आफ्नो उमेरले नेटो काटिसकेको थियो। पैंतिस वर्ष टुप्लुक्क पुग्दै गर्दा सरकारी सेवामा छिर्ने जाँगर चलेको थियो। मन त ऊ बेलामा पनि थियो तर परिस्थितिले दिएन भनौं। प्लस टु पास गरेर कोरिया हिँडेको म विभिन्न अवरोहमा मिसिँदै ठ्याक्कै तेह्र वर्षपछि परीक्षामा सामेल भएको थिएँ।
अन्तर्वार्ताको दिन थियो, नयनमा सकस अनि शरीरमा डर यथेष्ट थियो। खरिदार पदको लिखितमा उत्तीर्ण हुँदा भएका खुसी मनहरू पनि पन्ध्र दिन भर टाइपिङ सिक्दासिक्दै सेलाइसकेका थिए।
लोक सेवा आयोगको कार्यालय पुग्दा त मुटु नै सारंगीले रेटिएकोझैं अनुभूति भयो जब देखेँ भर्खरका भाइ-बहिनीहरू जो नवजोसका साथ आएका थिए। म त्यो उमेरमा कहाँ थिएँ भनेर आफैलाई प्रश्न गर्न मन लाग्यो।
अल्फाबेट अनुसार सुरूमा पालो मेरै थियो। के सोध्ने हुन्? कहाँबाट सोध्ने हुन्? जस्ता प्रश्नहरूले नै आफ्ना अघि बढेका पाइलाहरू बोझपूर्ण लाग्थे। जसोतसो ढोकाभित्र छिरेँ। ढोका बाहिर टाँगिएको पदनाम केही हेरिनँ। भित्र पुग्दा 'अच्युत जी बस्नुस्' भनेर भनिएको आवाज र टेबुलमा रहेको पदनाम (सुलोचना ढकाल, उपसचिव) केही मिल्दो झुल्दो पाएँ। जब आफ्नो अन्तर्वार्ता लिने व्यक्तिका रूपमा देखेँ मैले उनलाई जो मेरी पूर्वप्रेमिका थिइन् त्यसपछि लगाएका टाइहरूले घाँटी कस्न थाले अनि निस्किएन कुनै आवाज। लगाएको बेल्टले शरीर कस्सियो अनि ढुंगाजस्तै भएँ म। मभित्रको बाँकी मन पनि जाँतोमा पिसिँदै पिसिँदै इत्रो भयो। मानौं सुलोचना एउटा चंगा थिइन् र म धागो। उ माथिमाथि पुगिन् र म तल कतै लत्रिरहें। आज धागोले चुँडिएर पर पुगेको चंगालाई समिपमा पायो।यत्ति न हो।
म अक्क न वक्क भइरहेको थिएँ। उनी 'आफ्नो परिचय दिनुस् अच्युत जी' भनिरहेकी थिइन्। म भने फ्लास ब्याकमा पुगिसकेको थिएँ।
सपना र गरिबीलाई गोलाप्रथा गर्दा सपनाले बाजी मारेपछि, गाउँबाट एसएलसी सिध्याएर प्लस टु पढ्न काठमाडौं झरेको थिएँ म। गाउँको स्कुल त टप नै गरेको थिएँ र त साइन्स नै पढ्ने जोस जाँगर उत्रिएर आएको थियो भनौं। बागबजारस्थित एउटा कलेजमा भर्ना गरेँ। उस्तै महँगो फि अनि पढ्न चाहनेहरूको ताँती देखेर म छक्क परेको थिएँ। रत्नपार्कको आकासे पुलमा बसेर भर्ना गरेको दिन ओहोरदोहोर गरेका गाडीहरू मैले हेरिबसेको थिएँ। त्यही दिन बदाम खाँदै रत्नपार्कभित्र चटकेको चटक पनि हेरेको थिएँ।
केही दिन गाउँकै तल्लाघरे दाइको डेरामा शरण लिएपछि बानियाँटारतिर मैले कोठा खोजेँ। साधारण सोचको साधारण केटो म, खासै कुनै ठूलो लक्ष्य थिएन, पढाइ सक्नु र जागिर खानुबाहेक। बाआमालाई राम्ररी पाल्ने, भाइलाई पढाउने धोको पनि थियो। कोठा त लिइयो तर कोठा भरिने सामान नै थिएन। किचन टेबल, ग्यास चुलो, भाँडाकुँडा, खाट र सानो दराजबाहेक कोठामा केही थिएन। तर थिए केही सपनाहरू र गाउँका यादहरू।
आमाले पठाइदिनुभाको घिउका सिसीहरू, गुन्द्रुक भट्ट, सुकाको साग, लसुन, चामल अनि कुचो र थर्की। बाले पठाउनुभाको आफ्नो थोत्रो कोट, ढाकाटोपी र केही पैसा। भाइले पठाएको आफैले बजाउँदै गरेको प्रिय बाँसुरी। यी सब कुराहरू कोठामा हुँदा एउटा चौतारीको शितल छहारीमा नै बसेझैं हुन्थ्यो।
कलेज जान थालेको १०-१५ दिन भएको थियो। सरकारी स्कुल पढेर आएको म, खासै पढाएको कुरा राम्ररी बुझ्न सकेको थिइनँ। त्यसैले क्लासतर्फ ध्यान नै दिन मन लाग्दैन्थ्यो। बाहिर बाहिर मन जान्थ्यो। सहरका रंगीविरंगीमा मन तानिन्थ्यो। साथीहरू पनि उस्तै उस्तै थिए। कहिलेकाहीँ त हिँडेरै कोठासम्म पुगिन्थ्यो। सहर कति धेरै झिलिमिली हुने रैछ, भन्ठानेर म हेरिबस्थेँ पनि।
लगभग एक महिना भएको थियो कलेज जान थालेको। एकदिन म घरको गेट खोलेर बाहिर निस्कँदै गर्दा अर्को कोही केटी मेरै कलेजको ड्रेस लगाएर उही घरको गेट खोलेर आए जस्तो मानेँ। अनि यसो फर्किएर हेरेँ। नभन्दै रैछ। अझ तिनी त घरबेटीको छोरी पो रैछिन्। एकचोटि छतमा लुगा सुकाउन जाँदा देखादेख भए पनि बोलचाल भएको थिएन।
म अलि सुस्तो सुस्तो हिँडेँ। उनले मलाई भेट्टाइन्। मसँगै हिँड्छिन् कि अगाडि जान्छिन् भन्नेमा ठूलो दुविधा थियो। धन्न उनी मेरै गोडाकै चालमा चाल मिलाएर बिस्तारै हिँड्न थालिन्। म पनि के कम अनि त बोल्न सुरू गरी हालेँ।
'तिमी पनि यही कलेज पढ्छौ?'
'हो नि, मैले तिम्लाई अस्ति क्यान्टिनमा देखेथेँ'
'किन नबोलेको त?'
'लाज लाएर नि' भनेर उनी हाँसिन्।
म पनि खित्का छोडेर हाँसें।
हामी एउटै ब्याचमेट रैछौं। सेक्सन मात्र फरक। अब जाँदा आउँदा हामीसँगै हुने भयौं। गेटबाट निस्किँदा सँगै ननिस्किए पनि गाडी कुर्दा सँगै हुने भयौं। सिट ओगटेर राख्दिने भयौं।
विस्तारै विस्तारै हामी धेरै नजिकियौं।
उनी पढ्नमा निकै ट्यालेन्ट थिइन्। राम्री पनि उस्तै। सरहरू उनलाई 'ब्युटी विथ ब्रेन' भनेर प्रशंसा गर्थे अरे क्लासमा। मसँग हिँड्दा बोल्दा खुलेर बोल्थिन्। नबुझेको कुराहरू सिकाउन खोज्थिन्। म भने अलि लजालु र इन्ट्रोभर्ट थिएँ। आउँदो वर्षमा स्कलरसिप पाउन राम्रो अंक ल्याउने भन्दै उनी सधैं पढेको देख्थेँ घरमा।
म भने खासै पढाइमा मन लगाउनै सकेको थिइनँ। एक त आफूभन्दा अरू धेरै जान्ने भएर हतोत्साहित पनि भएको थिएँ अर्को कुरा सहरको वातावरणमा बल्लतल्ल भिज्दै थिएँ। कोर्सको किताब त बुझ्न नसक्ने म, यो सहरिया लभ कसरी बुझुँला सहुँला? सोचिबस्थेँ। फेरि मुसुमुसु हाँस्दै, 'मायालुको सहरमा मेरो गाउँमा घर छ' बोलको गीत सुन्दै पुलकित हुन्थेँ। घरबेटीकै छोरीसँग लभ परेका धेरै सफल किस्साहरू सुनेरै सपना देखिबस्थेँ।
एकदिन हामी घुम्न गोदावरी जाने भयौं। उनले स्कुटी चलाइन् म पछाडि बसेँ। आज पर्पोज गर्ने कि नगर्ने कन्फ्युज्ड हुँदाहुँदै गोदावरी पुगियो। एकछेउमा छेको परेर बस्यौं हामी। उनको अनुहार गमेर हेरेँ। डाँडामा ढकमक्कै लाली गुराँस फुलेजस्तै देखिन्थिइन्। मनका कुरा ओकल्न चाहन्थेँ। तर उनको सुन्दरताको अघि धेरैबेर चुप नै बसेँ। त्यहाँ जबरजस्तीको कुरा थिएन, हामी फ्रेन्डबाट ब्वाइफ्रेन्ड गर्लफ्रेन्ड हुन खोजिरहेका थियौं। त्यति हो हामी आधा आधा मै अड्किएका थियौं।
मेरो लजालु स्वभावले गर्दा नै होला उनैले अग्रसरता लिँदै, कानेखुसी शैलीमा मनिरै आएर भनिन् 'आई लभ यू'। म आश्चर्य जनाउँदै! 'ओ माई गड! आई लभ यू टु।' भनेँ।
त्यसपछि हामीले धेरैबेर अंकमाल गर्यौं। हलचल नगरी। लाग्दै थियो एउटा प्रेमिल जोडी कुँदिएर मूर्ति जस्तै राखिएको छ गोदावरीमा।
त्यसपछि एकछिन एकअर्कालाई बैंसको काउकुती लगाउँदै चल्यौं पनि।
प्रेम साह्रै ज्याद्रो हुँदो रहेछ। उसै त फिजिक्स केमेस्ट्री पढ्न नसकिरहेको म, प्रेममा परेपछि झन् मन लाग्नै छोड्यो। ११ को परीक्षा त जसोतसो कटाएको थिएँ अब १२ को चाहिँ परीक्षाको अन्तिम घडीमा कस्सिएर पढ्ने छु भन्दै आफैलाई हौसला दिइरहेको थिएँ। तर ठ्याक्कै परीक्षा आउन एक हप्ताअघि बुवा बिरामी भएर काठमाडौं आउनुभयो। पाँच छ दिनको अस्पताल बसाइँले म थकित थिएँ। पढेका कुराहरू पनि भुलिसकेको थिएँ। पहिलो विषयको परीक्षाको अघिल्लो दिन, बुवालाई घर पठाएर म कोठामा फर्किएर पढ्न खोजेँ। भोकले लखेट्यो। बेलुकाकै झुठो भाँडा माझेर पानी भर्दा सम्म थकाइ लाग्यो, अनि त एक छिन सुतम् सुतम् लाग्यो। परीक्षा दिने मन नै मरेर गयो। तै पनि बिहान उठेर लागेँ परीक्षा केन्द्रतर्फ।
केही महिनापछि, रिजल्ट आएको दिन त म छाँगाबाट नै खसेँ। म १ विषयमा फेल भएँ, यसमा मलाई खासै दुखेसो थिएन तर उनले कलेज नै टप गरिछिन् त्यसले एक प्रकारको सानो खुसीसँगै असह्य पीडा लिएर आयो। तर मलाई उनको आडभरोसाले छोएन, त्यसबखत नै मनका सबै बोझहरू बिसाएर छुट्टै बाटो हिँड्ने चाहा भयो।
केही दिनको अन्तरालमा नै मैले कोठा अन्तै खोजेँ र डेरा सरेँ। उनीसँग सम्बन्धित सबै नेटवर्कबाट आउट भएँ। उनले भेटौं भनेर गरेका अनेकौं प्रयासहरूलाई मैले आफ्नो हठका कारण इन्कार गरेँ।यो गन्तव्यविहीन प्रेमकै कारणले उनले वर्षौं मेहनत गरेर पाएको प्राप्तिमा, म मेरो गरिबी र असक्षमताको दाग लगाउन चाहन्नथेँ। रोमियो जुलियट र लैला मजनु जस्तै हामी छुट्टियौं। १२ को मौका परीक्षा उत्तीर्ण भएपश्चात कोरियाको भाषा परीक्षा दिएर म परदेशिएँ।
जब अन्य अन्तर्वार्ताकारहरूले गिलासको पानी खान आग्रह गरे म गहिरो निद्राबाट बिउँझिएँ जस्तै भएँ। सुलोचनाले खासै केही सोधिनन्, उनी पनि मिहीन अर्थ लाग्ने बिछोडको अन्तरामा अल्झिएझैं देखिन्थिन्।
'तपाईं यति लामो कोरिया बसाइँपश्चात् पनि निजामती सेवामा छिर्ने आँट कसरी गर्नु भयो? किन फर्किएर आउनु भयो?' जस्ता प्रश्नहरू ओइरिरहेँ। म पैसाले अघाएँ र मलाई सम्मान प्रतिष्ठाको भोक जाग्यो भनेर मैले भन्न सकिनँ। र त भनेँ, 'इच्छाहरू भुस जस्तै सल्किए होलान्, सफलताहरूले बाटो छेके होलान् र पीडै पीडाहरू उनेर बनाएको माला पहिरिएर, संघर्षको मैदानमा देशभक्तिको कथा रच्न मन लाग्यो होला र त आएँ।'
अन्तिममा सुलोचनाले प्रश्न राखिन्, 'के तपाईं उत्तीर्ण हुन सक्नुभएन भने फेरि परदेश जानुहुन्छ? देश प्रतिको प्रेमलाई तपाईं सानो परीक्षासँग दाँजेर निर्णय गर्नुहुन्छ कि नाइँ?'
यसको उत्तर मैले दिनै सकिनँ।
मेरो नाम एक नम्बरमा नै निस्किएपछि एउटा नचिनेको नम्बरबाट म्यासेज आयो।
'बधाई छ तिमीलाई। यस्तो लागिरहेछ हामी अर्कै जन्ममा भेटिरहेका छौं। समयहरू फेरि एकपटक दोहोरिएका छन्। मेरो मनको भित्तामा धेरैबेर टाँसिएको तिमी एकाएक गायब हुँदा केही गुमाएझैं बाँचें जिन्दगी। मेहनतले अधिकृत हुँदै उपसचिवसम्म पुगें। बिहे पनि गरें, छोरीको ममतामयी आमा पनि भएँ। तर तिम्ले ओगटेको त्यो भित्तो अपूर्ण थियो, तिम्लाई देख्न र सुन्न पाउँदा पूर्ण जस्तै भएँ।
उही तिम्रो हुन नपाएकी- सुलोचना।'
मैले रिप्लाई गरें, 'तिम्ले सोधेकी थियौ नि परीक्षामा, कि म कतै फेरि परीक्षाबाट भागेर नै पो हिँड्छु कि भनेर। म भित्रको डरले अब जति नै ढकढक्याओस् चिच्याओस् अब म भाग्ने छैन। त्यति बेला मबाट गल्ती भयो सुलोचना। कुनै दिन तिमी हाकिम र म सहायक कर्मचारी बनेर एउटै अफिसमा रहौंला। त्यतिबेला साथी सम्झिएर माफ गरिदिनु,ओइलाउन सक्छु म कतै दुबोझैं पानी छर्किदिनु।निलोपना गायब भएर पहिचान विहीन थियो म भित्रको आकाश। तिमीसँगको भेटले उज्यालिएको छ।'