हरेक घरमा बत्ती बल्थ्यो, शंख घन्ट बजेको सुनिन्थ्यो। म बसेको घर भने सधैँ भाँडाकुँडा ठोक्किएका, मान्छे यता उता दौडेका आवाजले गुञ्जायमान हुन्थ्यो। आज वर्षौँपछि मैले बत्ती कात्न समय पाएको थिएँ।
रातिको ९ बजिसक्यो, अझैसम्म बाहिर केही हलचल थिएन। जताततै झलमल्ल बल्बहरू उज्याला बलिरहेका थिए। त्यही बल्ब मुनिको अँध्यारोमा मेरो मन पनि कालो बलिरहेको थियो। साँझको बत्ती शान्तिको लागि बालिन्छ या उज्यालोको लागि; तर मन अँधेरो भएपछि संसारै अँध्यारो हुँदो रहेछ, मनको युद्धको अगाडि संसारको शान्ति केही रहेनछ।
सबैका कठिनाइहरू समक्ष आफ्नो भने एकदम गह्रुङ्गो लाग्ने रहेछ। काँधहरू बलिया भएर पनि गलेको शरीर। हँसिलो अनुहार भएर पनि सुन्निएका परेलीका डिल। आज जहाजमा कान्छो छ। हिजो जेठो थियो। ऊ हिँड्यो। विदेशमा मौन छ। उसको आवाज पनि यही घरमा सकिएको होला। कान्छाले पनि मलाई सोध्ने गर्छ- ‘हजुर पनि विदेश आउनु ममी?’
ए कान्छा! कसरी दिऊँ म तिमीलाई निर्णय? जब मेरो आफ्नै मन र दिमाग विचलित छ। मनले भन्छ सहेर बस कुनै दिन फिर्ला। दिमाग भन्छ छोडिदेऊ यो सब। छोड्न नखोजेको नि होइन। यी बिहानै बेलुकैका कलह त्रासभन्दा त एक्लो जीवन बेस।
बत्ती कातेर आधी जति कपास सकियो तर अझै सुनसान घर। मनमा माया छ तर के गर्नु, रक्सी खाएर घर आउँदा त नआए हुन्थ्यो जस्तो लाग्छ। अरू दिन सम्झिँदा नआए हुन्थ्यो झैँ थियो, आज मन बेचैन छ।
मन र दिमागको युद्धमा मनले नै जित्यो। अहिले बाटोमै कुरेर बसेकी छु। यति अबेर कहिले नआउने मान्छे।
काम गरेर आएर ढोका ठोकाउँदै खाना पाकेन भन्ने। चाहे दिउँसोको ४ बजोस्, ५ बजोस्। उहाँ घर आउँदा खाना पाक्नु पर्यो। आउनुअघि केही खबर नि नहुने। फेरि पाकेको खाना चिसो भएर तताउँदा नि किचकिच। यति बेला त म ज्योतिष हुन पाए नि हुन्थ्यो जस्तो लाग्थ्यो।
मनमा अनेक कुरा खेलिरहेको थियो। मोबाइलको घण्टी बजेसँगै तर्सिएँ।
फोन उठाएँ।
‘चिनीमाया हो?’
‘हो, को बोल्नु भयो?’
‘म यहाँ बल्खुबाट। तपाईंको श्रीमानको मोटरसाइकल लडेको थियो, हस्पिटलमा छौँ। होस आएको छैन तपाईं तुरुन्त आउनु।’
अब केही सोच्न सकिनँ। ११ बजिसक्यो कसरी जाने? न राम्ररी मोबाइल चलाउन आउँछ। छोराले खोइ के जाति इन्द्रा कि पठु भन्थ्यो।
राति काम लाग्छ ममी भन्थ्यो। ऊ बेलामा ‘तँ छँदै छस् नि बाबु, मलाई के चाहियो यो इन्द्रा र आन्दारा’ भनेँ। अब त छोरा नि छैन।
कति परनिर्भर भएर बाँचिएछ!
छेउका छिमेकी नि घरमा सासू मर्दासम्म आएनन्! अहिले सहयोग के गर्लान्! रक्सी खाएर होहल्ला हुँदा पनि मलाई नै वचन लाउँथे। ‘लोग्ने सम्हाल्न नसक्ने आइमाई के काम! त्यस्तो दुःख गरेर कमाएर ल्याउँछ, एक छाक नि यी आमा छोराले शान्तिले खान नदिएपछि रक्सी नपिएर के पिओस् त? बिचरा! पिरै पिरमा कुन दिन मर्छ!’ एउटीले नसक्दै मेरी आमाजू पर्नेले थपेकी थिई- ‘कुन चाहिँसँग लागेकी होला, यसै पिरले लोग्ने जँड्याहा भयो! त्यसै त यति विधि जात्रा गर्दैनन् है! जिम्मेवारी बोकेको छ घरको। दिउँसो त काम गर्छ केरे! यस्ती चर्तिकला भएकी स्वास्नी सम्झिँदा घर आउने भनेपछि पिरलो पर्दो हो।’
विगतका वचन सम्झिएर मन नै अमिलो भएर आयो। एक वचन मिठो बोल्न नसक्नेले मलाई सहयोग गर्छन् भनेर आस गर्न नि सकिनँ! आफ्नो लोग्नेको भने राजतन्त्र थियो। सुतेपछि उठाउन नि नमिल्ने। बाघ झैँ झम्टिहाल्ने।
माथिल्लो तल्लामा भान्सा कोठा, त्यसकै मुनि सिँढी नेर उसको सुत्ने कोठा थियो। उसलाई फेरि आफू सुतेपछि संसार नै निदाउन पर्छ भन्ने थियो। आफूले घरधन्दा भ्याएको हुँदैन थिएँ उसलाई मैले श्वास फेरेको नि मन नपर्ने! ओहोरदोहोर गर्न नि कछुवा जस्तै बिस्तारै हिँड्न पर्ने! चप्पलको आवाज आउँछ कि भनेर खुट्टाको चप्पल हातमा राखेर हिँड्न पर्ने!
छोरा नि ढिलो आउने। खाना खान कुर्नै पर्यो। सानो आवाज आउन पनि नहुने। फेरि झगडा सुरु भइहाल्ने!
एक दिन त कान्छो सहनै नसकेर बोल्यो- ‘अरूका बाउले छोरालाई यसो नगर उसो नगर भनेर सम्झाउँछन्, आफ्नो भने बाउ नै जड्या! खाना खानसम्म आफ्नो समयमा नपाइने? आमाको यस्तो बिजोग छ! दिनभरि काम रातभरि काम! पैसा नि ल्याउने होइन। दिनकै रमिता किचकिच! घर नआए हुन्छ बरु।’
यो सुनेपछि उठेर चिर्पटले मेरो टाउको बजार्यो। ‘ल जा! यसले सिकाकी होइन तँलाई? आमाको पछ्यौरीमा लुक्ने थिइस्! अहिले बाउलाई काम काज नभएको भन्ने भइसकिस्? तिमीहरू दुइटै निस्क्यौँ। यो घर मेरो हो, जाओ निस्क।’
छोराले यतिन्जेल बुझ्यो, रक्सीले बाउलाई आफ्नो बनाइसकेछ। अब बाउले मान्छे मार्न नि के बेर!
छोरो यो घरबाट निस्किने बारे सोच्न थाल्यो। त्यही दिनको पर्सि पल्टबाट त हो विदेश जान्छु भनी लागी परेको! आफैँ बस्ने घरको छानामुनि कैदी जस्तो जीवन थियो! ऊ आफू नसामा सुतेर पनि हामीलाई दाम्लोले बाँधेको थियो।
बाउको किचकिच अपहेलन र दबाब सहन नसकी छोराहरू उडे। पिँजडामा त जीवन सँगिनी पर्ने रहेछ!
उसो त लोग्ने को कुलत छुटोस् भनेर नधाएको ठाउँ कहीँ बाँकी थिएन। ज्योतिषकोमा नि गएँ। कुन्नि के जाति जन्तर बनाएर पाखुरामा बाँध्न भनी दिएका थिए। सँगै एक माना चामल फुकेर हरेक दिन पानीमा मिसाई खाना दिन भनेका थिए। दुई मध्ये कुनै एउटा उपाय नछुटाई एक महिना प्रयोग गरी एक महिनापछि बुढालाई साथै लिई आउनु भनेका थिए। एक दिन सुतेको मौकामा जन्तर पाखुरामा बाँधेको थिएँ। बिहान त देखिहाले।
‘यो के टुनामुना गरेकी! यो घर खान खोजेकी! मलाई मार्ने षड्यन्त्र तेरो’ भनेर बिहानै टोलभरि रमिता देखाए। अब के गर्नु, टोल समाजमा यसै होहल्ला बदनाम भइसकेको थियो। बाउ जड्या देखेर छोरालाई बिहे गर्दिन नि सकिएको थिएन। घर भरिका नगदे बाली सबै कसलाई दिन्थे कुन्नि! बिहान खाए बेलुका के खाऊँ भन्ने हालत भइसकेको थियो।
कमाएको सुको घरमा देख्न पाएको होइन। त्यही रक्सी खायो त्यसमै सकियो! किन यति मोह रक्सीको भनी चियोचर्चा गर्दै जाँदा एउटा भट्टीमा भेटेको थिएँ। मलाई देख्नासाथ कराउन थाल्यो- ‘ऊ आई अनुहार नपरेकी! यसको बाउले दुई तोला सुन र एक रोपनी जग्गामा मलाई हात पारेकी! यो आएदेखि मेरो काम नि चौपट भयो। शान्ति नि गयो।’
गिलासको रक्सी मेरो जीउमा छ्याप्दै भन्न थाल्नुभयो, ‘अझै यही छ यो त! लाज पनि छैन! ए जा घर जा त यहाँ पनि शान्तिले बस्न नदिने भइस् मलाई।’
यतिको वचन त कहिले लाएको थिएन! पछि ती साहुनीलाई मैले पटक-पटक भेटेर बिन्ती गरेँ। ‘साहुनी, मेरो बुढालाई रक्सी नदिनू। घरको बिजोग छ। कसरी पेट पाल्ने? उधारो तिर्न नि अब केही छैन!’
मैले भन्न नभ्याउँदै साहुनीले भनी, ‘अनि हाम्रो पेटमा चाहिँ लात मार्ने? कसरी छोराछोरी पाल्नु मैले? मेरो पेसा यही हो। आफ्नो लोग्नेलाई बाँधेर राख घरमा।’
हुन पनि हो! मैले घरमै रक्सी बनाएर दिन्छु भनेँ, अहँ! जति गरे नि त्यही पसलमा जान छोडेन। अर्की आइमाई मोहले तानेछ! भट्टीकी व्यापारी साहुनीले आफ्नो व्यापारसँगै मेरो मोहिनी पनि बेचेकी रहेछ! बिहान बेलुकी औषधि जस्तो रक्सी! मेरो बुढाले आफ्नो ज्यान नै दाउमा राखेर साहुनीको भकारी भरेका रहेछन्!
आफू त्यतै रित्तिएर आएपछि हामीलाई के भर्थे!
तिम्रो सुख दुःख, जीउधनको जिम्मा मेरो भनी आँगन पोलेर ल्याएको मान्छेले आज मेरो भतभती मन पोलिरहेको छ। कुनै दिन राम्रो वचन सुनिएन। हरेक दिनको किचकिच र कलहले पनि सबैले मलाई नै नराम्रो भन्थे। उमेरमा हुँदा मलाई हेरेर नथाक्ने, अब मेरो अनुहार नै हेर्न नसक्ने भएछन् उनका ती आँखा।
मेरो बुढा सधैँ अरूको अधीनमा; कहिले रक्सी, कहिले अर्की आइमाई।
रगतमा नसा र मनमा पराइले बास गरिसकेपछि आफन्तको उठिबास लाग्दो रहेछ। छोरा विदेश पठाउन कहीँ पैसाको मेसो नमिलेपछि आएर तिर्ला नि त भनी घरको लालपुर्जा खोजेको। भएको घर पनि धरौटीमा राखेरै पो रक्सी खाएछन्!
अब झोलले पनि मानिसलाई जालमा फसाउन थाल्यो! माछा पनि खुसी भयो यो देखेर।
धामी झाँक्रीकोमा पनि कति लागेँ! कहीँ गएर छुट्टाउन सकिएन यो झोल। सूर्यको किरण भएका अँध्यारा दिनले मलाई तर्साउँछ!
सुधार्न गरेका अनेक प्रयास विफल भएपछि पनि अलिअलि ढुकढुकी बाँकी थियो मनमा। तर बुढाको मन रक्सीमै थियो। त्यो पनि त्यही भट्टीको रक्सी। मेरो एक्लो प्रयासले मात्र कसरी छुटिन्थ्यो!
भिडमा कसैको उपस्थिति गण्य हुन अप्ठ्यारो हुन्छ। कहीँ भएर पनि नहुने मान्छे हुन गाह्रो हुन्छ। परिवर्तन उपस्थितिले मात्र कसरी सम्भव हुन्छ?
जहाँ मान्छे मन्दिरमा अनि ध्यान आर्यघाटमा हुन्छ।
सँगै जीवन बिताउँछु भनेर बाचा कसम खाएर आएको मान्छेसँग बस्नै नसकिने भएको यो अवस्थामा मैले छुट्टिने बारे पनि सोचेँ। रक्सीसँगै उनले मसँग गरेका वाचा कसम नि पोलेर खाएपछि अब एक्लो जीवन त शान्तिले बाँचूँ भनेर धेरै पल्ट सोचेँ। वडा कार्यालय धाएँ। कहीँबाट नि सुझाव पाइनँ। चटक्कै छोडिहाल्न नि सकिँदो रहेनछ।
उहाँ घरमा हुँदा यताउति हिँड्न बोल्न नि अनुमति थिएन। योभन्दा कारागारमा स्वतन्त्र हुन्छ होला मान्छे।
मान्छेको माया पनि कुनै न कुनै मोडमा आएर मोहमा परिवर्तन हुँदो रहेछ। सबैलाई राम्रो मान्छेसँग मात्र बस्न मन हुने। नराम्रालाई छोड्न पाए हुन्थ्यो, बिर्सिन पाए हुन्थ्यो। तर रक्सी नराम्रो हो भन्ने थाहा हुँदाहुँदै पनि छोड्न नसकिने! राम्रा नराम्रा गुण पनि विकल्प भएको कुरामा मात्र हेरिँदो रहेछ! रक्सीको अर्को विकल्प केही नभेटेकाहरूले बरु मृत्यु नै रोज्ने रहेछन्!
सहारा चाहिने बुढेसकालमा नै हो! अनि यही उमेरमा छुट्टिएर बस्नु परे किन बिहे गर्नु!
विदेशबाट फोनमा जेठो र कान्छो भन्छन्, ‘आमा, तपाईं महान् हो। तपाईंको त्याग र सहनशीलता कसरी बयान गरूँ।’
‘हो बाबु, बयान गरेर माया लाग्ला, फेरि मन फर्केला परिवार तर्केला’ तिमीले त कम्तीमा राम्रो जीवनसाथी पाएका छौ।
आमाको आँसु देखेर पनि काली तरेर गइसक्यौ!
देश फेर्यो, भेष फेर्यो, दुइटै छोरा पराई भए!
आँखाले हेर्न, देख्न नसकिने!
बोल्न मन लागे बोल्न नसकिने!
कलेजोको टुक्रा हुन सन्तान भन्छन्
मनमै भए पनि छुन नसकिने!
यति टाढा भए सबै
फेरि एक हुन्न नसकिने!
यति भावविहीन भए आज
दुःख पर्दा रुन नसकिने!
अन्तिम सहारा भनेको त जीवनसाथी नै रहेछ! जो आफैँ नसाको सहारामा छ! उसको नसा मेरो सजा बन्यो! न उसलाई छोड्न सक्छु न संसार! अब त आस पनि केही छैन मुक्तिको, बस कालका दिन गन्नु बाहेक!
वडा वडा धाएँ, गुहार मागेँ। सबै बहिरा बनिदिए! म सधैँ यही पिरलोको अधीनमा रहिरहेँ!
युवाहरू विदेश हिँडे, यी गलेका, एक्लिएका, छुटेका बुद्ध हाडजोर्नीहरूले कसरी के गर्ने! म एक्लो हुनुमा यो देशको गरिबीको पनि साझेदारी हिस्सा छ। आज मसँग न सन्तान छन् न उमेर!
विक्षिप्त विचार तब एकोहोरो आउँछ
जब हराउँछ एक साथै
जब कण्ठबाट स्वर फोक्सोबाट श्वास!
मनबाट महसुस, गन्तव्यबाट निरन्तरता!
सबैभन्दा गाह्रो रहेछ
सँगै भएर नि हराएको
आफूले आफैलाई भेट्टाउन
म बाँचेको अवस्था हेरूँ
मैले भन्न सक्दिनँ यो घर मेरो हो!
यो श्वास मेरो हो!
कसरी भनौँ यो देश मेरो हो?