नपरोस् अब चिनाउन कसैलाई
कुनै शब्द अथवा भावका आवरणहरूमा
नपरोस् अब चिनाउन कसैलाई
शब्दका अनेकौँ जालहरूमा
नपरोस् गाँस्न शब्दका सुन्दर मालाहरू
झुटो वर्णन गरेरै सजाउन
निकै असल हुनुको पगरी गुथाएर
आफैले छानेका प्रतिनिधिहरूलाई
आदरार्थी शब्द अनि भावहरूमा,
जसरी छर्लङ्ग छ सूर्य आकाशमा
बगेरै निर्मल हुन्छ जल नदीहरूमा
उसै गरी छर्लङ्ग हुनुपर्छ प्रतिनिधि
तिनका कर्म अनि व्यवहारहरूमा
नपरोस् चिनाउन अरू कसैले
दुनियाँ भुलाउने शब्दहरूमा।
नपरोस् अब चिनाउन
शब्दले कमजोरीहरू लुकाएर
शब्दमै मुस्कान मिसाएर
सार्वजनिक स्थल अनि समारोहहरूमा
सगर्व बताउन सकियोस् विगत
उदाहरण दिन सकियोस् वर्तमान
अनि विश्वास गर्न सकियोस् भविष्य
छर्लङ्ग होस् सूर्यजस्तै
भन्नै नपरोस् न्यानो छ भनेर
भन्नै नपरोस् उज्यालो छ भनेर
उसै गरी हाम्रा प्रतिनिधि पनि
कर्तव्यनिष्ठ भएको प्रमाण दिन
नपरोस् अब कुनै शब्दहरू खर्चन।
नपरोस् अब चिनाउन कसैलाई
कुनै विज्ञापनका नमुनाहरूमा
बिक्री नभएका सामानजस्तै
झुटो बोल्दै पटक पटक
कमजोरी ढाक्दै सच्याउन
नपरोस् कुनै शब्दहरूले
सक्षम हुनुको प्रमाण जुटाउन
छर्लङ्ग होस् योगदान घामजस्तै
नपरोस् शब्दले फसाउन
जसरी सत्ता हातमै सुम्पिदिँदा पनि
सम्हाल्न नसक्नेहरूलाई सक्षम भन्दै
नपरोस् सधैँभरि बचाउन
शब्दहरूको माला भिराएर।