मन भारी भएको छ
थाहा छैन जिम्मेवारीले हो कि निराशापनले
तर यात्रा तय गर्नु छ
बेसुरपनको जिन्दगीमा फेरि सुनौलो लय भर्नु छ
खै कतै होस हराएजस्तो, कतै एक्लिएको जस्तो
रित्तोपनको आभास भइरहेको छ
थाहा छैन बेहोसीले नै हो कि एक्लोपनले
तर संघर्षको मैदानमा देखिनु छ
एक दिन इतिहास भई पाना पानामा लेखिनु छ
दुख के हो कसैले सोधे
मेरो मौनताले जवाफ दिलाउनु छ
संघर्ष के हो बुझ्न चाहे
मेरो यात्राले प्यास पिलाउनु छ
घरी जलेजस्तो घरी गलेजस्तो
बेचैन भइरहेछ मन
थाहा छैन जलेरै हो कि गलेर
तर प्रगतिको पाइला चालिरहनु छ
धिपधिप गरिरहने यी जिन्दगीको मैनबत्ती
कहिले नमर्ने गरी बालिरहनु छ
हराएका, लुकेका अनि पूरा नभएका लाखौँ खुसीहरू खोज्नु छ
अब सहज मात्र होइन कठिन बाटो पनि रोज्नु छ
रोकिएका पाइला तत्काल चाल्नु छ
मनका फोहोर मैला सबै फाल्नु छ
एक-एक गर्दै सफलताले जिन्दगी भर्नु छ
पुगोस् या नपुगोस् गन्तव्यमा
तर यात्रा तय गर्नु छ
केही गुमाए जस्तो केही नभएजस्तो
खल्लोपनले घेरिरहेको छ
थाहा छैन केही गुमेरै हो कि केही नभएर
तर सपनाको शिखरमा चढी झन्डा फरफराउनु छ
बाझिएका कैयौँ रहरहरूमा फेरि हरियालीपन फर्काउनु छ
थाती राखेका सपनाका चाङहरू खोतल्नु छ
लेख्न बाँकी भएका भाग्यहरू लेख्नु छ
लेखिएर पनि गलत भएका कतिपय भाग्यहरू सच्याउनु छ
जितोस् या हारोस् मैदानमा उत्रनु छ
भाग्य होस् या नहोस्
आफ्नो भाग्य आफै कोर्नु छ
सफलतालाई छेक्ने पहाडहरूलाई
मेहनतको छडीले आफै फोर्नु छ
सरल होस या कठिन यात्रा तय गर्नु छ️।