झोलिएको स्तन। भिराला पहाडका खेतका गराहरू जस्ता अनुहार जहाँ आँसु कुलो कुलो भएर घाँटी हुँदै स्तनसम्म पुग्छ। सुकेको ओठ। छिर्केमिर्के रूपले हल्का फुलेका कपाल। सायद रातभरी नसुतेर होला नयनहरूभित्र गडेका। आँखाको मुन्तिर कालो धब्बा बनेको। टिलपिल आँसु तलाउजस्तो देखिएको। चाउरी परेका हातका छालाहरू। सम्बन्ध बिच्छेदको सहमति पत्रमा हस्ताक्षर गर्न जब वकिलले उनलाई बोलाए। नेपाली कागजमा लेखिएको त्यो पत्रमा हस्ताक्षर गर्न कलम थमाउँदै गर्दा अजितले उनको थर्थराउँदै गरेको हात नियालेर हेर्यो। पूर्व हुन लागेको आफ्नो वर्तमान श्रीमतीलाई।
अजितले मनमनै सोच्यो, ‘कुनैबेला यी हातका औंलाहरूमा आफ्ना औंलाहरू समाएर त्रिभुवन पार्कमा हामीले सपना बुनेका थियौं। रसस्वादन गरेका ती गुलाबी ओठहरू। चमकदार आँखा। उत्साहित मन। अनगिन्ती सपना। यी सबै कुराहरूमा मैले नै भूकम्प ल्याएको हुँ त? उसले आफूलाई एकपटक स्मृतिमा पुर्यायो। हस्ताक्षर गरेर उसकी श्रीमती बाहिरिएकी थिई। मानसिक स्थिति खराब गर्ने सम्बन्धहरू तोड्नु नै राम्रो हुन्छ भनेर तोडेका थियौं। त्यसदिनदेखि उसले आफ्नी पूर्व श्रीमतीलाई देख्न नपाएको ठ्याक्कै पाँच वर्ष पुगेछ। एकदिन स्क्रोल गर्दा जिमेल ड्र्राइभको बक्सभित्र रहेको पुराना तस्बिरहरू देख्यो, उसलाई औधी माया लागेर आयो। उसको हकका हर किरदारहरू गलत निक्लेपछि मात्रै अजितले उसलाई सम्झन पुग्यो। कहाँ होली कसरी बसेकी होली। र उसले आफ्नो पूर्व श्रीमतीलाई पत्र लेख्न सुरू गर्यो।
उसले लेख्यो।
‘प्रिय पूर्वश्रीमती, अदालतको रोष्टमबाट नदेखेको तिमीलाई ठ्याक्कै पाँच वर्ष भएछ। यस बीचमा उर्लेका मेरा भावनाहरूलाई साझा गर्न पक्कै पनि स्वीकृति दिन्छौ होला। यो साझा गर्नु भनेको अरूका लागि मार्ग उज्यालो गर्नु मात्र नभई आफ्नै मनलाई सान्त्वना दिनु पनि हो। आफ्नो उदासी, पश्चाताप, विरोधीभाषी भावनाहरूको समिश्रण हो, यो पत्र। यी भावनाहरूमा लडाइँ गर्दैगर्दा पनि एउटा पुरूषले सम्बन्ध बिच्छेद गरिसकेकी एउटी महिलालाई अझै पनि माया र स्नेह गर्छ भने त्यो पुरूषको सुन्दर मन हो भन्ने बुझ्नू र आफ्नो पूर्व भैसकेकी श्रीमतीलाई पत्र लेख्नु साहस र ठूलो हृदय चाहिन्छ भन्ने सम्झनू।
निश्चित रूपमा यो एउटा प्रेमपत्र हो। जब उसको संसार र सपना सुनामीले भताभुंग पारिदिएको भग्नावेश टुक्राहरूको थुप्रोमाथि बसेर दुःखी हृदयले विगतलाई नराम्ररी चिमोठ्छ र तिमीलाई सम्झन पुग्छु।
यी दिनहरू आऊलान् सायदै कल्पना गरेको थिइनँ। न त कुनैदिन सम्बन्ध बिच्छेद गरूँला कल्पना गरेको थिइनँ। एउटा पवित्र सम्बन्ध थियो विवाह, त्यहाँ हामीले जीवनको सम्झौता गरेका थियौं, आगो वरिपरि घुमेर। आफन्तका बीचमा। मन्त्रका साथ। पवित्र ग्रन्थका साथ। एक स्थानबाट अर्को स्थानसम्म तिमीलाई उचालेर सारेको थिएँ। जीवन अर्थपूर्ण बनाउन। म ती दिनहरूमा कति सही थिएँ वा गलत थाहा छैन तर प्रेम गरेको थिएँ। म समय ल्याउन सक्दिनँ होला पल ल्याउन सक्छु। म त्यो पलमा तिमीलाई राखेर सम्झन सक्छु। अघिल्लो दिनको अनिँदो र थकाइ अनि सिन्दुर लगाइसकेपछि थाकेका मेरा शरीरलाई एकछिन भए पनि लज्जाबोध नगरी उही दिनै तिम्रो काखमा टाउको राखेर विश्राम गरेको मलाई हिजो जस्तै लाग्छ।
त्यसपछिका आजका दिनसम्म के के चिजहरू परिवर्तन भए। उनी नभएको म के बनेँ। म नभएकी उनी के बनिन्। म के बन्न असफल भएँ जुन म बन्नु पर्दथ्यो। उनी के बन्न असफल भइन् जुन मेरा कारणले उनी बन्नु पर्दथ्यो। कुनै दिन कुर्दा पाँच मिनेट पनि पाँच वर्ष लाग्ने ती पलहरू। आज पाँच वर्ष नभेट्दा पनि हुँदो रहेछ। के प्रेम गर्ने मन यस्तै हुन्छ र?
कुनै विन्दुमा पुगेपछि म तिम्रो लागि महत्वहीन भएँ। म पुगेन तिमीलाई। मेरा चिजहरू पर्याप्त भएनन्। म तिमीलाई परिवर्तन गर्न भनिनँ। म परिवर्तन हुन सकिनँ। के के भए भए। छनोटहरूको निर्णय गर्दा मलाई ध्यानमा राख्न भने हुँला। मन परेन होला। म आफ्नो इच्छा र आकांक्षाहरू असीमित बनाउन पुगेँ। म आफ्नो आत्मकेन्द्रित घमण्डमा डुबेँ। म निर्दयी भएँ। इमानदारीपूर्वक आज मैले भन्नैपर्छ।
म तिमीबाट टाढाटाढा दूर पुग्दै गएँ। तिमी नजिक नजिक आउने साटो जिम्मेवारीमा भाँसिँदै गयौ। तिम्रो जिम्मेवारीलाई मैले आफ्नो तिरस्कार ठानेँ। जसलाई मैले इगो बनाएँ। वैवाहिक जीवनको स्तर र दायरा लागु गर्न म असमर्थ भएँ। म विवाहित थिएँ, विवाहित पुरूष एक्लो हुन सक्दैन। मैले एक्लोपन रोजेँ। म एकदमै एक्लो। मन मेरो साथी थियो। रात मेरा दिनचर्या। मदिरा मेरो बहलाउने माध्यम, मद्यपान मेरो जीवनसाथी। म ती दिनहरू सम्झँदा अहिले मेरो शरीर काँप्छ। यो सत्य सम्झँदा मेरा नयनहरूमा वर्षा लाग्छ। म रोक्न सक्दिनँ। तिमी पुछ्न सक्दिनौ।
हामीलाई के भयो। हाम्रो सानो परिवार के भयो। हाम्रो सुन्दर सपना के भयो। दिनमा उज्यालो दिने सूर्य र रातमा उज्यालो दिने चन्द्रमा के भए। ऋतु परिवर्तन भइरहने यस पृथ्वीलाई के भयो। घर मुन्तिर बग्ने आँधी खोलालाई के भयो। तिमी हिँड्ने गैंडीसम्मका बाटाहरू के भए। मेरो मन मष्तिस्क र दिमागलाई के भयो? साँच्चै म बिरामी थिएँ। म औषधि लिन्थेँ। डिप्रेसनको। हो र? तिमीलाई थाहै हुनुपर्छ। मैले भन्नै परेन। बिरामीले छोड्न खोज्यो ठिकै थियो, बिरामीलाई छाड्नु कतै तिम्रो मनलाई सोध्यौ? तर त्यतिबेला खोइ कसलाई हो सम्बन्ध बिच्छेद आवश्यक थियो। एउटा सनकी निर्णयले, सदाको लागि जीवन मौनब्रत बनायो। नातापातालाई खुराक दियो। साथीभाइलाई विषय दियो। आफ्नो मनलाई चसक्क दुखायो। मुटुको ढुकढुकीलाई धान कुट्ने् मेसिनझैं छिटो चलायो। ठूलाबडाले हेर्ने नजरलाई गिरायो। सानाले गर्ने सम्मानलाई तुच्छायो। आयुलाई घटायो। सक्षम असक्षम अनिगिन्ती माकुराको जालोभित्र आफूलाई जेल्यो। यो सबै त्यै नेपाली कागजले गर्यो। कागजले रूवाउने रहेछ। युगल जोडीलाई प्रेमपत्रको कागजले। बिरामीलाई डाक्टरको कागजले र तिमीलाई र मलाई अदालतको कागजले।
अहिले धेरै चिजहरू च्यातिएका छन्। मन च्यातिएको छ। पहिचान च्यातिएको छ। खेत रोपेर छाडेको गरा सिँचाइ पानी नपुगेर जमिनको धाँजा फाटे जसरी मुटु भएको छ। जुन जमिन बलियो हुनु पर्दथ्यो। नटुक्रिनु पर्दथ्यो मुटु जस्तै। तर सम्बन्ध बिच्छेदपछिको जीवनले किस्ताकिस्ता परीक्षा दिनुपर्छ। तिमी के भयौ होला म कल्पनै गर्न सक्दिनँ।
प्रिय, जब म सानो घरमा एक्लै बसिरहेको हुन्छु। मेरो ख्याल गर्ने वरिपरि खोजिरहेको हुन्छु। म सपनाबाट ब्युँझन्छु। तिम्रो छाया वरिपरि देख्छु। कुनै रात तर्सेर ब्युँझदा अनायसै तिम्रै नाम ओठमा आइदिन्छ। मेरो पहिलो प्रेम, र तिम्रो पहिलो प्रेम, विवाहलाई हल्का लिनु गल्ती थियो र सम्बन्ध बिच्छेदलाई पनि। स्मृतिले नभुलाउने रैछ थाहै थिएन। सायद धेरै समय बाँच्ने थिएँ कि, सम्बन्ध स्थायी राखेको भएँ। यतिबेला लाग्छ म धेरै बाँच्दिनँ होला। सम्बन्ध बिच्छेदको इमानदारीतालाई पालन गर्नु पनि इमानदारीता हो। यो इमानदारीता पाँच वर्षसम्म पूरा गरेँ। के गरेँ गल्ती गरेँ सही! तिम्रो मूल्यांकन हो। अब मैले अनिश्चित महसुस गरेको छु। म भड्किएको छु। म विक्षिप्तिएको छु। मैले यात्रा तय गर्न सकेको छैन। मसँग अनिगिन्ती बाटाहरू तेसारिएका छन् म कुन बाटो हिडूँ मैले ठम्याउन सकेको छैन। के म अँध्यारोमा पाइला चालूँ र फेरि खसूँ?
मलाई लाग्छ विवाह बचाउन प्रयास गर्नु पर्दथ्यो, कति गरेँ वा गरिनँ थाहा छैन। मनभित्रको आवाजलाई दुबैले सोधौं। सम्बन्ध बिच्छेदअघि सम्बन्ध कोमामा जान्छ के हामीले बचाउने प्रयास गर्यौं? विवाह बचाउन के हामीले अरू कुनै प्रयास गर्यौं? तर बेथर्अ छ यी कुरा केलाउन यसले हामीलाई फेरि पनि पीडा दिन्छ। म पीडा दिन चाहन्नँ। म दोष दिन चाहन्नँ। म सबै कुरा मेरै गल्ती, मेरै अज्ञानता ठानेर अन्धकार यात्रामा निक्लने तयले पत्र कोर्न थालेको हुँ ताकि थाहा होस् पश्चाताप भएछ र त्यो मेटाउन उसले सबै त्यागेर संन्यासी भएछ। भनेर बुझ्नू। हुनुपर्ने यही हो।
इगोले घर डढेपछि आगो ताप्ने धेरै हुने रहेछन्। एकअर्काका कमजोरी केलाउने रहेछन्। मलाई कसैले यी तिम्रो कमजोरी बताउँदा मुटु जलेर आउँछ। डेढ दशकका पलहरू ख्यालख्याल होइनन्। अभावमा काट्यौं, दुबै रोयौं, अप्ठ्याराहरूमा तिमीले विवाहका गहनाहरू बेचेर तिरेका ऋणहरू। खरिद गरेका चामलका गेडाहरू। नाकको फुलीसम्म बेचेर तिमीले अभाव टार्यौ र काठमाडौंका चिसा रातहरूलाई ताता बनायौ। यी उतारचढावहरू सहज बनाएकी तिमी जादुगर होइनौ र जादु गर्यौ जिन्दगीमा। चानचुने जादु थिएन। हामीसँग सन्तान थियो। उसले आफ्नो तस्बिर हाम्रा अनुहार हेर्दैथ्यो होला। तर हामीले सम्बन्धलाई मजाक बनायौ।
जब मेरा वकिलले सम्बन्धलाई सक्न शब्दशब्दहरू एकएक केलाउँदै गर्दा, मलाई उसको ग्राहक बनाउँदै गर्दा, वा तिमी कसैको ग्राहक हुँदै गर्दा म नरोएको होइन। बहस गर्ने स्थलबाट बाहिरिँदै गर्दा सायद तिमीले फर्केर हेरेनौ र हात झोलाभित्र हालेर एउटा रूमाल निकाल्यौ आँसु पुछ्न होला, मैले देखेर पनि आँसु पुछ्न सकिनँ त्यसको लागि सरी। यो असमान अमानवीय। यो अपमान। तिमीले भोग्यौ।
हाम्रो भेट, एक इन्स्टिच्युटमा हुँदै गर्दा, म तिम्रा हातका औलाहरूलाई कक्षाका कोठाभित्र खेलाएर कलम थमाउँदै गर्दा। तिम्रो कपिमा नोटहरू लेख्दै गर्दा। म बस्ने बेन्चमा तिम्रो मायाको पत्रहरू छाडिदिँदै गर्दा। तिमीले भेट्न बोलाउँदै गर्दा, पशुपतिमा कसम खाँदै गर्दा हामीबीच यी दिनहरू आऊलान् भन्ने कल्पना गरेको भए! यो संसारमा मजस्तै तिम्रा तिमी जस्तै मेरा अर्कै अर्कै हुन्थे होला। त्यतिबेला के हामी खुसी हुन्थ्यौं?
म यी स्मृतिका टुक्राटुक्राहरूलाई संगालेर अब आगो लगाउने प्रयासमा छु। खरानी भएपछि त्यो खरानीलाई विभुँती ठानेर महाकुम्भ मेलामा झैं लखतरान लखतरान यात्रामा निक्लने मनोदशामा छु।
हिजो कसैको अन्टी, भाउजू र बुहारी भएको मान्छे आज मेरो वकिलले न्यायाधीशसामु तिमीलाई बोलाउन मलाई लगाउँदा मैले उसलाई उसकै नामले बोलाउनु भनेर भनेको पल सम्बन्ध बिच्छेदको मामिलामा तिमी कसैको ग्राहक भए पनि मेरो त थिएनौ म किन किन रोकिन सकिनँ? आज मेरो दिमागमा यी कुरा खेल्छन्। म आफैलाई धिक्कार ठान्छु। मैले वकालत गर्न बलियो वकिल खोजेँ तिम्राविरूद्ध। तिम्रा पाइलाहरू भासिएको जस्तो बल्ल लागेको थियो। पूर्वपश्चिम उत्तरदक्षिण जोड्न सकिँदैन। जसरी अब हामी सक्दैनौं। अब हामी स्मृतिमा मात्रै रह्यौं। जुन जताततै छरिएका छन्। पोखिएका छन्। हाम्रा विगतका बनेका कसैका श्रीमान वा श्रीमतीको पहिचान मेट्दैमेट्दै जाँदै गर्दा एकदिन हामी परलोक हुनेछौं। हाम्रो लागि यो संसार अस्थायी हो। हाम्रो इगो अस्थायी रहेछ। हाम्रो सपना अपुरो भयो। तर हाम्रा पश्चातापका कहानीहरू अपुरा नहोऊन्, कसैले पनि सम्बन्ध बिच्छेद गर्नुअघि सोचून्, बिच्छेद भएपछि पनि प्रेमिकालाई झैं पत्र लेखिरहनू। मेरो आशय त्यै हो।
तिम्रो वकिल थिएन। वकिल राख्ने तिम्रो मनसाय थिएन। तिमी विवाद गर्न चाहँदैन थियौ। जहाँजहाँ वकिलले भन्यो त्यहाँत्यहाँ हस्ताक्षर गरिदियौ। एउटै बेडमा वर्षौं सुतेका हामी त्यो अदालत भवनमा अन्जान थियौं। मैले चाहेको सम्बन्ध बिच्छेदको पत्रलाई तिमीले हस्ताक्षर गरिदिएको मात्र हो। हामी अपरिचित थियौं।
फेरि एकदिन आधा दशकपछि जीवनमा भूकम्प आयो। म त्यही भत्किएका सपनाको थुप्रोमाथि बसेर एकपटक हाम्रा आदानप्रदान इमेलहरूलाई स्क्रोल गरेर हेरेँ। देखेँ। तिमीले लेखेकी रहिछौ, ‘प्रिय वैधानिक कागजपत्रहरूलाई मिलाऊ। सक्षम बन। तिमी अवैधानिक हुँदै गर्दा म तिमीलाई सम्बन्ध बिच्छेद दिन सक्दिनँ। बरू भन केका लागि चाहिएको हो त्यो कागज तयार गरेर ल्याऊ म सहीछाप गरिदिऊँला किनभने तिमी रोएको, तिमी सडकमा भएको मैले न त हिजो हेर्न सक्थेँ। न आज सक्छु। न भोलि सक्नेछु।' त्यही पत्र देखेँ तिम्रो दुरदर्शी निर्णयलाई एकपटक सलाम गर्दै म बिट मारेँ। सरी, पूर्वश्रीमती सम्बन्धलाई बिच्छेद गरेकोमा।
अन्तिममा भन्छु। हामीमा प्रेम रहेनछ। मोह रहेछ। प्रेम हुन्थ्यो भने प्रेम विवाहपछि झगडा हुन्न। भए पनि डिभोर्स हुन्न। प्रेमको तात्पर्य समर्पण हो। जिन्दगीका हरदुःख सेयर गरेको मान्छेलाई कुनै हक हुँदैन दुःख दिन। तिमीलाई तिनै दुःखहरू बताएको थिएँ होला। सोचाइ गलत हुँदा नराम्रोलाई पनि राम्रो र राम्रोलाई नराम्रो। आधाआधी प्रेम र आधाआधी औषधिले न बचाउँछ न मर्न दिन्छ।
अनि।
अजितले पत्रलाई खाममा हाल्यो। खामको दायाँ भागमा श्रीमतीको नाम र ठेगाना लेख्यो र सिधै पोष्टबक्स पुग्यो। टिकट टाँसेर उसले पत्र मन्जुसामा पत्र खसाल्यो। त्यसपछि ऊ सामाजिक सञ्जालबाट हराएको छ, भेटिएको छैन।