बेड नम्बर १०५ को दृश्यले मेरा आँखाहरू झट्ट तानिए। अचम्मको दृश्य देख्दैछु। कैयौँ वसन्त खेपेको जीर्ण शरीर बेडमा अविचलित छ। शिरमा हिउँ फुलाएर पनि तातै छन् गोडाहरू। टकटकी बाँधेर हेर्दैछु, समयको जाँतोमा पिसिएको उमेरको लीला। दिग्भ्रमित भएकी छु। भ्रान्तिको अवस्थामै म बेड नजिकै गएँ। मेरो उपस्थितिमा शिथिल भएको कृशकाया बिस्तारै चल्मलायो। म स्तम्भित भएकी छु।
आँखा चारैतिर घुम्छन्। अत्याधुनिक अस्पतालको व्यवस्थित व्यवस्थापन देखेर लठ्ठिँदै गएँ। अस्पतालको भव्यताको अनुभूतिले धन्य धन्य भएकी छु। तर पनि विभ्रमको अवस्थामा अझ अल्झिएँ। गन्तव्य हराएको जहाज भएकी छु। पुनः आँखाहरू बेडतिर दगुरे। विभिन्न प्रविधिको चङ्गुलमा बेरिएको भए पनि श्वास फेरिरहेको छ त्यो जीर्ण फोक्सोले।
हठात् ती वृद्धाका अनुहारमा मेरा दृष्टि सलबलाउन थाले। झसङ्ग भएँ म। होस केही फर्कियो 'अहो! बिरामीको क्याबिनमा म कसरी आएँ? म कहाँ छु? म को हुँ? केही मेलो पाउँदिनँ। म अन्यमनस्क स्थितिमा भौँतारिएँ। आफ्नो अवस्थाको बोध नहुँदा मेरो सात्तो उड्यो। निमेष भरमा समयको डरलाग्दो सुरूङमा हराएकी पथिक भएँ।
मलाई अनुभूत हुँदै गयो डरको पराकम्पन। मेरो शरीर भर्खरै भुइँचालो आएर थामिएको जमिन जस्तै भयो। मेरा आँखाहरू पिरो भएर आए। दुवै हातले आँखा मिच्न थालेँ। चिरनिन्द्राबाट जुरूक्क उठेझैं भएका थिए मेरा आँखाहरू। बेडको नजिकै राखिएको मुढामा गएर थचक्क बसेँ।
नौलो वातावरण, नवीन परिस्थिति। म होस् हराएको मान्छेझैँ भौँतारिएँ। आफ्नै आँगनमा हराएको बालकझैँ थिएँ। म मुढाबाट उठेर बेडको नजिकै पुनः गएँ। चकमन्न छ क्याबिन। बेडमा लडिरहेको कायालाई छाम्न थालेँ। बत्तीस मुजा परेका वृद्धाका गाला सुस्तरी सुमसुम्याएँ। ती रूग्ण आँखामा आत्मीयपल झल्कियो। शुष्क भएका गालाहरू चिरपरिचित लागे। म वृद्धाको अनुहारमै हराइरहेँ।
इनार जस्ता गहिरा आँखामा मरूभूमिको शून्यता मडारिए आयो। वृद्धाको मुटु खलाँती झैँ एकोहोरो बजिरहेको भए पनि कताकता मेरो हृदयलाई पुकार्दै छ लाग्यो। छक्क परेँ। जतिजति वृद्धाको मुटु प्रकम्पित हुन्छ मेरो मुटुको चाल पनि उही गतिमा तीव्र हुन थाल्यो। निकै आकुलव्याकुल भएँ। हतारिएर बेडतिर निहुरिएँ। वृद्धाको छातीमा घोप्टो परेर कान थापेँ।
मुटुको धड्कन सुन्न खोजेँ। अचानक मेरो हृदयमा अनौठो कम्पन भयो। मेरो मुटुको गति चल्मलायो, संवेदना भरभरायो। कसैले मेरो छातीमा प्रेमले अंकमाल गरेको जस्तै भयो। सम्पूर्ण शरीर कसैले च्याप्प समाए जस्तो लाग्यो। केही भेउ नपाएपछि, धाँजा फाटेको खेत जस्तै भयो मेरो मुख र घाँटी। अचानक मेरा आँखामा धूमिल स्मृति जागृत भयो।
अहो! कुनै दिन हृदयघात भएर म पनि अस्पताल भर्ना भएकी थिएँ। त्यो दिन मैले यही कपडा लगाएकी थिएँ। हो भगवान कोइरालाले मेरो उपचार गरेका थिएँ। मैलै झट्ट सम्झिएँ गंगालाल हृदय रोग केन्द्रमा मेरो उपचार भएको थियो। तर कहिले? मलाई अस्पताल लिएर आउने मेरी छोरी खोई? कता गए मेरा आफन्त? म आकुलव्याकुल भएँ। स्मृतिमा कोही आएनन्।
अनि झट्ट झ्याल खोलेर बाहिरको दृश्य हेर्न थालेँ। देखिएका जति सबै भौतिक संरचना नौला लागे। मैले टेकेको भूगोल त्यहाँ भए पनि सबै संरचना अपरिचित लागे। यो कस्तो भ्रम? म तीन छक्क परेँ।
डा. कोइरालाले मेरो अपरेसन गरेको समय कहिले थियो? स्मृतिको अस्पष्ट ऐनालाई पुछ्दै हेर्न खोजेँ, 'अस्पताल बस्दा उनको हृदय भन्ने पुस्तक पढेको मात्र याद आयो। सायद म समयको चक्रब्यूँमा नराम्रोसँग हराएकी थिएँ। भूत, वर्तमान र भविष्य एकै ठाउँमा गाँठो परेर बसेकाले जम्मै गन्जागोल थियो। मेरो मानसिक स्थिति गुम्लाजस्तै भयो। केहीबेर क्याबिनमा स्थिर भएर उभिएँ। लामो श्वास फेरेँ।
गोडाहरू लगलग काँप्न थाले। सत्य के हो स्पष्ट थिएन। रून खोजेँ। आँखामा अथाह खडेरी थियो। आँसु फिटिक्कै झरेन। झट्ट बेडको छेउमा क्यालेन्डर देखेँ। सन् २१२३ जनवरी। क्यालेन्डर हातमा लिएर छट्पटिएँ। मलाई सन् २०२३ सम्मको सम्झना छ तर यतिका वर्षहरूमा म कहाँ थिएँ? किन याद छैन मलाई २०२३ देखिका वर्षहरू। भनन्न रिङ्गटा लाग्यो। वृद्धाको बेडमा टुसुक्क बसेँ। मेरा आँखा तिर्मिराए। म केही सोच्न नसक्ने अवस्थामा पुगेँ।
घर्याक्क ढोका खुल्यो। हतारहतार ढोकाको चेपमा लुकेँ। हे ईश्वर! म कसरी, अनि किन यी वृद्धाको क्याबिनमा छु? म को हुँ? यी वृद्धासँग मेरो के सरोकार छ? केही थाहा छैन। मेरो मन छड्किएको भात भएको छ। घर कहाँ हो त्यो पनि थाहा छैन। मस्तिष्क झन्झन् गर्यो। मेलोमेसो अझ केही भएन? त्यहीबेला एक हुल डाक्टर र नर्स क्याबिनमा छिरे।
डाक्टर समृद्धि ब्याचमा लेखेका अक्षर देखेँ। कति राम्रा मान्छेहरू। सेतो पहिरनमा स्वर्गका परी जस्तै नर्सहरूले घेरिएकी डा. समृद्धि बोलिरहेकी थिइन। मेरो नजर अर्को आकर्षक युवा डाक्टरको नाममा पर्यो। ठ्याक्कै मेरो मुटुको अपरेसन गर्ने डा. कोइराला जस्तै अत्यन्तै भद्र तर यी नवयुवक थिए।
'अब यो प्यासेन्टको उमेर सय वर्ष कम गर्न सकिन्छ। डा. रुसेलको टिमले परीक्षण गरेको भ्याक्सिन हाम्रो अस्पताललाई पठाएको छ। हेरौँ समयलाई कन्ट्रोल गर्नसक्छ कि सक्दैन यो केमिकलले। नेपालमा नै पहिलो पटक परीक्षण हुँदैछ। यो नै पहिलो प्रयोग हो। हुन त मुसा या खरायोमा परीक्षण गर्नू भनिएको छ तर जनावरमा परीक्षण गर्दाभन्दा मान्छेमा गरिएको परीक्षणको नतिजा चाँडो आउँछ।
समयलाई अब आफ्नो इच्छा अनुसार चलाउन सक्छ विज्ञानले। यी वृद्धा कोमामा गएको १०० वर्ष भयो। कोमामा जाँदा जम्मा ४५ वर्षकी थिइन्। अब पुनः यो केमिकलले यिनलाई ४५ वर्षको बनाउनेछ।'
डा. समृद्धि बोलिन्, 'अनि प्यासेन्टको मेमोरी त छैन नि। कोमामा गएको पनि १०० वर्ष भैसकेको छ। संवेदना, माया, प्रेम पनि फर्किन्छ त?'
'कसैकसैको फर्किन्छ तर धेरैको फर्किंदैन भन्ने अनुमान छ, हेरौँ। तर प्राकृतिक रूपमा मानवीय संवेदना नफर्किए पनि ल्याबमा उत्पादित हर्मोनहरू प्रयोग गर्न सकिन्छ। डन्ट वरी डा. समृद्धि, हाम्रो ल्याबमा जम्मै इमोसनहरू उपलब्ध छन्। अबको युगमा इमोसन पनि कतै मान्छेमा खोजेर पाइन्छ र! ल्याबमा उत्पादन गर्नुपर्छ।'
'डा. शर्मा तर हरेक इमोसनको लागि बेग्ला बेग्लै भ्याक्सिन लगाउनु पर्छ होइन र।'
'यस, यू आर राइट। आज भन्दा ठ्याक्क १०० वर्ष अगाडि रोग विरूद्धको भ्याक्सिन दिइन्थ्यो भने अबका मान्छेलाई रोग लाग्दैन तर मान्छेको मानवीय गुणहरू शनै: शनै: लोप हुँदै जान्छन्। मान्छे नै रोग बन्छ त्यसैले हरेक महिना उसले हरेक मानवीय संवेदनाहरू प्राप्त गर्न औषधि र भ्याक्सिन लगाउनु पर्छ।'
ढोकाको चेपबाट सुन्दै छ, नौलो युगको नौलो संवाद। आजभन्दा १०० वर्ष अगाडि? अहो ! म त १०० वर्ष पछाडि पो पुगेकी रहेछु कि क्या हो? अलमल पर्दै डाक्टरका कुरा फेरि सुन्न थालेँ।
'आर यू रेडी गाइज?' सबैले समस्वरमा भने यस डाक्टर।
'यो वृद्धामा पहिलो प्रयोग गर्न अस्पताल प्रशासनले मन्जुरी दिएको छ। कोही छैनन् यी वृद्धाको। प्रयोग असफल भए पनि विरोध गर्न कोही आउँदैनन्।' डाक्टरका जम्मै कुरा सुनेर पनि मेलोमेसो केही पाइनँ। टाउको फुट्ला जस्तै भयो। अनि फुत्त बाहिर निस्किएर करिडोरमा पुगेँ।
अहो! पाटन अस्पताल लेखेको होडिङ्ग बोर्ड देखेँ। नेपाली र अङ्ग्रेजी दुबै अक्षरमा लेखेको रहेछ तर मैले देखेको भोगेको अस्पताल थिएन अहिले। युरोपको कुनै भव्य अस्पताल जस्तै लाग्यो। अस्तव्यस्त केही थिएन। फोहोर कतै थिएन। मान्छेहरू सबै स्मार्ट र सफा थिए। सबैको उमेर उस्तै। बुढाबुढी कोही थिएनन्।
मस्तिष्कमा अचानक मेरो प्रसव पीडा याद आयो। ट्याक्सीमा छट्पटाउँदै म अस्पताल आएको स्मरण भयो। मेरो अतीत अस्पतालको प्राङ्गणमा स्पष्ट देखेँ। पाटन अस्पतालको प्रसूति वार्डमा नै त हो मैले भोगेको प्रसव पीडा।
मेरो सन्तानलाई पहिलोचोटि यी हातहरूले समातेको न्यानोपन अझ ताजै छ। मेरो छातीमा दुध भरिएर आयो। मैले मेरी छोरीलाई स्तनपान गराएको सम्झिएँ। थाङ्नामा लपेटिएकी भर्खर जन्मिएकी छोरी। मैले अनुभूत गरेँ मेरो सुत्केरी शरीर। तर खोई मेरो सन्तान? कता छे मेरी छोरी? अतीत र वर्तमानलाई भेट्न नसकेर मलाई औडाहा भयो।
छोरी जन्माएको अस्पताल हो यो। मातृत्वले पग्लिएको पल यही अस्पतालको आँगनमा छ। मैले अस्पताललाई मात्र उभिएर हेर्दा पनि स्मृतिमा मेरी छोरी नाच्न थाली। मेरो अतीतले मलाई चपक्क समात्यो, जसरी समात्छ चुम्बकले फलाम। सन्तान जतिकै स्मरणीय हुने रहेछ सन्तान जन्मिएको ठाउँ, मलाई छोरी भेटेको जस्तै लाग्यो। आँखा चिम्लेर छोरी जन्माएको वार्डतिर हुत्तिँदै गएँ। प्रसूति कक्षको बेड नम्बर ५१ खोजेँ। अहँ ! मैले देखेको अस्पतालको नमूना कतै छैन, जम्मै कुरा साटेर ल्याए जस्तो। सोध्न खोजेँ, बोल्न खोजेँ मेरो आवाज सायद कसैले सुनेनन्।
अनि मधुरो स्मृतिमा गोता लगाउन थालेँ।
जनै पूर्णिमाको दिन दिउँसो २:५७ मिनेटमा पाटन अस्पतालमा पहिलो सन्तानको रूप छोरी जन्मिएकी थिई। टुपुक्क मिलेको नाक, चुटुक्कको मुहार, सुन्दर फूल जस्तै। छोरीलाई मेरो हातमा नर्सहरूले दिएर हाँस्दै भनेका थिए, 'कति राम्रो नानी पाएको। नानी पाउनेबेलामा पनि आमा चाहिँको अनुहार उज्यालो थियो त्यसैले छोरी पुतली जस्तै छ।' कानमा प्रतिध्वनित भए, अतीतका संवाद।
वर्तमान समयलाई तिरोहित पार्यो विगतले। मातृत्वको स्मृतिले म निथ्रुक्क भिजेँ। करूणाविगलित भएँ। मेरा आँखाबाट हर्षाश्रु बगिरहे। आँखा उघारेर देखेको वरिपरिको दृश्य र आँखा बन्द गरेर देखेको दृश्यमा तादत्म्य केही छैन। अतीत कानमा कराइ रह्यो। मैले कान बन्द गर्न खोजेँ। आवाज बन्द हुने नामोनिसान थिएन। बाहिरको आवाज भए पो बन्द होस्। म भित्रबाट डरलाग्दो आवाज आएको थियो।
मैले मेरो छोरीलाई समयको चक्रसँगै हुर्काएँ, बढाएँ। ऊ प्राकृतिक थिई। मेरो मातृत्व अनुभूतिजन्य थियो। म अतीतको रमणीय फूलबारीबाट फुत्त निस्किन सफल भएँ। अस्पतालमा कृत्रिमता अत्यधिक छ। अत्यासिलो भयो मेरो मन।
अस्पताल परिसरमा जता हेर्छु मेसिनले निकालेका जस्ता मान्छेहरू हिँडिरहेका छन्। कस्तो अचम्म सबैको उमेर एकै हो कि जस्तो लाग्ने। अस्पतालको भौतिक संरचनाको मेलोमेसो छैन। कताबाट कता जाने भेउ पाउँदिनँ। 'कताको जिली कताको गाँठी” भन्ने अवस्थामा पुगेकी छु। केहीबेरपछि हिम्मत जुटाएँ।
जे पर्ला पर्ला फनफनी अस्पताल घुम्छु कसो नदेखिएला भन्दै म घुम्न थालेँ। अस्पतालभरि प्रसूति वार्ड कतै थिएन। नजिकै एउटा ल्याब देखेँ। साना साना बच्चाहरू सिसाको भाँडामा चल्मलाइरहेका। सुटुक्क ल्याबभित्र छिरेँ। मलाई कसैले देखेनन्। म ल्याबको नौलो संसारमा विस्मित भएँ। दुई जोडी महिला र पुरूष डाक्टरसँग सल्लाह लिँदै रहेछन्।
'हाम्रो छोरो आज नौ महिनाको भयो। आज उसलाई घर लैजान आएको तर डाक्टर बच्चालाई निकै सुन्दर र लोभलाग्दो देखिने हार्मोनहरू इन्जेक्ट गरिदिनू होला। हामी हाम्रो सन्तानलाई मोडल बनाउन चाहन्छौँ।'
डाक्टर सम्झाउँदै थिए, 'जति बढी सुन्दर बनाउन खोज्यो उति उसमा प्राकृतिक हार्मोनहरू नष्ट हुन्छन्। मानवीय संवेदनाहरू पनि कमजोर हुन्छ नि, के गर्ने?'
'केही छैन, अब मानवीय गुण लिएर यो घर्तीमा बाँच्न गाह्रो छ। मानवता हराएको बस्तीमा किन चाहियो मानवता? संवेदनाहीन सम्बन्धमा किन आवश्यक पर्यो र संवेदना? बरू प्राकृतिक रूपमा प्राप्त भएको मानवीय गुणहरू पनि नष्ट गरिदिनू। मेरो सन्तान यान्त्रिक होस्। हिजोआज संवेदना भएका केही सन्तान चरम विषादको अवस्थामा पुगेका छन्। हामीलाई त केबल राम्रो र आकर्षक छोरो चाहिएको छ।
समाज रूपान्तरण भएर पहिलेको अवस्थामा आउन लाग्यो भने सोचौँला। मानवीय संवेदना चाहिएको खण्डमा पछि ल्याबमा ल्याएर केमिकल इन्जेक्ट गरौँला नि!'
म हेरेको हेरै भएँ। कस्तो समयको चक्रमा म फस्दै थिएँ। जस्तो चाहना गर्यो उस्तै बच्चा बनाउन सकिने रोबर्ट हो कि मान्छेको बच्चा हो। अब मान्छेका बच्चाहरू सास फेरेका मेसिन मात्र त हुँदैनन्? बच्चाहरू चल्मलाएको सिसामा अभिभावकको नाम, उमेर र लिङ्ग लेखेको छ।
प्रायः भ्रुणहरू छोराका धेरै थिए। छोरी भ्रुण त एकाध मात्र देख्दा समाजमा आउन सक्ने उथलपुथल सम्झिएर निकै डराएँ।
नामसहितको एउटा सिसाभित्रको बच्चा लिएर ती डाक्टर आए। अझ चनाखो भएर हेर्दै थिएँ। बच्चालाई सिसाबाट निकाल्दै थिए, बच्चा जोडले हाँस्यो। म छक्क परेँ। मेरो समयमा त बच्चा जन्मिने बित्तिकै जोडले त रून्थ्यो। बच्चा हाँसेको देखेर आमाबा पो रून थाले।
म चकित भएँ कस्तो उल्टो समय चलेको रहेछ। म किन मेरै समयमा नै मरिनँ? मैले किन भोग्नु पर्यो यो असामञ्जस्यको समय? हेर्दैछु मातृत्वको छद्म अनुभव। बधाई दिए एकाअर्कालाई। अङ्कमाल गरे। डाक्टर पनि मक्ख परे बच्चा सकुशल जन्मिएकोमा।
लौ खा! सिसाबाट बच्चा निकालेर महिला आमा भइन्। बाआमाले सोचे जस्तै सन्तान हुने भयो। केही पिर भएन। भविष्य सुनिश्चित भयो। तत्कालै डाक्टरले सोधे, 'कति उमेरको बनाइदिऊँ यो बच्चालाई ?'
भर्खरै आमा बनेकी महिला हतारिँदै बोलिन्, 'डाक्टर साहेब बच्चाको गु मुत मलाई मन पर्दैन। स्तनपान गराउन पनि सक्दिनँ। बच्चा त दालभात खाएर आफै ट्वाइलेट जान सक्ने बनाइदिनू।'
डाक्टरले बच्चालाई तीन चार वटा इन्जेक्सन लगाइ दिए। हेर्दाहेर्दै बच्चा त हल्लक्क बढ्यो। म हेरिरहेकी छु, सिसाबाट झिकेको बच्चा त चार पाँच वर्षको बच्चा जसरी खुरूरूरू दगुर्यो। म हेरेको हेरै भएँ।
सन् २०२३ मा लौका, फर्सीलाई इन्जेक्ट गरेर हलक्क बढाएको मेरै आँखाले देखेकी थिएँ।
सन् २१२३ मा मान्छेको बच्चालाई उमेरभन्दा अगाडि हुर्काएको देखेर म अचम्भित भएँ। म चकित भएँ। बाआमा झोलाभरि औषधि र इन्जेक्सन बोकेर हाँस्दै घरतिर गए। म जड भएर ल्याबमै बसिरहेँ। मेरो उपस्थित कसैले देखेनन्।
केही समयको अन्तरालपछि
अर्काथरी बाआमा आए। उनीहरूलाई पनि सिसामा हुर्किँदै गरेको बच्चालाई तीक्ष्ण बनाउनु थियो। सिसाबाट आफ्नो बच्चा झिके, अभिभावक बने। बच्चाको आभामण्डल कृत्रिम थियो। बाआमाको रहर अनुसार बच्चामा हार्मोनहरू इन्जेक्ट गरे। आफूलाई चाहिएको उमेरको सन्तान बनाए र दङ्ग पर्दै घर फर्किए। समयको कुरूपता देखेर म विकम्पित भएँ।
म ल्याबमा बसिरहन सकिनँ। निस्सासिएँ। अनि ल्याबबाट भागेँ। अघिको क्याबिनमा हुरिँदै पुगेँ। कोठा खाली देखेँ। अघिको बेड तनक्क पारेर मिलाएको रहेछ। मेरा आँखाले वृद्धालाई खोज्न थाले। बेडमा सुतिरहेकी ती अशक्त वृद्धा कता गइन् होला त? बेडको मुनिपनि हेरेँ।
अहँ! कतै देखिनँ। वृद्धा त्यहाँ थिइनन्। हतास भएँ। म कस्तो समयको डोरीले बाँधिएकी रहेछु बुझ्न सकिनँ। एकोहोरो भित्तातिर हेर्दै थिएँ। अचानक बाथरूममा धारा खोलेको आवाज आयो, सतर्क भएँ। बाथरूमबाट गीत गाएको आवाज आइरह्यो। आवाज निकै परिचित लाग्दै गयो। बाथरूमको ढोकामा कान थापेर सुनेँ।
सन् २०२३ मा हिट भएको गजल ती वृद्धा गाउँदै थिइन्। जुन मलाई पनि असाध्यै मन पर्थ्यो।
'के लत बस्यो मलाई कहिले सुधार हुन्छ एक दिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ।'
अहो! यो स्वर त मेरो जस्तो छ त। म पनि बारम्बार यसैगरी गीत गाउथेँ। यी वृद्धा त १०० वर्षदेखि कोमामा गएकी थिइन् भने कसरी यो गीत गाइन् त? मस्तिष्क नराम्रोसँग घुम्यो। तर्साउने घरमा त फसेकी छैन? कि मलाई भुतहरूले बन्दी बनाएर राखेका छन्? कसैले मलाई देख्दैनन् पनि सुन्दैनन् पनि कि म नै भुत भएँ? मेरो वास्तविकता के हो?
म आत्तिएँ। घर्याक्क बाथरूमको ढोका खुल्यो।
ती महिला हुबहु म जस्तै थिइन्। ती महिला म नै भएको स्पष्ट भयो। उसको हाँस्ने, बोल्ने हिँड्ने सबै तरिका मसँग मिल्यो। म नजिकै गएँ बोलाएँ, छुन खोजेँ अहँ! सुनिनन् आफ्नै सुरमा गीत गाउँदै बेडमा गइन्। सायद उनले मलाई देख्न सकिनन्। डरलाग्दो गरी चिच्याएँ ...। पसिनाले लुछुप्प भिजेकी थिएँ।
'के भयो किन यसरी तर्सिएकी। सपना नराम्रो देख्यौ?' गिलासमा पानी लिएर श्रीमान नजिकै आएर टाउको सुम्मसुम्याउँदा पो म होसमा आएछु। कस्तो सपना हैट्!