‘सर सचेत हुनुहोस् है। हाम्रो अफिसमा त नियामक निकायले आँखा लाएको छ रे। हिजो बेलुका हाम्रो मिटिङ भएको थियो, त्यहाँ सरको पनि कुरा उठेको थियो,’ एक कर्मचारीले हाकिमलाई सचेत गराउँदै भने।
‘के भएछ? किन निगरानी राखेछन्। निगरानी राख्नु त बेठिक पनि त हैन नि। हामी सचेत हुन पाउँछौँ,’ हाकिमले कुरा फर्काए।
ती कर्मचारीले कुनै कार्यालयमा धेरै वर्ष काम गरेका थिए। केही मानिस उनलाई अनुभवी कर्मचारी ठान्थे। केही भने उनलाई कुरौटे र भरौटे मान्थे। उनी आफ्नो तालुक कार्यालयका धेरै जसो काममा आफू सहभागी हुने गरेको भनेर सबैलाई सुनाउँथे। प्रशासनिक पद्धतिमा हुने सरुवा बढुवामा पनि आफूले भनेसरह नै हुने गरेको भनी उनी गर्व गर्थे।
कार्यालयको काममा थोरै मात्र समय दिने र अधिकांश समय नेता कार्यकर्तासँग गफ गरेर बिताउने उनको दैनिकी थियो। हाकिमलाई सायद उनको यो विशेषता थाहा थियो होला। त्यसैले उनी ती कर्मचारीलाई बेलाबेला लिस्नु लाइदिन मन गर्थे।
हाकिमको कुरामा प्रत्युत्तर फर्काउँदै उनले भने, ‘हैन नि हजुर! हुन त म यहाँ आएको धेरै भएको छैन तर यो अफिस पहिलेको जस्तो रहेन छ नि। यहाँका कर्मचारी त सब कामचोर रहेछन्। काम कोही नगर्ने! सबलाई पैसा मात्र चाहिने! आफूले त जीवनभर पैसाको वास्ता गरिएन। यहाँका कर्मचारी त पैसा नपाए उजुरी गर्न जाँदा रहेछन्। हजुरलाई पनि उजुरी गर्लान् भनेर सचेत गराएको हजुर। मलाई त पैसा चाहिँदैन, हजुरले त सही नगरी कामै चल्दैन नि हजुर। कतै गलत ठाउँमा सही भयो भने...’ उनले फेरि चेतनाको घण्टी बजाए।
‘हैन, को खराब छ र यहाँ? को कामचोर छ? यति राम्रोसँग चलेको छ अफिस। सबैले काम गरेकै देख्छु त म त। फेरि अघिल्लो महिना मात्र होइन हाम्रो अफिसले मन्त्रीको हातबाट प्रशंसा पत्र पाएको? उजुरी नै गर्नुपर्ने त कुनै ठाउँ देख्दिनँ म त। कि त्यस्ता स्वभावका नयाँ कर्मचारी आएछन् यहाँ?’ हाकिमले अरू कुरा जान्न चाहे।
हाकिमलाई पुरानो अड्डाका कर्मचारीले सुनाएका थिए, ‘तपाईँको कार्यालयमा सरुवा भएर आएका कर्मचारीसँग सचेत हुनुहोला है सर। यिनी तपाईँसँग साह्रै नजिक हुन खोज्छन्। तपाईँका कार्यशैलीका हरेक कुरा पत्ता लगाउँछन् र त्यसलाई माध्यम बनाएर तपाईँसँग धम्क्याइ गर्छन्। यस अफिसमा त उनले यसरी नै सबैलाई हायलकायल गराएका थिए। शक्तिसँग सम्बन्ध छ भन्ने देखाएर सबैलाई त्रसित बनाएका थिए। कहिले पत्रिकामा समाचार पठाउँथे। उजुरी पनि गर्छन् भन्थे कसैकसैले त।’
हाकिमले यीभन्दा पनि बढी कुरा बुझेका थिए र सचेततापूर्वक काम गरिरहेका थिए। यसलाई पनि उनले मनन गरे।
ती कर्मचारी बोलीमा मिजासिला थिए। बोलीले खासै बझाउँदैनथे। अफिस आउँदा कहिले आफ्नै निजी गाडीमा त कहिले अफिसको गाडीमा आउँथे। ठुलो पदका त होइनन् तर अफिसको सबभन्दा राम्रो मोटरसाइकल उनकै थियो। उनका कोठामा सोफा, टेबल, कुर्सी, कम्प्युटर सब नयाँ थिए। उनी सबैले समयको पालना गर्नुपर्ने ठान्थे। बिहान ढिलो आए बेलुका छिटो जानुपर्छ भन्ने उनको अनुशासन थियो। यसलाई उनी प्रायशः पालना गर्थे।
उनका प्रतिपक्षीहरू सुनाउँथे, ‘यिनको सङ्गत जसले गर्छ ऊ कर्मचारी नै रहँदैन। उसमा बिस्तारै भ्रष्टता घुस्दै जान्छ र त्यसले व्यक्तिगत र सामाजिक जीवनलाई नै तहसनहस बनाउँछ।’
नभन्दै उनले सेवाग्राहीलाई सवारी साधन किन्न लगाए भन्ने पनि सुनियो। कार्यालयबाहिर संस्था खोलेर त्यसैमार्फत कार्यालयका काम गराए भन्ने पनि सुनियो। राम्रा ठाउँमा सरुवा गराइदिने नाममा लेनदेन गरे रे भन्ने पनि सुनियो।
हाकिम चाहिँ यस्ता कुरामा वास्ता गर्ने खालका थिएनन्। उनलाई कुराभन्दा काममा विश्वास थियो। उनी व्यक्तिको वैयक्तिक आस्थाभन्दा कार्यालयको सफलता र पेसानिष्ठलाई ठुलो ठान्थे। सोहीअनुसार काम होस् भनेर सबैलाई जिम्मेवारी दिन्थे। यी कर्मचारीलाई पनि आउने बित्तिकै उनले जिम्मेवारी दिएका थिए।
एक दिन हाकिम उनका पनि हाकिमकहाँ हुने बैठकमा भाग लिन बिहानै निस्के। बैठक निकै लामो चल्ने वाला थियो। करिब साढे एघारतिर आफ्ना तिनै कर्मचारीको फोन आयो। उनले फोनमा भने, ‘हाकिम साहब! आज मलाई अफिस आउन ढिला हुन्छ। ढिलाभन्दा पनि आज आउन भ्याइन्छ कि भ्याइँदैन कुन्नि? आज तालुक अड्डामा अर्को सालको कार्यक्रम बनाउने मिटिङ रहेछ। तालुक हाकिमले तपाईँ अनुभवी कर्मचारी, आजको मिटिङमा नआई भएन भनेर बिहानै फोन गर्नुभयो। म अहिले त्यहीँ छु। सरलाई जानकारी गराऊँ भनेर हजुर। जानकारीबिना त जानु पनि भएन नि। फेरि अरूजस्तै भइएला भन्ने पिर लाग्छ हजुर मलाई त।’
उनी अरू पनि के-के भन्दै थिए, ‘हाकिमले ल ल हुन्छ’ भनेर फोन काटिदिए। तालुक हाकिमले ‘कसको फोन? महत्त्वपूर्ण थियो कि?’ भनी सोध्दा उनले अलिकति मुस्कान निकाले र ‘हैन, अफिसकै कर्मचारीको’ भन्ने मात्र जवाफ दिए। अरू केही भनेनन्।
भोलिपल्ट उनकै आचारसंहिताबमोजिम ती कर्मचारी हाकिमकहाँ पसे र नमस्कार गरे। उनले भने, ‘हिजो तालुक हाकिम साहेबले अलिकति काम गर्न दिनुभएको थियो। रातभरि गर्दा पनि भ्याइएन। आज बिहानभर गरेर पठाइदिएँ। त्यही भएर आज अलिक ढिला भयो हजुर। माफ पाऊँ।’
उनले हाजिरकापी ताने र हिजो र आज दुवै दिनको हाजिर धस्काए।
‘अनि मिटिङमा के कुरा भयो त सर?’
‘के हुनु हजुर! हाम्रो रिपोर्टिङ राम्रो रहेन छ। प्रगति पनि राम्रो रहेनछ। बेरुजु आउने ढङ्गले काम भयो, तपाईँको हाकिमलाई राम्ररी सम्झाउनू भन्दै हुनुहुन्थ्यो। मैले पहिले त्यस्तो भएको होला, अब हुँदैन, राम्रो हुन्छ भनेँ। त्यही भएर त तपाईँलाई त्यहाँ पठाएको भन्दै हुनुहुन्थ्यो।’
‘अनि अर्को सालको कार्यक्रमको कुरा गर्दै हुनुहुन्थ्यो त। के-के कार्यक्रम राख्ने कुरा गर्नुभयो?’ हाकिमले बिचैमा कुरा राखे।
‘मैले त हाम्रो कार्यालयमा जनशक्तिको अभाव छ। भएकाले पनि गुणस्तरीय काम गर्न सक्दैनन्। काम त बाहिरका विज्ञबाट गराउनुपर्छ भन्ने सुझाव दिएँ हजुर। कस्तो राम्रो प्रस्ताव ल्याउनुभयो भनेर खुसी हुनुभयो उहाँ त,’ यसपछि पनि उनले आफ्ना योजना बताइरहे। यहीबिचमा सहयोगी कर्मचारीले पानी ल्याए।
उनीहरू पानी खाँदै गफ गर्दै थिए, अकै अड्डाका एक कर्मचारी एउटा पत्र लिएर भित्र पसे र हाकिमलाई दिए। खाममा गोप्य लेखिएको थियो। हाकिमले राम्ररी हेरेर खोले अनि मनमनै पढे। एकछिनपछि तिनै कर्मचारीतिर हेर्दै उनले भने, ‘यो तपाईँकै पत्र रहेछ। यी लिनुहोस्।’
कर्मचारी एक हातले पत्र समाएर पढ्न थाले। पत्रमा लेखिएको थियो, ‘गत वर्ष नै भइसकेको कामलाई यस वर्ष पनि भएको भनी भुक्तानी लिनुभएकामा तपाईँलाई किन कारबाही नगर्ने? चित्तबुझ्दो उत्तरसहित उपस्थित हुनुहोला।’
पत्र हेर्दाहेर्दै हात थर्थराएर उनको हातबाट पानीको गिलास भुइँमा खस्यो।