‘यो हप्ता हाम्रो माननीय ज्युको कसैसँग पनि भेट्ने समय निकाल्न सकिन्न, उहाँको यो हप्ताको तालिका पूरै प्याक छ। तपाईँहरू कुरै बुझ्नु हुन्न, सानातिना कुरामा उहाँ जस्तो माननीय अलमलिएर हुन्छ? त्यसैले अब फोन गरेको गर्यै गरेर लु न समय मिलाइदिनु पर्यो भनेर दिक्कै नलगाउनुस् है, कत्ति भन्नु यार!’
नातामा सालो पर्ने माननीय ज्युको स्वकीय सचिवले झर्किँदै फोन राख्यो। माननीय ज्युको वेटिङ रुममा बसी सँगै दर्शकदीर्घामा रहेर कालो चिया पिउँदै गरेका नजिकका कार्यकर्ताहरू उनको चालचलन नियाल्दै थिए।
‘कस्ता-कस्ता कार्यकर्ता हुन्छन् भन्या गाउँघरतिर, वाक्कै ल्याउने गरी फोन गरेर लौ न त्यो काम गर्न भनिदिनु पर्यो, लौ न यो गर्न सिफारिस गरिदिन मन्त्री माननीय जीलाई भन्न टाइम मिलाइदिनु पर्यो भन्दै बेला न कुबेका फोन गरेर हैरान बनाउँछन् यार’ भनेर उपस्थित दर्शकदीर्घा तिर सही थाप्ने आशयले गुनासो बिसाउँछ।
'त्यही त नि,' अलि नजिक हुन चाहने कार्यकर्ताले उसले त्यसरी झर्की फर्की गर्नु मनासिब नै हो नि भन्ने आशयले हो मा हो मिलाउँदछन् भने कोही अलि छुच्चो थुतुनो वाला दर्शकले चाहिँ- ‘के गर्नु स्वकीय सचिव ज्यु, चुनावका बेलामा नेता ज्युले जे परे पनि म भए, केही साह्रो-गाह्रो कुनै समस्या पर्यो भने टुच्च एक कल गर्नासाथ म ज्यान फालेर तपाईँहरूको समस्या समाधान गर्नेछु, केवल एक भोट यसपालि मलाई दिनुहोला भनेर मागेको हुँदा होला नि त गाउँलेहरूले आशा गरेका’ भन्छन्।
‘तपाईं बढ्ता नबोल्नुस्, चुनावको बेलामा त के-के भनियो भनियो। सबैले त्यो नभनी चुनाव जित्न सकिन्छ? चुनावको बेलामा भनेको कुरालाई नि सिरियस्ली लिन मिल्छ र भन्या, कस्तो कुरा गर्दा यार,’ ऊ फेरि झर्किन्छ। सबै चुप हुन्छन्।
माननीय ज्युको पिए सालो गाउँमा बरालिएर बस्थ्यो। गाउँघरमा कसैले बिग्रेको लफङ्गोको उदाहरण दिई छोरोलाई गाली गर्नु पर्दा केही अघिसम्म उसको नाम लिने गरिन्थ्यो। तीन चोटिमा एसएलसी तेस्रो श्रेणिमा उत्तीर्ण ऊ जब भिनाजुले सङ्घीय सांसद पद पड्काए, त्यसपछि त के, दौलतमा चाँदी-कटाइ, इज्जतमा ज्यु-हजुर अनि सानमा कहाँ हो कहाँ भनिसाध्या भए पो।
गाउँ घरका मात्र नभई जिल्लै भरिका ठुलाबडादेखि पिएचडी गरिसकेका विद्वान, भद्र भलाद्मीसम्मै, उद्योगपति, व्यापारीहरू सबैले ‘नमस्कार स्वकीय सचिव ज्यु, सानो कुरा गर्नु पर्नेछ माननीय ज्युसँग, लौ न हजुर थोरै टाइम मिलाइदिनु पर्यो हजुर’ भनेर अनुरोध गर्नै पर्ने हुँदा ऊ अचेल गदर सिनेमाको शनि देवल झैँ रानो माउरी भएको छ।
अनि अर्कातिर माननीय ज्यु चाहिँ, सांसद भन्नु अघिसम्म जम्मा एक कट्ठा जमिनमा ३ कोठे सानो घर, आम्दानीको देखिने स्रोत केही नभएको जीवन भरिमै कुनै पनि दिन खेतीमा पाइला समेत नटेकेका मान्छे पनि जिल्ला, प्रदेश हुँदै अहिले केन्द्रीय किसान नेता भई समानुपातिकमा सांसद पद पड्काउन सफल नेता हुन्। गाउँकै स्कुलबाट एसएलसी फेल उनी झोलै बोकेर बरालिँदाबरालिँदै नेता भएका हुन।
'कस्तोलाई चाहिँ परिछे हाम्री छोरी' भनेर छोरीको भाग्यलाई दुत्कार्ने उनको ससुराली खलक अहिले चिया पसलमा बिहान-बिहान जुँगामा ताउ लाउँदै 'हाम्रो आफ्नै साक्खै ज्वाइँसाब केन्द्रको माननीय ज्यु होइबक्सन्छ' भनेर अरूको अघिल्तिर शान देखाउँछन्।
माननीय भएको दुई साल भित्रमा जति नै तलब भत्ता भए पनि राजधानीमा उसले साढे दुई ढलानको घर बनाइसकेको छ। चढ्नलाई एक स्कारपियो अनि केटाकेटी स्कुल जान आउन र श्रीमतीलाई सपिङ गर्न, माइती मावली जान आउन अर्कै कार छ घरमा। के र कसरी बन्यो सब सोध्ने कुरा पनि त भएन।
घरमा बिहानैदेखि कार्यकर्ताहरूको घुइँचो लाग्ने गर्दछ। स्तरअनुसारका कार्यकर्ताको वर्गीकरण गरी समय के कति दिने वा नदिने भन्ने टुङ्गो उनै सालोले लगाउने गर्दछ। बस त्यत्ति कामको लागि सरकारले उसलाई तलब समेत निकासा गर्ने गरेको छ, त्यो पनि अफिसर लेबलले पाउने जत्ति नै।
बिहानको खाना आक्कलझुक्कल घरमा खाए अर्कै कुरा नत्र घरको खाना प्रायः खाँदैनन् माननीय ज्यु। प्रायः बाहिरै होटेलतिर 'भुजा ज्युनार गरिसिन्छ'। सालो मात्र नभई अरू गोडा दोएक जना सहयोगी प्राय: साथमै हुन्छन् उनको। एक हातमा डायरी बोकेको सालोसँगै सधैँ नै आगो नै निभाउन दगुरिएको जसरी हतारिएर हिँडेको मात्र देखिन्छ।
गाउँबाट आउनेहरूले यदि कर कोसेली बोकेर आएको छ अनि केही झर्ला जस्तो छ भने उनीहरूका भेटघाट र कुराकानीको लागि अलि बढी समय विनियोजन भएको हुन्छ भने खालि हात 'आशाको झोला' मात्र लिएर आएको छ भने त्यसको पूर्वक स्क्रिनिङ पिएले गरिसकेर जानकारी गराइसकेको हुँदा उनीहरूलाई चाहिँ कुराकानी गर्न आनाकानी, बहानाबाजी गर्ने र पन्छिने उसको बानी सबैले नबुझेका पनि होइनन्।
जिल्ला तथा आफ्नो निर्वाचन क्षेत्रभित्र भएका कुनै पनि शिलान्यास र उद्घाटन कार्यक्रम चाहिँ उसले छुटाउने गर्दैन। यदि आयोजकले कथम् कदाचित निमन्त्रणा गर्न छुटाएछन् मात्र भने त्यो आयोजक उसको वक्र नजर भित्र पर्ने गर्दछ। उद्योगी व्यापारी व्यवसायी एवम् विकासको कुनै पनि प्राइभेट, सरकारी एवम् गैह्र सरकारी निकायद्वारा सञ्चालन गरिने कुनै पनि कार्यक्रमहरूमा सबैभन्दा पहिले उसले आफ्नो 'नजराना' को हिस्सा माग गराउँदछ सालोमार्फत।
अनि फाइदा हुने, आफ्नो लोलीमा बोली मिलाउनेहरूले सञ्चालन गर्न लागेका छन् भने साथ सहयोग पनि गर्दछ। होइन भने त्यसमा टाङ अड्याइदिन आफ्ना आसेपासेहरूलाई गोप्य फोन घुमाई अप्ठ्यारो अवस्था सिर्जना गराएर आफ्नै शरणमा अनिवार्य नआई नहुने अवस्था सिर्जना गराउने उसको कौशल अद्वितीय नै मानिन्छ।
सदन नभएको दिन चाहिँ कुनै न कुनै समितिको बैठकमा भाग लिन जानु छ जस्ता झुट बहाना बनाइ खालि दगुरिएको मात्र देखिन्छ। जिल्लातिर जानु पर्यो भने उसले आफ्नै पैसाले कहिल्यै जिप, बस, जहाजको टिकट किन्नै पर्दैन, सबका सब खै कता-कताबाट आइपुग्छ, त्यो उसलाई खासै थाहै हुन्न। त्यसको चाँजोपाँजो सालोले मिलाउने गर्दछ।
पत्रपत्रिका खरिदका लागि सरकारी बजेट नै विनियोजन भएको हुँदा उनको हबेलीमा नेपाली र अंग्रेजी भाषाका दिनहुँ पत्रिकाहरू आउने गर्दछ; नेपाली पढ्न जाने पनि अङ्ग्रेजी चाहिँ 'सान बटुल्नका लागि' मात्र मगाइएको हुन्छ। सदन बैठक भएको दिन जम्मा ३ घण्टा जति मिटिङको लागि ऊ दिनभरि नै व्यस्त भएको जनाउ गराउँदछ।
सदनको शून्य समयको १ मिनेट भित्र सोध्न पाउने प्रश्न समेत उसले ३ दर्जन जति पटक ड्राफ्ट गरेर ऐना अघिल्तिर उभिएर वाचन गर्दै ठिक/बेठिक के छ हेरेर भन्न सालोलाई लगाउँछ। बेकामे झोले युटुबरहरू र बढीमा २० प्रति छापिने लोकल पत्रिकाका सञ्चालकहरूलाई उसले समय-समयमा मासु भात खुवाएर नजिक बनाएको हुन्छ, जसले आफ्नो 'वीरताको गाथा' भाका हाली-हाली गाइदियोस् र आफू असल जनप्रतिनिधि कहलियोस् भन्ने हेतुले।
विद्धान, विदुषीहरू यदि घर मै भेट्न आए भने पनि उ आफू फलानो कानुनको मस्यौदा बनाउनमा असाध्यै व्यस्त भएको हुँदा कुराकानी एकदमै छोट्टाएर गर्न र आफ्नो अमूल्य समय हानी नपुर्याउन भन्छ। कुन व्यापारी, उद्योगीहरूको स्पोन्सरशिपमा घुम्न जान पाइन्छ, कसको कुन काम अड्किरहेको छ र त्यसलाई फुकाइदिए बापत कति जति ढेवा झर्छ भनेर त्यसको तलास गर्न उसले पिए खटाएको हुन्छ।
अप्ठ्यारा परेका हरूले 'आफ्नो स्वार्थमा काम गरिदिए बापत खुसुक्क बकस दिएको द्रव्य' न कुनै अडिटरले पत्ता ल्याउन सक्छन् न त कुनै आयोगले नै।
त्यसबाहेक उसको अर्को मुख्य नित्य कर्म भनेको आफ्नो गुटको वा दलको टाउके नेताजीहरूको दरबारको ढोकामा टुप्लुक्क बाहिर उभिएर हर बिहान 'स्वस्ति' गर्न उपस्थित हुनु। त्यत्ति गर्न सकिएन भने समानुपातिकमा हालिदिएको गुण तिरेको ठहरिँदैन भन्ने उसको नैतिक मान्यता छ।
टाउके नेताहरूले बोलेको बाइट र उनीहरू सम्बन्धी सकारात्मक समाचारलाई फेसबुकमा सेयर गर्ने र नकारात्मक भए त्यसलाई खण्डन गर्नुपर्ने उनको मुख्य कार्यविवरण भित्र पर्ने हुन्छ। त्यसलाई उसले इमानदार पूर्वक निर्वाह गरेको हुन्छ।
जसरी सेनाका ठुलाबडा जर्साब कर्साबहरूको भोजमा आफ्नो इमानदारिता प्रस्तुत गर्न सकल दर्जाका जवान वेटरहरू आफ्ना हाकिमहरू र उनीहरूका परिवारका सदस्यहरू बसेको ठाउँमा मिठा मिठा परिकारहरू ल्याइदिएर, एक चोटि गरेको काम पनि हाकिमहरू सामुन्ने स्याबासी पाइयोस् भन्ने मनसायले दोहोर्याइ-तेहेर्याइ खटिरहेका हुन्छन्, ठिक त्यसै गरी आफ्नो टाउके नेता अघिल्तिर उसले पनि आफ्नो बफादारिता प्रदर्शन गर्न कुनै कसरी बाँकी राख्दैन।
आज दुई ओटा कानुनको ड्राफ्टमा काम गर्दै छ 'इलेक्टोरल सिस्टम परिमार्जन तथा संशोधन ऐन'को मस्यौदा। यतिन्जेलसम्म उसको बुझेको इलेक्टोरल भनेको इलेक्ट्रोनिक समानहरू जस्तै टिभी, वाशिङ मेसिन, फ्रिज,, रेडियो, डिभिडी, माइक, रेडियो जस्ता सामाग्री हो भन्ने बुझाइ छ र त्यस्ता सामाग्री हरू कसरी जतन गर्ने गरी कानुन बनाउने हो भन्ने अजासु बुद्धिले गर्दा त्यहीअनुसारको भाषणसम्म गर्न भ्याउँछ दिउसोको एक आम सभामा।
‘हेर्नुस् जनसमुदाय! हामी अब चाडै नै इलेक्टोरल सिस्टम परिमार्जनको कानुन बनाउँदै छौँ। अबदेखि हाम्रा घरका इलेक्ट्रोनिक समानहरू जतन गर्ने कुरा समेटिँदै छ। म आजभोलि त्यही कानुन बनाउने कुरामा अत्यन्तै व्यस्त छु’ भन्ने भाषण समेत गर्न भ्याउँछ। अर्को कानुन परिमार्जन गर्ने विधेयक समेत बनाउँदै छ- 'लोक सेवा आयोगको भूमिका' सम्बन्धी।
बुँदा लेख्दा-लेख्दै उसले आफूलाई झल्याँस्स सम्झन्छ र आफैले आफैस मनोवाद गर्दछ कि, म कानुनको निर्माता हुँ, निर्देशक पनि हुँ, कानुन उत्पत्ति गराउने उत्पादनकर्ता पनि म स्वयम हुँ तर यो सबै बनाउने मेरो आफ्नो योग्यता चाहिँ कति हो त? आफू त टेपा (टेस्ट पास) माननीय पो हुँ त।
यत्ति हुँद हुँदै पनि, नजानेको अनि कम पढेलेखेको, कम बुझेको जस्तो बन्नु पनि त भएन। त्यसैले टेपा भए पनि आखिर म त कानुन बनाउने ठाउँमा पो छु त, राष्ट्रको माननीय पो हुँ त भनेर 'स्व-गर्व' गरिरहेको छ।