कुरा इतिहासको हो। म भने वर्तमान मानिरहेको छु। मायालुले छोडेपछि वर्षौँदेखि बेचैन छु म। अझै मायालुलाई पर्खिरहेको छु। कुरिरहेको छु। हरेक दिन सम्झिरहेको छु। सम्झनाहरू मनमा साँचेर बसेको छु।
भूपू कुन हालतमा छिन्? कस्तो हालतमा छिन्? अत्तोपत्तो छैन। मायालुका चिनोहरूलाई फ्रेममा सजाएर राखेको छु तर मायालु भने... भूपू मायालुलाई देख्न र भेट्न मन छ एक पटक। अवस्था जे भए पनि स्वीकार छ मलाई!
उनी खुसी होलिन् वा नहोलिन् अवस्था अज्ञात छ। बेखुस रहिछन् भने आत्मसात् गर्न मन्जुर छ। अझै उसलाई रानी बनाउने इच्छा छ। कुनै हीनता बोध बिना स्वीकार छ। व्यवस्था परिवर्तन गर्न लाग्दा जेल परे म। गल्ती उनको थिएन, मेरै थियो। वर्षौँसम्म मलाई जेलमा भेट्न आइन्।
जेलबाट छुट्ने दिन यकिन थिएन। राज्य विरुद्धको मुद्दामा आरोपित थिएँ म। तत्कालीन सरकारले मलाई जेल सार्यो। त्यसपछि उनीसँग भेट बन्द भयो। मलाई कहाँ सारियो उनलाई थाहा भएन होला सायद। सञ्चार गर्ने माध्यम नहुँदा बेचैन थिएँ। अहिलेसम्म बेखबर नै छु। परिस्थितिले उनको र मेरो बिछोड गरायो।
कुरा अहिलेको सोच्नु होला। होइन नि! १५ वर्ष अगाडिको हो कुरा।
उनी जीवित छिन्, देशमै छिन वा विदेशमा छिन! बेखबर छु म। भेट्ने र देख्ने चाहना तीव्र छ तर म असफल छु। सरकार एक दिन भूपू मायालु डे अर्थात् एक्स डे घोषणा गरी दे! मैले पनि तेरो लागि त्याग गरे छु। मैले तँलाई सत्तामा पुर्याएँ। तै भेट्न सक्छु कि उनलाई? अझै आत्मविश्वास छ। मायाका चिनोहरू सकुशल उनैलाई फिर्ता दिन मन छ।
सोची ल्याउँदा मूर्ख त मै रहेछु! व्यवस्था परिवर्तन गर्न लगाएको समय बेअर्थ रहेछ! जनताले के पाए? अहिले पश्चात्ताप छ मलाई! त्यो विनाशको क्षतिपूर्ति अहिलेसम्म हुन सकेको छैन। हुन पनि सक्दैन। धन र जनको क्षतिलाई व्यवस्था परिवर्तनले मात्र पूर्ति गर्न सक्दैन। वास्तविक जनताको जीवन परिवर्तन भएको भए कुरा अर्कै हुन्थ्यो। केवल ती कल्पना भए। देश बनाउन लागेर बिग्रेको एउटा पात्र हुँ म!
धेरै जनाले धेरै कुरा गुमाए। मैले भुईँमान्छेको जीवन परिवर्तन गर्ने सपना गुमाएँ। त्यति मात्र होइन, माया गर्ने मायालु गुमाएँ। मेरो क्रान्तिले देशमा राजा त फेरिए तर तिनको ठाउँमा धेरै राजाहरू जन्मिए। धेरै राजा बनाउन क्रान्ति गरेको थिइनँ मैले। जनताको वास्तविक अवस्था परिवर्तन खोजेको थिएँ। सुस्त गतिमा थपिएका केही विकासका पूर्वाधार र वाक स्वतन्त्रताले त्यो भयावह अवस्था र विनाशको पूर्ति कहिल्यै गर्दैन।
ती तमाम शोषित पीडितको जीवन गुणस्तरीय बनाउने, समतामूलक समाज बनाउने र गरिबी जरैबाट उखेल्ने धोको थियो। ठुलाहरूको होइन; गरिब र निमुखाको जीवन परिवर्तन गर्न क्रान्ति गरेको थिएँ मैले। आज ती गरिब, निमुखा सडकमै छन्। विदेशमा गएर श्रम बेच्दै छन्। तिनैले पठाएको रेमिट्यान्सले धेरै राजाहरू पालिरहेको छ देशले।
म तमासे र निरीह बनेर हेरिरहेको छु। क्रान्तिको दिशा र गन्तव्य विलीन भएकोमा अपशोच छ! नेता, कार्यकर्ता र टाठाबाठाको व्यवस्थापन गर्दै मुलुक डुब्यो। सक्ने जति राज्य दोहनमा लागे। भुईँमान्छे जहाँको त्यही। मेरो त्यो कल्पना र सपना पानीमा बिलायो।
समय र व्यवस्था त फेरियो तर अवस्था फेरिएन। मैले मेरी रानी पनि गुमाएँ। पाएको केही छैन अहिलेसम्म। मात्र गुमाएँ। मेरी भूपूको व्यक्तिगत जीवनलाई खलबल्याउने चाहना पट्टकै छैन। मात्र उनलाई देख्न र उनको बारे थाहा पाउन मन छ एक पटक मलाई।
आन्दोलन सफल भएपछि राजनीतिक बन्दीहरू जेलबाट छुट्दा म पनि छुटेँ। एक्सलाई भेट्न उनको डेरा पुगेँ। अत्तोपत्तो लागेन। यो सहरमा १५ औँ वर्ष अगाडिको कुरा कसलाई के थाहा?
३६५ दिन नै कुनै न कुनै डे छन्। रोज डे, प्रपोज डे, चकलेट डे, प्रमिस डे, किस डे, ह्वाइट डे, हग डे, सिङ्गल डे,म्यारिज डे, भ्यालेन्टाइन डे, जनयुद्ध डे! यस्तै यस्तै दिवस मनाइरहँदा म चाहिँ भूपू मायालु डे मनाउने प्रस्ताव गर्छु एक दिन!
निवेदन माथि कारबाही गर सरकार!जोडदार माग गर्छु।
एक्सलाई भेट्न धेरै कोसिस गरेँ। कतैबाट सम्पर्क स्थापना भएन। सञ्चारका नयाँ प्रविधि फेसबुक, टिकटक, इन्स्टाग्राममा खोज्नसम्म खोजेँ। पत्तो लागेन। भेटाउन सकिनँ। सायद उनको अनुहार पनि ठम्याउन मुस्किल पर्ला कि मलाई। थाहा छैन! सरकार एक दिन एक्स डे घोषण गरी दे!
एक्सहरूलाई माइतीघर मण्डलामा भेला हुन उर्दी जारी गरिदे! जहाँ एक्सहरू भेला होउन्! मण्डलामा गएर मेरी एक्सलाई भेट्न चाहन्छु म। विदेशमा रहिछन् भने पनि माइतीघर मण्डलाको भिड जुम गरेर हेर्नेछिन् उनले। उनले यो कुरा थाहा पाउन् कि ‘ऊ तड्पिरहेको छ।’
ढिला नगरी एक्स डे घोषण गरिदे सरकार! तेरो के जान्छ र? लोक सेवा पढ्नेका लागि एउटा डे थपिने त हो! मुस्किल परे लोक सेवा पढ्नेलाई पर्ने छ। मैले तिमीहरूलाई सत्तामा पुर्याएँ। बदलामा केही मागिनँ। मात्र एक्स डे घोषणा गरी दे! जसको माध्यमबाट मैले एक्सलाई भेट्न सकूँ। लौ त त्यति गरिदे।