सरकार!
मैले खाना मागेको हुँ
माटो खान सकिनँ
ढुङ्गा मैले चपाउन सकिनँ
भोकको अँध्यारेले छोपेपछि
मैले मासु चिनिनँ
मैले मान्छे चिनिनँ।
सरकार!
मैले पानी मागेको हुँ
ढल पिउन सकिनँ
विष्णुमती मैले पिउन सकिनँ
तिर्खाले व्याकुल थिएँ म
मैले पानी चिनिनँ
मैले रगत चिनिनँ।
मलाई राक्षस भन्नुहोला
मलाई नरपिचास भन्नुहोला
मेरो पापी पेट छ
पेटको दोष छ
मेरो दोष छैन सरकार
संविधानको धारामा न्यायको पानी आएन
म के पिऊँ सरकार?
मेरो पेट जान्दैन धर्म
पेटको दोष छ।
चितवनाका राम-लक्ष्मण
बाउको पिसानाले समातेका बाघहरू
लोपोन्मुख, आमाका खल्तीका,
एक सिङे गैँडाहरू
मैले धितो राखेकै हो
मैले पाएको केही थान प्रमाणपत्र
फगत प्रमाणपत्र
त्यसले बाघ समात्न नसकेपछि
गैँडाको लोपोन्मुखतालाई साथ दिएपछि
हो, मैले मासु चिनिनँ
हो, मैले रगत चिनिनँ।
सरकार!
मैले काम मागेको हुँ
मैले जिन्दावाद मुर्दावाद भन्न सकिनँ
अन्य झन्डा मैले बोक्न सकिनँ
माग्दा नपाएपछि
मैले मान्छे चिनिनँ
मैले काम चिनिनँ।
यसरी
रगतको भेल ल्याउन मैले चाहेको थिइनँ
मान्छेलाई लुट्न पनि चाहेको थिइनँ
खोस्न, चाहेको थिइनँ
लुट्न, चाहेको थिइनँ
मार्न मैले खोजेको थिइनँ
सरकार!
जे चाहेको हो, त्यो बास बाँच्नु थियो
यसरी पनि त बाँच्नलाई न हो
फगत बाँच्न
सरकार!