पुस माघको चिसो, दिनमा लागेको त्यो न्यानो घाम नै प्यारो लाग्छ। राति भएपछि ओछ्यान प्यारो लाग्ने रहेछ। २५/२६ को उमेरमा बिहे बारे अनेक थरीका सोच र विचार आउने रहेछन्।
यस्तै सोच्दा सोच्दै आज बिहानदेखि अनेक थरी कुराले मेरो दिमागमा सात फन्का लगाइसकेको थियो। त्यो पनि मण्डपमा बेहुला र बेहुली सात फेरा लगाए जसरी सुस्त र मन्द रूपमा चल्दै तियो। मेरो दिमागले भविष्यको चिन्तन गर्दै बसेको तियो।
मेरो जीवनसाथी कस्ती भेटिन्छे होला? म अब के भविष्यमा एक सफल र आफ्नो लक्ष्य हासिल वा प्राप्त गर्ने एक सक्षम र सफल प्रेमी र उदाहरणीय व्यक्ति बन्न सक्छु होला त? के यो सपनादेखि बिपना बन्न सक्छ कि दोषी मलाई थाहा छैन।
यस्तै यस्तै सोच्दै आजको दिन पनि बित्यो।
रातिको खाना खाएर यसो बिस्तरातिर लागेँ। चिसो महसुस त भएको तियो तर यो मन झनै हिमालभन्दा नि चिसो भएको थियो। बिस्तरा र खुट्टा तातिने त कुनै पनि चाल नै पाएन।
विवाहको लगन नि धमाधम जुरिरहेछन्। जता गए नि बिहेका पञ्चेबाजा र सनही बजेको कानमा गुन्जिन र सुन्न पाइन्छ।
यस्तै यस्तै सोच्दै गर्दा अचानक फेसबुकमा म्यासेज आयो।
म सिङ्गल मान्छेलाई यति राति कसले म्यासेज गरेको होला भनेर यसो मोबाइल हेरिहालेँ। उहीँ मेरी पूर्व प्रेमिकाको म्यासेज आएको रहेछ।
हाम्रो सम्बन्ध टुटेको पनि छ महिना पुग्न लागिसकेको थियो। उसको छ महिनापछि नै आज अचानक म्यासेज आएको थियो।
लेखेकी थिइन्- मेरो मग्नी भयो, यही माघमा मेरो बिहे हुने कुरा छिनफान भयो हाम्रो घरमा। तिम्रो जीवनमा मभन्दा नि राम्री अनि बुझ्ने मान्छेको आगमन हुनेछ। यही हो मेरो तर्फबाट हजुरलाई भन्नु र दिन सक्ने अरू केही शब्द नै छैन।
अनि अन्तिममा लेखेकी थिइन्, ‘यो प्रस्ताव स्वीकारे मैले किनभने घरका मान्छेको अगाडि केही नलाग्ने रहेछ’
झसङ्ग भएँ। के हो, यो कस्तो सम्बन्ध हो?
आजभन्दा तीन वर्ष अगाडि मात्र हामी एउटा कलेजको कार्यक्रममा भेटेका थियौँ। तर त्यो दिन त्यति धेरै बोलेका थिएनौँ। उसलाई भने मेरो नाम थाहा रहेछ। ऊ मभन्दा एक ब्याच सिनियर थिई।
उसलाई देखेपछि उसको नाम-ठेगाना बुझ्न म जिज्ञासु भएको थिएँ।
म म्यासेन्जरको एउटा ग्रुपमा जोडिएको थिएँ। त्यति बेला अलिअलि मैले बोल्ने गरिरहेको हुन्थे। त्यो दिन पनि मैले त्यो ग्रुपमा एउटा पोस्ट टक्राउन पुगे।
लेखेँ- ‘आज म यो चिर परिचित सहरमा पनि एउटा अपरिचित र अनजान भएर बसेको रहेछु। आज मैले एउटी सुन्दर, सभ्य, सुशील स्वभाव भएकी युवतीलाई देखेँ। यो युगमा नि यति राम्रो मान्छे हुन्छन् र! उसलाई देखेदेखि सायद मेरो दिमागमा कुनै फिल्ममा हिरोले हिरोइनलाई भेट्दा जसरी उसको बारेमा गहिरो सोचमा डुब्छ, म पनि त्यसरी नै डुबेको छु। आज एकतर्फी प्रेम भनौँ कि आकर्षण भनौँ मलाई थाहा छैन।’
यति लेखेर मैले म्यासेन्जर बन्द गरेँ। सोच्न थालेँ- होइन कोही यति राम्ररी भगवानले फुर्सदमा बनाएर यो धर्तीमा मेरै लागि पठाएकै हुनु पर्छ। नत्र भने कोही मान्छे कसरी यति राम्ररी हुन सक्छन्। पुरै स्वर्गबाट झरेकी अप्सराभन्दा कम छैन।
उसको हाउभाउ हरेक कुराले मलाई आकर्षण गर्दै तियो। साँच्चै भन्नु पर्दा म पूरै उसको यादमा डुबेको थिएँ।
फेरि फेसबुक खोलेर हेरेँ, केही देखिनँ। अनि त्यो पोस्ट हेरेँ। लब रियाक्टको लर्को थियो। क-कसले गरेको रहेछ भनेर हेरेँ अनि देखेँ केही परिचित अनुहार थिए त केही अपरिचितले गरेका थिए।
सबै अनुहारमा म उसको अनुहार खोज्दै थिएँ तर भेटिनँ। अनि निराश अनुहार बनाएर त्यो ग्रुपदेखि बाहिरिएँ। त्यहाँ अब कहिले नजाने गरेर ग्रुप लिभ गरेँ।
उसको बारेमा सोच्दै टोलाएर के बसेको थिएँ एउटा आइडीबाट म्यासेज रिक्वेस्ट आएको देखेँ त्यो पनि एक घण्टापछि आएको थियो। त्यहाँ प्रोफाइल फोटो मान्छेको नभएर पहाडको अगाडि हातले समातेको विभिन्न थरी फूलको थियो।
म्यासेन्जरमा ‘हजुरले त्यहाँ ग्रुप किन छोड्नु भएको?’ भनेर मलाई प्रश्न गरिएको रहेछ।
मैले प्रोफाइल खोलेर हेर्न खोजेँ तर प्रोफाइल लक थियो।
‘हजुर को हो मैले चिनिनँ नि’ भनेर म्यासेज फर्काएँ।
त्यसको केही समयपछि रिप्लाई आयो- ‘हजुरको परिचित मान्छे तर राम्रोसँग चिन्नु हुन्छ तर अनजान हुनुभएको मात्र हो।’
मैले भने पत्ता लगाउन सकिनँ। भनेँ, ‘हजुर आफै भन्नु न को हो?’
उनले सुप्रिया भनिन्। तर पनि चिनिनँ।
‘हजुरको तस्बिर हेर्न सक्छु?’ मैले भनेँ।
‘तस्बिर किन अनुहार नै हेर्न सक्नु हुन्छ’ भन्दै भिडियो कल आयो।
फोन उठाएँ, अनुहार देखेर म निःशब्द भएँ। अघिसम्म म जसको बारे सोच्दै थिएँ ऊ नै थिई। ऊसँग कसरी बोल्ने? शालीन अनि त्यति राम्री मान्छेको अगाडि म पूरै चुप भएर बसेँ।
‘हजुर किन नबोल्नु भएको? केही बोल्ने कि फोन राख्दिऊँ?’ भनेपछि पो म झसङ्ग भएँ। त्यसपछि बोलेँ, ‘हजुर सन्चै हुनुहुन्छ?’
कुरा गर्दा गर्दै दुई घण्टा बितेको पत्तो पाइएन। यही समयमा हामीले एक अर्काको परिचय धेरै अगाडि बढिसकेको थियो। अन्तिममा सोधिहाली, ‘हजुरले किन छोड्नु भएको त्यो ग्रुप?’
मैले बस यत्तिकै बस्न मन लागेन अनि छोडको भनेँ। बस् म यति भनेर पन्छिन्छु सोचेको थिएँ तर ऊ साह्रै जिद्दी थिई। यति कुरामै जसोतसो पूर्णविराम लगाएर म सुतेँ।
बिहान फेरि त्यही प्रश्नसहित शुभ बिहानी भनेर म्यासेज आएको थियो। मैले पुनः त्यही उत्तरसहित शुभ बिहानी फर्काएँ।
यस्तै यस्तै कुराहरू दोहोरिँदै गए। उसले पनि मलाई मन पराउन थालेकी रहिछ। बस् म त उसको स्वभाव र रूपदेखि पहिलेदेखि नै अदा भइसकेको मान्छे। अहिलेसम्म एकतर्फी प्रेम गरिरहेको मान्छेलाई दुई तर्फी हुँदा खुसीको त सीमा नै पार भइहाल्यो नि।
यस्तै चल्दै थियो। दुई/तीन महिनापछि हाम्रो भेटघाट पनि हुन थाल्यो। यसरी हामी दिन प्रतिदिन गर्दै एक अर्काको नजिक हुन पुग्यौँ।
कति बेला ऊ पनि प्रेममा परी पत्तो भएन। म चाहन्थेँ अब उसले समातेको यो हात कहिले नछुटोस्। उसले नि मलाई अन्तर्मनदेखि मन पराउन थालिसकेकी रहिछ। बस् भन्न मात्र नसकेकी रहेछ।
यस्तै हुँदा हुँदै हाम्रो बिचमा सबै कुरा सा साट हुन थाल्यो। हामीबिच केही कुरा लुकाउने मौका नै भएन। एक अर्काको लक्ष्य, भविष्यमा के बन्ने, के गर्ने अनेक कुरा हुन थाले। अहिलेको पुस्तालाई चाहिने प्रेम जोडीको कहानी बन्न पुग्यौँ हामी पनि। हामीबिच सम्बन्धमा हुने सबै क्रियाकलाप हुन थाले।
यसरी दुई/तीन वर्ष बित्यो। उसको पढाइ नि अन्तिम वर्ष पुग्यो। यस पटक उसको सपना र सोच पूरा हुने दिन आउँदै तियो। उसले सोचेको र चाहेको ठाउँमा जाने दिन आउँदै थियो। अस्ट्रेलिया जाने कुरा नि अन्तिम चरणमा पुगिसकेको तियो।
पुतलीसडकमा रहेको एउटा कन्सल्टेन्सीमा ‘आइइएलटिएस’ पनि पढेर सकिसकेकी थिई।
अब भने हाम्रो सम्बन्धमा दरार आउन थालेको थियो। उसको अध्ययन पनि अन्तिम चरणमा पुग्यो। भेट्ने, बोल्ने, घुम्न पनि पहिलेभन्दा धेरै कम हुन थाल्यो। पहिले जस्तो धेरै बोल्ने सबै कुराहरू साटा साट गर्ने पनि धेरै कम भइसकेको थियो।
एक दिन उसले मलाई बिहानै फोन गरेर भेट्ने र कतै बसेर केही कुरा भन्नु छ भनी।
म दिमागमा अनेक थरी सोच र मनमा धेरै कुराको भारी बोकेर उसलाई भेट्न गएँ। उसले भनेको ठाउँमा पुग्दा ऊ पहिल्यै आएर बसेकी थिई।
मलाई देख्ने बित्तिकै उठेर अंकमाल गर्छे होला सोचेको थिएँ तर पहिलेको भेटहरूमा जस्तो भएन। उसले कुर्सी देखाउँदै बस्न आग्रह गरी। म चुप लागेर बसेँ। उसले चिया मगाउँदै भनी, ‘अरू केही?’ मैले नाइँको भावमा टाउको मात्र हल्लाएँ।
‘किन बोलाएको यति हतार गरेर भेट्न?’
उसले भनी, ‘आज हजुरलाई एउटा कुरा भन्नु थियो। अब हामी यो सम्बन्धलाई यहीँ पूर्णविराम लगाउने पर्ने हुन्छ। हामी पहिले जस्तो छैनौँ, धेरै कुराहरू परिवर्तन भइसकेको छ हामीमा।’
मैले कसरी भनेर सोधेँ। उसले भन्न थाली- ‘हजुरले पहिले जस्तो मन खुलेर हरेक कुरा भन्नु हुन्न। आफ्नो मन लाग्दी गरेर हिँड्नु हुन्छ। अब हामी केही समयलाई एकअर्कादेखि टाढा बस्नु पर्ने हुन्छ। अझै समय छ हामीसँग एक अर्कालाई बुझ्ने समय। सके सम्बन्धलाई अन्तिम साससम्म पुर्याउँला, नभए यहीँ बिट मार्नु पर्ने हुन्छ।’
मलाई नि केही भन्नु थियो- परिवर्तन म होइन तिमी भएकी हौ।
बस् अरू नि भन्नु थियो- जबरजस्ती सम्बन्ध टिक्दैन। जुन सम्बन्धमा एउटाले मरिहत्ते गर्ने अर्को मतलब नगर्ने भए त्यहाँ सम्बन्धको सन्तुलन मिल्दैन।
‘तिमीले छुट्टिने नै मनसाय गरेको भए मेरो भन्नु केही छैन,’ यति भनेर हामी एकअर्कादेखि टाढा भएको छ महिना पूरा हुन नपाउँदै उसले बिहेको कुरा सुनाउँदा म स्तब्ध भएको छु।
मैले बुनेका ती हजारौँ सपनाको माला र कल्पना जति सबै दोषी हुन पुगे। जुन सपनाको बारेमा मैले अहिलेसम्म बुनेको थिएँ, यत्रो तीन वर्ष छ महिना लगाएर तर अहिले आएर ती सबै सपना जति दोषी रहेछन्।
मतलब दोषी म थिएँ कि उ थिई पत्ता लगाउन सकिनँ। सायद म नै दोषी हुनुपर्छ। अनेक प्रकारको सपना र कल्पना गर्न पुगेँ।
म अब यति भन्न सक्छु, तिम्रो मनदेखि मलाई पूर्ण रूपमा हटाउन सक्छु भनेर एक पटक आफ्नो अन्तरमनलाई त्यो प्रश्न गरेर हेर्नू। सके फेरि भेटौँला, नसके यो जन्ममा हाम्रो भेट र बोलचाल यहीसम्म रहेछ भनेर म हराउँछु; यो तिम्रो सहरदेखि सधैँका लागि कहिले नफर्कने गरेर।