म उमेरले ‘बुमर’ भन्दा तल र ‘जेन जी’ भन्दा माथिको मान्छे। फेसबुक मेरा लागि ‘याहु’ भइसक्यो। ट्विटर म चलाउँदिनँ। टिकटकमा नाच्न आउन्न। बाँकी रह्यो त्यही डाटा चोर इन्स्टाग्राम। र म इन्स्टाग्रामलाई घृणा गर्छु।
यहाँ सब खुसी छन्। मोजमा छन्। घुम्दै छन्। रम्दै छन्। लभमा छन्। बिहे गर्दै छन्। म एक्लो छु। दुखी छु र यो चिसो कोठाभित्र छु। पीडामा छु। सपाट बोरिङ जिन्दगी माझ लम्पसार छु।
म धेरै कुरा घृणा गर्छु। मेरा लागि मोटिभेसन नै घृणा हो। म संसारलाई घृणा गर्छु। यसका कथित नियमहरूलाई घृणा गर्छु। असल मान्छेको अभिनय गर्नु पर्ने आफ्नो विवशतालाई घृणा गर्छु। सबैलाई नमस्कार गर्दै उम्कनु पर्ने आफ्नो अवस्थालाई घृणा गर्छु। पाइला पाइलामा यसो गर उसो नगर भन्ने यो आडम्बर समाजलाई घृणा गर्छु।
देशको राजनीति, स्वास्थ्य, शिक्षा, साहित्य, पत्रकारिता सबै आफ्ना औँलामा नचाउने कर्पोरेटका मालिकहरूलाई घृणा गर्छु। अनि म स्वयम् आफू अनि आफ्ना जिम्मेवारीहरूलाई घृणा गर्छु। म जिम्मेवारीहरूदेखि टाढा भाग्न खोज्छु।
सायद, जिम्मेवारीहरू मेरा लागि होइनन्।
मलाई इन्स्टामा बिहे गरेर राखेका क्युट रिलहरू देख्दा सारै रिस उठ्छ। सायद आफूले पनि त्यस्तै क्युट रिल बनाउन नपाएर होला। म एन्जल्स नहुँला तर म पनि खासै विवाह संस्थामा विश्वास गर्ने मान्छे होइन। लाग्छ यदि झुक्किएर मैले बिहे गरेँ भने कि त दिनदिनै रेख्ताबाट प्रेमिल प्रेमिल काव्यिक लाइन क्याप्सन राख्दै इन्स्टाग्राम सजाउँछु कि त बिहेको दिन पनि स्टोरीमा ऱ्यान्डम मिम चप्काउँछु।
बेलाबेला एउटा साथीको भनाइ याद आउँछ- ‘तिमी त नयाँ मान्छे चिन्नु पर्छ र उनीहरूसँग बोल्नु पर्छ भनेर बिहे नै नगर्ने टाइपको मान्छे छौ।’
मलाई यो जिन्दगीको मगजमारीसँग पुगिसक्यो। पैसा नभएर मात्र नत्र म उहिल्यै जिन्दगीबाट राजीनामा दिइसक्थेँ। मलाई आफ्नो जिन्दगीले पिरोल्छ र इन्स्टाग्राममा अरूको जिन्दगी देख्दा पोल्छ।
मान्छेहरू एकआपसमा यति लड्छन् तर इन्स्टाग्राम यसरी पोस्ट गर्छन् मानौँ यी त एक आत्मा थिए जसलाई जन्मले दुई शरीरमा विभाजित गर्यो!
हुन त मार्दी गएर मनास्लुको धाक लगाउने ठाउँ न हो इन्स्टाग्राम! हिमाल २० सेकेन्डको रिलमा बढी सौन्दर्यपूर्ण देखिन्छ नाकी पाँच दिन आलु खाँदै गर्नुपर्ने हिँडाइमा। अझ हरदिन हिमालमै बस्नुपर्नेलाई त हिमालको हिउँ सुन्दरभन्दा बढी क्रूर लाग्ला।
इन्स्टाका आफ्नै अकथित नियमहरू छन्। जसरी फेसबुकका आफ्नै अलिखित नियमहरू छन्। जसरी फेसबुकमा आफूलाई युवा नेता वा अभियन्ता भन्न चाहनेहरूको बिगबिगी छ। त्यो महामारी इन्स्टामा अझै फैलिएको छैन। होला तर छिटपुट मात्रमा छ। जसरी फेसबुकका युवा नेता राष्ट्रिय नेताहरूलाई भेट्दा फोटो खिच्छन् र फलानो विशिष्ट नेतासँग समसामयिक राजनीतिक विषयमा गम्भीर छलफल गर्ने मौका मिल्यो भनेर फेसबुक भरी आधा पेजको क्याप्सन राख्छन्। भला ती त्यहाँ गएर फोटो मात्रा खिचेर आएका मात्र किन नहुन्।
यसमा नेताहरू वर्तमान नेपाली समाजमा मार्क्सवादी दृष्टिकोणको आवश्यकता जस्ता जार्गनहरू पनि थपिन सक्छन्। छोरा नातिले पासवर्ड सम्झन पर्ने नेता पुस्ता अझैँ इन्स्टा पुगेको छैन। पुगेका छन् मात्र ती जो पिआर एजेन्सी अफोर्ड गर्न सक्छन्।
सामाजिक सञ्जालको काम मान्छे र समाजलाई कसरी जोड्ने होइन, एउटा रिलदेखि अर्को रिलसम्म कसरी झुन्डाइराख्ने मात्र हो। हजारौँ वर्कआउट वाला रिल सजेस्ट गर्नु हो तर वर्कआउट गर्न जान नदिनु हो!
मानव सभ्यता कथाहरूले डोऱ्याएको सभ्यता हो। हजुरआमाले केटाकेटीलाई सुनाउने कथाहरूदेखि फ्यान्टसी मुभीहरूमा आइपुगेको युग छ। अहिले आएर इतिहास अड्किएको छ इन्स्टाग्रामका स्टोरीहरूमा! भला मान्छेहरूले ती स्टोरीलाई स्किप गर्लान्। एक/दुई जना नजिककाले लाइक गर्लान्। हामी यसरी पोस्ट गर्छौँ जस्तो कि हामी फिल्मको मेन क्यारेक्टर हौँ। हामी मेन क्यारेक्टर सिनड्रोमले अभिसप्त छौँ। हुन त हामी हौँ। केवल आफ्ना लागि। अरूका लागि त ब्याकग्राउन्डमा हराएका एक्स्ट्राज मात्र न हौँ।
यो यथार्थले हामीलाई पोलेको छ। संसार अथाह छ। संसार सुन्दर छ। हाम्रा मोबाइलका स्क्रिन बाहिर पनि संसार छ।
अझैँ धेरैजसो कथित बुमरहरूको पुस्ता फेसबुकमा झगडा गरिरहेका छन्। तेरा नेता खत्तम मेरा नेता महान् भनिरहेछन्। जबकि माथि यी दुवैका नेता मिलेर सरकार बनाएका छन्। जेन जी स्टोरी राखी एक्टिभिजम गर्दै छन्। त्यो एक्टिभिजमको आयु मात्र २४ घण्टा छ। भोलि विरोध गर्न अर्कै कुरा हुनेछ। आफ्नो इमेज प्रोजेक्ट गर्न अर्कै कुरा हुनेछ।
अचेल हामी दिमागको आयतन फैलाएर सोच्दैनौँ! मानौँ हाम्रो दृष्टिकोणमाथि अल्गोरिदमको लगाम लगाइएको होस्। सिलिकन भ्यालीका मालिकहरू तब धनी हुन्छन् जब मानिस एक्लो हुन्छ, दुखी हुन्छ र घृणाले भरिएको हुन्छ। सायद स्वभावले नै मानिस नकारात्मकतातर्फ बढी आकर्षित हुन्छ। जसरी पत्रिकामा मृत्युको समाचार बन्छ जबकि जीवनको खबर नगण्य हुन्छ।
संसारमा फैलिएको एक्लोपन र दुःखको जड सायद यही मोबाइल हो। जहाँ झुटको खेती हुन्छ। झुटकै बिक्री हुन्छ।
सबैलाई चाहिएको छ एउटा पर्फेक्ट शरीर, पर्फेक्ट अनुहार, पर्फेक्ट प्रेम। सबैलाई आफ्नो ओपिनियन बर्साउनु छ। सुन्नु कसैलाई छैन। बोल्नु सबैलाई छ। सबलाई भाइरल बन्नु छ। इन्टरनेटको ख्याति त्यति हुन्छ जति एउटा स्टोरीको आयु हुन्छ।
यहाँ मान्छेको ऐटेन्सन स्प्यान बहुत कम छ। मान्छे सजिलै बोर हुन्छ। जे कुराको पनि थुप्रै च्वाइस छन्। त्यसैले मान्छेमा भ्रम छ कि यो नभए त्यो हुन्छ तर अन्त्यमा केही हुँदैन। च्वाइसहरूको दुबिधा यस्तो हुन्छ जस्तो समुद्रमा प्यासी हुन्छ। जस्तो पानी जता पनि छ जति पनि छ तर आँत सुकेको सुकै छ।
जसरी इन्स्टाग्राममा थुप्रै केटी छन्। जीवनमा कोही छैनन्। केटाहरू ट्रस्ट दि प्रोसेस भन्दै जिमको फोटो राख्छन्। जति सुन्दर तिनको शरीर हुन्छ त्यति सुपरफिसियल कुरा हुन्छन्।
एउटा मान्छेले एउटा स्टोरी राख्दा कति मेहनत गर्छ। फोटोलाई इडिट गर्छ। क्याप्सन सोच्छ। इमोजी बटुल्छु। गीतको कुन पार्ट राख्दा फ्लर्ट गरेजस्तो पनि हुन्छ तर डेस्पेरेट पनि देखिन्न त्यो वाला भाग ठ्याक्क राख्छ। यो इन्स्टाग्रामको युगमा प्रेम गर्नु चेस खेल्नु हो। गए ती युगहरू जहाँ हाम्रा बाजे बराजु रुख पछाडि चिठी लुकाएर प्रेम गर्थे।
युग बद्लियो, अवस्था बदलियो अनि प्रेम गर्ने तरिका पनि। यहाँ त्यो तरिका सही यो तरिका गलत भनेको पनि होइन। यो तरिकामा नियम छिटो छिटो बदलिन्छन्।
यहाँ कसैले स्टोरीमा रिप्लाई गरे त्यसको तुरुन्तै जवाफ दिनु हुन्न भन्ने नियम रहेछ। तर त्यति ढिलो पनि फर्काउनु हुन्न जहाँ आफू एरोगेन्ट बनियोस्। यही एरोगेन्ट र डेस्पेरेटवाला लाइन निकै मधुरो छ। खासै भेउ पाइन्न।
ती मान्छे जसले स्टोरीमा जन्मदिन वाला रिपोस्ट देख्छन् तर ह्यापी बर्थडे भन्दैनन् ती सामाजिक अकथित नियम विरुद्धका क्रान्तिकारी हुन्। अब तिनलाई दुनियाँको मतलब छैन र छैन कसैलाई इम्प्रेस गर्न।
म आफूलाई प्रेम गर्न चाहन्छु तर इन्स्टाग्रामको अल्गोरिदम मलाई घृणा गर्ने बनाउँछ। त्यसैले म इन्स्टाग्रामलाई घृणा गर्दछु। मलाई अनुभव हुँदै छ, म ठिक छैन र म जस्तै दुनियाँ पनि त कहाँ ठिक छ र? हामी सब आफ्नो ठिक वाला इमेज प्रोजेक्ट गरिरहेका हुन्छौँ। सामाजिक सञ्जाल होस् या जीवन हाम्रो मेथड एक्टिङ सधैँ जारी हुन्छ। मानौँ जीवन पोलिटिककै करेक्ट आर्ट हाउस सिनेमा हो र हामी अभिनय गरिरहेका छौँ मेनटेन गर्न एउटा स्वैर काल्पनिक इमेज।
हामी भित्रको त्यो कालो विध्वंसक, स्वार्थी, जनावर बाहिर आए के स्विकार्ने छ यो समाजले। नेपालमा कतै बढी पहिरो आउँदा दुर्घटना हुँदा, गाजामा केटाकेटी मारिँदा, अमेरिकामा मास सुटिङ हुँदा म सामाजिक सञ्जालमा दुःख व्यक्त गर्छु। यो दुःख के साँच्चै म दुखी भएर व्यक्त गरेको दुःख हो? या 'हेर त संसारमा कति मान्छे मरिरहेका छन्, तिनको मृत्युमा म दुखी छु किनकि मलाई म एउटा संवेदनशील असल मान्छेको इमेज प्रोजेक्ट गर्नु छ जबकि वास्तविकतामा म खासै दुखी छैन र ती कुराले मेरो जीवनमा खासै असर पार्दा पनि पार्दैनन्। अनि मलाई दुःखी भएको देखिन भोलि अर्कै विषय हुनेछ' भनेर हो?
आजभोलि साथीहरूसँग कुरा गर्यो। यार म दुःखी छु भन्यो। 'जिन्दगी यस्तै हो कहिले घाम कहिले छाया एक दिन सब ठिक हुन्छ' भन्दैनन्। 'अस् ब्रो अस्' भन्छन्। कुरा सक्छन्।
हुन त म पनि त्यसै गर्छु। कुरा र दुःखको गहिराइमा जाने फुर्सद, जाँगर, इच्छा, चाहना केही छैन मसँग। त्यसैले म रिल पठाउँछु र उनीहरूले पठाएको रिलमा हाहा रियाक्ट गर्छु।
म सोच्छु त्यसैले दुखी छु। कहिलेकसो पढ्छु, त्यही भएर पनि दुखी छु। दुखी त म नपढ्दा पनि छु। मानौँ दुःख मेरो छाया हो, इन्स्टाग्राममा मात्र होइन जता गए पनि फलो गर्ने।
बुद्धले भन्थे रे 'जीवन दुःख हो र दुःखका कारणहरू छन्' र सायद दुःखको कारण स्वयम् जीवन हो या हो यो मोबाइल र इन्टरनेट?
इन्स्टाग्राम हाम्रो समाज, युग र वर्तमान मानसिकताको प्रतिनिधि हो। यसले त्यही मानसिकतालाई मलजल गरी आफ्नो न्यारेटिभ बेच्छ। के बोल्ने, के खाने, के लगाउने, कस्तो देखिने, कस्तो सोच्ने सब यसैका न्यारेटिभ। हामी स्वतन्त्र छैनौँ र हाम्रा सोचहरू समेत कैद छन्। एल्गोरिदमका साँघुरा गल्लीहरूमा। विचारका फैलावटहरू अब विशाल रहेनन्। लेबलका कंक्रिटहरूले तिनलाई ध्वस्त बनाइसके। हामी सोच्न चाहन्नौँ।
सोच्न समय माग्छ। समय दिनलाई टाइम कोसँग छ यहाँ? ऐटेन्सन स्प्यान निल छ। कसले पढ्ने? कसले लामा कुरा सुन्ने? बरु १५ सेकेन्डको रिल हेर्ने अनि आफ्नो विचार बनाउने। एउटै वस्तुका फरक कोण भए जस्तै एउटै विचारका पनि त फरक दृष्टिकोण हुन सक्छन्। सबै कुरामा सबै सहमत भए के मजा? तर सहमत भइएन भन्दैमा लड्दै हिँड्नु पर्छ भन्ने पनि छैन। परन्तु इन्स्टाग्राम मान्छेलाई लडाउन चाहन्छ। लडाइँ अर्थात् ट्रोल। ट्रोल अर्थात् आइबल। आइबल अर्थात् इन्गेजमेन्ट। अर्थात् डाटा। अर्थात् याड। अर्थात् पैसा।
घृणाले व्यापार बनाउँछन्। सिलिकन भ्यालीका मालिकहरू सोख पुऱ्याउँछन्। तब यी किन चाहन्थे मान्छेहरू सौहार्दपूर्ण बसेको, रमाएको!
त्यसरी नै मिडियाहरू बिलिनियरका इमेज प्रोजेक्ट गर्ने टुल मात्र हुन्। उता मस्कले ट्विटर किन्छन्। उटपट्याङ मच्याउँछन्। छिमेकमा अम्बानी अडानीका मिडिया हाउसहरू सर्वविदित छन् अनि नेपालमा? त्यो चाहिँ मलाई थाह भएन हजुरसँग अरूभन्दा दुई बढी ब्रेन सेल भए हजुरलाई थाह होला।
हुन त आदर्श यो युगमा लास बनी सडेको छ। मान्छेका आधारभूत आवश्यकता नै पुरा नहुँदा, आदर्श खोकेर को बाँच्न सक्छ? जब एउटा नागरिकले भात खान सकिरहेको छैन, त्यो बेलामा औषधि खानु उसका लागि लक्जरी हो! अनि नैतिकता कतै दूर आकाश माथिको निरपेक्ष ईश्वर। जसको अस्तित्व भएर वा नभएरै केही फरक पर्ने वाला छैन। उसका निम्ति पेटमा बलेको आगो नै अन्तिम सत्य हो। सामाजिक सञ्जालका निम्ति ती मान्छे कोही होइनन् फगत कन्टेन्ट मात्र हुन् जसरी भूपीका शब्दमा नागरिक केवल भोट मात्र हुन्। ती कन्टेन्टको गरिबीलाई इन्स्टाग्राम रोम्यान्टिसाइज मात्र गर्छ।
सायद भोल्टिएर भन्थे, ‘विशाल शक्तिसँग विशाल जिम्मेवारी हुन्छ!’ वर्तमान युगमा ईश्वर भनेकै एल्गोरिदम र इन्टरनेट हो। तर सही र शान्त कुराहरू मान्छेलाई बोर गर्छन्। रिलमा भड्किलो, घृणाले भरिएको, भ्रामक कोल्ड ओपल त चाहियो नत्र मान्छे मोबाइल साइडमा राख्छ परिवारसँग गफ गर्छ, खुसी हुन्छ। त्यो भयो भने संसार निर्देशित गर्ने मालिकहरू कसरी धनी हुन्छन्?
त्यसैले सायद मान्छेले पढ्नुपर्छ र कहिलेकसो सोच्नुपर्छ। पढेर संसार बदल्न नसकिएला। कम्तीमा संसारमा जे भइरहेछ गलत भइरहेछ भन्ने त थाह हुन्छ। थाह हुन्छ आफू हिँडेको बाटो ठिक छैन र कम्तीमा आफ्नो आदर्शको भ्रम त तोडिन्छ।
थाह हुन्छ अरूलाई नमस्कार त गरियोस् तर नमस्कार गर्दा गर्दै ढाड यति लच्किलो त नबनोस् कि सत्यको लागि उभिनै नसकियोस्!
इन्स्टा खोल्छु, फेरि अर्को साथीले बिहे गरेछ, उसलाई बधाई दिनु पर्यो!
जोन साबले भने जस्तै-
क्या तकल्लुफ़ करें ये कहने में
जो भी ख़ुश है हम उस से जलते हैं
कुरा यत्ति हो। दुनियाँ खुसी छ र त्यो खुसी देखिएको दुनियाँ देखेर म दुखी छु। तर नाइँ। मैले यत्रो भवसागर लेखेँ। तपाईंले यत्रो पढ्नु पनि भयो। हामी उल्लु बनिरहेछौँ। हामी उल्लु बनाइरहेछौँ।