शिरमा चम्किरहेको पसिना
हातमा फुलिरहेको जीवन
गोडामा चलिरहेको जाँगर
ऊ जीवनदाता हो
ऊ अन्नदाता हो
ऊ किसान हो
उसको धर्म नै कर्म हो
उसको कर्म नै धर्म हो
मिहिनेतले सिँचेको छ
फाँटहरूमा मिठास
परिश्रमले खिचेको छ
लहलह बालीको सुवास
मानो रोपेर मुरी फलाउने
श्रम गोडेर संसार चलाउने
पाखा पखेरासँग मितेरी गाँस्दै
गरा गरामा भरोसाको आली हुन्छ
त्यहाँ
आशाको खडेरी कहिल्यै लाग्दैन
त्यहाँ
बालीको तपस्या कहिल्यै थाक्दैन
खाद्य अधिकार सुनिश्चित
गर्न किसानको
महत्त्व सर्वोपरि हुन्छ
सुखी जीवनको कल्पना
किसानको योगदानमा टिकेको हुन्छ
भोक निवारणका लागि
किसानले आवश्यक मार्गमा
सहकार्य गरेको हुन्छ
तर साँच्चै
यथार्थमा किसानको सही
पहिचान भएको छ?
कृषिप्रधान देश हो भन्ने
भनाइमा सीमित भएको त छैन ?
आयातको आयतनले
हामीलाई थिचिरहेको छ
विषादीको जालले
आयु मिचिरहेको छ
उत्पादनको उचित बजार
सडकपेटीको थुप्रोमा मात्र हो र
किसान बनेर मूल्य
चुकाइरहनु पर्ने हो र
अब
हामीले विकासको चित्रमा
आधुनिक कृषि सचित्र गर्नुपर्छ
दश नङ्ग्रा खियाउने देशमै हो
प्रविधि आत्मसात् गर्नुपर्छ
विपिन जोशीहरू हराउन नपरोस्
बाढी र पहिरोले आक्रान्त
भएर भोककै शोक गर्न नपरोस्
आफ्नै माटोको उज्यालो
पहिचान गरौँ
अनुदानले समृद्धिमा
उदारता ल्याओस्
परिवर्तनको संवाहक
कृषिबाटै कृषिमै गरिनुपर्छ
एक ढाकर दीप
स्वाभिमान र स्वाधीनताको
अस्तव्यस्त व्यवस्थामा
सुस्त सुस्त सुधार
सम्भावनाको फलैँचामा
मौलिकताको महक
अनि
गर्वका साथ म भन्छु
म कृषकको सन्तान हो
म कृषक बन्छु
सुखी जीवन र
समुन्नत भविष्यका लागि
सुनिश्चित छ खाद्य अधिकार
र छरिरहन्छु उज्यालो
पोखिरहन्छु उज्यालो!