सपना हर कोहीको हुन्छ, तर केही सपना यस्ता हुन्छन्, जुन केवल हृदयबाट निस्केर जीवनको उद्देश्य बनाउँछन्।
मेरो सपना सानो होइन, यो एउटा यात्रा हो जसले मलाई मेरो अस्तित्वको गहिराइसम्म पुर्याउँछ। हामीहरूलाई थाहा छ कि जिन्दगी सधैं सहज हुँदैन।
तर जब तपाईंको मनमा एक स्पष्ट उद्देश्य छ, तब तपाईंलाई कुनै पनि चुनौतीलाई पार गर्नको लागि प्रेरणा मिल्छ। मेरो जीवनको गहिरो उद्देश्य थियो – ‘आफ्नो लक्ष्य पूरा गर्नुछ, बाआमाको सफल छोरी बन्नु छ।’
म सधैं सम्झन्छु, जब म सानो थिएँ, तब बाआमाको आँसु र मुस्कानको बीचको संघर्ष देखेकी थिएँ। बाआमाले हाम्रो लागि गरेको अनगिन्ती दु:खहरू देखेको थिएँ। एकै साथ घरको काम र बाहिरको संघर्षमा जुझ्दै उनीहरूले हाम्रो लागि अनगिन्ती इच्छाहरू त्यागेको देखेको थिएँ। मलाई सधैं लागेको थियो कि उनीहरूको संघर्ष केवल शारीरिक थिएन, यो मानसिक र भावनात्मक थियो। त्यसैले मैले आफ्ना सपनाहरूलाई एक वास्तविक लक्ष्यको रूपमा राखेँ, जसले बाआमाको आशा र मेहनतलाई सम्मान दिन सकियोस्।
म आफूलाई सक्षम बनाउन चाहन्थेँ। साथै मसँगै बाआमाका सपनाहरू पनि पूरा गर्ने सपना थियो। मलाई थाहा थियो जबसम्म मेरो लक्ष्यको बाटो नतिजा दिँदैन मैले कठिनाइलाई स्वीकारेर अघि बढ्नुपर्छ।
त्यो समय सम्झँदा मलाई बाआमाको माया, बलिदान र आशा सम्झिन्छु। मैले कहिल्यै बाआमाको संघर्षलाई हल्का रूपमा लिइनँ।
धेरैपटक मैले लक्ष्यको बाटोमा निराशा र अवरोधहरूलाई अनुभव गरेँ। कहिलेकाहीँ जस्तो लाग्थ्यो, शायद मैले हार खाइरहेको छु। तर, म त्यही बाआमाको शब्द सम्झन्थें, जबसम्म ‘तिमीले प्रयास गर्न पाएको छैनौ, तबसम्म हार स्वीकार्नु हुँदैन।’ यही शब्दहरूले मलाई प्रेरणा र सशक्त बनाउन मद्दत पुर्याउँथ्यो।
अहिले म जति पनि सफलतामा पुगेको छु, त्यसका पछाडि बाआमाको माया र संघर्षको ठूलो हिस्सा छ। मैले आफ्नो लक्ष्य धेरै त होइन केही सफलताहरू प्राप्त गरेकी छु। म एक सफल विद्यार्थी, साथी र अब बाआमाको गर्विलो छोरी बन्ने यात्रा पूरा गर्दैछु।
हरेक सफलता र प्रगति एक दिनको काम होइन। यसमा रातदिनको कठिन परिश्रम, माया र बलिदानको एउटा गहिरो रहस्य लुकेको हुन्छ। अगाडि बढ्दै जाँदा बाँच्ने क्रममा मैले धेरै पीडा, संघर्ष र निराशा भोगें, तर यी सबैका बीचमा म सधैं बाआमाको माया र समर्थनलाई सम्झन्छु।
बाआमा, म जान्दिनँ के तपाईलाई थाहा छ कि म तपाईंको अपेक्षाहरू पूरा गर्न सफल भएकी छैन। तर मैले मेरो सबै प्रयास गरेर तपाईंको हर एक सपना मेरा लागि वास्तविकता बनाउन चाहेकी छु। मैले तपाईंलाई गर्व गर्ने ठाउँ दिन सकेको दिन नै मेरो जीवनको ठूलो सफलता हुनेछ।
मैले कहिल्यै आफ्नो लक्ष्यलाई भुलेको छैन। मेरो लक्ष्य एकदम स्पष्ट छ कि – ‘आफ्नो लक्ष्य पूरा गर्नुछ, बाआमाको सफल छोरी बन्नु छ।’
मेरो संघर्ष र अध्ययन यही उद्देश्यको लागि हो यो मलाई राम्रोसँग थाहा छ। तर कहिलेकाहीँ जब म हार्छु तब थकित हुन्छु। तर त्यो बेला बाआमाको आँखामा देखिएका आशाहरूलाई सम्झेर अगाडि बढ्छु।
अगाडि बढ्दै जाँदा जीवनमा धेरै व्यक्तिहरूसँग भेटघाट हुन्छ, कोही नजिक हुन खोज्छन् त कोही टाढा। तर म सधैं सोच्छु, कति धेरै कुरा जीवनमा प्राप्त गर्न सकिन्छ जब हाम्रो लक्ष्य स्पष्ट हुन्छ। मलाई थाहा थियो, मेरो मनमा एक मात्र इच्छा थियो—सपना पूरा गर्नु, र त्यसको लागि म कुनै पनि हदसम्म जान चाहन्थें। बाआमाको सफलताको म प्रतीक बन्न चाहन्थें। त्यसैले, मैले प्रेम र सम्बन्धका सबै बन्धनहरूलाई पछाडि राखेँ। मेरो जीवनमा प्रेम त नभएको होइन अर्थात् कोही मान्छे नआएको पनि होइन। तर मलाई ‘प्रेम गर्नु नै छैन,’ म यसैसँग अघि बढ्न चाहन्थेँ। मलाई बाआमाको सफल छोरी बन्नु थियो, मेरो काममा तल्लीन हुनु थियो।
सपना देख्न, प्रयास गर्न र असफलताबाट सिक्न, यसरी नै मलाई आफ्ना लक्ष्यसम्म पुग्नु थियो। मेरो मनको खाली स्थान भर्न म प्रेमको बारेमा सोच्न चाहन्थें, तर म जान्दथें—यदि मैले प्रेमलाई साथ दिनु भने मेरो ध्यान विचलित हुनेछ।
यद्यपि मेरा साथीहरूले प्रेमका बारेमा अनगिन्ती किस्साहरू सुनाउँथे, मैले तिनीहरूको बारेमा सोच्न पनि चाहिनँ। मेरो नजर भविष्यमा थियो, जहाँ मैले बाआमाको सफल छोरी र दिदी दाइको सम्मानित बहिनी बन्नु थियो।
तपाईंलाई थाहा छ, मेरो मन कहिल्यै प्रेमका गीतमा रमाउन चाहँदैन थियो, म अरूको अगाडि प्रेमका शब्दहरू बोल्न चाहिनँ। मेरो ख्याल कहिल्यै पनि यत्रो बढी मुटुमा सस्तो लगाव राख्ने विषयमा थिएन। म चाहन्थें, आफ्नो जीवनलाई ठोस उद्देश्यसँग अगाडि बढाउन।
म सधैं सोच्थें, के वास्तवमा म प्रेममा पर्न चाहन्छु? म कति बेला प्रेमको बारेमा सोच्थें, तर म आफूलाई यति धेरै व्यस्त राख्थें कि प्रेमका बारेमा सोच्नको लागि समय नै हुन्न थियो। म जति प्रयास गर्थें, त्यति नै मेरो मनको गहिराइमा यो प्रश्न झन् गहिरो हुन्थ्योः ‘के म प्रेम गर्न सक्छु?’
आफ्नो जीवनको उद्देश्य र लक्ष्य पूरा गर्नको लागि म आफैलाई समर्पित गर्न चाहन्थें। म चाहन्थें बाआमाका आँखामा गर्वको अंश बन्न, मेरो परिवारलाई सम्मान दिन र आफूलाई आत्मनिर्भर बनाउन। मलाई थाहा थियो कि प्रेमको मोह र आकर्षणले मेरो ध्यान बाझ्न सक्छ, त्यसैले मैले आफैसँग वचन गरेंः ‘प्रेम गर्न सक्दिनँ।’
यो निर्णय सहज थिएन। जब साथीहरू, परिवार र समाजले मसँग प्रेमका बारेमा कुरा गर्दथे, मलाई सधैं अनौठो महसुस हुन्थ्यो। के म साँच्चै प्रेममा पर्न सक्दिनँ? के म काठमाडौंको भीडभाडमा घुम्दा पनि प्रेमको महत्त्व बुझ्न सक्दिनँ? मलाई थाहा थियो कि म आफ्नै सपना र लक्ष्यमा समर्पित रहन चाहन्थें।
मैले सोचेँ, ‘प्रेम गर्छु भने मेरो ध्यान टुट्नेछ, मेरो उद्देश्यमा कुनै प्रगति हुने छैन।’ त्यसैले मैले प्रेमलाई समयको अपव्यय ठानें। मेरो मनमा एक मात्र कुरा थियो—सपना पूरा गर्नु। म सधैं सोच्थें, ‘मेरो लक्ष्य मात्र मेरो जीवनको मार्गदर्शन हो, प्रेम बढी महत्त्वपूर्ण छैन।’
तर, यो निर्णय गर्नु सरल थिएन। प्रेमको लाज र डरबाट मुक्त हुन मैले कठिन यात्रा तय गरेँ। मलाई थाहा थियो कि यो निर्णय गर्दा म केही कुरा गुमाउने थिएँ, तर मेरो मनमा यो थियो कि मैले आफ्नो सपना पूरा गर्नैपर्छ।
समय सँगसँगै मैले आफ्नै जीवनलाई समर्पित गर्दै अघि बढें, तर त्यो समयको बीचमा मैले प्रेमको भावना कति गहिरो थियो भनेर महसुस गर्न थालेँ। अझै पनि प्रेमको कुरा गर्दा मेरो मन केही हल्का हुन्छ, तर मैले आफैसँग सम्झाइरहेकी छु— ‘प्रेम गर्न सक्दिन, मेरो लक्ष्य अझै बाँकी छ।’
मैले प्रेमलाई अस्वीकार नगरे पनि, त्यसलाई आफ्ना लक्ष्यका लागि एक खुट्टाको रूपमा राखेकी छु। जीवनको यात्रा कठिन थियो, तर म आफूलाई सधैं सम्झाउँछु कि मेरो लक्ष्यभन्दा बढी महत्त्वपूर्ण अरू केही छैन।
यसरी, मैले ‘प्रेम गर्न सक्दिनँ’ भन्ने शब्दलाई आफ्नो जीवनको मार्गदर्शन बनाइराखेकी छु। अब म सम्झन्छु—जब म आफ्नो लक्ष्य पूरा गर्छु, त्यसपछि म प्रेमको अर्थ अझै राम्रोसँग बुझ्न सक्छु।
म केवल आफ्ना लागि सफल हुने छैन, मैले आफ्नो परिवारका लागि पनि केही गर्नुछ। म सधैं बाआमाको एउटा गर्व बन्न चाहन्थें, जसको पछि मेरो सफलताले सबैलाई प्रेरित गरोस्। आज म जहाँ छु, यो मेरा बाआमाको साथ, माया र संघर्षको परिणाम हो। मैले पाएको हरेक सफलता, हरेक प्रगति, त्यसमा बाआमाको छाया, प्रेरणा र बल छ।