‘ह्या! यो अफिसको काम कहिले सकिए पो। बरु एकछिन बाहिर डुल्न जानपर्यो।’
ल्यापटपअगाडि बस्दा बस्दा दिक्क लागेर छतमा निस्केँ। आहा! क्या मज्जाको जून। म जुनेली रातको शान्तिमा रमाउन खोज्दै थिएँ तर अचानक मन अशान्त भयो।
‘रश्मि, बाहिर निस्क त! अनि जून हेर ल,’ मेरो कानमा यो वाक्य गुन्जिन थाल्यो।
हरेक जुनेली रातमा मलाई यो मेसेज आउनु अनिवार्य नै थियो। तर मैले यो मेसेजको जवाफ कहिल्यै फर्काइनँ।
जानेर वा अनजानमा थाहा छैन तर जवाफ फर्काइनँ।
उसलाई जून साह्रै मन पर्थ्यो र त्यो जूनमा उसले मलाई देख्थ्यो अरे!
आजकल मलाई यस्तो मेसेज आउन्न।
यस्तो?
होइन होइन! मेसेज नै आउन्न।
‘सुन न रशु, एउटा कुरा भनम्?’ यति मेसेज देख्नासाथ मेरो मन फूरुङ्ग हुन्थ्यो किनभने मलाई रशु भनेको क्या क्युट र मायालु लाग्थ्यो।
तर उसलाई के क्युट र मायालु लाग्थ्यो? मैले उसलाई सोधिनँ पनि र जान्ने कोसिस नि गरिनँ।
त्यसपछि म उसको कुरा सुन्थेँ। सायद ५ देखि १० मिनेटको लागि। त्यतिन्जेलसम्म मात्र मलाई उसको मेसेज क्युट र मायालु लाग्थ्यो। त्यसपछि म्याद सकिन्थ्यो र मलाई फेरि झ्याउ लाग्थ्यो। उसको कुरा पूरा होस् या नहोस्, म बाई भनिहाल्थेँ।
तर नि उसको दिनहुँ मेसेज आउँथ्यो। ऊ मसँग बोल्न खोज्थ्यो।
‘रश्मि, तिमी त मलाई निकै राम्री लाग्छ्यौ। तिमी मनिर हुँदा मलाई शान्ति महसुस हुन्छ।’
‘वाउ रशु, नाइस ड्रेस’ ऊ मेरो हरेक अन्दाजमा तारिफ गर्न भ्याउँथ्यो। अनि त्यो तारिफले म खुसी हुन्थेँ।
तर उसको खुसी?
मैले पर्बाह गरिनँ।
‘रश्मि, आज भेटम् न! मलाई निकै गाह्रो भइरहेको छ। धेरै कुरा गर्न छ तर यहाँ एउटा साथी नि भएन।’
अनि उसलाई म अपोइन्टमेन्ट दिन्थेँ या त बहाना बनाउँथेँ।
‘आज फ्री छैन।’
‘आज अफिसमा ढिलैसम्म काम छ।’
‘भ्याउन्नँ होला म।’
उसको दिनदिनै मेसेज आउँथ्यो र एउटै प्रश्न हुन्थ्यो!
‘ आज?’
मेरो नाइँ हुन्थ्यो र दयालु भावमा एक दिन उसलाई भेट्थेँ।
मायालु होइन है!
ऊ अफिसदेखि लिएर निजी जीवनसम्मको कुरा मनिर पोख्न भ्याउँथ्यो। म सुनेर बस्थेँ। केही जवाफ फर्काउँदैनथेँ। बरु उल्टै ‘एकछिन अझै बसम् न है’ भन्ने गर्थ्यो।
उसको प्रेम थियो त्यो। उसको प्रेम मलाई नि थाहा थियो तर उसले कहिल्यै आफ्नो प्रेम जाहेर गरेन। उसको हाउभाउमा भने म आफ्नो लागि निकै प्रेम देख्थेँ।
के उसले आफ्नो प्रेम देखाउन खोज्थ्यो र?
अहँ! मलाई थाहा छैन त्यो।
तर उसको हेराइ, बोलाइ र मप्रतिको व्यवहारले सबै कुरा स्पष्ट हुन्थ्यो। सायद यही नै उसको ठुलो कमजोरी हुन पुग्यो।
‘कफी डेट?’
‘हुन्छ, जाऔँला नि’ यो मेसेज रिप्लाई गरेको दिन पक्कै मेरो मुड राम्रो होला नत्र उसको मेसेज इगनोर गर्न म निकै सिपालु थिएँ। मानौँ उसको हरेक शब्द नकार्न मसँग एउटा न एउटा बहाना हाजिर हुन्थ्यो।
मैले हुन्छ त भनेँ तर कहिले?
त्यसपछि पनि उसले तीन पटक सोध्यो। मैले आनाकानी गरेँ। ऊ थाक्यो पनि होला। उसले कफी डेटको कुरा निकालेन।
उसको मन खिन्न भयो अनि मेरो टाउको दुखाइ कम।
म उसलाई सक्दो इगनोर गर्थेँ। पूर्ण तरिकाले कहिल्यै गरिनँ।
उसले ममा केही आशा देख्थ्यो कि? म केही आशा पलाउन दिन्थेँ कि?
आशा पलाउँथ्यो नि होला। किनभने म बोल्थेँ ऊसँग, मलाई मन लागेको बेला।
मेरो मुड अन भएको बेला।
मलाई आफ्नो तारिफ सुन्न मन लागेको बेला।
म, मेरो मन, मेरो खुसी, मेरो मुड!
तर उसको नि?
खै, मैले मतलब नै गरिनँ।
‘आज भेटम् न’ मैले उसलाई मेसेज गरेँ।
‘के भयो? ठिक छौ नि? हुन्छ। कहाँ आउँ म?’ उताबाट बिना कुनै ढिलाइ यति रिप्लाई आउँथ्यो।
इगनोर गरे नि, जति नै मन खिन्न भए नि, जति नै रिस उठे नि, ऊ सधैँ मेरोसामु हँसिलो मुहार लिएर आउँथ्यो। अझ ‘के छ खबर?’
‘हाउ वाज योर डे?’ हाँस्दै प्रश्न गर्थ्यो।
म बरु अचम्मित हुन्थेँ। होइन, यतिसम्म हुँदा नि ऊ मेरो अगाडि हाँस्दै त आउन नपर्ने।
मैले बुझ्नमा ढिलाइ गरेँ तर त्यो त उसको प्रेम थियो। त्यस्तो प्रेम त म नि गर्न सक्दिनँ होला तर नि उसको प्रेम सफल भएन।
उसले अन्तिम पटक मलाई भेट्ने इच्छा व्यक्त गर्यो।
‘भोलि’ यति मात्र जवाफ फर्काएँ।
तर त्यो भोलि कहिल्यै आएन। केही दिनपछि उसको सरुवा भयो। कारण मलाई थाहा भएन। अफिसको अन्तिम दिनमा नि हाम्रो नजर जुध्यो तर केही बोलेनौँ।
‘कहीँ ऊ त्यो भोलिको प्रतीक्षामा त थिएन नि?’ त्यो दिन मेरो मनमा यही प्रश्नले जरो गाडेको थियो।
खैर! वचन त थियो। ऊ त्यहाँबाट निस्केपछि केही न केही।
ऊ गएको केही दिनमा उसको अन्तिम मेसेज आयो। हिन्दी गीतको रिल थियो।
‘तड्पाए मुझे सभी तेरी बाते, एक बार ऐ दिवानी झुठा हि सही प्यार तो कर!
मे भुला नहीँ हँसी मुलाकाते, बेचैन करके मुझ्को मुझ्से ना युँ फेर नजर
रुठेगा ना मुझ्से मेरे साथिया ए वादा कर, तेरे बिना मुस्किल है जिना मेरा मेरे दिलवर!’
ओहो! उसको सम्झनाको सागरमा पौडिन पुगिछु। तर मैले त्यही सागरमा उसलाई पटक-पटक डुबाएँ। कहिले मेरा यी दुई हातले, कहिले बोलीले त कहिले मौनताले।
‘ए साँच्ची मान्छे डुबेर बाँच्छन् र?’