तिमी मलाई हेरेर टिठ गर्यौ, मैले तिमीलाई देखेर टिठ गरेँ।
बर्जु, मेरो छानो उप्किएको हो। पिँढी भत्किएको हो। तिमी खेल्ने आँगन ओद्रिएको हो।
तिमीले यही देख्यौ र टिठ गर्यौँ।
गाउँ छोडेपछि, घर छोडेपछि- तिम्रो मन भत्किएको छ। जिन्दगीको अर्थ भत्किएको छ। सपना भत्किएको छ।
बर्जु, जो देखिन्न तर म बुझ्दछु तिम्रो भाव। मैले यसैमा टिठ गरेँ। मैले तिम्रो अभिमान र आडम्बर स्विकार्न सकिनँ बर्जु, मलाई माफ गर। मैले तिमीलाई शक्तिहीन देखेँ।
आज तिमी आयौ र तिम्रा आँसु आए। थाहा छैन के सम्झ्यौ र रोयौ!
भो नरोऊ, नरोऊ अब। अब रोएर हुन्न।
हेर त म कति कठोर भएको छु। हरेक दिन मक्किन्छु, हरेक दिन भत्किन्छु। तर रुन्नँ।
कतै गएपछि रहेछ रुनु। केही सम्झिएपछि रहेछ रुनु। मैले तिमी हिँडेपछि खुब सम्झिएँ र रोएँ एकछिन। तिमी आउँदैनौ लाग्यो र रोएँ धेरै छिन्।
अचेल आँसु सुके बर्जु मेरा। मन ढुङ्गा भएको छ। अस्तित्वको लडाइँ लड्दै गर्दा, म हारिरहेको छु र पनि दृढ छु।
मलाई थाहा छ, म हार्छु। मलाई थाहा छ, म ढल्छु। मलाई थाहा छ म सकिन्छु।
बर्जु,
म जित्नको लागि सिपाही होइन। मलाई घाइते देख्ने घरहरू मेरो उद्धार गर्न सक्दैनन्। हामी सबै एक अर्का ढलेको हेर्दै छौँ। यो अस्तित्वको हार्ने लडाइँ लड्नै पर्नेछ बर्जु।
सिनारियोबाट फेज आउट हुनु पहिले तिमी आइरहनू। मर्ने बेलामा आफ्ना देख्न पाए सास जान्छ भन्नुहुन्थ्यो तिम्रा हजुर बा! तिम्रा हजुर बा क्या बर्जु, मैले सम्झिरहन्छु।
यो सम्झने मन म बिर्सूँ कसरी?
बर्जु,
तिम्रै अगाडि ढल्न मन छ, गर्ल्याम्म।
एउटा समय थियो, पिँढीको अलिकति भाग ओद्रिँदा भुटो अर्थिन तिम्री आँबै। माटो भिजाएर टाल्थिन्। लेओन लाउँथिन्। एकछिन सुक्न दिन्थिन् र पोतारीले लिप्थिन्।
तिमीले बिर्स्यौ र बर्जु?
अँगारले भित्ता केरेको बेला आमैले कर्के हेरेको! तिमीले बिर्स्यौ र बर्जु, भकुन्डो खेल्दा फुल भाँच्यौ र आमाले सिठाले सप्काएको!
बाछिटाले पाखो पिट्दा कमेरो बग्थ्यो र सिन्दूर पुछिएको सिउँदो जस्तै हुन्थ्यो। हजुर बा बितेपछि उजाड सिउँदो भयो आँबैको। आफ्नै सिउँदो उजाड भएकी आमाले घरको पाखो उजाड देख्न सक्नुहुन्थेन।
करेसाको धोक्रामा बचेको कमेरो भिजाईकन कुचाले छेपी हाल्नुहुन्थ्यो।
साँच्चै आँबैलाई कस्तो छ बर्जु?
म ठिक छु भन्दिनू है। मक्किएको, भत्किएको, उब्लिएको केही नभन्नू।
आँबैलाई सबै राम्रो छ भन्नू। उस्तै छ भन्नू। सुखद समाचार दबाइ हुँदो रहेछ क्या बर्जु। मनको दबाइ। मनको दबाइले शरीर कमजोर हुन दिन्न।
अस्ति पल्ला घरे बर्जु आएथे। ऊ त्यहाँ बलेनीमा उभिएर भने- तँलाई तेरा विष्टले सम्झिरहन्छन्। मैले पत्याएँ बर्जु। मलाई त्यही बोली दबाई भयो। मनको दबाइ।
मलाई एकछिन सन्चो भयो। मैले सुख भोगेँ बर्जु। आफ्नाहरूले सम्झनु भनेको पनि सुख रहेछ।
खैर! यी भुटा र चिन्ताका कुरा नगरौँ। विगतका कुरा नगरौँ। विगतले पोल्छ बर्जु, मलाई पनि तिमीलाई पनि।
बरु भन, सहरमा घर कस्तो छ? मै जस्तो छ कि सुन्दर छ? तिम्री आँबैले मलाई माया गरेजस्तै, तिमीले खुब माया गर्दा हौ। गर्नू है बर्जु, माया गर्नू। स्याहार गर्नू।
आफूले बनाएको र स्याहार गरेको कुराहरूको खुब माया लाग्दो रहेछ। आफूले हुर्काएकाहरूको खुब माया लाग्दो रहेछ। तिमीले धेरै कुरा भुल्यौ हौ बर्जु, मैले सबै सम्झिरहेको छु।
तिमी जन्मेको घर मै हुँ। तिमीलाई हुर्काएको घर मै हुँ।
फर्केपछि एक आखर यहाँबाट आमालाई गाउँको घर कति राम्रो रहेछ भन्दिनू, खुसीले रुन्छिन् बुढी।
त्यति बेला नरुनु नभन्नू, रुन दिनू। खुसीले रोएको बेला नरुनु भन्दिए त्यो हेला हुन्छ। खुसी खोस्नु हुन्न बा, नखोस्नू। हत्केलाले पटक-पटक आँसु पुछ्न दिनू। रुँदारुँदै जुरुक्क उठेर बाहिर जान दिनू। एक्लै टोलाउन दिनू। आँत भिजाउन दिनु है बर्जु, नजिस्काउनू।
त्यो एक दिनको रुवाइले महिना दिन हाँसो दिनेछ भन्नू।
बर्जु, के खान्छौ?
म पुत्याउन छोडेको धेरै वर्ष भयो। कट्कुरामा दाउरा छैनन्। दाउरा छैनन् के भन्नु, कट्कुरै रहेन। आँटीमा अन्नपात छैन। गग्रेटोमा गाग्री छैनन्। न तखतामा कुँडे छ। न कटेरामा लैना बकेर्ना!
‘जाऊ भित्र, बाल आगो र केही पकाऊ,’ मैले यसो भन्न नसक्ने भएछु।
अवस्था उस्तै रहेन बर्जु। हामी मिलेर खान नसक्ने भएछौँ।
उसो त, भोक लागेपछि सम्झिने तिम्रो घर यही थियो। तिमी दगुर्दै आउँथ्यौ। आमा भन्थ्यौ, चिच्याउँथ्यौ। केन कराछस् भनेकी आमाले तिम्रो 'भोक लाओ' भन्ने कुरा सुनेपछि निकालेर खा त्यही अगेनामा छ भन्थिन्।
तिमीले सिल्टीका थालमा आँटो हाल्थ्यौ। तखतामा रहेको कुँडेबाट तर निकाल्थ्यौ र पेट लाएको खाएर फेरि खेल्न दगुर्थ्यौ।
बर्जु, अवस्था उस्तो रहेन। आज आफ्नै घरमा खान जुरेन तिमीलाई। अब बस आज यतै पनि कसरी भनूँ! तिमीलाई एक रात सुत्न पनि नमिल्ने भयो।
न खाट सग्लो छ। न मदुसमा सिरक डसना सग्ला छन्। न बाल्न बिजुली छ न सल्काउन टुकी। राति प्यास लाग्दा पानी पिऊँ भने बेला छैन, न गिलास छ।
समय खोला जस्तै रहेछ बर्जु, झिम्रुक जस्तै रहेछ। जहाँ सुत्दा संसारकै मिठो निद्रा आउँथ्यो, त्यही ठाउँमा निदाउने नसिब रहेन।
बर्जु, साँझ पर्यो, अब झमक्क हुन्छ। यहाँ बस भनौँ केही रहेन। सहर फर्क भनौँ, समय रहेन। ऊ तल कान्छाबाको घर जाऊ। बुढाबुढी मात्रै छन्। धेरै सुन, थोरै सुनाऊ। मिठो मसिनो जे छ खाऊ, जस्तो छ सुत र एक आखर आऊ भोलि आऊ।
तिमी सहर फर्कनु पहिले एक फेर हामी बालख बाँचौँला।