तिम्रो काठमाडौँमा
कसैको जलिरहेको लासमाथि पनि
कसैको रोजीरोटी चलिरहेको देखेँ
पशुपतिनाथको वरदान
वाग्मतीको सराप देखेँ
लाखौँमा आबादी देखेँ
आबादीभन्दा बढी साधन
साधन माथिका अनेकौँ सवारी देखेँ!
सुन्दर दृष्टिले हेर्दा
रमणीय गन्तव्य देखेँ
गिद्धे नजरहरूको लागि
सिनो खोजी गर्न बन्जर जमिन देखेँ
लगानी गर्न ल्यागत राख्नेहरूलाई
अवसरहरूको चाम देखेँ तर
नव प्रवेशीहर लाई भने
चुनौतीहरू तमाम देखेँ!
भित्री मनको शान्तिको लागि
कैयौँ जिउँदा आत्माहरू
भड्किएर भौँतारिएका देखेँ
मन्दिर, मस्जिद र चर्चभित्र
न भगवान् देखेँ न अल्लाह
न त कुनै इसु नै देखेँ
देखेँ त केबल लाइनमा
उभिएका ती मलिन अनुहारभित्र
लुकेको अनौठो भक्ति भाव देखेँ!
सुनौलो भविष्यको खोजीमा
मनमा हजारौँ सपना बोकी
सहर छिरेका ती नौजवानहरू मध्ये
कोहीलाई भट्टीमा देखेँ
कोही क्लबतिर देखेँ त
कोही र्याली जुलुस प्रदर्शनमा देखेँ!
तिम्रो सहरमा मैले
न भाव देखेँ न कसैसँग भावना
न आफ्ना देखेँ न त कसैसँग आफ्नोपन देखेँ
देखेँ त केबल हृदय विदारक तस्बिर
जो देश छोड्नलाई हजारौँको लाइन लागेका देखेँ।