निरन्तर जीवनका थकानलाई एकातिर थन्काएर, ती हरेक दिनचर्याका भारी बिसाएर हामी कपडाले भरिएको ट्रेकिङ ब्यागको भारी बोकेर हिँड्यौँ।
ब्यागको छेउमै पानी, हातमा लट्ठी बोकेर हाम्रा खुट्टा हाम्रा आँखालाई हिमालको दृश्य नजिकैबाट देखाएर मनभरि बनाउँदै मस्तिष्कमा सदाका लागि यो यात्रा सँगालेर राखिदिन तम्तयार थिए।
उकालो बाटो, कतै सिँढी कतै-कतै भिरालो, एक-एक पाइला अर्कै संसारको गन्तव्यतर्फ डोहोरिएको जस्तो लाग्थ्यो।
हुन त यात्रा कस्तो हुने भन्ने कुरा यात्रुमा पनि भर पर्छ। तर स्वर्गलाई स्वर्ग जस्तो देख्न के सबैका आँखा एकै हुनपर्छ र?
प्रकृतिले निकै समय लगाएर आफ्नै गार्मेन्टबाट तयार पारेकी थिइन्, हामी लम्किरहेको पोखरामाथिको खुमै डाँडालाई र त यसको सुन्दरतामा कुनै अभाव नै थिएन। डाँडाको शिरमा पुग्दा आफै अग्लिए झैँ लाग्थ्यो, अझ ती डाँडाहरूमा हिउँ र हिमालको सेतोले पोतिदिएपछि त हरेक समय यो ठाउँ भर्खर शृङ्गार गरेकी बेहुली जस्ती देखिने।
खुट्टा थाके पनि मन थाकेन। खुट्टाका पाइला अग्लिए अझै अग्लिएका हिमालतर्फ।
यो मनले ती वन भित्रबाट पर कतै हाँसिरहेका देखिने हिमाललाई कवितामा उतार्दै थियो-
‘ए पहाडको छातीमा टाँसिएका टाकुराहरू
म तिमीलाई देख्न अग्लिएझैँ
तिमी मलाई देख्दा पग्लियौ कि नाइँ?
म तिमी सम्मुख हुन आतुर छु
तिमी बादलको घुम्टो उघारेर
दिव्य दर्शन दिन आतुर छौ कि नाइँ?
मलाई त म आफैसँग अनि
आफ्नासँग पनि
जीवन बेलाबेला
मलिन लाग्छ
तिमीसँग कोही नभएर पनि
सबै भए जस्तो गरी
हाँसिरहन कसरी सक्छौ?’
‘बाउ माथि पुग्ने हो?’
पछाडिको आवाजले मेरो कविता रोकियो।
‘हो,’ मैले पछाडि फर्केर जवाफ फर्काएँ।
टाउकोमा नाम्लोले भारी बोकेका। हेर्दा उमेरले आधा दशक काटे जस्तो देखिने, चाउरी परेको अनुहार, निधारमा चिटचिट पसिना, नाम्लोले खुम्चाएको मैलो ढाका टोपीको छेउबाट केही धर्सा सेता कपाल चुहिएका थिए।
खुट्टामा पुराना चप्पल, चप्पलसँगै मिल्ने हाल्फ प्यान्ट, मैलो खैरो सर्ट, सर्टभित्र झनै मैलो रातो टिसर्ट देखिन्थ्यो।
मैले एकै नजरमा उनलाई हेरेर भ्याउँदा नभ्याउँदै उनी बोल्न सुरु गरिहाले- ‘का टँ आउनु भा, कस्का होटेलाँ बस्ने हो?’
मैले तराईबाट आएको जानकारी गराएँ।
‘ए बाउका त खुट्टा बेहरि थाके होलान्, तराईका मान्छे उकालो खासै चढ्न सौउदैनन्।’
‘ कति बेर लाग्छ अझै दाइ?’ यो प्रश्न मुखबाट निस्किए पनि खुट्टाकै प्रतिनिधि प्रश्न थियो।
‘लाउँच ६/७ घण्टा, सरासर हिँड्नु भए पुइन्च रातिसम्म त। ल बाउ आउँदै अर्नुहोला म माथिल्लो डाँडामा बिसाउँछु।’
यति भनेर उनी मभन्दा अघि अग्लिए। म बिस्तारै ढुङ्गाका टेकामा पाइला टेकाउँदै हिँडेँ।
साथीहरू कोही अघि कोही पछाडि थिए। एउटै गन्तव्यमा पुग्न सुरु गरिएको यात्रामा पनि अघि पछि भइने रहेछ। जीवनका यात्राको सानो नमुना परीक्षण गरे जस्तै।
मलाई अघिको मान्छेको आकृति र बोलीले निकै बेर सोच्ने पनि बनायो। प्रकृतिलाई छाडेर मभन्दा अगाडि गएको भरियालाई सम्झिएँ। हरेक दिनको उकालो उरालो, पिठ्युँमा भारी, निधारमा नाम्लो।
उसको र मेरो पिठ्युँमा बोकेको भारीमा एउटै फरक थियो; मेरो रहरको उसको करको। मेरो पिठ्युँको भारीको मालिक म थिएँ। मलाई यसको हिफाजतको जिम्मेवारी थियो। उसको पिठ्युँको भारीको मालिक ऊ थिएन। उसलाई झनै बढी सुरक्षाको जिम्मेवारी थियो। एकैछिनको यात्रामा मलाई मेरो भारी भारी लागेको थियो। सायद उसलाई हरेक दिनको यात्रामा भरिने भारीले मन कहिल्यै भरिँदैन।
सोच्दा सोच्दै फेरि गहिरिएर सोचेँ; उफ्! कसरी एउटै बाटो हिँडिरहन सकिन्छ थाहा हुँदा हुँदै पनि यात्रा र गन्तव्य? कसरी बाँधिरहन मन लाग्छ एकै ठाउँ जान्दा जान्दै पनि फुकिने कैयौँ उपाय?
पहाडको यात्रामा एउटा ठुलो जङ्गल आउँथ्यो अनि आउँथ्यो मान्छे बस्ने डाँडा। म जङ्गल छिचोलेर डाँडामा पुग्दा अघिको भरिया भारी बिसाएर स्टिलको ग्लास मुखमा लग्दै थिए।
मलाई देखेपछि हात फैलायो, स्वागत गरे जसरी।
‘बाउ याँको रौसी साह्रै मिठो हुन्च क्या’ मैले सोध्नु पूर्व ऊ आफैले हाँस्दै भन्यो।
अर्को एक गिलास थपेपछि ‘ल बाउ आउँदै अर्नु है, अर्को डाँडाको गाउँमा भेटौँला’ भनेर ऊ भारीलाई पुनः आफ्नो पिठ्युँमा चढायो।
म साथीहरू पर्खिएँ।
एकैछिनमा मेरा साथीहरू आइपुगे। हामी गीत गाउँदै अर्को डाँडातर्फ प्रस्थान गर्न लाग्यौँ।
प्रत्येक डाँडाका होटेलमा भरियाहरू भारी बिसाउँदा रहेछन् र केही थकान गिलासका चुस्कीसँगै बिर्साउँदा रहेछन्। थकान बाटोको यात्राको हो या जीवनको यात्राको यो त उनीहरू आफैलाई थाहा होला।
गन्तव्यको दूरी छोटिँदै जाँदा भरियासँगको दूरी पनि छोटिँदै थियो। रक्सीले मात लागेर हो या कोही सुन्ने मान्छेको साथ पाए भन्ने ठानेर, उक्त भरिया खुल्दै थियो भर्खर बादललाई हटाएर खुलेको आकाश जस्तै।
‘अनि हजुरको नाम?’
‘रने’
‘नाम नै रने?’
‘बाले त रणबहादुर राख्या थे नि।’
‘बहादुर हुनुहुन्थ्यो क्या हो हजुर?’ म जिस्किएँ।
‘नेपाल आर्मीमा जागिर खाँथेँ, संकटकालाँ छोड्न पर्यो, भागेर आएँ अनि त रणबहादुर रने भए के बाउ, हाहाहाहा।’
‘ओहो! तपाईं आर्मी पो हो?’
‘आर्मी थिएँ बाउ। यहीँ थलाँ ढुङ्गा बोकेर, प्राउटिस गरिन्थ्यो, सखारै उठेर तल माथि कुद्थेँ। ए कति कुदियो। भर्ती नि भयो। लास्टाँ यही थलाँ यसरी थला पार्न लेख्या रैछ।’
मलाई त्यो रणबहादुर आर्मीको परिकल्पना भयो। रणबहादुर हुँदा कति हृष्टपुष्ट थ्यो होला त्यो ज्यान। रने हुँदा ओइलाएछ।
डाँडामा छपक्कै लालीगुराँसले राताम्य पारेको थियो, लालीगुराँस रणबहादुरको जीवन हो, ढकमक्क। केही महिनापछि यसका हाँगा दुब्लिने छन् र बन्नेछ रने, रने बनेपछि डाँडा फेरि उजाड हुनेछ। ओहो! डाँडामा रणबहादुरको विगत अनि मेरो अगाडि उभिएको रनेमा लालीगुराँस र डाँडाको भविष्य।
‘आर्मी भइसकेको मान्छे यहाँ कसरी मन अडियो?’ केही बेरको मौनता मैले नै चिरेँ।
‘अर्न त धेरै तिर काम अरे, पोखरामा सेक्युरिटियाँ नि गर्या हुम। अब मन यो बाटो छोड्नै खोज्दैनन्, एक दिन तल माथि अरेन भने खुट्टा चिलाइहाल्छ।’
‘बिहे गर्नुभयो कि नाइँ?’ मैले मुस्कुराउँदै सोधेँ।
‘अरे नि अर्न त, पैसा कमाएर दिउन्जेल बसी। सेक्युरिटीमा अर्दा थाहा पाए अर्कैसँग सलबलाई सकेकी रहिछे। थाहा पाएपछि मैले भकुर्नु भकुरेँ, त्यही रात कोठाटँ निस्केर गकि हो। त्यही दिनबाट त्यो मेरो लागि मरी बाउ।’
उनी बोल्दा बोल्दै रोकिए।
म पनि केही बोल्न सकिनँ। उनलाई सरासर अगाडि हिँड्न दिएर आफैलाई पछि पारेँ। यहाँ न उनी अगाडि बढ्दा जिते न म पछि सरेर उनको जितको कारक बनेँ।
जीवन कसैको सहज छैन, यात्रामा भेटिने पात्रहरूले भोगेका पत्र-पत्र केलाउँदा त यो थकान, स्वाँ-स्वाँ सबै सतही लाग्छन्।
रनेको जीवन एक्लो थियो, रनेको दैनिकी एक्लो थियो, रनेको बाटो एक्लो थियो, थिए त रनेलाई हरेक दिन भेटिरहने फरक यात्रुहरू, रनेलाई सोधिने फरक प्रश्नहरू, रनेलाई देखिने फरक आँखाहरू।
मैले रनेलाई बिचरा देखिनँ, पागल सोचिनँ, सायद मै बढी महत्त्वाकांक्षी भएर मलाई उसको जीवन खल्लो लागेको पो हो कि। या ऊ आफै सादगी भएर यहीँ जीवन जिउन चाहेको पो हो कि। के थाहा मलाई नयाँ-नयाँ बाटो यात्रा गर्दा रमाइलो लागेझैँ उसलाई पनि त नयाँ-नयाँ मान्छे भेटाउँदा रमाइलो लाग्ला नि?
झम्के साँझले बिदो लिएर रातलाई स्वागत गर्दा नगर्दै हामी हाम्रो यात्राको चुलीमा पुग्यौँ। पूर्वनिर्धारित होटेलमा गयौँ र झोला बिसायौँ। रने दाइले कसैको झोला त केही होटेलका सामान बोकेर अघि नै आइसकेका थिए। होटेलमा स्वागत गर्ने पहिलो उनी नै भेटिए।
खाना खाएपछि दोहोरी सुरु भयो।
टुक्का रने दाइले नै झिके-
‘हे मायालु रेलिमै मासु भात खाने हो
यो कालीलाई भगाएर लाने हो’
उनीहरूकै टोलीमा एक जना काली-काली हिस्सी परेकी केटी थिई। रने दाइले उसैलाई निशाना बनाएका थिए।
ऊ पनि के कम, फर्काइहाली-
‘हे मायालु रेलिमै यो कालीलाई आँट्ने
भाकी स्वास्नी त टिकाउन नसक्ने’
‘स्वास्नी छैन यहीँ पिर लाउँच
ए काली तिम्रो यादले साह्रै नै सताउच’
रने दाइले फर्काए।
‘ल मानिदेऊ सिन्दूर तिम्रै नै हालौँला
भारी बोकी कसरी पालौला?’
‘खुवाला तिमीलाई आफैले नखार
राखौँला नि रानी नै बनारँ’
एउटाले गाउँथ्यो अर्कोले फर्काउँथ्यो, प्रत्येक उत्तरमा हामी मुर्छा परुन्जेल हाँस्थ्यौँ। रने दाइको पालामा बेसरी ताली बजाएर हुटिङ गरिदिन्थ्यौँ। आधा रातसम्म त्यसरी नै दोहोरी चल्यो। रने दाइले सारा दिनको थकाइ मारे गीतका टुक्काबाट। दोहोरीको टुक्का झिकेपछि बुरुक्क उफ्रेर उनी मझेरोमा नाच्न आउँथे र नाच्थे हलुङ्गो भएर, भरेर छोडेको बेलुन जस्तै।
कहाँ गए रनेका दिनभरका थकान? त्यो खुट्टाबाट नाचेर गयो। कहाँ गए मनभरि खेलेका प्रश्न? त्यो मुखबाट टुक्का बनेर गयो।
कहाँ गए आफ्नी पुरानी श्रीमतीका याद? त्यही काली मोरीलाई कल्पिएर गयो।
कहाँ गयो रने दाइको जीवन? त्यसको पनि त आजको दिन गयो।
म अलि अघिसम्म त भ्रममै रहेछु। यो बाटोको हरेक दिनको निरन्तरताको अन्त्य त जीवनको एउटा मिठो यादगार पल पो बन्ने रहेछ, हरेक दिनका नयाँ यात्रुसँग।
भोलिपल्ट हिमालसँगको नजिकको सम्बन्ध मनभरि साटेर, साट्यौँ है त भन्ने प्रमाण मोबाइलमा राखेर हामी ओरालो लाग्न तयार भयौँ। अग्लो डाँडामा त सधैँ कोही रहिरहन सक्दैन, रने दाइ पनि त अग्लिनलाई हरेक दिन ओरालिने गर्छन्।
हामी झर्यौँ साथ-साथ गीत गाउँदै। रने दाइ डोकामा झोलका भारी बोके अगाडि खच्चडलाई खेदाउँदै।
खच्चडको गतिमा रने दाइ। रने दाइको गतिमा हामी। यो ओरालो झरेको होइन दौडिएको आभास हुन्थ्यो।
बाटोमा धेरै रने दाइहरू थिए। सबैका उस्तै उस्तै देखिने मैलो कपडाले बेरेको शरीर, उस्तै उस्तै मुस्कान, उस्तै चरित्र उस्तै जीवन। मैले उनीहरूले बोकेको डोकोमा उनीहरूको जीवन राखे, सबै उस्तै भारी थिए।
मलाई कविता लेख्न मन लाग्यो-
‘ए भरिया दाइ
तिमी भरिया भएर भारीको
नाम्लो टाउकोमा चढाउँदा
टाउको भारी हुन्छ कि मन?
खच्चडलाई खेदेर
हिँड्दै गर्दा
कहिलेकाहीँ लाग्दैन
उल्टै यो खच्चडहरूले
तिमीलाई डोर्याएको छ
आफू जाने मार्गतर्फ?
ए भरिया सुन न
तिमीले चौतारोमा भारी बिसाउँदा
मनभरिको भारी बिसायौ कि नाइँ?
ए भरिया भन न
सुटुक्क एक घुट्की रक्सीसँगै
जीवनको एक सर्को दुख निल्यौ कि नाइँ?’
रने दाइहरूको झर्दा होस् या चढ्दा हरेक डाँडाको होटेलमा विश्राम हुन्थ्यो र एक स्टिलको गिलास हातमा हुन्थ्यो।
करिब दुई घण्टाको ओरालोपछि हामीले खाना खायौँ र त्यहाँबाट करिब छ घण्टाको यात्रापछि गाडी पाइने ठाउँमा आइपुग्यौँ।
रने बिच-बिचमा भेटिन्थे र मुस्कुराइहाल्थे।
हामीले ओरालोको अन्तिम पाइला त्यही राख्यौँ जहाँबाट हिजो उकालोको प्रथम यात्रा सुरु गरिएको थियो। म साथीहरूलाई पर्खिन लागेँ। सँगै आएका रने दाइले झोलाको डोको बिसाए, डोकोसँगै दाइको आजको आधा जीवन बिसाए।
मैले रने दाइको अनुहार हेरेँ। हिजो बाटोमा भेटेको को हो? को हो? एउटा भरिया, आफ्ना सारा विगत सुनाएर, जानेका रातभर कला देखाएर, प्रिय पात्र बनेको थियो।
आफूसँग केही छैन तर ऊ सबै भए जसरी हाँस्थ्यो, सबै भएर पनि दुखी हुनेलाई शिक्षा दिए जसरी।
केही बेरमा मेरो साथीहरू आइपुगे। हामीले जिपमा हाम्रा झोला चढाउन लाग्यौँ। रने दाइ बसेको ठाउँ तिरबाट हल्लाखल्ला आयो। हामी उतै दौडियौँ। कसैले रने दाइलाई धकेल्दै थियो। दाइको अनुहार पहिलो पटक मलिन देखेँ।
नजिकै गएर बुझ्दा थाहा भयो एउटा यात्रुको झोला छुटेको रहेछ। उनीहरू फेरि माथि गएर झोला खोजेर ल्याउन भनिरहेका थिए।
कम्तीमा धने दाइलाई पनि माथि पुग्न ८/९ घण्टा हिँड्नुपर्छ। फेरि कतै झोला भेटिएन भने? यो त उनले आज चाहेको बिताउन खोजेको दिन होइन।
अघि अन्तिममा आइपुगेका मेरा साथीहरू पनि त्यही आए।
‘खाना खाने ठाउँमा कसैले झोला छोडेछ हो? त्यहाँ एउटा झोला छोडिएछ भन्दै हुनुहुन्थ्यो?’
ए झोला त खाना खाने ठाउँमा छुटेछ! त्यहाँ पुग्न पनि त ५/६ घण्टा फेरि उकालो चढ्नु पर्थ्यो।
झोलाका आफन्तहरू गएर झोला ल्याइहाल भनेर कराउँदै थिए। बाटोमा छुटेको झोला लिन पुग्नुपर्ने ठाउँ सम्झिएर रने दाइको पसिना छुटेको थियो, थरर काँपे डराएर जस्तो। उनको हाँसो त अघि नै उनीबाट फुत्केर गइसक्यो। आँखा मलिन थिए।
मलाई यो रूपको रने दाइलाई देखेर माया लागेर आयो।
रनेलाई भरिया मात्रको नजरले देख्दा म उनीहरूको ठाउँमा भएको भए पनि यस्तै गर्थेँ होला या रनेको बारेमा बुझेको उनीहरू मेरो ठाउँमा भएको भए यस्तो गर्दैन थिए कि?
हामीले खाना खाने ठाउँमा फोन गर्यौँ। फोन लाग्न पनि गाह्रो, लागिहाले नेटवर्कले गर्दा बोलेको बुझ्न पनि गाह्रो। कुराकानी भयो। धन्न अर्को भरिया आउँदै रहेछन्। उनैसँग झोला पठाउने कुरा भयो।
उनीहरू अझै रने दाइलाई कराउँदै थिए। रने दाइको मुखाकृति उस्तै बिग्रेको र उदास थियो। जाँदै गर्दा जिपको झ्यालबाट मैले देखेँ, रने दाइले बाहुलाले सुटुक्क आँसु पुछेका थिए।
मेरो मन पनि उम्लिएर आयो। हिजोसम्म सोच्थेँ, यो बाटो सपाट छ। यहाँ भारी बोक्ने भरियाहरू एउटै नियतिमै जिउँछन्, डाँडैपिच्छे भारी बिसाउँछन्, एक गिलास जीवन पिउँछन्, बेलुका एक टुक्का गीतबाट थकाइको सुसेला हाल्छन्।
एउटै बाटोको टेकेपिच्छे नयाँ कहानी थियो। दिन उस्तै थियो, दिन काट्नेहरू एउटै थिए तर उनीहरूको नियति आकाशको सूर्यको आकृति जस्तै फरक भइरहन्थे।
मैले आकाशमा हाँस्दै उदाएको, घरी बादलसँग लुकामारी गरेको अनि पूरै कालो बादलले अँध्यारिएर झरी परेको रने दाइलाई एउटै आकाशमा देखेँ।