनमनै सोच्न पुगेँ।
अनि मनमनै आफैले आफैलाई यस्तो कार्य गरेको छैन ठहर्याएर अंकललाई भने होइन होला। बेकुफीभन्दा पनि उसलाई चित बुझेर, जोसै जोसमा लेख्यो होला। मन परेको कुरा सेयर गर्यो होला। लोकतन्त्रमा स्वतन्त्रता छ आफूलाई मनपर्ने कुरा लेख्न सेयर गर्न। यो त सामान्य कुरा हो। यहीँ त लोकतन्त्रको सुन्दरता हो होइन र अंकल?
अनि अंकलले भन्नु थाल्नुभयो- 'कुरा बिनोदको मात्र होइन बाबु, अचेलका केटाकेटीहरूको हर्कत नै त्यस्तै मुर्खपना, अज्ञानी प्रकृतिका देख्छु के। यो सामाजिक संजालको प्रयोगले त झन् बेकुफीपनको हदै बढाएको छ। अचेलका युवाले कुनै पनि घटनाको जानकारी तथा सूचनालाई ज्ञान ठान्छन्। सूचना थाहा पाएकै आधारमा विद्वान देखिन खोज्छन् र सूचना थाहा पाउनेलाई नै विद्वान मान्छन्। तर त्यो सूचना साँचो हो वा होइन बुझ्न चाहन्नन्।
फेसबुक रिल र टिकटकमा रहेका छोटा सामग्री हेरेकै भरमा त्यसप्रति त्यहीँ प्रकारको मानसिकता तथा धारणा बनाउँछन्। समाचार पूरा पढ्दैनन् तर समाचारको हेडलाइन पढेर त्यसको टीकाटिप्पणी गर्छन्। पूरा भिडिओ हेर्दैनन् क्याप कट गरेर ट्रोल बनाएका सामग्री हेरेर विरोध गर्न लाग्छन्। आधिकारिक निकायको सूचना हेर्दैनन्, सुन्दैनन् पढदैनन् तर कसैले आफ्नो स्वार्थ लाभको निम्ति बोलेकै कुरालाई भने आफ्नोपन लिन्छन्।
युवाहरूले जुन कुरा सामाजिक सञ्जालमा बढी हेरिएको हुन्छ, त्यसलाई बढी मन पराइएको सोच्छन्। जसको सामाजिक संजालमा राखिएका सामग्रीमा लाइक कमेन्ट धेरै आउँछन् त्यो नै सत्य र ठिक ठान्छन्। जसको फलोअर्स बढी छन् त्यो नै देशको नेता भैदियोस् सोच्छन्। जसले नयाँ ठाउँमा फोटो भिडिओ खिचेर सामाजिक संजालमा हाल्दा धेरै लाइक कमेन्ट र भ्युज आउँछ अनि त्यहीँ ठाउँ नै घुम्नुपर्छ। त्यस्तै कपडा नै लगाउनुपर्छ सोच्छन्।
यिनै कुराले गर्दा अहिलेका युवाहरूले सफलता भनेको भिडिओ फोटोमा लाइक कमेन्ट कमाउनु ठान्छन्। आफ्नो फोटो भिडिओ पनि अरूको जस्तै भाइरल भैदियोस् ठान्छन्। त्यसैले नकारात्मक तथा अश्लील कुराहरूलाई सामाजिक संजालमा पोस्ट्याउन उन्मुख हुन्छन्। उनीहरूले नाता सम्बन्धवाला व्यक्तिभन्दा जो फेसबुकमा बोल्छन् तिनैलाई आफन्त मान्छन्। जसले लाइक कमेन्ट गर्छन् तिनलाई आफ्ना ठान्छन्।
यदि कोही कसैसँग सामाजिक संजालमा जोडिएको छैन, बोलचाल लाइक कमेन्ट केही हुन पाएको छैन भने आफन्त इष्टमित्र हुन भनेर चिन्नै पनि छोड्छन्। सम्झन पनि छोड्छन्। जे बोले पनि, जे खाए पनि, जे लाए पनि, जे मनाए पनि सामाजिक संजालमा देखाउनुपर्ने ठान्छन्।
कुनै पनि कुराको वास्तविकताको गहिराइमा जाँदैनन्। कसैले विरोध गरेकै कारण विरोध गर्छन् तर त्यो कुरा विरोध गर्नुपर्ने कुरा हो वा होइन त्यसको विश्लेषण गर्न सक्दैनन्। कसैले कुनै नेतालाई ठग हो भनेकै कारण ठग हो भन्छन् तर त्यसले ठगेको थियो कि थिएन त्यो बुझ्न चाहनन्। कागले कान तान्यो भनेर कसैले भनेकै भरमा कान नछामी कागतिर दौडने प्रचलन अहिलेको युवा पुस्तामा देखिन्छ।
कुनै विवाद हुँदा, कसैले कसैलाई आक्षेप लगाउँदा त्यसभित्रको स्वार्थ, द्वन्द्व, लाभ कसको के छ? कसैले रचेका षड्यन्त्र पो हो कि अहँ त्यसप्रति जान्न फिटिक्कै चाहँदैनन्। सबै कुराको विश्लेषण गर्न सक्ने सामाजिक चेतना भनौं अथवा द्वन्द्वात्मक भौतिकवादी चेतना भनौं यो सबैमा नभएता पनि भौतिकवादी चिन्तनलाई सुन्न तयार समेत छैनन्।
कुनै विशेष राजनीतिक विचार, दर्शनलाई बेमतलब गर्छन् तर यो पार्टी सही हो यो पार्टी गलत हो भन्न भने अग्रसर हुन्छन्। सूचनालाई ज्ञान सम्झेर आफू विद्वान भएको मुर्खता पालेर बसेका हुन्छन्।
अहिलेका युवामा विज्ञान प्रविधि संजालप्रतिको लगाव, अभ्यास र प्रयोगको अनुभव भलै बढी नै छ। तर राजनीतिक, सामाजिक चेतनाको जग भने निकै कमजोर छ। लाग्ना त अहिलेका युवापिँढीलाई आफूले प्रविधि चलाएको छु लाग्छ। तर प्रविधिले अहिलेका पिँढीलाई चलाइरहेको छ।
त्यसैले त च्याट जिपिटी, डिपसिक जस्ता एआई एप प्रतिको परनिर्भरता बढ्दो छ। हामीलाई नयाँ सोच्न र सृजना गर्नबाट सीमित पारेर हामीले खोजेको चिज हामीलाई नै सेवाको रूपमा दिएर हामीलाई आफ्नो अधिनमा चलाइरहेको छ। अहँ यसतर्फ बुझ्नै चाहनन् अहिलेका नयाँ पुस्ता।
जसरी दोस्रो विश्वयुद्ध अगाडिको इतिहास हेर्दा भौतिक र सैनिक शक्ति प्रयोग गरेर अरू राज्यहरूमाथि शक्तिशाली राष्ट्रहरूले उपनिवेशमा पारी शासन गर्थे। आज त्यसरी भौतिक शक्ति प्रयोग गरेर आफ्नो शासन लागू नगरे पनि आजको पुँजीवादी युगमा विज्ञान प्रविधिको चरम विकास र प्रयोगद्वारा विज्ञान प्रविधिमा ठूलो विकास गरेका राष्ट्रहरूले तिनै प्रविधिमार्फत् विश्वलाई उपनिवेशमा पारिरहेका छन्। जसले गर्दा सामाजिक, सांस्कृतिक तथा आर्थिक उपनिवेशवादले हाम्रो नेपालको सामाजिक, आर्थिक तथा सांस्कृतिक क्षेत्रमा प्रभाव पारेको छ।
जस्तै: कि हामीलाई देखाउनकै निम्ति बेबी सावर गर्नुपर्ने, बत्ती निभाएर केक काटेर बर्थ डे मनाउनुपर्ने। अझ त्यसलाई फेसबुक, टिकटक इन्स्टाग्राम आदि सामाजिक संजालमा देखाउने। साथै अरूले गरेजस्तै गर्नुपर्ने संस्कारको विकास हुनु पनि अहिलेको सांस्कृतिक औपनिवेशवादको नयाँ आयामको एक उदाहरण हो।
त्यसैले मेरो कुरा के भने अहिलेका युवामा चाडपर्व, पार्टी धुमधामले मनाउनुपर्छ भन्ने छ तर कसरी मनाउने थाहा छैन। अहिलेका युवामा सूचना छ तर विश्लेषण गर्ने क्षमता छैन। अहिलेका युवामा प्रविधि प्रतिको मोह छ तर त्यसको सही प्रयोग छैन। अहिलेका युवामा बल छ तर विवेक छैन।
अहिलेका युवामा स्वतन्त्रता छ तर नैतिकता छैन। अहिलेका युवामा सक्रियता छ तर सहनशीलता छैन। अहिलेका युवाले अधिकार खोज्छ तर कर्तव्य के हो बुझ्नै चाहनन्। अहिलेको युवाले बोल्न डराउँदैन तर कहाँ को सँग के बोल्नुपर्ने हो त्यो थाहा पाउँदैन।
अहिलेको युवाले विश्व दुनियाँ चिन्छ तर घर परिवार आफन्त चिन्दैन। अहिलेको युवाले वस्तु, व्यक्ति चिन्छ तर त्यसको भावना चिन्दैन। अहिलेको युवाले राजनीतिक नेता कार्यकर्ता चिन्छ तर राजनीति बुझ्दैन। पूर्वराजा चिन्छ तर राजतन्त्रको इतिहास चिन्दैन। आमाबाबुलाई चिन्छ आमाबाबुको दु:ख चिन्दैन। पैसा चिन्छ तर पैसाको महत्त्व चिन्दैन। गुरू, गुरूआमालाई चिन्छ तर गुरू आमालाई सम्मान गर्नुपर्छ भन्ने थाहा पाउँदैन।
शान देखाउँछ, मान खोज्छ तर कोही कसैको सम्मान गर्दैन। टिकटक र रिल भिडिओ हेर्न मन पराउँछ तर पूरा भिडिओ हेर्न चाहँदैन। नकारात्मक कुरालाई सेयर गर्छ तर सकारात्मक कुरालाई मतलब गर्दैन। त्यसैले त म भन्छु अहिलेको नेपालको युवापिँढी बेकुफ छन्।
न सीप छ न कला छ। न त आफै देशभित्र श्रम गरेर खाने आँट गर्छन् न त देशमै श्रम गर्नेहरूलाई प्रोत्साहन गर्छन। न सही व्यक्तिलाई समर्थन गर्छन् न सही व्यक्तिलाई मतदान गर्छन्। न त संस्कार जान्छन् न त संस्कारको सम्मान गर्छन्। हुटिट्याउले आकाश थामेझै संसारै आफैले गर्दा भएको, आफैले थाहा पाएको, आफै श्रेष्ठ भएको, आफैले नै जानेको ठान्छन् तर ज्ञान केही छैन।
न त सानासँग बोल्न आउँछ न त ठूलासँग बोल्न जान्छन्। न त आफ्नो चिन्ता छ न त देशकै चिन्ता। कसैले सिंहदरबार जलाइदिनुपर्छ भनेपछि जलाइदिनुपर्छ भन्छन। कसैले आइ लभ यू बा भनेपछि आइ लभ यू बा भन्छन्। व्यक्ति चिन्छन विचार के छ चिन्दैनन्। कुनै व्यक्तिलाई सामाजिक संजालबाट गालीगलौज गर्नुलाई आफूले महान कार्य गरेको ठान्छन् भने अनि यस्ता युवा जमातले कुन देशको मुहार चाहिँ फेरिन्छ र। न त यिनले सही नेता चिन्न सक्छन्। न त यिनले सही व्यक्ति छान्न सक्छन्। न त यिनले सही व्यक्तिलाई सही कार्य गर्नलाई प्रोत्साहन नै गर्छन्।
जे देख्यो, जे सुन्यो त्यसकै पछि केही नबुझी नसोची कुँदने जमातबाट देश दुर्घटनाको जोखिममा पर्न जान्छ। किनकि त्यस्तो जमात जसबाट पनि सजिलै परिचालित हुन सक्छ। गलत व्यक्तिले गलत कार्यलाई परिचालित गरे राज्यलाई नोक्सानी हुन्छ।
स्वार्थ समूहले मासु भात खुवाएर, मोटरसाइकलमा तेल हाल्दिएर, रक्सी चुरोट खुवाएर नै आन्दोलन, विरोध समर्थन जस्ता आन्दोलनमा युवा प्रयोग गर्छन् नेपालका अधिकांश राजनीतिक दलका जस्तोसुकै विचार र एजेन्डा भएका आन्दोलनमा मान्छे देखाउने प्रतिस्पर्धामा युवाहरू प्रयोग बढी भएको देखिन्छ।
यो परिस्थिति निर्माण हुनमा जिम्मेवार जति यो देशका राजनीतिक दल र तिनका शिर्ष नेता छन्। त्यतिकै मात्रामा जिम्मेवार लहैलहैमा चल्ने युवा नेता कार्यकर्ताको जमात पनि हो। अहिलेका युवापिँढी न त अडिग छन् न त विवेक छ।
सधैं अरूको फाइदाको निम्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रयोग हुने गोटी बनिरहेका छन्। तर जुनदिन यो देशका युवाहरूदेखि समाजका हरेक वर्गमा सामाजिक वर्गीय चेतना र त्यसको चिन्तन गर्ने क्षमता बढ्छ त्यस दिनदेखि देशलाई केही नयाँ र सकारात्मक प्रतिफल भने अवश्य मिल्नेछ।'
अंकल यसरी धारा प्रवाह तरिकाले बोल्नु भएको थियो कि मानिलिऊ त्यहाँ कुनै कम्युनिस्ट पार्टीको प्रशिक्षण चल्दै छ र म उहाँको कार्यकर्ता हुँ जस्तो तरिकाले। मैले उहाँ बोल्दै गर्दा बीचमै रोकेर प्रश्न गरौं गरौं लाग्यो। एक मनले त उहाँ बोलेर सकेपछि गरौंला धैर्य गरौँ लाग्यो तर अर्को मनले मानेन अहिलेका युवा प्रश्न गर्न डराउँनु हुँदैन भन्ने लाग्यो। अनि ट्याक्कै बोलिहालेँ 'तपाईंले जुन युवाहरूमाथि दोष देख्नुहुन्छ।
त्यो अहिलेका युवामा मात्र सीमित होइन होला। त्यो त सामाजिक संजाल प्रयोगकर्ता जो कोही युवा वृद्ध, वयस्क सबैमा देख्छु। के दोषी अहिलेका युवापिँढी मात्र हुन् र? के वयस्क र बृद्ध आदि इत्यादि चाहिँ दोषी नभएका हुन् र? केही युवाहरूमा त्यस्तो होला मान्न सक्छु। तर के सबै युवा बेकुफ नै छन् र? सबैलाई एउटै तराजुमा जोखेर हेर्नु के भौतिकवादी चिन्तन हो त?
मेरा ओठबाट यो प्रश्नको शब्दवाली निस्कन साथ अंकल तातो मान्छे ट्याक्कै भनिहाल्नुभयो।
'अहिलेका युवा आफूभन्दा ठूलाको कुरा धैर्यताले सुन्न पनि सक्दैनन्। आफै मात्र जान्ने खुटिन्छन्। त्यसैले म त भन्छु अहिलेका युवापिँढी बेकुफ छन्।
त्यसपछि ...