जीवनमा प्रेम र लोक सेवाको बीचमा एउटा अनौठो समानता छ। दुवैको सुरूआत हुन्छ, सपनाबाट। प्रेममा जस्तै, लोक सेवामा पनि यात्रा कहिल्यै सजिलो नहुने रहेछ। कहिलेकाहीँ नतिजाले उत्साह दिन्छ, त कहिले मन भक्कानिन्छ।
मेरो जीवनमा पनि यस्तै भयो, लोक सेवा र प्रेमको कथाले मेरो जीवनलाई जसरी गाँसेको छ।
दैलेख घर भएको म, यहाँ सपना देख्नेको संख्या धेरै कम थियो, किनकि धेरै जस्तोको प्राथमिकता विदेश जाने थियो। तर मलाई मेरो देशैमा केही गर्न मन थियो।
१२ पासपछि, मसँग भनौं वा प्रायसँग हुने झैं दुइटा बाटो थियो।
एउटा विदेश जाने, जहाँ पैसा छिटो कमाइन्छ अरे।
अर्को, सरकारी जागिरको लागि लोक सेवा तयारी गर्नु। जुन मेरो रोजाइ थियो।
लोक सेवाको तयारी सुरू गरेको केही महिना भएको थियो। प्रायजस्तो समय कोठामा पढ्ने, रातभर नोट तयार गर्ने जस्तो काम गरेर दिनचर्या चलिरहेको थियो। साथीहरू बिस्तारै मबाट टाढा हुँदै गए, किनकि म उनीहरूको ‘रमाइलो’ सँग अब मेल खाँदैन थिएँ।
पहिलोपटक लोक सेवाको फारम भरेको थिएँ, साथीहरूले जिस्काएका थिए, 'यो तेरो जीवनको सपना प्रेमिका जस्तै हो। हात लाग्यो भने संसार जिते जस्तो हुन्छ, नत्र अरूले पास गरेको देखेर जल्नुपर्छ।'
मैले त्यो कुरा मजाकमा लिइरहेँ। तर जब लोक सेवाको किताब खोलेर पढ्दै गर्थें, मलाई प्रेममा परेको महसुस हुन्थ्यो। हरेक पाना पढ्दा लाग्थ्यो, यसमा मेरो भविष्यको कथा लेखिएको छ।
त्यही बेला लोक सेवाको प्रथम पत्रको ५०% मात्र अंक जोडिने सहितको नयाँ पाठ्यक्रम अनि जीवनमा पुन: उनको प्रवेश भयो। जुन 'उनलाई मैले सार्वजनिक गरिनँ।'
सुन्दरतामा रारा र तिलिचो ताललाई उछिन्ने उनी स्वभावमा प्रशान्त महासागरझैं शान्त र भव्य थिइन्। उनले एकदिन मुस्कुराउँदै सोधिन्, 'के हो, लोक सेवा पास गर्न मन छ कि प्रेमपत्र लेख्न अभ्यास गर्दै छौ?'
उनको कुरा सुनेर म झस्किएँ। मैले भनें, 'यो प्रेमपत्र होइन तर हो, मेरो जीवनको ठूलो प्रेमको लागि अभ्यास गर्दैछु।'
उनले हाँस्दै थपिन्, 'त्यो प्रेम लोक सेवा हो कि कुनै केटी?'
मैले मुस्कुराउँदै भने, 'अहिलेसम्म त लोक सेवाको नै हो तर भविष्यमा के हुन्छ, कसलाई के थाहा?'
अबको टक्कर
लोक सेवाको तयारी गर्दागर्दै म उनीतर्फ आकर्षित हुँदै गएँ। तर मसँग समय थिएन।
उनले बेलाबेला मलाई जिस्काउँदै भनेकी हुन्थिन्, 'तिमीलाई के थाहा, प्रेमको लागि समय दिनुपर्छ। लोक सेवाले तिम्रो मन त लुट्छ, तर मजस्तो मान्छे त यो नाटक हेरेर बस्न सक्दिनँ।'
तर म सधैं भन्थें, 'तिमी जति सुन्दर छौ, लोक सेवा मेरो लागि त्यतिकै मूल्यवान छ, र मैले एकचोटि सुरू गरेपछि छोड्न सक्दिनँ।'
सुरूआतका लोक सेवाका प्रयासहरूमा लाग्यो, 'म त जस्तो लेखेर पास भइहाल्छु नि! तर नतिजा आउँदा मेरो नाम त अन्तिम लिस्टको अन्तिममा पनि थिएन। त्यो दिन मेरो लागि 'ब्रेकअप' जस्तै थियो।
यसरी धेरै पटक असफल भएँ, कहिले प्रथम पत्रमै त कहिले दोस्रो पत्रमा।
जब नतिजा आउँथ्यो, मेरो नाम सूचीमा कतै हुन्थेन, म ती दिनहरूमा घण्टौं टोलाएर बस्थेँ। मन भारी हुन्थ्यो।
साथीहरू हँसाउथे, तँलाई लोक सेवाले 'सिन' मा राखिदियो। अर्कोचोटि 'सिन' बाट हटिस् भने बल्ल केही आशा छ।
तर मैले हार मानिनँ। किनकि, त्यस्ता समयमा उनी मलाई भिडिओ कल गरेर मेरो अनुहार हेर्दै, मुस्कुराउँदै भन्थिन्, 'सपना देख्ने मान्छेले बीचमै हार मान्दैनन्। तिमीलाई थाहा छ, प्रेममा जस्तै, असफलताले मान्छेलाई अझ परिपक्व बनाउँछ।'
हिन्दी फिल्म 'ट्वेल्थ फेल' हेरेको थिएँ, जसरी श्रद्धाले मनोजलाई हौसला दिएकी थिइन्।
उनको कुरा सुनेर झसंग भएँ। मैले उनलाई सोधेँ, 'तिमीलाई लाग्छ, म सफल हुन सक्छु?'
उनले आँखामा आँखा जुधाउँदै भनिन्, 'यदि तिमी आफूमाथि विश्वास गर्यौ भने, म पनि गर्छु।'
त्यसपछि, मभित्र नयाँ ऊर्जा आयो। म अझै कडा मेहनत गर्न थालेँ। लोक सेवाको किताबलाई प्रेमपत्र जस्तै माया गर्न थालेँ। बिहान उठ्ने बित्तिकै 'सामान्य ज्ञान' ले मलाई स्वागत गर्थ्यो, दिउँसो 'आई क्यु' ले टाउको दुखाउँथ्यो अनि साँझ दोस्रो र तेस्रो पत्रसँग डेटमा जान्थेँ।
प्रत्येक दिन मलाई लाग्थ्यो, 'यो मेरो वास्तविक प्रेम हो, यसले मलाई पटक पटक धेरै चोट दिएको छ, तर म यसबाट टाढा हुन सक्दिनँ।'
उनले मलाई एउटा प्रश्न सोधिन्, 'तिमी किन यत्रो मेहनत गर्दैछौ? जागिर त अरू ठाउँबाट पनि पाइन्छ, नत्र विदेश जाऊ।'
मैले भनेँ, 'लोक सेवा मेरो, मेरो घरपरिवारको सपना हो। सपना भनेको पहिलो प्रेमजस्तै हुन्छ। जसलाई छोड्न गाह्रो हुन्छ। मेहनतले धोका दिँदैन, ‘मेहनत भनेको एउटी आमाजस्तै हो, जसले आफ्ना सन्तानलाई कहिल्यै भोकै राख्दिनन्।'
उनले हाँस्दै भनिन्, 'तिमी सपना पछ्याउँदै यति गम्भीर भएछौ, कि तिमीलाई वास्तविक प्रेमको महसुस नै छैन।'
उनी मेरो लागि मनोजकी श्रद्धा जस्तै थिइन्। उनका कुरा मनमा खेल्थे। उनका हरेक शब्दहरू मलाई अगाडि बढ्नका लागि थप ऊर्जा दिन्थे।
एकदिन उनले मजाकमै भनिन्, 'तिमी लोक सेवा पास गर्यौ भने, म तिम्रो प्रेम प्रस्ताव स्वीकार गर्छु।'
म हाँसेर भनेँ, 'त्यो त मेरा लागि दोहोरो पुरस्कार होला!'
मनमा कुरा झन् खेल्थे, यो 'लोक सेवा पास' कस्तो हुने रहेछ, किन सबैतिर लोक सेवा पास, के प्रेम गर्न पनि लोक सेवा पास, लोक सेवा पास...!
हरेक लोक सेवाको परीक्षाअघि मनभित्र एउटा डर थियो।
'सक्छु कि सक्दिनँ' भन्ने प्रश्नले मेरो दिमागमा खेल्थ्यो। तर डरले कहिल्यै जित्न सक्दैन, जबसम्म आफ्नो साहस त्यसको अगाडि उभिँदैन।
मलाई थाहा थियो, लोक सेवा कुनै चाँडो सम्पन्न हुने खेल होइन। यो धैर्य र समयको परीक्षा हो।
अर्को परीक्षाको दिन थियो, जब परीक्षा हलमा पुगेँ, मन निकै तर्सिएको थियो। कतै प्रश्न गाह्रो भए के गर्ने? कतै विगतका सबै मेहनत खेर गयो भने के गर्ने? तर त्यो क्षणमा एक जना प्रशिक्षकले भनेको कुरा सम्झेँ, 'धेरै डराउँदा सफलता त झन् टाढा जान्छ। आत्मविश्वास राख्नुहोस्, नतिजा जे भए पनि तपाईंको मेहनतले साथ दिन्छ।'
मैले गहिरो सास लिएँ, प्रश्नपत्र हेरेँ, अनि मनमनै भनेँ, 'आज मैले जिन्दगीकै ठूलो मध्येको एक परीक्षा दिनु छ। यो मेरो जीवनको वास्तविक परीक्षा हो। प्रेम र लोक सेवाको अफेयर यही टुंगो लाग्दैछ।'
परीक्षा सकिसकेको थियो, मनमा तनाव थियो। नतिजा के होला? मैले मेहनत गरेको छु, तर मेहनतले पनि धोका दिने हो कि!
तीन चार महिना बितिसकेको थियो, मेरो नाम अन्तर्वार्तापछिको अन्तिम सूचीमा थियो। उनको मेसेज आएको थियो, 'लोक सेवा पास हो र हजुर?'
नयाँ विद्यार्थीका लागि,
प्रेम र लोक सेवामा एउटै सुत्र लागु हुन्छ, 'सपना देख्न छोड्नु हुँदैन। तपाईंको मेहनत र धैर्यताले एक दिन सबै सम्भव बनाउँछ।'
त्यसैले, यो यात्रा केवल लोक सेवा पास गर्ने सपना मात्रैको थिएन। आफूभित्रको क्षमताको परीक्षण थियो।
'सपना देख्नुस्। त्यसलाई प्रेम गर्नुस्। अनि त्यसलाई पूरा गर्न हिम्मत गर्नुस्। तपाईंलाई सफलताले अवश्य अंगाल्नेछ।' प्रेरणालाई आफ्नो सहयात्री बनाउनुहोस्, असफलताबाट सिक्नुहोस् र सफलताले तपाईंलाई अंगाल्न दिनुहोस्।