गाउँको छेउमा सानोतिनो डाँडाकाँडाले घेरेको एउटा शान्त बस्ती थियो। हरियालीका गहिरा रेखाहरूले सजिएको त्यो ठाउँ सधैँजसो मधुर सङ्गीतले गुञ्जायमान रहन्थ्यो— कहिले चराचुरुङ्गीको मिठो चिरबिर, कहिले चौँरीगाईको घाँटीमा बाँधेको घण्टीको बज्ने हल्का आवाज, त कहिले खोला किनारमा बगिरहेको चिसो बतासको सुस्केरा।
यस्तै सौन्दर्यको बिचमा एउटा पुरानो गारोले बनेको, छानोमा पुराना परालका थुप्रा सुकाइएका एउटा माटाको घर थियो— जहाँ बस्थे वृद्ध रामबहादुर।
जीवनका अनगिन्ती आरोह-अवरोह पार गरेका यी वृद्धका आँखाहरू अब थाकिसकेका थिए। चाउरी परेको अनुहार, थरथराउँदो हात, कम्मर झुकेको शरीर— उनका हरेक अस्तित्वभित्र अनुभवका अनगिन्ती उपन्यासहरू लुकेका थिए। उनी भित्तामा झुन्ड्याइएको कालो-सेतो पुरानो फोटोतिर बेलाबेला हेर्थे, आँखाहरू रसाएर आउँथे तर आँसु झार्दैन थिए।
त्यो तस्बिरमा को थिए?
उनका आफ्नै सपनाहरू कि हराएको विगत?
उनको दिनचर्या साधारण थियो— तर त्यो साधारणताभित्र गहिरो अर्थ लुकेको थियो। बिहान जब कुखुराहरू बास्न थाल्थे, बस्ती बिस्तारै ब्युँझिन्थ्यो। त्यही बेला उनी आफ्नो पुरानो काठको ओछ्यानबाट बिस्तारै उठ्थे। टेवा दिने लौरो समाएर ढोकासम्म जान्थे, दुई हातले आँखाको कुनो मिच्थे अनि छेउमै रहेको ढुङ्गाको ओछ्यानमा केही बेर चुपचाप बसिरहन्थे।
उनको नजर टाढा डाँडातिर पुग्थ्यो, घामको पहिलो किरणले गाउँको छाना छुन थालेको दृश्य नियाल्थे।
त्यसपछि उनी बिस्तारै खुट्टाहरू सार्दै गाउँको भित्री गल्लीतर्फ लाग्थे जहाँ एउटा पुरानो चिया पसल थियो। त्यो पसल कुनै भव्य पसल थिएन— खरको छानो, माटाको भित्ताहरू, एउटा पुरानो काठको बेन्च र त्यसैको छेउमा रहेको आगो ताप्ने चुल्हो। यही चुल्होको सिरानमा उनी बस्ने गर्थे।
पसलमा अरू वृद्ध, गाउँले किसान र केही युवाहरू पनि त्यहाँ जम्मा हुन्थे। कोही हलो जोत्न जाँदाका अनुभव सुनाउँथे, कोही घरपरिवारका समस्याहरू पोख्थे, कोही पुराना दिनहरूको चर्चा गर्थे।
रामबहादुर प्रायः कमै बोल्थे तर जब बोल्थे अरू सबै मौन बस्थे। किनभने उनका हरेक शब्दहरूले कुनै न कुनै कथा बोकेका हुन्थे। उनका आँखाहरूमा अनुभूतिहरू टल्कन्थे। चियाको गिलास समाउँदै उनी पुरानो भित्तातिर एकटक हेरिरहेका हुन्थे, कहिले मुस्कुराउँथे, कहिले गम्भीर बन्दै सोचमग्न हुन्थे। चिया सकिएपछि उनी पुनः आफ्नो घर फर्कन्थे, उस्तै शून्य भावनासहित।
साँझ पर्नासाथ उनको मनभित्रको हलचल अझै बढ्थ्यो। दिनभर गाउँलेहरूसँग बिताएको समय जति नै रमाइलो भए पनि साँझ पर्दा उनको हृदयमा एक प्रकारको मौनता ओर्लिन्थ्यो। जति नै थाकेका भए पनि ढोका बाहिर निस्केर उनी चौतारामा बसेर बाटोतिर हेरिरहेका हुन्थे।
हातमा पुरानो चिठीको खोल समातेर उनी हरेक दिन बाटोतिर एकटक टोलाउँथे। गाउँको उस्तै बाटो, उस्तै बर्खा उस्तै हिउँद। तर उनी जसै त्यस बाटोतिर हेर्थे, त्यहाँ एक अदृश्य आशाको पर्खाइ लुकेको हुन्थ्यो। कोही आउनेछ भन्ने प्रतीक्षा। चिठीको खबर आउनेछ भन्ने विश्वास।
वर्षौँ बितिसकेको थियो तर त्यो प्रतीक्षा कहिल्यै रोकिएको थिएन। गाउँलेहरू उनलाई सोध्थे— ‘कसको चिठी कुर्दै हुनुहुन्छ, रामबहादुर दाइ?’
उनी मुस्कुराउँथे, मौन बस्थे।
एक दिन सिता दिदीले सोधिन्, ‘तपाईँले जुन चिठी कुरिरहनुभएको छ, त्यो साँच्चै कहिल्यै आउने हो त?’
रामबहादुरले मुस्कुराउँदै आँखा चिम्म गरे। गह्रौँ सास फेरे।
‘केही चिठीहरू लेखिन्छन् तर कहिल्यै पठाइँदैनन्। केही चिठीहरू आउँछन् तर हातसम्म आइपुग्दैनन्। तर मनले तिनलाई पढिरहन्छ, सधैँ...’
त्यसपछि उनी बाटोतिर हेर्दै मुस्कुराए।
सायद अब पनि उनी कुर्दै थिए— तर ती आँखाहरूले अब चिठीको प्रतीक्षा गरिरहेका थिएनन्, अब त केवल विगतलाई सम्झिरहेका थिए।
एक दिन छिमेकी सिता दिदीले जसको आँखा सधैँ रामबहादुरको घरको गहिराइमा डुबेको हुन्थ्यो, सोधिन्, ‘तपाईं कसको चिठी कुर्दै हुनुहुन्छ? हामीलाई भन्नुहोस् न!’
उनको स्वरमा कौतूहलको मिश्रण थियो तर यसमा केही थोरै दुःखको सुर पनि थियो जसले रामबहादुरको मनमा गहिरो चोट पुर्यायो। रामबहादुरले केही क्षणका लागि गह्रौँ सास फेरि। उनको मन गहिरो धुन जस्तै ढाकिएको थियो र आँखामा त्यस्तै धमिलो भावना लुकेको थियो— धेरै वर्षको प्रतीक्षाले उनमा पीडा र निराशाको लहर ल्याएको थियो।
उनी केही समय मौन रहे, केही सोच्दै, के भनूँ, के नगर्ने भनेर मनको द्वन्द्वमा थुन्दिएका थिए। अन्ततः आफ्नो अन्तर्मनको अँध्यारो विचारसँग लड्दै उनी बिस्तारै बोले, ‘धेरै वर्षअघि मेरो छोरो सहर गयो। ऊ भन्थ्यो—बाबा, म ठुलो मान्छे बनेर चिठी लेख्छु। म त्यसै चिठीको प्रतीक्षा गरिरहेको छु।’
उनको स्वरमा एउटा गहिरो अपूर्व चाहना र असाध्यै शान्तिको परत थियो जसले सिता दिदीलाई अचम्ममा पारेको थियो। एक असाधारण गहिराइमा हराएका थिए रामबहादुरका शब्दहरू, जसमध्ये हरेक शब्दलाई उनले आफ्नो जीवनका क्षणहरूमा गाँसिदिएका थिए। त्यस्तो चिठीलाई आफूले जसरी पनि कुरेर बसेका थिए, जसको प्रत्याशामा उनलाई धेरै रातहरू कहिल्यै नटुट्ने आशामा खेर गएको थियो।
त्यही चिठी जसको प्रतीक्षा गर्दै उनले आफ्नो वृद्ध जीवनका कति वर्ष बिताए, त्यो चिठीको थाहा नपाएको एक अधुरो आशा उनको मनमा सधैँ जीवित थियो।
गाउँका युवाहरू जसले रामबहादुरको आशालु आँखाहरू देखेका थिए, जसले हरेक साँझ आँगनको ओछ्यानमा बसेर बाटोतिर ताकिरहेका थिए, ती युवाहरू नै एक दिन उनको छोराको खोजी गर्न सहरतिर लागे। उनीहरू रामबहादुरको मनमा उम्रिएको वर्षौँदेखिको प्रतीक्षाको बीउलाई सत्यतासँग साक्षात्कार गराइदिन चाहन्थे।
थुप्रै दिनसम्म खोज्दै, ठेगाना खोज्दै, सहरका गल्लीहरूमा भौँतारिँदै गर्दा अन्ततः उनीहरूले त्यो नसोचेको सत्य भेट्टाए— रामबहादुरका छोरा त वर्षौँअघि एक दुर्घटनामा परी बितिसकेका रहेछन्।
त्यो खबर सुन्नासाथ उनीहरूलाई एकाएक आफ्नै देह भारीजस्तो लाग्यो। एउटा सपना टुक्रिएर धुलोमा विलीन भएझैँ लाग्यो। उनीहरू एकछिन शब्दविहीन भए। कसैले केही भन्न सकेन। कसैले आँखा उठाएर एकअर्कातिर हेर्न सकेन। त्यो सत्य त एक कठोर चट्टान जस्तो थियो, जसले उनीहरूको मनोभावनालाई थिच्दै लगिरहेको थियो।
सिता दिदीले त्यो खबर सुनेपछि केही बेर आँखा चिम्लिइन्। उनको आँखाबाट आँसुका थोपाहरू एकपछि अर्को झरिरहेका थिए। उनी सोच्न थालिन्— त्यो बाबा, जसले जीवनभर एउटा चिठीको प्रतीक्षा गरिरहे, जसले हरेक दिन आफ्ना छोराका सम्झनाहरूलाई सहारा बनाएर बाँचिरहेका छन्, जसको आशाले नै उनको श्वास चलिरहेको छ— उनलाई यो सत्य कसरी भन्ने?
रामबहादुरका छोराको मृत्यु एक साधारण दुर्घटना मात्र थिएन। ऊ आफ्ना आँखाभरिका सपना बोकेर गयो, ठुलै मान्छे बन्छु भन्दै, बाउलाई सुख दिन्छु भन्दै गयो। तर नियतिले उसलाई बिचैमा रोकिदियो। त्यो एउटा साँझ थियो जब उसले बुबालाई चिठी लेख्ने सोच बनाएको थियो, त्यो बिहान थियो, जब उसले सहरको कुनै कुनामा बसेर आफ्ना सपना कोरिरहेको थियो। तर त्यसै दिन बाटो काट्दै गर्दा एउटा तीव्र गतिमा आएको सवारीसाधनले उसको सपना मात्र होइन, उसको अस्तित्वलाई नै मेटाइदियो।
सिता दिदी सोचिरहेकी थिइन्— त्यो खबर रामबहादुरलाई थाहा भएको भए के हुन्थ्यो? के ती आँखाहरू जसले बाटोतिर हेर्न छाडेका थिएनन्, अझै खुल्ने थिए? के ती हातहरू जसले आशा अँगालिरहेका थिए, अझै काँप्ने थिए?
तर उनले निर्णय गरिन्— यो सत्य रामबहादुरलाई थाहा दिने छैनन्। हावा चलेर पात हल्लिएझैँ, यो खबर पनि समयसँगै कहीँ बिलाएर जानेछ तर रामबहादुरको मुटुभित्र रहेको आशा मर्न दिने छैनन्। उनीहरू त्यही बोझिलो सत्य बोकेर गाउँ फर्किए तर रामबहादुरलाई भने सधैँझैँ आशाकै उज्यालोमा बाँच्न छाडे।
त्यस रात सिता दिदी निदाउन सकिनन्।
छानोको टिनमा परेका थोपाहरू एकतमास पिँधमा झरिरहे। सास लम्बाएर उनले एक टुक्रा कागज निकालिन्। एकछिन त कलम हातमा लिइन् तर लेख्न सकिनन्।
किनकि उनले थाहा पाएकी थिइन्— यो चिठी सत्य होइन।
तर झूटले पनि कहिलेकाहीँ एक जना बुबाको जीवन धान्न सक्छ।
चिठी लेखिँदै थियो…
कलम चल्यो, मन थर्कियो, मौनताको बिचमा अक्षर जन्मिए।
प्रिय बाबा,
तपाईंलाई धेरै सम्झन्छु। तपाईंको छोरो म निकै टाढा छु। म फर्किन ढिला गरेँ तर आउनेछु।
बाबा, खेतका गहुँ ढलेका होलान्, तर म आउनेछु, गहुँ काट्ने बेला आइपुग्नु अघि नै।
म आउँदै छु बाबा, अब धेरै ढिलो गर्दिनँ।
सपना हराउँछु जस्तो लागे पनि, सपना कहिल्यै हराउँदैन।
सिता दिदीको हात थरथर काँप्यो। उनको आँखामा आँसु भरिए तर उनले आँसु पुछिन्। किनभने झूटले एउटा बुबालाई जीवन दिन्थ्यो। बिहानै उनले त्यो चिठी हुलाकीलाई दिइन्।
हुलाकीले सोधे—
‘यो चिठी साँच्चै छोराले पठाएको हो?’
सिता दिदी हल्का मुस्काइन्।
‘बुबालाई सत्य थाहा हुनुपर्दैन, हुलाकी दाइ। केवल आशा थाहा हुनुपर्छ।’
एक बुबाको प्रतीक्षा, त्यस साँझ रामबहादुरले चिठी हातमा लिए। उनको हत्केलाभित्र कागज सुकाइहाल्न लाग्यो, उनका आँखाले चिठीको अक्षरहरू ओठैले छामे।
मनमनै दोहोर्याए— ‘मेरो छोरो म ठुलो मान्छे बनेर चिठी लेख्छु भन्थ्यो।’
अब उनले पढे— बाबा, म सफल भएँ। म आउँदै छु।
कहाँ मर्छ मेरो छोरो?
मेरा आँखासामु उसको अक्षर छ, मेरा कानभित्र उसको स्वर बग्छ।
साँझ बित्यो, रात भयो। तर रामबहादुरको मन उज्यालो भयो। उनी धेरै वर्षपछि पहिलेजस्तै हाँसे।
घरका ढोका खुला छाडे, किनभने उनका लागि कोही आउनेछ।
आकाश बदलियो, बस्ती बदलियो, तर बुबाको मन कहिल्यै बदलिएन।
हरेक चैत महिनामा, उनले सिन्दूरको धुलो टिपेर निधारमा दल्थे।
‘आज छोरो आउने दिन हुन सक्छ।’
हरेक श्रावण महिनामा, पिँढीमा ढल्केर उनले छोरोको प्रतीक्षा गर्थे।
छोरोका लागि गाइको दूध राखिन्थ्यो, ओछ्यानमा एउटा खाली सिरानी हुन्थ्यो। नयाँ वर्ष आउँथ्यो, दसैँ आउँथ्यो, तर छोरो कहिल्यै आएन।
त्यस रात, आकाश अलिक गाढा थियो। हावा भारी थियो। र, एक जना बुबा आशाको सपना बोकेर निदाए।
निद्रा आयो। त्यो निद्रा कुनै रातभरि खुल्ने निद्रा थिएन। त्यो निद्रा चिठीका अक्षरभन्दा गहिरो थियो।
बिहान सिता दिदी आएर ढोका ढकढक्याइन्। तर ढोका खुलेन। भित्र चिठी मुटुमा राखेका रामबहादुर मौन निद्रामा थिए।
आकाश मौन रह्यो, अम्बा रूख मौन रह्यो, हावा चलिरह्यो तर बोलेन।
चन्द्रमा कुहिरोमा हराइरह्यो, रात मौन थियो। त्यो रात एक बुबा निदाए, आशाको चिठी मुटुमा राखेर।
सत्य बिर्सियो तर सपना बाँकी रह्यो। समय बहिरो बनेर बित्दै गयो तर हरेक बिहान आशाको पहिलो किरण त्यही पुरानो चिठीमा प्रतिबिम्बित हुन्थ्यो।
हावा सधैँझैँ बग्थ्यो तर आज केही बगाएको थियो- एउटा श्वास, एउटा प्रतीक्षा, एउटा जीवन।
त्यो घरको आँगनमा अझै पनि एउटा कुर्सी थियो जसले बुबालाई प्रतीक्षामा बसेको देखेको थियो। अझै पनि पुरानो टोपी अल्झिएको थियो, जसले बुबाका सपनाहरू बोक्न खोजेको थियो।
तर समय निष्ठुर छ। उसले कुर्सीलाई खाली गर्यो, टोपीलाई धुलोले छोप्यो र बुबाको प्रतीक्षालाई अनन्ततिर बगाइदियो।
अब त्यो ढोकामा कोही आउँदैन, हुलाकीका पाइला पनि रोकिए, अहिले त्यो आँगन सुनसान छ, जहाँ कहिल्यै आउने भनिएको पाइला कहिल्यै आएन।
बुबाका आँखाले हेरेको बाटो अझै उस्तै छ तर हिजो त्यो बाटोमा जीवन थियो, आज त्यहाँ केवल एकोहोरो शून्यता छ।
कसैले भन्यो— ‘अब उहाँ छैनन्!’
तर कुनै आवाज उठेन।
केही सुनेजस्तो भयो, सायद त्यो केवल बिस्तारै बिस्तारै बिलाउँदै गएको एउटा अधुरो स्वर थियो, एउटा सपनाको भङ्ग आवाज थियो, एउटा चिठीको हराएको अर्थ थियो।
समयले सबै कुरा बिर्साउँछ तर हरेक साँझ त्यो पुरानो कुर्सीको छाया अझै ढोकाबाट बाहिर हेर्छ, अझै केही आशा गर्छ। तर अब त्यो बाटोमा कुनै पाइला पर्दैनन्, केवल हावाको बेगले धुलो उड्छ अनि शून्यताले आफ्नो अनन्त यात्रा जारी राख्छ।