कस्तो कस्तो भएछौ
तिमी ता यहाँ नचिनिने भएछौ
अब ता अर्कै अर्कै जस्तो भएछौ
तिमी ता यहाँ नचिनिने भएछौ।
सीमापारि प्रवासी नेपालीहरूको तत्कालीन स्थितिलाई जनाउँदै कवि अगमसिंह गिरीले लेख्नुभएका यी कालजयी हरफहरू जस्तै तिमी पनि यहाँ नचिनिने भएछौ। तिमी त अब कस्तो कस्तो भएछौ। यो डिजिटल युगको भासमा परेर तिमी त साँच्चै फेरिनु फेरिएछौ। डिजिटल दुनियाँ त तिम्रो लागि साँच्चिकै प्रवास सरह भएछ। हो, तिमी त अचम्मै अर्कै भएछौ।
आज अचानक तिम्रो अनुहारै पो बिर्सेँ कि भनेर पिर लागेर आयो। मनमा एक किसिमको त्रास पैदा भएर आयो। बडो बेकामे मान्छे छु म। एक नम्बरको हुस्सु। पागल झैँ सारा कोठा खोजतलास गर्दा समेत एउटा बलपेन पनि रहेनछ। कतै राखेको भए पो होस्। धन्न कसो-कसो एउटा ठुटे पेन्सिलको टुक्रा भेट्टाएँ र बडो व्यग्रताका साथ सेतो पानामा दौडाएँ।
तब तिमी मेरो अगाडि देखियौ अनि तिमीलाई धेरै वर्षपछि भेटिएकी प्रेयसीलाई झैँ टोलाएर हेरेँ। तब देखेँ, विश्वविद्यालयको पढाइ सकिएपछि तिमी त अहो! साँच्चै नचिनिने हुन लागेछौ। म बेस्सरी आत्तिएँ। आजको मितिसम्म तिम्रो मुहार यस्तो भइसकेछ। अबको दश वर्षपछि नि? मनमा चिसो पस्यो।
तिमीसँग भेट भएको पहिलो दिनको सम्झना राम्ररी छ।
'पहिलो किताब' को पहिलो पानाको पहिलो अक्षर मेरी आमाको औँलाबाट कसरी थपक्क सेतो पानामा सर्यो? म छक्क परेँ। मैले यो जादुलाई बडो प्रेमले हेरेँ। रङिन 'पहिलो किताब' मा भएको एउटा कालो अक्षर दुरुस्तै सेतो कापीमा टपक्क खसेको थियो। त्यसपछि मेरी आमाको मधुर स्वर मेरा कलिला कानमा गुन्जिएको थियो- 'क ल म'।
मैले घरी पहिलो किताबको 'क ल म'लाई हेरेको थिएँ। घरी सेतो पानाको 'क ल म' लाई हेरेको थिएँ। अनि घरी चाहिँ आमाको हातको ठुटे सिसा-क-ल-मलाई हेरेको थिएँ। त्योभन्दा बेसी सायद आमाको ओठमा चलिरहेको 'क ल म'लाई हेरेको थिएँ। तर तिमी त्यति सजिलै मेरा औँलामा आएनौ। निकै समय लियौ।
विद्यालयको यात्रा प्रारम्भ भएपछि तिमी बडो कठिनसँग मेरो कापीमा उत्रिन सफल भयौ। अलाई आकार-आ, मलाई आकार-मा 'आमा'को रूपमा। मैले खित्खिताउँदै ज्यादै रोमाञ्चकतासाथ आफ्ना औँलाहरूलाई हेरेको थिएँ। त्यसपछि कलाई आकार-का, कलाई आकार-का 'काका' हुँदै त्यो यात्रा निरन्तर निरन्तर अघि बढ्यो र एक दिन यस्तो आयो, कक्षा ५ मा पुग्दासम्म हरियो इगल कापीमा केही थान बाल कविता बनेर तिमी अदृश्य संसारबाट झरिसकेकी थियौ।
म तिम्रो प्रेममा परिसकेको थिएँ। त्यसपछि तिमी हरिया बाँसहरूमा, गोठाला जाँदा ठुला-ठुला पत्थरहरूमा, साथीको ढाडमा कहाँ कहाँ कुँदिएनौ? कहाँ कहाँ भेटिएनौ?
किशोर वयमा त तिमी झनै मेरो आत्मीय भइसकेको थियौ। मलाई तिमीप्रति गर्व थियो। जब तिमीलाई प्रस्तुत गरेर मैले शिक्षक शिक्षिकाको स्याबासी पाउँथे। जब तिमी जस्ता अरूहरूलाई जितेर तिमी प्रथम हुन्थ्यौ र मलाई पुरस्कार दिलाउँथ्यौ। मलाई तिमीप्रति साँच्चिकै गौरव लाग्थ्यो।
तिमी मेरो अस्त्र थियौ। बुबा आमाको गाली छल्न सक्ने एक मात्र पक्की ढाल थियौ। जुन दिन मैले महात्मा गान्धीको जीवनी पढेँ र उहाँले सुन्दर अक्षर लेख्न जोड दिनु भएको कुरा थाहा पाएँ। मैले तिमीलाई सुमसुम्याउँदै आफूलाई शिक्षित भएको महसुस गरेँ। आफूलाई सभ्य भएको विश्वास गरेँ। गान्धी जीले भन्नु भएको थियो कि राम्रा अक्षर हुनु भनेको शिक्षित र सभ्य हुनुको चिनारी पनि हो।
मेरो प्रिय हेन्डराइटिङ! तिमी यस्तो कहाँ थियौ त? तिम्रो शिरमा तानिने डिको भनिने तेर्सो धर्को तिम्रो गहना थियो। तिम्रो आभूषण। त्यसलाई म कति सुन्दर ढंगले सिधा र सरल खिच्न सक्थेँ। आज हेर्छु। ती त धरमराएका छन्। बिलकुलै सिधा छैनन्। अक्षरका आकारहरू साना ठुला भएका छन्। समान छैनन्।
म आज मको खुट्टा राम्ररी मर्काउन नसक्ने भएछु। रेफको फुर्के रिबन राम्ररी पूर्वतिर नफर्कने भएछ। चन्द्रविन्दुको विन्दु सुन्दर ढंगले सजाउन नसक्ने भएछु। ऋको लहरो ठिकसँगले झुल्न छोडेछ। ज्ञानी ज्ञ पहिले जस्तो ज्ञानी रहेनछ अब। छोरी बोके फ छोरी बोक्दा बोक्दा थकित पो देखिन थालेछ। म पहिले जस्तो सलल बगेको गतिमा तिमीलाई कोर्न नसक्ने भएछु।
हिजो तिमीहरूलाई सुन्दर बनाउन मैले रात रातभर मेहनत गरेको थिएँ। औँलाहरूमा कलमको डाम बसेको थियो। त्यो डाम पनि प्यारो लाग्थ्यो। आफ्नो लाग्थ्यो। बिस्तारै बिस्तारै किप्याडले कापीहरू निल्यो। कलमहरू निल्यो। औँलाबिच बस्ने ती डामहरू पनि निल्यो। मसी र नयाँ कापीको वासनादार सम्झना निल्यो।
प्रिय हेन्डराइटिङ! म यो थाहा पाएर निकै प्रफुल्ल भएको छु कि आज पनि थुप्रै नामचिन लेखकहरूले तिमीहरूको अस्तित्व दुरुस्तै जोगाएर राखेका रहेछन्। डिजिटल दुनियाँको टिकटिक र टाकटाकबाट उम्किएर समय मिलाइवरि म पनि तिमीहरूलाई अक्सर भेट्ने वाचा गर्छु। यसलाई तिमीहरूले पुरानो सम्बन्धको नवीकरण सुरु भएको छ भनेर बुझिदिनू।
शुभकामना!