वर्षौँदेखि कुरेको एउटा सपना
जसलाई सजाएर यो डरलाग्दो
बिपना सजिलो पार्नु थियो
माया गर्ने ओठमा मुस्कान भर्नु थियो
रिस गर्ने ओठ बन्द गर्नु थियो
आफ्नो गोरेटोमा खुसीको रंग भर्नु थियो
जसबाट
जन्मनु पूर्व देखिको लागेका चोटहरूलाई
शान्तिपूर्ण तवरबाट पुर्नु थियो
सामाजिक कु-संस्कारको विरुद्ध
पैसामा प्रतिष्ठा नाप्ने स्वार्थी भिड विरुद्ध
मेरो कमजोरीमा मेरै जन्मस्थान र मातृत्वलाई
धावा बोल्न सक्ने विरुद्ध
रच्नु थियो एउटा इतिहास
र त्यो आज पनि निराशा तिर लम्कियो।
त्यसैको आडमा फेर्नु थियो बाँकी सास
चिर्नु थियो मनको अन्धकार
साट्नु थियो मनको उमंग
हावाका लहरहरूसँग।
अहँ! आएन त्यो दिन
धेरै प्रतीक्षा र मेहनत पश्चात् पनि
हात परेन
सायद दुखको सागरमा भिज्नु थियो होला
यो वर्ष मलाई होली आएन
जसका प्रत्येक रङसँग मैले
साट्नु थियो आफ्नो सपनाको रंग
तर अपसोच
समयको घाउ समयले एक दिन पुर्नेछ भनेर
म आफूलाई सान्त्वना दिँदै छु
बलिरहेछ अग्नि ज्वाला आफैँभित्र
तैपनि भोलिबाट झुटा दन्तलहर
देखाई बाँच्नु छ फेरि उहीँ दुनियाँमा
जहाँ टुटेको सपनाभन्दा
आनन्दित हुनेछन् एक जमातहरू त
मभन्दा पीडित हुनेछन् मलाई
मनबाट आफ्नो मान्यहरू।
उज्यालो आकाश
धेरै दिनपछि खुलेको तुवाँलो
होलीको पर्वले रमेको परिवेश
बच्चाको हाँसोदेखि यो उज्यालो घाम समेत कस्तो
उजाड लागिरहेको छ
आफैँप्रति दया लागेको छ
तर आफूले आफैँलाई फकाउनु पनि त छ
किनकि पूरा भएका सपनालेभन्दा
मानिसलाई पूरा नभएको सपनाले
झनै गतिशील रहन प्रेरणा दिइरहेको हुन्छ ।