यो सुन्दर सहरको एउटा भव्य सुविधा सम्पन्न अस्पताल। जहाँ चम्किला सिसाका झ्यालहरू, स्वच्छ धवल भित्ता, अनि व्यस्त मानिसहरू र आफ्नै सुरमा व्यस्त अजबल सेतो कोटधारीहरू आफ्नै ससारमा व्यस्त छन्।
कोही हतारिँदै दौडिरहेका छन् त कोही आँखाभरि आशा बोकेर आएका छन्। कोही किंकर्तव्यविमूढ़ भएर कुर्सीमा बसेका छन्, दुविधाभरिको स्थितिमा निराश र थकित।
अस्पतालको एक कुनामा एउटा पुरानो ग्रिलको ढोका छ, जुन निरन्तर खुल्छ र बन्द हुन्छ। कहिले नरम त चर्को आवाज निकाल्दै, कहिले भयानक सन्नाटा तोड्दै। ऊ त्यही कुनामा उभिएको छ। ऊ एक आत्मा हो, अदृश्य तर उपस्थित आत्मा। भौतिक रूपले नष्ट भइसकेको तर अविनाशी शक्ति।
तीन दिन भइसक्यो। बारम्बार ढोका खुल्छ, बन्द हुन्छ। त्यहाँ मान्छेहरूको चित्कार र सहानुभूति मिश्रित स्वरहरू। आत्मा ग्रिल बज्नासाथ बाहिर हेर्छ। तर उही नदेखेको अनुहार खोज्दै फेरि भित्र पस्छ। अनि चुपचाप आफ्नो निर्जीव शरीरको छेउमा गएर बस्छ। सेतो कपडाले छोपिएको छ– उसको शरीर। छेउमै छोराको नाम लेखिएको कागज। तर छोरा अझै आएको छैन।
ऊ हिजो पनि यस्तै गरिबसेको थियो, अस्ति पनि। उसले धेरैलाई देख्यो—कोही आए, कोही गएका थिए। उसले त्यहाँ बिताएका समय उसका लागि साँच्चिकै अद्भुत छ, अचम्मीत छ, जीवन र मृत्युलाई नियालिरहेको ऊ अचम्मित बन्छ।
शरीर पनि गन्हाउन सुरू भइसकेको छ उसको। छोरोलाई विदेश पठाउन काडेको ऋण बल्ल तिरेको थियो उसले। घरमा ब्याउन लागेको भैंसी बेचेर सहर उपचार गर्न आएको थियो तर अब कहिल्यै गाउँ फर्कने छैन।
त्यसै बेला, सेक्युरिटी गार्ड बेला बेला निरास भएर यता उता गरिरहेको छ। गार्ड एक्लै बर्बराउँछ – 'कस्तो भाग्य! गन्हाउने लास रूँघेर बस्नु पर्ने, बुढी पैला गई र मात्र नत्र छोरालाई उसको साथ छाडेर म बरू मलेसिया हानिन्थेँ। आ अब जे गर्छ छोराले गर्छ। अब मेरो सपना उसले पूरा गर्छ' गार्ड मनमनै मिठा कल्पनामा ब्यस्त बन्छ।
आत्मा गार्डलाई एकतमासले हेर्छ, 'त्यो गार्डको पनि मेरो जस्तै एउटा छोरो रहेछ। शायद सबै आफ्ना अधुरा सपना मैले जस्तै उसले पनि आफ्नो सन्तानमा थुपार्न खोज्या होला। उसलाई के थाहा सन्तान आफ्ना हुने भनेको पखेँटा नलागेको चरा जस्तै हुँदा हो। पखेँटा पलाएपछि उसले आफ्नै उडान भर्छ। आफ्नै सपना बुन्छ। आफ्नै नाता सम्बन्ध बनाउँछ। आफ्नै गुड बनाउँछ।' आत्मा गार्डलाई एकटक लगाएर हेर्दै भन्छ।
आत्मा आफैसँग बरबराउँछ, 'छोराको मुख नहेरी मर्दिनँ भन्थी उसकी आमा। छोरा छोरा भनेरै मरी। मैले तिम्रा हजार रहर पूरा गरेँ सावित्री! तिम्रो छोराले आफ्नो हातबाट दागबत्ती दियोस् भन्ने सपना पूरा गर्न सकिनँ। उसको नयाँ जागिर थियो। निस्किन मिलेन। आएन। उसको भविष्यको सवाल थियो। आखिर हामीले चाहेको पनि उसको सुन्दर भविष्य न थियो हैन र? मैले त यस्तै हो भनेर चित्त बुझाएँ। तिमीले बुझायौ बुझाएनौ ? हेर न तिमीलाई भेट्न आउन मन छ। भड्किरहेको छु। अस्पतालको मुर्दाघरमा।' ऊ आफ्नी मरेकी श्रीमतीलाई सम्झेर बिलौना गर्छ – 'तिमी चाँडै गयौ। चाँडो दु:ख लुकायौ।' – आफैसँग बोल्दै ऊ छिनमै भावुक बन्छ त छिनमै क्रोधित बन्छ।
अतीतको बोझ, अधुरो इच्छाहरू, अपुरा सपनाहरूबीच शून्यतामा अल्झिएर आफ्नो सद्गति प्राप्तिको लागि ऊ कसैलाई पर्खिरहेको छ। यसैबीच ग्रिलको ढोका फेरि एकपटक चर्कियो, सन्नाटा तोड्दै । अस्पतालमा भर्खर परलोक सुधारेको अर्को आत्मा आइपुग्यो। शायद त्यो आत्माले भर्खरै शरीर त्यागेको हुनुपर्छ। उसका परिवार आफन्त शोकले आकुल थिए। सबैका आँखा रसाएका थिए। नयाँ आत्माको मृत शरीरलाई घेरेर रूँदै थिए, तर आत्माको स्वरूपमा भने पूर्ण शान्ति थियो।
नयाँ आत्मा जो झट्ट हेर्दै संसारका सबै बोझबाट मुक्त भइसकेको थियो। अब न ऋणको चिन्ता, न पारिवारिक बाध्यता। न कुनै अपेक्षा, न कुनै पश्चाताप। संसारिक बाँधबाट मुक्त। कति सुन्दर, कति प्रशन्न, कति दिव्य देखिन्थ्यो ऊ!
शरीरको कुनै भार थिएन, न त कुनै चिन्ताको छाया। ऊ उज्यालो थियो—सुगन्धित हावाजस्तै हल्का, पहिलो किरणमा टल्किने शितको थोपाजस्तै स्वच्छ।
नयाँ आत्मासँग संवाद गर्न मन लागेर ऊ त्यो आत्माको समिपमा गयो। नयाँ आत्मा ऊ जस्तै शून्यतामा घुमिरहेको थिएन। स्वर्ग जान आनन्दित थियो। स्वर्ग केबल एक स्थान होइन। यो एक अवस्था हो—शान्ति र अमनचयन हो। एक अमृतमय अनन्त यात्रा हो।
'जाउँ साथी, सँगै स्वर्ग जाउँ,' नयाँ आत्माले उसलाई आत्मीयता प्रकट गर्दै भन्यो।
ऊ केही छिन सोचमग्न बनेझैं भयो, अनि आफ्नै निर्जीव शरीरतर्फ हेर्दै, कारूणिक भावमा भन्यो — 'तिमी जति भाग्यमानी कहाँ छु र म, साथी?'
'किन?' नयाँ आत्माले चकित हुँदै सोध्यो।
उसको स्वर कापिरहेको थियो। मलिन आवाजमा जबाफ फर्काउँदै भन्यो– 'तिमीलाई आफ्नै सन्तानले दागबत्ती दिए, अन्तिम संस्कार गरे। अपार प्रेमका साथ बिदाई गरे। म त तीन दिनदेखि प्रतीक्षामा छु। छोरो आउने छ।' आफ्ना कुरा राखी नसक्दै ऊ पुन: स्तब्ध बन्यो।
'पुरानो बोझ र चिन्ताहरूलाई फ्याँकिँदै, हामी जीवनका नयाँ अध्यायमा फर्किनु पर्छ साथी चिन्ता नगर।' नयाँ आत्मा उसलाई सान्त्वना दिँदै आफ्नो अनन्त यात्रातिर लम्कियो। ऊ टुक्रा–टुक्रा भयो। आफ्नो आकारलाई फेरि बटुलेर आफ्नो मृत शरीरतर्फ केही अघि बढ्यो।
उसले एकाएक आफ्नो घर सम्झियो। 'बाहिर खोरका कुखुराहरूको लागि १५ दिनको मात्रै चारो थियो। आज १६ दिन भो घर नपुगेको, छिमेकीले कुखुरालाई के चारो दिए होलान्?' ऊ सोचमग्न बन्छ।
'बुढीले माइतीबाट ल्याएको पोथीको सन्तानहरू थिए ती। कम्ता माया गर्दिन थी। आफूले जन्माएका सन्तानलाई जस्तै। के गुर्नु, गई हाली। अब म पनि नफर्कने भएँ। ती कुखराको के होला प्रभु।' ऊ आफ्ना खोरका पन्छीको लागि यति भावुक भन्छ।
आफ्नो छोरालाई कति प्रेमले हुर्काएको थियो होला। सायद माया बाँडिन्छ भनेर अर्को सन्तान जन्माएनन् होला। नभन्दै ऊ आफ्नो छोरोको बारेमा सोच्छ – 'के गर्दै होला बिचरो! म मरेको थाहा पायो कि म पाएन होला। महिनामा एक दुई बार समय मिलाएर फोन गथ्र्यो। मेरो मोबाइल अफ देखेर सायद रिसायो होला। विचरा आमाले छोडेर गई हाली। माया पोखे पनि, रिस पोखे पनि मलाई त हो नि उसले पोख्ने।'
'सानैमा ठूलो भएर मज्जाले पाल्छु त भन्थ्यो। मैले नि ठूलो सपना देख बाबु भनेँ। उसको ठूलो सपनालाई मेरो आफ्नो भूगोल सानो भयो। उसको के दोष? विदेशिनु बाध्यता बन्यो उसको। फर्केर आउँछु त भन्थ्यो। सायद यो दश वर्षमा उसलाई आउन मन नलागेको कहाँ होला र? विचारोले बाबु आमाको लागि समय निकाल्ने पाएन। अस्ति भर्खर उसकी आमाको वार्षिकी थियो। भोलिपल्ट यादै भएन छ 'बाबा सरी' भन्यो। सम्झिने, बिर्सिने त मान्छेको स्वभाव हो।'
'मर्छु भन्ने नै थिएन। नत्र अस्तिनी तिमीसँग कुरा हुँदा नै भन्थेँ छोरा –तिम्री आमालाई रोगले च्याप्न थालेपछि सबै गहना गलाएर आउनेवाली बुहारीको लागि चुरा बनाएकी थिइन्। छोरा आएपछि आफ्नै हातले दिन्छु भन्थिन्। तिमी आएनौ। त्यही पुरानो सन्दुकमा मैले जग्गाको लालपुर्जासँगै राखेको छु। जहाँ तिमी सानो हुँदाका सबै तस्बिरहरू छन्। तिमीलाई मैले क, ख सिकाएका कापिका पानाहरू छन्। तिमी नआएको सालका दसैंहरूका कपडाहरू छन्। मन लागे लगाऊ। तिम्री आमाको मन न हो नकिनी सकिन।' उसले मनमनै भन्यो।
'तर छोरा मेरो लास जलाउन चाहिँ आऊ है। मैले माथि गएर तिम्रो आमालाई पनि जबाफ दिनुपर्छ। तिम्री आमाको पो म थिएँ र जलाएँ। मेरो तिमीले नै दागबत्ती दिनुपर्छ। मलाई महापरिनिर्वाण तर्फको गन्तव्यमा जानु छ।' – ऊ यति भनिनसक्दै भक्कानियो।
आत्मा हरेक पटकको ग्रिलको आवाज बज्दा उठेर हेरेकै हुन्छ। तर उसको आशाले पूर्ण रूप लिँदैन। ऊ आफूलाई भन्न सक्दैन, अब पर्खनु ब्यर्थ छ, बरू कारूणिक स्वरमा आफैसँग भन्छ, मैले हारेँ भने मैले मेरी श्रीमतीलाई के जबाफ दिने? उसको कोखप्रतिको विश्वास तोडिएको म कसरी हेर्न सकूँला?
ऊ त्यही उभिरहन्छ, सपना, माया अनि सन्तानको खातिर। मानौं ऊ अर्को नयाँ आत्माको प्रतीक्षामा छ!