सायद हाम्रो चिनजान पनि संयोग नै थियो। फेसबुकमा एउटा पोस्ट अनि त्यसकै माध्यमबाट सुरु भएको संवाद। त्यो सुरुवात जसले मेरो जीवनमा अविस्मरणीय अध्याय थपिदियो। हामी कहिल्यै प्रत्यक्ष रूपमा भेट्न सकेनौँ तर शब्दहरू मार्फत नै एकअर्काको संसारमा गहिरो छाप छोड्यौँ।
सुरुमा साधारण ‘हेल्लो’ बाट सुरु भएको हाम्रो कुराकानी समयसँगै गहिरिँदै गयो। सामाजिक सञ्जालको त्यो 'च्याट बक्स' हाम्रा भावनाहरू साट्ने एक मात्र माध्यम बन्यो।
कहिलेकाहीँ हाम्रा कुरा यति लामो समयसम्म चल्थे कि रात कटिसकेको पत्तै हुँदैनथ्यो। निद्रा त्यागेर, काम बिर्सेर, हाम्रा भावनाहरू अभिव्यक्त गर्ने ती अनगिन्ती रातहरू— ती नै अहिले मेरो यादहरूको हिस्सा बनेका छन्।
कहिलेकाहीँ ऊ हतारमा हुन्थी, म व्यस्त हुन्थेँ। तैपनि हामीले समय निकालेर सन्देश आदानप्रदान गर्थ्यौँ। कहिले छोटा संवादहरू, कहिले गहिरा कुराकानी। हाम्रा कुराहरू कहिलेकाहीँ भविष्यसम्म पुग्थे— यदि हामी भेट्ने अवसर पाउँथ्यौँ भने कस्तो हुन्थ्यो होला भनेर कल्पना गर्थ्यौँ। हामीले कल्पनामा सँगै घुम्ने सपना देख्यौँ, एकअर्काका अनुहार सम्झने प्रयास गर्थ्यौँ। तर त्यो कल्पनाले कहिल्यै वास्तविक रूप लिने अवसर पाएन।
ऊ मलाई आफ्नो मनको कुरा खुलस्त भन्न चाहन्थी, म पनि उसलाई हरेक भावनाहरू बाँड्न चाहन्थेँ। उसको शब्दहरूमा आत्मीयता थियो जसले मेरो मनलाई छोयो। उसले आफ्नो सपना, इच्छाहरू र जीवनका अनेक रङहरू बाँड्ने गर्थी। म पनि मेरो भावनाहरू बिस्तारै उसलाई व्यक्त गर्न थालेँ। कहिलेकाहीँ म उसको शब्दहरूमा हराउँथेँ, उसले लेखेका केही वाक्यहरू बारम्बार पढ्थेँ।
एक पटक ऊ रातभर निदाउन सकिन, म पनि व्यस्तताका बाबजुद उसलाई सुन्दै बसेँ। ऊ आफ्ना अधुरा सपना, परिवारका समस्या, समाजका सीमितताहरू बारे बोलिरहेकी थिई। म केवल सुन्दै थिएँ, उसको हरेक शब्दहरू महसुस गरिरहेको थिएँ।
उसले भनेकी थिई, ‘कहिलेकाहीँ म बाँचिरहेको छु कि छैन जस्तो लाग्छ।’
म त्यो बेला धेरै बोल्न सकिनँ, केवल लेखेँ, ‘म छु यहाँ, जहिलेसुकै सुन्न तयार छु।’
त्यसपछि केही बेर ऊ मौन रहिन्। सायद मेरो शब्दहरूले केही राहत दिएको थियो।
तर समय सधैँ एकनास रहँदैन। समयले हाम्रो सम्बन्धलाई नयाँ मोड दियो— त्यो मोड जहाँ हामी अलग्गिन बाध्य भयौँ। कुनै ठुला झगडा भएन, कुनै असहमति भएन तर जीवनका परिस्थितिहरूले हामीलाई अलग बनायो। एक दिन ऊ अलि अनमन थिई, उसको सन्देशहरू छोटा हुँदै गएका थिए। म बुझ्दै थिएँ, ऊ टाढा जाँदै छे।
अन्ततः ऊ टाढा गई नै। हाम्रो संवाद कम हुँदै गयो। सन्देशहरू अब दिनदिनै आउन छोडे, हप्तामा एक चोटि मात्र सीमित भए अनि बिस्तारै हराए। सामाजिक सञ्जालमा कहिलेकाहीँ उसको नाम देख्थेँ, कहिलेकाहीँ ऊ अनलाइनमा आएको थाहा पाउँथेँ तर हामीबिच संवाद हुन छोडिसकेको थियो।
त्यसपछि मेरो जीवन पहिलेको जस्तै बनाउने प्रयास गरेँ। फोन उठाउँदा, सन्देश जाँच्दा, कुनै उत्साह थिएन। हामी कहिल्यै भेट्न सकेनौँ तर पनि ऊ मेरो जीवनको अंश बनिसकेकी थिई। उसका शब्दहरू, हाँसो र भावना अझै पनि मेरो हृदयमा गढेर बसेका छन्।
आज पनि जब म फोनको स्क्रिनमा पुराना च्याटहरू हेर्छु, ती रातहरू सम्झिन्छु, ती अधुरा संवादहरूको गहिराइ महसुस गर्छु। ती अनगिन्ती सन्देशहरू जुन आधी-अधूरी रातमा लेखिएका थिए तर कहिल्यै पूरा नभएका थिए। ती हाँसो, ती भावनाहरू, ती अधुरा सपनाहरू— ती सबै आज पनि मेरो यादमा ताजा छन्।
सायद हाम्रो कथा यत्ति नै थियो— शब्दहरूमा बाँधिएको, भावनाहरूमा समेटिएको तर कहिल्यै पूरा नहुने एउटा अधूरो प्रेम।
सायद हामी कहिल्यै भेट्ने छैनौँ तर उसका शब्दहरू मेरो मनमा सधैँ रहनेछन्। उसको सम्झनाले मलाई कहिलेकाहीँ खुसी बनाउँछ, कहिलेकाहीँ नमिठो पीडा दिन्छ। म प्रश्न गर्छु— यदि जीवनले अर्को अवसर दिएको भए, के हामी कहिल्यै भेट्न सक्थ्यौँ? के ती सपना पूरा हुने थिए?
सायद कहिल्यै थाहा हुने छैन।
तर म यो सत्यलाई स्विकार्न थालेको छु। किनभने जीवन भनेको केवल पूर्णताका कथा मात्र होइन, अधुरो कथाहरूको संगालो पनि हो।