कविता
हजारौं अवरोध माझ पनि
अघि बढ्ने ती पाईलाहरू
अनगिन्ती अपमानहरू झेल्दै
शीर उठाइ हिँड्ने
ती अदम्य साहसहरू
उनलाई भन्छन्,
तिमी नारी हौ, सृष्टि हौ,
आमा हौ, जननी हौ।
नमाग आफ्नो पहिचान अरूसँग
तिमी आफैमा एक पहिचान हौ।
तिम्ले चढेका सिँढीहरू
तिमी गाडिएका धापहरू
ती तिम्रा हुन्, नितान्त तिम्रा।
तिम्ले कुल्चेका धुलाहरू
तिम्लाई बिझेका काँडाहरू
ती तिम्रा संघर्षका गाथा हुन्, केबल तिम्रा।
तिम्ले उठाएका भारीहरू
केबल तिम्रा थकान हुन्।
तिम्ले सोरेका गोबरहरू
केबल तिम्रा हत्केलाका बेदना हुन्।
त्यसैले त,
तिम्रा विश्वासहरू भन्छन्,
तिम्ले देखेको विश्व
तिम्ले चिनेको विश्व
अनि तिम्ले आफ्नो मानेको विश्व
सबैसँग सावधान रहनू।
सतर्क रहनू।
किनकि,
यो त्यही विश्व हो
जसले तिम्रा पसिनाहरू
तिमी बुँध बुँध भई
झरेको देखेको छ।
तिम्रा विश्वासहरू
टुक्रा टुक्रा भई चुँडिएको देखेको छ।
अनि तिम्रो सतित्व पत्र पत्र भई
उप्किएको देखेको छ।
तिम्लाई अधिकार दिने नाममा
कोही तिम्रा ओंठहरू सिलाउँछन्।
तिम्लाई स्वतन्त्रता मार्ग देखाउँदै
कोही खुट्टामा जंजिर भिडाउँछन्।
कसैले मूल्य तोक्दै बेचे पनि
कसैले मूल्यहीन बनाई फ्याँके पनि,
अर्थ विहीन छैनन् तिम्रा श्रमहरू
तिमी परिश्रमको धरातल हौ।
बेमूल्य छैनन् तिम्रा योगदानहरू
तिमी आफैमा एक अमूल्य रत्न हौ।
त्यसैले त
तिम्रा बलवान मनोबलहरू
तिम्लाई भन्ने गर्छन्,
तिमी जीवनदाता हौ।
तिमी जीवन संगीनी हौ।
तिमी पवित्र कुमारी हौ।
तिमी उग्र चण्डी देवी हौ।
नठान निर्बल आफूलाई
तिमी आफैमा एक सहारा हौ।
तिमी सपना हौ, तिमी कल्पना हौ।
तिमी उमंग हौ, तिमी उत्साह हौ।
तिमी राप हौ, तिमी ताप हौ।
तिमी आँधी हौ, तिमी तुफान हौ।
प्रकृतिका हर रूप हौ तिमी।
कसैले कोर्न पर्दैन तिम्रो भूगोल
तिमी आफै एक विशाल धर्ती हौ।
नखोज आफ्नो पहिचान अरूमा
तिमी आफैमा एक पहिचान हौ।
तिमी एक नारी हौ।