हामी छुट्टिएर ठिकै भयो। खासै फरक परेन किनकि तिमीले मभन्दा काबिल सहयात्री भेट्टाइछ्यौ। तिमी जेमा खुसी भयौ, म पनि त्यसैमा खुसी हुन तयार भएँ। भाग्यमा लेखेको थिएन होला। त्यही भाग्यको परिभाषा पढेर आफूलाई सम्हालेँ।
जिन्दगीको यात्रामा केही समय सहकार्य गर्ने अवसर मिल्यो। शरीर दुई वटा भए पनि भावना र सपनाहरू एउटै थिए। त्यसका लागि तिमी जिन्दगीभर धन्यवादको पात्र बन्ने छ्यौ।
यादहरू अजर र अमर हुन्छन् होला। यही कुरा प्रेमको पुस्तकालयमा पढेको थिएँ।
सपना क्षितिजसम्मको थियो। प्रेमको सुन्दर घरको ओतमा जिन्दगीको कुइनाटाहरू पार गर्नु थियो। तर तिमी पहिलो पाइलोमै अलग्गियौ। सँगै जीवन काटौँला भनेको थिएँ। समय परिस्थितिअनुसार हाम्रा ती सपनाहरू केवल सपनाहरू मात्र रहे।
सम्झना आउँछ। यादहरू मनमा डुल्छन्। कहिलेकाहीँ त आफै छटपटाउँछु। अनि झसंग हुँदै भाग्यको ऐना हेरेर आफ्नै मनलाई आफै शान्त बनाउन खोज्छु। फेरि पनि सम्झिन्छु, ती दिनहरू कति रमाइला थिए भनेर। तिमीसँग बिताएका पलहरू। अविस्मरणीय पलहरू बने ती क्षणहरू जिन्दगीमा।
साँच्चै अब यस्ता अविस्मरणीय पलहरू मेरा जीवनमा आउँदैनन् होला। हामीले अनुभव गरेका पलहरूभन्दा पनि अझै सुन्दर बनाउनु है अबका आउँदा दिनहरूमा तिमी। अब कहिल्यै नभत्काउनु है प्रेमका महलहरू।
काँडै भए पनि गुलाब सधैँ गुलाब नै हुन्छ। एकछिन काँडाले घोचे पनि मानिसहरू गुलाबकै सुन्दरताका अगाडि तिखो काँडालाई बिर्सिदिन्छन्। हो, तिमी पनि त्यही गुलाब जस्तै मुस्कुराउनु, दुनियाँका अघि वासना छरेर सबैलाई लोभ्याउनु। तर साँचो प्रेमको सुन्दर घर कहिल्यै नभत्काउनु।
हाम्रो पहिलो भेट! त्यो अनौठो, आश्चर्य र बिर्सन नसकिने। त्यो क्षण, त्यो मौसम अनि परिवेश। प्रकृतिले पनि लजाए झैँ लाग्ने। तिम्रो उपस्थिति अनि मेरा सामीप्यका ती क्षणहरू बारबार बौराइरहन्छन् मनलाई।
अनि आज पनि म स्मरण गरिरहन्छु ती पहिलो भेटका शब्दहरू अनि तिम्रो त्यो मधुर आवाज। त्यो पहिलो हाँसो, त्यो पहिलो मुस्कान। हामीले एकअर्कासँग बिताएका ती चार वर्षका हर क्षणहरू। हरेक ऋतुहरू चक्कर लगाउँथे तर कुनै पनि दिन छोटा थिएनन्। ती क्षणहरू ब्रह्माण्डको ध्वनि जस्तै गुन्जिरहेका हुन्थे।
ती सम्झनाहरू आज पनि मेरो आँखामा झल्किन्छन्। ज्वारभाटा झैँ हृदयमा तुफानी ल्याइदिन्छन्। केही मिठा कसमहरू। केही मिठा बातहरू। साथमा भएका अद्भुत यात्राहरू। सँगै हिँड्दा, डाँडा-पाखाहरूमा दुई शरीरको एकै पाइला जस्तै थिए, ती पाइलाहरू चाल्दा अनि एकअर्कामा हामीले गरेका प्रणहरूले साँच्चिकै हाम्रो सम्बन्धलाई निकै बलियो बनाएको थियो। यति बलियो लाग्थ्यो कि अजम्मरी हुने छ। संसारकै सुरवीरहरूका पराक्रमले पनि डगमगाउन आँट गर्ने छैन।
हामीले सँगै बिताएका स्मरणीय ती पलहरू। केही पल भरका लागि मात्रै थिएनन्। सँगै जिउने र सँगै मर्ने सङ्कल्पका लागि कोरिएका अलिखित धारा र दफाहरू थिए। त्यही भएरै हाम्रो प्रेम महान् लाग्थ्यो।
सामान्य मित्रता मात्रै हुन्थ्यो भने मैले बिछोडलाई पनि सहजै लिन्थेँ हाला। तर प्रेम यति गहिरो थियो कि, एकले अर्कामा अलग हुने कुरा त सोच्न पनि म सक्दिन थिएँ। प्रेम थियो र त हामीले एकअर्कालाई त्यति सहजसँग स्विकार्न सक्यौँ। हामी एकअर्काका मित्र, साथी र जीवनका हरेक उतारचढावका साक्षी थियौँ।
हाम्रो प्रेम केवल शब्दको रेखामा मात्रै कोरिएको थिएन। हृदयका पत्रपत्रमा, शिलामा मूर्ति कुदिएँ झैँ थियो। ती हरेक हाम्रा अनुभवमा जीवन्त थियो। ती दिनहरू त्यति सरल र मिठा थिए जुन पलहरू कहिल्यै बिर्सन सकिँदैन। अजर र अमर भएर कुदिएका यादहरू।
सम्बन्धको प्रारम्भ रमाइलो र हर्षको हुन्छ। तर जस्तो–जस्तो समय बित्दछ, केही न केही समस्याहरू यात्रा भित्र प्रवेश गर्छ। हामीले आफूलाई अनगिन्ती समयमा पर्ख्यौँ एकअर्कालाई बुझ्नको लागि। प्रेम बुझ्न सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको विश्वास र इमानदारी हो। हामी यो दुःखद मोडमा पुगेपछि बुझ्न थालेका थियौँ कि हामीले एकअर्कासँग गरेका विश्वासका प्रतिज्ञाहरू अब पूरा सायद गर्न सक्दैनौँ होला।
सम्भवतः यो एउटा अनिवार्य बिछोड हो। जसले हामीलाई साँचो मायाको अर्थ सिकाउँछ। हाम्रो सम्बन्धको प्रत्येक चासो र प्रयत्न अब समयसँग सम्झनामा परिवर्तित भएको छ। समयको साथ हाम्रो भावनाहरू अलिअलि बदलिन थाले र ती परिवर्तनको कारण हाम्रो जीवनको धारा पनि बदलियो।
हामी बिचको त्यो प्रेम एक दिन समाप्त भइहाल्छ भन्ने कहिल्यै सोच्न सक्दैनथ्यौँ। त्यसैले यो साँचो सत्यसँग जुध्न भनेको आफ्नो चित्तलाई सहज बनाउनु हो। अब त्यही प्रेमका सन्देशहरूले मात्र मेरो मनमा चोट पुर्याउँछन्। ती तस्बिरहरू चलचित्रका पर्दामा देखाइएका जस्ता दृश्यहरू भए। ती कुरा, ती बचनहरू अब अतीतको पानामा मात्रै स्मरणका रूपमा जीवित छन् र हुनेछन्।
आज हामी बिचको सम्बन्ध एक चुँडिएको स्वप्न जस्तो बनिसकेको छ। हाम्रा विचार, हाम्रा संवेदनाहरू, अब अलि अलग छन्।
तैपनि यथार्थ यही हो। जीवनमा प्रत्येक मिलनको एउटा बिछोडको मोड पनि हुँदो रहेछ। हरेक सम्बन्धको एउटा किनारा पनि हुँदो रहेछ। नदी जति समुद्र पुग्न हतार गरे पनि आफ्नै साक्षी किनारालाई छोडे जस्तै हुँदो रहेछ प्रेमको यात्रा पनि। नदीले अंकमाल गरेको आफ्नै किनारालाई एक्ले छोडेर समुद्र भेट्न गए झैँ तिमी पनि मबाट दूर हुँदै गयो।
अब यी कुराहरू अतीतका कहानीमै सम्झनेछौँ र फेरि भविष्यमा हामी दुईको मार्गका थप नयाँ यथार्थहरूको सामना गर्नेछौँ।
के हामी यसरी छुट्टिने भनेर आफ्नो प्रेमको मोल नलाग्ने कुरा बुझ्ने थियौँ?
के हामी यो असफलता स्विकार्न तयार थियौँ?
यस्ता अनेकन् प्रश्नहरूले मेरो मस्तिष्कलाई घोलिन्छन्। यद्यपि हरेक स्थिति, हरेक मोडले हामीसँग आफ्नो साहस र हिम्मतको साथ जीवनलाई अझ नयाँ ढंगले अगाडि बढाउनुको विकल्प त छैन। तैपनि अतीतका योजना र सपनाहरूका पानाहरू बेलाबेला पल्टिन थाल्छन् अनि म आफै भावुक बन्छु। तैपनि अन्तिममा प्रेमको परिभाषा यही नै हो भन्ने ठानेर आफैले आफैलाई सम्हाल्छु।
अन्तमा एउटा कुरा भने निश्चित छ। हाम्रा सम्झनाहरू, हाम्रा अनुभवहरू र हाम्रा मायाका पलहरू कहिल्यै मेटिने छैनन्। यिनीहरू अजर र अमर बन्नेछन्, यादका पुस्तकालयमा सजिनेछन्। अनि पलपलमा झस्काउनेछन्। यद्यपि हामी अब एउटै यात्रा तय नगरे पनि मेरो मनमा ती सबैसँगै भएका क्षणहरू जिन्दगीभर रहिरहनेछन्।
तिमीसँग बिताएका ती चार वर्षको प्रेम, ती अभूतपूर्व, अविस्मरणीय र अनमोल क्षणहरूका लागि तिमीप्रति म सधैँ आभारी छु र रहनेछु।
मलाई झैँ सम्झना तिमीलाई पनि आउँछ होला। आएर पनि के गर्नु? गुमाएपछि अब बिर्सिनू यस्ता कुराहरू। भेट्दा हाँसेर बोलिदिनू। नचिनेको झैँ नगर्नू, असल मित्रको रूपमा अर्थ्याउनू। जहाँ भए पनि जस्तो अवस्थामा भए पनि प्रेमको महल ढले पनि मित्रताको महल सधैँ बाँचिरहोस्।
जिन्दगीको नयाँ सहयात्रा सधैँ खुसी उमंगको बहार बनोस्। तिमी सधैँ खुसी भएको खबर पाऊँ, तिमी रमाएको सुन्न पाऊँ र देख्न पाऊँ। सफल दाम्पत्य जीवनको अनमोल शुभकामना।