पहिलो भाग
प्रिय कथाकार,
जिन्दगीका पाटा–पाटा जोड्ने कुनै जुइनो नभेटेकी म, कुन साइनो टक्र्याऊँ तिमीलाई? साइनो बिनाको यो पत्र स्वीकार ल!
फेवातालको नीलो पानी हेर्दै तिमीलाई मेरो जिन्दगीको कहानी बताउँदा मेरा ओंठभन्दा बढी आँखा बोले होलान्, शब्दभन्दा बढी आँसु बगे होलान्, जिन्दगीभन्दा बढी आँखा फरफर गरे होलान्।
तिमीलाई कथा सुनाएको महिनौं बित्दा पनि तिमीले मेरो कथा लेखेनौ, सायद मेरो जिन्दगीको कथा तिमीले चाहेको प्लटमा रोपिन मानेन होला। त्यसैले त यो पत्र लेखेकी छु। आशा छ यो पत्र सुरक्षित रहनेछ तिमीसँग।
कथाकारको रूपमा चिनेकी तिमीसँगको त्यो भेटमा लगाएको कलेजी रंगको कुर्ताले मलाई घरिघरि जिस्काउँछ, तिमीले कति मुलायम भनेर स्पर्श गरेको मेरो सेतो सलले घरिघरि घोच्छ, तिमीले बयान गरेका मेरा आँखाबाट हरेक रात साउन झर्छ। जिन्दगीबाटै झरेकी म, घरिघरि त लाग्छ– डेभिज फल्समा झर्ने पानीको लहरो नै म हुँ, गुप्तेश्वर गुफा नै मेरो जिन्दगी हो। देख्नेलाई सुन्दर, भोग्नेलाई सजाय।
तामाकोशीको नीलो पानी हेरेर हुर्केकी म, त्यही बगरमा धोएका नीला सर्ट फ्रक लगाएर स्कुले जीवन बिताएकी म, अचेल त नदीको पानी देखे पनि तर्सिन्छु, कसैको फुलेको जवानी देखे पनि झस्किन्छु। त्यही पानीले त हो मलाई हुर्काएको अनि मेरो जिन्दगी बगाएको पनि।
मेरो प्यारो मान्छेलाई नबगाएको भए पो के हुन्थ्यो र तामाकोशीले! भर्खर बिहे गरेर मनैभरि रहर फुलाउँदै गरेकी मेरो सिन्दुर पखाल्न तामाकोशीलाई कुन ऋषिले कुन जुनीमा श्राप दिएका थिए होलान्?
अघिल्लो दिन गाउँ तलको बजारतिर गएका लोग्ने आऊलान् भनेर पर्खेर बसेकी मलाई एक्कासि नन्दले चिच्याउँदै दाजुलाई तामाकोशीले बगाएछ भन्दै आएको देख्दा, सुन्दा कस्तो भए होला? मेरो धरती पातालको कुन खाल्डोसम्म भासिए होला? मेरो मुटु कति निचोरिए होला? अँगेनोमा आगो बाल्दै गरेकी मलाई बरू त्यही आगोले दाउरा बनाएको भए अहिले चोट बोकेर जिउन पर्थेन, पानी भनेर पिएको अम्खोरामा विष भरिएको भए अहिले हरेक रात आँसु पिउन पर्थेन, धरती फाटेर मेरो संसार भासिएको बेला म अलप भएको भए अहिले छाती सिउन पर्थेन।
तर प्रिय कथाकार, मेरो जिन्दगीमा के के लेखेको छ कुन्नि? मेरो खसम त्यसरी तामाकोशीमा हराएपछिका यी वर्षहरू म रहरविहीन भएर बाँचेकी छु, शिरको लालुपाते ओइलाएपछि पलाँस बोकेर बाँचेकी छु, दाहिने चन्द्रमा बादलभित्र हराएपछि राहु र केतुको छेउ भएर बाँचेकी छु।
खम्पा केटीको अर्को जन्म भन्ने तिम्रो कथामा त मलाई तिमीले जोगिनी बनाएर मुस्ताङ डुलायौ पनि। मलाई खम्पा केटी बनायौ, छोसेर गुफामा मलाई उठाएर मुक्तिनाथको सिंढीमा ल्याएर बसायौ। अझै के के जोड्न बाँकी छ कुन्नि तिम्रो कथामा मेरो व्यथालाई?
जुन नदीलाई छोएर बहने चिसो बतासले मेरो लामो कपाल फुरफुर पा¥थ्यो, त्यही नदीले मेरो संसार खाएपछि मलाई ननिको लाग्न थाल्यो– तामाकोशीको सेरोफेरो।
स्कुल पढ्दा किताबमा लेखिएको थियो– तामा बिजुलीको सुचालक हो, यसमा बिजुलीको करेन्ट बहन्छ भनेर। हो रहेछ, तामा नाम भएको नदीमा पनि त बग्दो रहेछ करेन्ट– कसैको जिन्दगी सकाउने गरी। मेरो जिन्दगी सकाउने त्यो तामाकोशीको सेरोफेरो छोडेर अचेल सेती नदीको बस्तीतिर बस्न थालेकी छु। तर यहाँ पनि यत्रो उपत्यकामुनि सेती हराउँदै बगेको देख्दा लाग्छ– म जहाँ गए पनि नदीले मलाई जिस्काउन छाड्दैनन्।
तिमीलाई मेरो कथा सुनाउन बस्दा आकाशमा घाम पाउरी मार्दै थियो, फेवातालमा डुँगा तैरिँदै थिए। तिमीलाई सबभन्दा मनपर्ने दूध चिया पिउँदै बसेको हाम्रो कुर्सी टेबलमा रूखको छाया परेको थियो। मेरो भागको कालो चियाको कपबाट बाफ उड्दै गरेको बेला तिमीले समाएको दूध चियाको कपबाट आएको बासना कति मीठो थियो। र त्यही चिया सुरूप्प पार्दै भनेका थियौ– तिम्रो हिमाली यात्राको प्रेम कहानीको छानो छाउनेछु तामाकोशीको बार्दलीमाथि। खै, छानो छाउन जानेका छौ या छैनौ त्यो त म जान्दिनँ, तर तिमीले लेख्ने कथाको कुनै प्लटमा मेरो व्यथालाई अलिअलि पोखिदियौ भने म खुसी हुनेछु।
तिमीलाई हिमाली यात्राको कहानी सुनाएपछि कटहरका पात एक पटक पहेंलिँदै खसेर गए। तर तिम्रो कथा कतै कुनै पानामा खसेन। सायद भुल्यौ कि मैले सुनाएका कथा व्यथाका लयहरू।
पोखराको सेरोफेरोमा जागिर नामको केहीमा झुल्दै, जिन्दगीका पहेंला दिनहरूमा भुल्दै थिएँ। तामाकोशीको बगर देखिने डाँडामा भएका जन्मिएको नाता पाएका परिवार र शैलुङको फेदीतिरका अन्मिएको नाताका परिवार सबैसँग टाढा हुन मन थियो। तर मनले सकेन। चाहेको सबै काम गर्न कहाँ सकिँदो रहेछ र जिन्दगीमा? जति एक्लै हुन खोज्थें, उति ती घरपरिवारको यादले आँखा अगाडि बादल लगाइदिन्थे। र छोरी र बुहारी, दिदी र भाउजू भएरै बाँचिरहें। अहिले पनि त्यसरी नै बाँचेकी छु। घाउमा पाप्रा लाग्छन्, म कोट्याउँदै जान्छु र फेरि घाउ आलो बनाउँछु। न घाउ काटेर फाल्न सकें, न पाप्रा आफैं सुकुन्जेल कुर्न सकें। नसकेरै घाममा ओइलाउँछु, जूनमा नुहाउँछु। झरी परेको बेला खुल्ला चउरमा बुद्ध बनेर बसिदिन्छु।
जिन्दगीको धूलाम्य बाटोमा कहिले हिलो भरिएर चिप्लिरह्यो, कहिले धूलो उडेर कालो कपाल खैरो बनायो। त्यही खैरो कपालको धूलो टक्टक्याउँदै गर्दा कपाल छोएर गएको हावाले मेरो भाइलाई नउडाएको भए म जिन्दगीमा कतै अडिन्थें हुँला पनि, कानमा इयरफोन लगाएर ओशो सुन्दै निदाउथें हुँला पनि। तर फेरि आकाशका तारा खसेर मेरो भाइलाई कतै लुकाइदिए। घरमा फेरि चिढ्को पर्यो, मुटुमा बम विष्फोट भयो, मनमा भुइँचालोजस्तो मनचालो गयो।
सुनाउने कसैले मलाई सुनाइदियो– कागबेनी गएर पूजा गर र पण्डितलाई सिदा दान गर, तिम्रो भाइ फर्कन्छ भनेर। खोजेर नपाएको ऊ, अब सिदाको बाटो आउने आशा मात्र रह्यो मनमा। त्यही कसैले सुनाएको सिदा दानको कथाले मेरो हिमाली यात्रा गरायो। त्यही यात्राले तिमीलाई भेटायो। तिमीलाई भेटेरै त हो, यो पत्र लेख्न पाएको पनि। नत्र त मनभित्रै कुहिएर गन्हाउँदा हुन यो पत्रका शब्द शब्दहरू।
प्रिय कथाकार, शब्द गन्हाउने कुराले तिम्रो मन चसक्क भए होला। तर साँचो हो, तिमीलाई पो शब्दको बासना आउला– मेरो लागि त शब्द पनि ढुसी भएका छन् अचेल।
पोखराको जिरोबाट मुस्ताङ जाने बस चढेर गएकी म। पहिलो चोटी जाँदै थिएँ तिम्रो प्यारो मुस्ताङमा। यात्रामा कसैसँग बोली साट्न मन लागेन। नबोली नबोली बसको धुनसँगै मेरो मन पनि सडकमा गुडिरह्यो। ड्राइभरको सिटभन्दा ठ्याक्कै पछिल्लो सिटमा बसेकी म, कसैसँग नबोली बसेको भएर होला, ड्राइभरले मुन्टो घुमाएर घरिघरि पुर्लुक्क मलाई हेरिहन्थ्यो। लाग्थ्यो त्यो ड्राइभर केटो मेरो भाइ हो। उस्तै रूप अनि उस्तै उमेर। तर खासमा ऊ पनि मेरो लागि अपरिचित। साइनो केबल यात्रु र चालकको थियो।
गाडीमा उसको रूपजस्तै मधुर गीत बजेकै थिए। गाडी बाहिर बाटो छेउका घाँस, रूख र पाखा अनि डाँडा गाडीलाई छाडेर उल्टो कुँदिरहेका थिए। मालढुँगा पुगेपछि कालीको पानी पनि कहिले दाहिने र कहिले देब्रे भएर दख्खिन बगिरह्यो। ड्राइभरका आँखाले चोरेर हेरिरहे मलाई।
कहाँ बस रोकियो र खाना खाए उनीहरू, म सम्झन सक्दिनँ। रुप्से झरनाभन्दा अगाडि पुगेपछिको ठूलो भिरमा पुगेर गाडी रोकिएपछि बल्ल मेरो मन खुल्यो, मष्तिस्क खुल्यो, गाडीको ढोका खुल्यो, यात्रुहरूको ज्यान खुल्ला बाटोमा खुल्यो। जाममा परेपछि सबै यात्रुहरू निस्किएर बाटो छेउतिर कतै निस्किए। तर मेरो ज्यान निस्कन मानेन, मन फुल्न मानेन। बरू सबै झर्दा पनि म बसमै बसेको देखेर त्यही ड्राइभर केटोले आफ्नो मोबाइलको ग्यालरी खोलेर मेरो हातमा आफ्नो मोबाइल दियो। किन दियो? सोच्न नसक्दै ऊ फुत्त बाहिर निस्क्यो। मैले उसको मोबाइल ग्यालरीका केही फोटाहरू हेरें । अहिले सोच्छु, किन उसको ग्यालरीका फोटा हेरें मैले? कुन साइनोले उसले आफ्नो निजी सम्पत्ति मलाई सुम्पियो? कुन अधिकारले मैले उसका फोटाहरू हेरेर जामको समय कटाएँ?
जाम सकियो, गाडीका ताँती फेरि हिंँड्न लागे।
उसले जगजित सिंह बजायो। 'चाँदी जैसा रुप है तेरा सोने जैसे बाल...।'
मुस्ताङको पहिलो यात्रा। मुस्ताङी भूगोलको रूप देखेर म रमाउनुपर्ने, तर मन ओसिलो थियो त कसरी सकोस् रमाउन? मनभित्र उदास बुद्ध बोकेर ज्यान अडिरह्यो, गाडी गुडिरह्यो।
जोमसोममा एयरपोर्ट अगाडि सबै यात्रु झरेपछि उसले पुर्लुक्क मलाई हेर्यो, म पनि मेरो झोला समाएर उभिएकी थिएँ। कता जाउँ भन्ने थियो मनमा, बोल्ने कोही थिएन। पारिको सेतो नीलगिरीको त बरू तिलिचो हिमाल थियो साथी, मेरो भन्ने कोही थिएन। उसका आँखाको भाका नबुझेकी हैन, तर भाकामा भाका मिलाउने म थिइनँ। हेरें पुर्लुक्क उसलाई, अनि छिरें एउटा होटलमा।
रातभरि निद्रा लागेन। भदौको महिना, उज्यालो रात थियो। म बसेको कोठाबाट एयरपोर्टको रनवे र हिमाल छर्लङ्गै देखिन्थे। तिनै हेरेर आधा रात कट्यो होला। हिमाललाई आँखाको परेलासँगै देख्दा रमाइलो पनि लाग्यो। तर हिमालभन्दा चिसो जिन्दगी बोकेकी मलाई, न सिरकले तताउन सक्यो, न त्यो ड्राइभर केटोको नजरको सम्झनाले। चिसो सिरेटोजस्तो केही चलिरह्यो कोठाभरि। कुन बेला निदाएँ कुन्नि, सपनामा भाइलाई कागबेनीको बगरमा केही खोज्दै गरेको देखें।
जिन्दगीमा कल्पना नै नगरेका कति कुरा जुर्छन्, कति घटना भेटिन्छन्। अर्को दिनको बिहान त्यस्तै भयो। बिहानै धौलागिरी होटलको ढोकाबाट एयरपोर्टको गेटतिर जाँदै गर्दा हिजोकै बस थियो, स्टार्ट गर्दै गरेको। हिजोका बसका यात्रु नै थिए बस बाहिर। सिटमा बसेको चालक केटोले लुकिङ ग्लासबाट मलाई देखेछ क्यार, फुत्त ओर्लियो र आफ्नै ठानेर भन्यो सायद– कत्ति कुरेको तपाईंलाई, अहिलेसम्म कता हराएको? तर ओंठ नचलाई उभिरहें मात्र।
त्यही बसमा चढें। उही सिटमा बसें। गाडी गुड्न लाग्यो।
उसले गीत बजायो– मुस्ताङ लेतेमा, एकचोटी त झम्टेरै रूने थें उनलाई भेटेमा.......
गीतमा म मेरो भाइलाई खोजिरहें।
कालीलाई देब्रे पार्दै बस कागबेनीतिर गुडिरह्यो।
कागबेनी पुगेर बस रोकिएपछि म कालीनदी र कागबेनी खोलाको दोभानमा पुगें। झोलामा सिदाको पोको लिएरै गएकी थिएँ। त्यो दोभानको पवित्र पानीले चोखिएँ। अनि एउटा पूजारीलाई त्यो सिदा दान गरें। मनमनै प्रार्थना गरें– म पोखरा पुग्दासम्म मेरो भाइ भेटिएको खबर सुन्न पाए हुन्थ्यो।
उही बस, उही सिटमा फेरि लोलाएका आँखाले झ्यालबाट बाहिर हेर्दै म मुक्तिनाथको उकालोमा बससँगै गुडिरहें।
नाङ्गा डाँडा देखेर यस्तो लाग्यो– मान्छेको जिन्दगी पो रहेछ उराठ हुँदा नरमाइलो देखिने, यी डाँडा त उराठ भएरै सुन्दर मानेका छन् त दुनियाँले। कति फरक हो, भूगोल र मान्छेको जिन्दगीको उराठपना?
बाँकी अर्को भागमा....