मैले आमाको गर्वबाट चुँडिएर
आमाकै काखबाट नियालेर
उनकै काखमा लडिबुडी खेल्दै
उनकै मार्गनिर्देश र इच्छा
बमोजिम ठुलो हुन खोजेँ
एक दिन आमाले भनेको
मानेर ठुलो हुँदा
मेरो वरपर आमा हुँदिनन्
मात्र उनी आउँछिन् मलाई
भेट्न पाहुना बनेर
म उनी भएको ठाउँमा पुग्छु
पाहुना बनेर
नियाल्छु एकै सेकेन्ड, मिनेट र घण्टा
हुँदै सकिन्छ मेरो समय उनीसँग बस्न पाउने
कुटुक्क खान्छ मन
भावविह्वल हुन्छ मस्तिष्क
बोझिलो हुन्छ धर्ती
लोलाउँछन् आँखा
अनि मात्र उनी देख्छिन् मलाई
जबरजस्तीको यो दुनियाँमा
उनैले ठुलो हुने सपना देखाएर
हारेको हो कि जितेको हो खै?
जे भए पनि
उनको सपना पूरा भयो र मेरो सबै
सपना खण्डित भयो
मन जीवन र सोच खल्लो भयो
नयाँ-नयाँ बाटोमा आउने जानेहरू
ठोकिँदै छुटिँदै गर्दा हरेकसँग
मन जोडिन पनि डरायो
किनकि अगाध मायाले
दिने आखिर अन्त्य नै हो चाहे
परिवर्तन बनेर होस् वा
चाहे समयको ज्वारभाटा
जे-जे नाम दिए पनि यदि
आफ्नो कोही मानिन्छ भने
समयले छुट्टाउनलाई
प्रत्येक प्रहरमा घटना बुनेकै हुने रहेछ
नत्र,
प्यारी आमालाई सिँगार्ने
सपना देख्ने मलाई
आमा सामु नै अतिथि बन्न
विवश बनाइन्छ
देश सजाउने सपना देखेको
युवालाई त्यही आफ्नो परिचय खोज्न
देश छोड्न बाध्य बनाउने समय झैँ!
अर्को जुनीमा
कङ्गारुको रूपमा जन्म होस् बरु
मरुभूमि नै भए पनि सानोमा
आमाको छालाकै झोलीमा
चढेर कुद्न पाउने
मेला धारा पानी जाँदा
उनलाई पर्खेर रुन नपर्ने
एउटा जस्तो नै भए पनि छोरा
भएर जन्मिन पाऊँ
हजार गाली खाएर पनि
उनको आँखाबाट हट्न नपर्ने
सकी नसकीको यो जीवनको
भागदौडबाट
दुवै मध्ये जो पहिले पुग्छ
ईश्वरले दिएको अन्तिम प्रहरको
सीमा रेखामा
एउटा अर्कोको साक्षी हुन पाउने
आज अनायासै सपनामा
आएर सृष्टिकर्ताले सम्झाउनु भयो
हे मानव,
अनन्त आकाशमा पुग्न र धर्तीमा विलय
गराउनु पूर्वको यो
सानो कोसिस मात्र हो
नत्र एक्कासि सहन सक्छौ र?
एउटै पृथ्वीको धरातलमा रहेर
आफ्नै मुटुको टुक्रा पाहुनामा
रूपान्तरण भएदेखि
यी हारेका आँखाले
एउटा जितको मैदानमा
निस्फिक्री भएर जिउन सुझाव
दिँदै गरेको भेउ पाइन्छ
त्यो हो
हामी र हाम्रो भनिएको
यो स्वप्निल धरातलका निमित्त
हामी पूर्ण रूपमा पाहुना हौँ
मात्र दुई दिनको।