उनी एकोहोरो टोलाइरहेकी थिइन्
म नजिकै गएर उनलाई सोधेँ-
केही अप्ठ्यारो पर्यो कि तिमीलाई?
केही सहयोग गरूँ म?
उनका दुवै आँखा म भएतिर फर्के
तर उनको मन अन्त कतै थियो
उनी उनका आँखाले मलाई हेर्न सकिनन्
सायद त्यो मन कसैले टुटाएर गएको थियो
कसैले दुखाएर गएको
भाँचिएको मन थियो उनको!
त्यसैले उनले मलाई हेर्ने खासै आँट गरिनन्
बोल्ने खासै चाह राखिनन्
तर,
मैले फेरि आँट गरेर सोधेँ-
केही चिजको
कसैको प्रतीक्षामा छौ तिमी?
हो?
मलाई भन्छ्यौ?
भन्न मिल्छ?
उनी बोलिनन्
म पनि चुपचाप रहेँ
धेरै बेरपछि...
तिमी पनि उस्तै त होला
ऊ जस्तै....
एक छिन टोलाइन् र आँसु खसालिन्
पछ्यौरीको फेरोले
आँसु पुछ्दै निकै परसम्म हेर्दै भनिन्-
मान्छे सबै स्वार्थी छन्
यो दुनियाँ
यो संसार
यी मान्छेहरू
छि!
मैले केही बोल्ने कोसिस गरेँ
र भनेँ
हेर,
प्रायः मान्छेहरू सबै एउटै हुन्छन्
तर
सबै मान्छेहरू उस्तै स्वभावका पनि त नहुन सक्छन्
उनी झसंग भइन्
र
मतिर फेरि हेरिन्
सायद उनको मनले यो कुरा बिस्तारै बुझ्न थाल्यो
उनले सानो स्वरमा अनुरोध गरिन्
र भनिन्,
म यो संसार देख्न चाहन्नँ
म यो दुनियाँलाई हेर्न चाहन्नँ
प्लिज
मलाई हेल्प गर न
मैले सम्झाउने कोसिस गरेँ
र
फेरि भनेँ
हेर,
यो संसार, यो दुनियाँ
तिमी, ऊ
म, हामी सबै
कसैलाई पनि सजिलो छैन
यो संसार
यसले सबैको भार थेग्नु परेको छ
यो दुनियाँ
यसले पनि त सबैको बचन खेप्नु परेको छ
तिमी पीडामा छौ
मेरा आफ्नै कष्ट छन्
सायद
उसका पनि त्यस्तै बाध्यता, पीडा पो थिए कि!
सबै चिज साथमा हुनु
र
केही चिज साथबाट गुम्नुमा फरक हुन्छ
तिमीमा सब चिज छ
तिमी छौ
तिम्रो मन छ, आत्मा छ
हर चिज छ
केही चिज गुम्दैमा
केही हराउँदैमा
कोही छुट्दैमा
आत्तिनु गलत हो
सब चिज बिर्स
सबैलाई छोड
अब
जीवन नयाँ तरिकाले चलाऊ
आफ्नो मनलाई कहिल्यै नबिर्स
आत्मलाई नढाँट
आफूलाई नढाँट
जीवन फेरि नयाँ बनाऊ
नयाँ उत्सव जसरी
जीवन नयाँ बनोस्
नयाँ वर्षमा जसरी
तिमीमा खुसीका आयामहरू थपिने छन्
नयाँ रङहरू भरिने छन्
तिमीलाई शुभकामना ल!
उनले
टाउको हल्लाउँदै
हस् भनिन्
र
त्यहाँबाट बिदा भइन्
धेरै परसम्म मैले उनलाई हेरिरहेँ
र
कामना पनि गरिरहेँ
उनको बाँकी जीवन यस्तै ‘पर’ सम्म चलिरहोस्
पुगिरहोस्
फुलिरहोस्
कसैले अप्ठ्यारो नपारोस्
पीडा नदियोस्
शुभकामना।