मेरो बुद्ध
निहत्था छ
र त घाइते छ।
बाँकी रहेन अब उसको विश्वास पनि
कुनै अभिलेख र संग्रहालयहरूमा
कुनै भूगोल र इतिहासहरूमा
स्वयम्भूमै अस्तित्व गुमाएर
ऊ कहालिएको कहालिएकै छ
ऊ रोएको रोयै छ
स्वयम्भूका दुई आँखाहरूबाट
सायद बुद्ध फरार गराइएको छ
स्वयम्भूकै बन्दीगृहबाट।
पढेको थिएँ, तिमी युद्ध नचाहने मान्छे
पढेको थिएँ, तिमी हिंसा नचाहने मान्छे
पढेको थिएँ, तिमी अन्याय नसहने मान्छे
तिम्रो बोधिसत्त्वको खोजीमा
रहरहरू बटुलेर मनभरि
तिलौराकोट हुँदै
गया किनारको पिपलसम्मै पुगेँ
तिमी त्यहाँ पनि भेटिएनौ
कुनै गुम्बाहरूमा पनि देखिएनौ
कहाँ हरायौ?
कहाँ भाग्यौ?
कसले चोरी लग्यो तिमीलाई?
सुन्दै छु
बुद्ध भरिया बनेको छ
बुद्ध प्रवास गएको छ
बुद्ध भिख मागिरहेको छ
बुद्ध भोकभोकै सुतिरहेको छ।
मेरो बुद्धलाई
युद्धको विभीषिकाबाटै
सैतानहरूले शरीर बन्धक बनाएर
यातना शिविरमा घिसारिएको छ
मेरो बुद्ध
यातना शिविरमा
एक्लै झोक्राइरहेको छ
मानवता हराएको यो क्षण
समयको माखे साङ्लोले बाँधिएर
पीडाको नमिठो आँसु बगाउँदै
बोधिसत्त्वको अलाप गाएर
लुम्बिनीमा शोकमग्न भएको छ।