मेरो छाती आजकल खुब गर्वले फुलेको छ
साँच्ची फुलेको छ मेरो उत्तराधिकारी
मैले जब तिमीलाई कथा लेख्ने कलम किनेर दिएँ
तिमीले बदलामा उपन्यास लेखेर
एक अपरिचित बिक्रेतामार्फत मैलाई बेचिदियौँ।
जब मैले वर्ष जोडको चालिस चाखेँ नि
तिमीले मेरा कमजोरी समअनुपातमा भागबन्डा गर्ने प्रस्ताव गर्यौ
तिमी पुनः नबोले नि मैले तिम्रो प्रस्तावको औचित्य बुझेर मुस्कुराएँ
अनि पो ममाथिको तिम्रो हस्तक्षेप पनि स्वीकार गरेँ।
छिमेकीहरू चोकमा बसेर मेरो रङ्गिन अनुहारमा बिलकुल सफेद पोत्दा
तिमीले बौद्धिकता पस्केर मेरो अनुहारको बचाउ गयौँ
एक दिन तिमीले जब एक सुशील कन्याले बाँडेको सपना इन्कार गयौँ
म गज्जबले जिल्लिएर आफैँलाई चिमोटेर जाँचेँ
अनि हजुरबाले गुमाएको जिम्वाल पदवीको ‘ज’
तिमीले फिर्ता पाएको अनुभूति भो मलाई
कुनै कुमारीको यौवनको सपना मारेर तिमीले
बदलामा मलाई स्वर्णिम स्वाभिमान सुम्पियौ
अनि मैले तिमी नै मेरो उत्तराधिकारी लायक छौ भन्ठानेँ।
मैले राखेको तिम्रो बिघ्न नाममा आफ्नोपनको स्वाद नभेट्ने तिम्री आमा
आजकल मेरो पौरखले तिमी सही समयमा
निषेचन भएको राजकुमार हौ भन्नेमा गर्व गर्छे
एक दिन अखबारहरूले मानिसहरू चियासँग
तिम्रो चर्चाको स्वाद साट्छन् भन्ने गसिप लेखे
अनि म पुनः पुलकित भएर मन्दिर गएँ।
तिमी अर्को एक किस्सा पनि सुन मेरो राजकुमार...
जहाँ एउटा बटुकले मन्त्रमै तिम्रो नाम मिसाएर वाचन गर्यो
नन्दीको चाँदमा फूल चढाउँदै बसेको एक अघोरीले
मन्त्र मनोनुकूल वाचन भएकोमा मसँग आपत्ति पोख्यो।
मैले हाँसेर उसको आपत्तिमा म सहमत छैन भन्ने संकेत गरेँ
अनि उसले छिनमै तिमीलाई समर्थ गरेर ममाथि आँखा तर्यो
तिम्रो आँटले सिद्धी पाएको बेला, तिम्रो कद पुन अर्को अङ्गुल उठेको छ
त्यसैले तिम्रो साहसलाई पुनः शुभकामना मेरो उत्तराधिकारी!