बुवाको मुटुमा समस्या देखिएपछि अस्पतालमा भर्ना गरेर उपचार गर्दै थिएँ। बाबालाई हेरचार गर्ने जिम्मा दिदीलाई छोडेर म अस्पतालको गेट बाहिर निस्केँ। एउटा चुरोट लिएर सल्काएर सडक छेउमा बसेँ।
म बसेको छेउमा स्कुटी आएर रोकियो। स्कुटीबाट झरेर ‘तिमी सबिन होइन?’ भनेर एउटा केटीले सोधिन्।
मैले हो भनेर जवाफ दिएँ।
उसले ‘कहिलेदेखि चुरोट तान्न थाल्यौ नि?’ सोधिन्।
मैले ‘खोइ कहिलेदेखि भनौँ कहिलेकाहीँ बोर फिल भयो भने तान्ने गर्छु’ भनेँ।
त्यति भन्ने बेलासम्म मैले उसलाई चिनेकै थिइनँ।
मैले हजुरलाई चिनिनँ नि भनेँ।
‘एकछिन है म स्कुटी पार्क गर्छु’ भनेर उनी हस्पिटल गेट छेउमा पार्किङ गरी आइन्। हेलमेट र सनग्लास फुकालेर आएपछि बल्ल चिनेँ। उनी थिइन् मेरो ४ वर्ष पहिले छुटेकी कलेज साथी बिनिता।
उनले सोधिहालिन्, ‘तिमी किन यहाँ?’
मैले बुवा बिरामी हुनु भएको कुरा बताएँ। अनि हामीले सामान्य हालखबर सोध्यौँ। एकछिनपछि उनले सोधिन्, ‘तिम्रो सुस्मासँग कुरा हुन्छ?’
मैले भनेँ, ‘नाइँ! हाम्रो कुरा नभएको ३ वर्ष जति भयो।’
उनैले भनिन्, ‘तिमीलाई सुम्माको अहिलेको अवस्था कस्तो छ थाहा छ?’
‘नाइँ किन सोधिखोजी गर्नु र बाटो नै अलग भएपछि! म जति तड्पिनु पर्ने थियो पहिले नै तड्पिसकेँ। अहिले म ठिक छु। तिमीलाई थाहा छ मैले चुरोट पिएको कारण नै त्यही ब्रेकअप पछि हो। म पूरा रूपमा टुटेको थिएँ। सायद उनी खुसी नै होलिन् विवाह गरिसकेपछि,’ मैले भनेँ।
बिनिता म र सुस्मा हामी दुवैको राम्रो साथी थिइन्।
सुस्माले भनिन्, ‘तिमीलाई लाग्दो हो उनी खुसी छन्। तिमीसँग छुटिनु र अर्कोसँग बिहे हुनुको कारण सुस्माको धेरै छन्। सुस्माले मलाई सबै भनिन् तर आजको दिनसम्म तिमीलाई भेन्न सकिन। सबै पारिवारिक दबाबले गर्दा यस्तो भएको हो। इन्टरकास्ट बिहे गर्यो भने परिवारको लागि मरे सरह भनेर बा-आमाले भन्नुभएपछि सुस्माले अर्को डिसिजन गरेकी हो। तिमीले सुस्मालाई गलत नसोच। ऊ अहिले जीवनको अन्तिम अवस्थामा जिउँदै छ।’
मैले आत्तिँदै उसको बारे सोधेँ।
बिहे भएको एक वर्षपछि उसको श्रीमन् विदेश गएछन्। उतै मेसिनमा परेर ज्यान गुमाउनु परेछ। एउटा नानी पनि रहेछिन् एक वर्षको। अहिले सुस्मा माइतीमा बस्छे रे।
‘ऊ पूरै टुटिसकेकी छ। सायद डिप्रेसनले होला। मलाई मर्न मन मात्र लाग्छ भन्छे। बेलाबेला के-के बोल्छे पत्तै पाइँदैन। बेलाबेला राम्रै कुरा पनि गर्छे। अहिले औषधि सेवन गर्दैछे तर अवस्था जस्ताको त्यस्तै छ। बेलाबेलामा तिम्रो नि कुरा गर्छे। मैले गर्दा सबिनको पनि जिन्दगी बरबाद भयो है भनेर रुन्छे। जब म उनलाई भेट्न जान्छु म मर्यो भने मेरो छोरीलाई राम्रोसँग पाल है आफ्नै छोरी सम्झेर भन्छे। फेरि भन्छे- तँलाई गाह्रो भयो भने कतै राम्रो खालको बाल आश्रममा लगेर छोडिदे, माइतीमा राखेर के गर्नु दुई दिन राम्रो गरेर हुन्न भन्दै रुन्छे। म पनि उसको कुरामा रुने गर्छु’ भन्दै बिनिताले गहभरि आँसु पारी।
बिनिताको यस्तो कुरा सुनेपछि म पनि कति खेर रोएछु पत्तै पाइनँ।
बिनिताले मलाई सुस्मासँग एकचोटि भेट्न आग्रह गर्दै अहिले उसलाई हाम्रो साथ चाहिएको बताइन्। मैले उनको कुरामा समर्थन जनाउँदै तुरुन्तै नभ्याउने भएकाले एक/दुई दिनपछि भेट्न जाने बताएँ। उसको कन्ट्याक नम्बर पनि मागेँ।
बिनिता स्कुटी लिएर गइन्, म अस्पतालभित्र छिरेँ।
दुई दिन अस्पतालको बसाइँपछि बुवाको पनि स्वास्थ्यमा सुधार आयो। उहाँलाई डिस्चार्ज गरेर घरमा लगियो। अस्पताल बसुन्जेल मेरो मनमा उही बिनिताले भनेका कुराहरू मनभरि खेलिरह्यो।
सुस्मा र मेरो ४ वर्षको प्रेम सम्बन्ध थियो तर हाम्रो जात मिल्दैन थियो। हामी दुईको परिवारमा सांस्कृतिक तथा धार्मिक भिन्नता थियो नै, तैपनि हाम्रो मायामा त्यस्तो भिन्नता थिएन। एक दिन उनको घरमा माग्न आएको कुरा चलेपछि मैले भागेर विवाह गर्न दबाब दिएँ तर उनी मानिनन्। मलाई उल्टै अबदेखि कल नगर्नु भनेर हामीबिच केही भनाभनपछि हाम्रो सम्बन्ध टुटेको थियो।
आज एक्कासि ऊ बारे त्यस्तो कुरा सुनेपछि म कसरी उनको बारेमा नराम्रो सोच्न सक्छु र! हिजोको दिनमा उनको बिहे हुँदै गर्दा पनि उनको भलो सोच्ने म आज कसरी निष्ठुरी बन्न सक्छु र! केही कुरामा चित्त दुखाइ पक्कै थियो तर घृणा थिएन।
मैले उनलाई भेट्ने निधो गरेर बिनितालाई फोन गरेँ। तर सुरुमा सुस्माको बाबालाई भेटेर कुरा राखौँ अनि मात्र उसलाई भेटौँ नत्र सुस्माको परिवारले नराम्रो सोच्छन् भनेँ।
मेरो र सुस्माको बारे उसको परिवारलाई थाहा छ। एक्कासि त्यहाँ पुग्दा अर्कै माहौल होला। पहिलेको कुरालाई भुलेर साथीको नाताले मात्र भेट्ने भनौँ भनेपछि म र बिनिता अंकललाई भेट्न गयौँ। अंकल सुरुमा मान्नु भएको थिएन तर पछि उहाँले हुन्छ भेट हामी नि हाम्रो छोरी ठिक भएको हेर्न चाहन्छौँ भन्नुभयो।
हामी सुस्माको घर पुग्दा ऊ सुतिराखेकी रहिछ। बिनिता उठाउन गइन्। म भने बाहिर बसेँ। सुस्माको सानी छोरीलाई काखमा राखेर खेलाउँदै बसेँ। बिनिताले ‘बाहिर मेरो साथी आएको छ, पानी लगेर देऊ न तिर्खाएको छ रे’ भनेपछि सुस्मा गिलासमा पानी राखेर बाहिर आई।
मैले पुलुक्क उनको अनुहारमा हेरेँ। उनी मेरो अनुहारमा हेरेर दंग परिन्। कालो र निलो भइन्। केही बोलिन। मैले उनलाई कस्तो छ सोधेँ।
उनले टाउको हल्लाएर ठिक छु भनिन्।
‘कति क्युट छोरी जन्माएछौ नि,’ मैले भनेँ।
उनी दंग परेर हेरी मात्र रहिन्। भित्रै बसौँ भनेर बिनिताले भनेपछि भित्र गएँ।
सुस्मा पहिलेभन्दा धेरै दुब्लाएकी रहिछ। धेरै नबोल्ने, बेलाबेला बेसुरमा कुरा गर्ने अनि अरू बेला समान्य नै हुने रहिछ।
भित्र जाने बित्तिकै सुस्मा रुन थाली।
‘म मर्छु होला अब मलाई बाँच्न मन नै छैन। मेरो जिन्दगी बरबाद भयो। मैले गर्दा तिम्रो नि जिन्दगी बरबाद भयो। मैले धोका दिएँ तिमीलाई’ भनेर झन् रुन थालिन्।
मैले उसलाई सम्झाउने कोसिस गरेँ, ‘सुस्मा तिमीले धोका दिएको होइन, समय र परिस्थितिले तिमीलाई धोका दिएको हो। त्यो समय र परिस्थितिमा तिमी र म पर्यौँ। यदि तिम्रो ठाउँमा म भइदिएको भए मैले नि यही गर्थेँ। अब बिर्सिदेऊ यी सब कुरा। पहिले हामी साथी थियौँ, अब नि साथी हौँ। तिमी ठिक हुनुपर्छ अब चाँडै। टेन्सन नगर हामी तिम्रो साथमा छौँ। त्यसैले तिमीलाई भेट्न आएको।’
सुस्मा रुँदै भन्छिन्, ‘मेरो जिन्दगी अँध्यारो रहेछ। बिहे गरेको एक वर्षमा बुढा नि बित्नुभयो। म के गरूँ? केही गर्छु भन्ने आँट नै आउँदैन। मलाई यो जिन्दगी व्यर्थ लाग्छ। कसरी बाँचौँ? बाँच्ने आधार नै छैन।’
मैले ‘तिम्रो बाँच्ने आधार भनेको तिम्री छोरी हो, यही छोरीको मुख हेर कति क्युट छ। यस्तो छोरीलाई छोडेर मर्छु भन्दा तिमीलाई पाप लाग्छ। यो टेन्सनको भुमरीमा नबस। तिमीलाई जे जस्तो सहयोग चाहिन्छ म र बिनिताले गर्छौँ। हामी तिम्रो साथमा छौँ’ भनेँ।
बिनिताले पनि ‘हेर सुस्मा, तिम्रो हालत सुनेर मैले नै सबिनलाई बोलाएर ल्याएको हो। पहिलेको कुरा बिर्सिदेऊ। सबिन, तिमी र म साथी हौँ। साथीमा चित्त दुखाइको कुनै कुरै हुँदैन’ भनिन्।
हामी एक आपसमा कुरा गरेर त्यो दिन त्यहाँबाट छुट्यौँ।
म र बिनिताले सुस्मालाई यो बिरामीबाट बाहिर ल्याउने सल्लाह गर्यौँ। अंकललाई सोधेर एउटा मैले चिनेको मनोवैज्ञानिक चिकित्सक साथीकोमा लैजाने कुरा गरेँ। बिनिताले अंकललाई मनाउने जिम्मा लिइन्। बिनिताले अंकललाई भनेपछि अंकल पनि मान्नुभयो।
बिनिता र म मिलेर प्रायः सधैँ नयाँ-नयाँ ठाउँमा लाने, घुमाउने र मनोवैज्ञानिक चिकित्सकअनुसार मोटिभेट गर्दै उपचार पनि गर्न थालियो। यस्तो गर्दा सुस्माको हरेक क्रियाकलाप दिनहुँ केही परिवर्तन हुन थाल्यो।
सानो-सानो कुरा पनि सुस्मालाई कल गरेर शेयर गर्न थाल्यौँ जसले गर्दा सुस्मालाई हामी साथमा छौँ भन्ने आभास दिन्थ्यौँ। यही प्रक्रिया लगभग दुई महिना चल्यो। अहिले सुस्मा डिप्रेसनबाट मुक्त छिन्। खुसी छिन्। हाम्रो सम्बन्ध एउटा असल साथीको रूपमा छ।
सुस्मा एक्लै बसी भने फेरि त्यस्तै होला भनेर उसलाई मैले चिनेको सुस्माकै घर नजिक एउटा विद्यालयमा शिक्षिकाको जागीर लगाइयो। अहिले उनी त्यहाँ पढाउँछिन् अनि आफ्नो नानी पनि हेर्छिन्। जिन्दगी चल्दै छ उनको।
अस्ति भेट्दा मलाई सुस्माले सोधिन्, ‘तिमीले किन बिहे नगरेको? मेरै कारण तिमी बिहे नगरी बस्ने हो?’
मैले हाँस्दै भनेँ, ‘खोइ यो जुनी यस्तै होला अर्को जुनीमा होला नि पक्कै।’
सुस्माले भने त्यसरी हुन्न बिहे गरेर घरजम गर भनिन्। यो सुनेपछि मेरो मन यति आनन्द भयो कि ऊ बिरामीबाट उत्रेर नि अब हामीलाई सम्झाउने भइसकी। एउटा साथीलाई योभन्दा ठुलो खुसी अरू के हुन सक्छ होला र!
हामी अहिले एउटा असल साथीको रूपमा छौँ। सुस्मा ठिक हुनु नै मेरो जीवनमा खुसीको एउटा छुट्टै अध्याय थपिएको छ।
सम्बन्ध समय परिस्थितिले छुटाउँछ, परिस्थितिले जोड्छ। सम्बन्ध भनेको बिहे गर्नु मात्र होइन, असल सम्बन्ध बनाउन साथीत्वको भावना, मानवता र सबै कुराहरू पर्छन्। सरल र सहज जीवन बनाउन एक अर्काको साथ जस्तोसुकै अवस्था र जुनसुकै रूपले सकारात्मक सोचमा सहयोगी भावना पैदा गर्नु पर्छ।
मानव जीवनमा हरेक खालका उतारचढावहरू आउन सक्छन् तर एकअर्काको परिस्थितिलाई बुझेर अगाडि बढ्नुपर्छ सबैले।ब