एकाबिहानै मेरो छिमेकी बहिनीले मलाई उठाउँदै सहयोगको याचना गरिन्, 'दाइ मलाई टिचिङ हस्पिटलसम्म मोटरसाइकलमा पुर्याइदिनुहोस् न, मेरी हजुरआमा सारै हुनुहुन्छ रे।'
मैले उनको अनुरोधलाई टाल्न सकिनँ। हतार हतार मुखमात्र धोएर मोटरसाइकलमा उनलाई चढाएर हस्पिटल पुर्याएँ।
हस्पिटल पुग्दा उनको हजुरआमा इमरजेन्सीमा हुनुहुन्थ्यो। उनी आएको देखेर हजुरआमाले बिरामीमै पनि खुसी व्यक्त गर्दै 'ए नानी तिमी आइपुग्यौं' भन्नुभयो। अनि आफूलाई कहाँ–कहाँ दुख्छ भनेर देखाउँदै असाध्यै गाह्रो भएको गुनासो गर्नुभयो।
उहाँ त्यत्तिबेला मृत्युको नजिक पुगिसक्नुभएको रहेछ कसैलाई थाहा भएन। वरिपरि आफन्तहरू थिए तर सबै महिलाहरू मात्र। उनको हजुरआमा बोल्दै हुनुहुन्थ्यो घर जाने इच्छा ब्यक्त गर्दै हुनुहुन्थ्यो सायद मीठा मीठा सपना बुनेर। उहाँको छोरी, बुहारी, नातिनीको बीचमा म पनि थिएँ। हामी कसैलाई पनि पत्तै भएन यमराजका दूतहरू पनि त्यही पंक्तिमा रहेछन् उहाँलाई लिन आएका।
हुन त म छिमेकी बहिनीको सहयोगीको रूपमा हस्पिटल पुगेको थिएँ उनलाई त्यहाँ पुर्याउने बित्तिकै फर्कन्छु भन्ने विचारले तर मलाई त्यहाँको परिस्थितिले यसो एकछिन बसौं न त भने जस्तै लाग्यो।
हुन त मैले बुढीआमा जो मृत्युसँग संर्घष गरिरहनु भएको थियो, उहाँलाई मैले कहिल्यै पनि भेटेको थिइनँ तर पनि किन किन उहाँलाई छोडेर गैहाल्न मन लागेन। उहाँको दुवै मिर्गौलाले काम नगर्ने भएको रहेछ। ८० को छेउमा पुग्न लागेको उमेरको कारण पनि उहाँको मिर्गौला सफा गर्ने काममा बाधा बनेको थियो। अचानक उहाँको सास बढेर आयो डाक्टरहरू जम्मा भए, हतार हतार थप औषधि किन्न पठाइयो। अक्सिजन, इसिजी, स्लाइन अनि इन्जेक्सन सब प्रयास गरियो तर निमेष भरमै उहाँका आखाँहरू खुलेका खुल्यै भए। त्यसबेला बिहानको करिब ८ बजेको थियो। बाहिर झलमल घाम लागेको थियो। बिहानीको न्यानो घामको अलिकति झुल्का आमै सुतेको बेडको छेउसम्म आइपुगेर न्यायोपन दिन कोसिस गरिरहेको बेला आमैको शरीर भने चिसिँदै गैरहेको थियो।
यसरी बुढी आमैको जीवन लिला समाप्त भयो। मैले यसरी आखाँ अगाडि कसैको मृत्यु देखेको थिइनँ तर सुनेको थिएँ। मृत्युसँग लीन हुन निकै छटपटी सहनु पर्छ, गाह्रो हुन्छ। तर त्यस्तो केही भएन ती बुढीआमाले सहज रूपमा यो संसार छोड्नुभयो। सायद उहाँ निकै भाग्यमानी हुनुहुन्थ्यो। अन्तत: उहाँको टाउकोदेखि खुट्टासम्मै तन्नाले छोपियो केही क्षण अघिको आकस्मिक कक्षको बिरामी अब लास भयो। उहाँको मृत शरीरलाई मुर्दाघरमा लगियो।
त्यहाँ भएका महिलाहरू एकै ठाउँमा गुजुल्टिएर रून लागे। रूँदै सबैले आफ्ना आफ्ना मोबाइलहरू थिच्न थाले। बुढी आमैको मृत्युको समाचार आफन्तहरूलाई सुनाउन। भरिएको गलाको संवाद थियो 'आमा बित्नु भयो, तपाईं छिट्टै हस्पिटल आउनुस्, हस्पिटलको पछाडि पट्टि मुर्दाघरमा, आफूसँग भएको पैसा पनि ल्याउनुस है।'
अर्को तर्फको आवाज थियो, 'आमा बित्नुभयो बुवालाई राम्ररी धैर्य गरेर सुनाउनु।', फेरि कोही भनिरहेको थियो 'हजुरआमा बित्नुभयो अब तिमीहरू आज स्कूल नजानु, हामी पशुपति आएपछि घाटमै आउनु अन्तिम दर्शनको लागि' 'अं...... अं....... उ बिरामी छ उसले खाएपछि मात्र भन्नु, फेरि सुनेपछि खान मिल्दैन।' अर्को बाध्यतापूर्ण अनुरोध थियो 'आज म अफिस आउन मिलेन आफन्त स्वर्ग हुनुभयो' यस्तै थिए संवादका विषयहरू। कुनै संवादमा पीडा थिए भने कुनै संवादमा बाध्यता थियो। मर्ने त मरेर गैसकेको थियो तर बाँच्नेहरूलाई भने परम्परा र संस्कारले बाँधेको थियो। समय नै तितरवितर भयो सायद समेटिन केहि समय लाग्छ होला।
फाटफुट गर्दै मान्छे जम्मा भए अनि त्यहि समूहबाट कसैले भन्यो कोही मोटरसाइकल हुने मान्छेसँग अर्को एक जना गएर चिता ठिक पार्नुपर्यो। त्यहाँ मोटरसाइकल भएको म मात्रै रहेछु। आमैको एक आफन्तलाई पछाडि राखेर मैले मोटरसाइकललाई पशुपति आर्यघाटतिर हुइक्याएँ। पशुपति आर्यघाटमा पनि मानिसहरूको बाक्लै उपस्थिति थियो। एउटा चिता बुक गरियो, चिताको जिम्मा लिनेले सबैथोक पाउने ठाउँ देखाइदियो। हामी घाटको पाटीमा बसिरहेका थियौं सबै सामग्री आइपुग्यो। दाउरा, कपडा, घिउ, श्रीखण्ड बत्ती, अविर, कुश लगायतका सम्पूर्ण सामग्री आइपुग्यो। मानौं कि उहाँहरूले मृत आत्मालाई सजिलै स्वर्गसम्म पुग्ने बाटो बनाइदिए जस्तै। समय पनि कति फरक भएछ केही आफैले गर्न नपर्ने पैसा भए पुग्ने। घाटमा काम गर्ने मानिसहरूको संसार नै बेग्लै थियो। सधैं लास, दाउरा, घिउ, कपाल खौरने, सेता कपडा, परालका जुत्ता आदिका विषयमा मात्र कुरा हुन्थे। अनि कयौं लास जलेका हुन्छन् अनि कैयौंका रूवाइ गुन्जेका हुन्छन् त्यसले कसैलाई पनि केही असर पार्दैन रहेछ किनभयो यो त दैनिकी नै भएको रहेछ।
हुन त उनीहरूले पनि केही काम गरेर नै खाएका हुन् मेहेनतकै कमाइ हो। सधैं एकनास रूपमा लाससँग हातेमालो गर्यो अनि त्यही लाश पोलिँदा आएको मासुको गन्धलाई सहन उनीहरूलाई पनि त्यति सहज त कहाँ थियो होला र? त्यत्तिकैमा शव वाहनबाट हाम्री आमैको लास पनि आइपुग्यो। उहाँको लासलाई ब्रम्हनालमा राखियो। ब्रम्हनालमा राखिँदा घुँडासम्म पानीमा डुबाएर राखियो, शिरानपट्टि भने पशुपतिनाथ मन्दिरभित्रबाट बग्ने जल र शिवलिङ्ग रहेछ। सबै जनाले पालैपालो मृत शरीरको मुखमा शिवजीको जल चढाए। नजिकै एउटा अर्कै लासलाई घेरेको ठूलै समूह थियो। हुलको भित्रबाट हुँ........हुँ......ह्वाँको आवाज लगातार आइरहेको थियो परिस्थिति साह्रै मार्मिक थियो। कसैका आँखा ओभानो थिएन। मृत शरीर पनि जुरूक्कै उठेर आउँला जस्तो थियो बिहानैमात्र हार्ट एट्याक्ट भएर परलोक भइन् रे उनी चालिसकै मात्र दशकमा हिँड्दै गरेकी एक १७–१८ वर्षकी किशोरीकी आमा अनि पचासौं बसन्तको वल्लो छेउमै रहेका पतिकी पत्नि रहिछन्। त्यो दृश्यले सबैलाई स्तब्ध बनायो। सकिने भए कसैले उडेर गएर यमराजका दूतहरूबाट उनलाई खोसेर ल्याउन सकेको भए हुन्थ्यो। उनको लासलाई दुलहीजस्तै सृगारिएको थियो उनको चितालाई पनि मण्डपजस्तै सजाइएको थियो। हेर्दा यस्तो लाग्दथ्यो कि उनको अन्तिम बिदाइ स्वर्णिम थियो। त्यस्तै अरू पनि लासहरू र तयार पारिएका चिताहरू थिए। पशुपति आर्यघाटमा भएका सबै चिताहरू भिड थिए कसैमा आगो दन्किरहेका थिए त कुनैमा मलिन हुँदै थिए।
आमैको लासलाई पनि चितामा राखियो अनि विधिपूर्वक तीन पटक चिताको परिक्रमा गरेर दागबत्ती दिइयो। दाउरामाथि पराल राखेकोले आगो ह्वारह्वार बल्न थाल्यो त्यसमा पनि घिउ थपेपछि आमैको मृत शरीर धुँवासँगै माथि माथि उड्न थाल्यो। पल्लोपट्टिको चिता भने तयार थियो तर खाली थियो फाटफुट मान्छेहरू लास पर्खिरहेका थिए सायद।
सानो एउटा करिब ७–८ वर्षको बच्चो भने कहिले यता कहिले उता गर्दैथियो। अनि कहिले जलिरहेका लाइनै चिताको छेउमै पुग्थ्यो अनि फेरि रापले पोलेर 'कस्तो तातो' भन्दै पर सथ्र्यो। कहिले बागमतीको मैलो पानीमा खेल्न पुग्दथ्यो त कहिले बाँदर हेरेर दङ्ग पथ्र्यो। मलाई लाग्यो यस्तो सानो बच्चालाई पनि किन घाटमा ल्याएको होला। केहीबेरपछि एम्बुलेन्स आयो अनि त्यहाँबाट एउटा ठूलो बाकस झिकियो। त्यो बाकस त्यही खाली चिताको नजिक पुर्याइयो। म उत्सुक हुँदै नजिक गएँ त्यसमा ६ महिना अगाडि साउदी अरबमा मृत्यु भएकी २७ वर्षीया महिलाको लास रहेछ। उनका पति मलिन अनुहार लिएर बाकसभित्र हेर्दै थिए। प्लास्टिकमा बेरिएको लासलाई चितामा राखियो अनि सबैले परिक्रमा गरेपछि त्यही सानो बच्चोलाई बोलाइयो दागबत्ती दिन। बल्ल मैले थाहा पाँए त्यो बच्चा पनि लासै कुरेको रहेछ आफ्नी आमाको।
तिमीलाई मीठा खानेकुरा र राम्रा नाना ल्याइदिन्छु भनेर बाध्यताबस विदेशिएकी थिइन् सायद। मीठा खानेकुरा राम्रा नाना ल्याउने आमा आफै बाकसमा बन्द भएर आइन् मृत्यु शैयामा सुतेर। बालकको हातमा दागबत्ती दिने साधन थमाइयो अनि भनियो मुखमा राख। त्यो बिचरा बबुरो सोध्दैथियो 'मुख कतापट्टि छ बा?' त्यो लास राम्ररी चिन्न नसकिने थियो सायद उसले चिन्नै सकेन, प्लास्टिकमा बेरिएको मासुको थुप्रोको मुख कतापट्टि छ भन्ने कुरा थाहा नै भएन।
मलाई त्यो सानो बबुराको साह्रै माया लाग्यो तर म गर्न नै के सक्थेँ र बिचरा भन्न बाहेक। जिन्दगी यस्तै रहेछ एकदिन सबैले जानैपर्ने तर मैले यो दिन थरीथरीका मानिसहरूले मृत्युलोक गएको देखेँ सबैको मृत्यु अस्वाभाविक थियो बरू हाम्री आमैको मृत्यु स्वाभाविक थियो उनको उमेर अनुसार।
मैले अनुभव गरेँ यहाँ जिउने मान्छेहरू आफूलाई ब्यस्त भन्छन् तर यमराजका दूतहरू पनि त कम खटिएका हुँदैनन् रहेछन् नि त। कुनै चिता सेलाउँदै थिए त कुनै भरखर बल्दैथिए। हाम्री आमैको चिता पनि जलिसकेछ अनि पखालियो पनि। हिजोसम्म जिउँदो, बिहान लास भइन्, जलेर खरानी भइन् अनि अन्त्यमा त्यो पनि पखालियो। अब त सायद उनी हावामात्र भइन्!
हाम्रो समूह घर फर्कन थाल्यो। मैले बल्ल यसो घडी हेरेँ। दिउँसो ३ बजिसकेछ। मैले पनि घर जाने तर्खर गर्न लाग्दा एकजना दिदीले भन्नुभयो 'बाबु, मलामीले यहाँ नै नुहाउनु पर्ने थियो तर यहाँ मिल्दैन होला, अब घर गएर नुहाएर मात्र खानुस् है, छाक त यसै छोडियो'।
म झल्यास्स भएँ, म छिमेकी बहिनीको सहयोगी भएर आएको थिए तर मलामी पो बनेछु।
बिहानै मुखमात्र यसो पखालेर हिँडेको यहाँ त दिनै बितेछ। हुन त मेरो ती आमैसँग कुनै नाता थिएन तर पनि किन हो कुन्नि दैवले मलाई उनको मलामी पो बनाएछ। सायद पूर्वजन्मको कुनै हिसाब किताब थियो होला चुक्ता गरेँ। मैले उनको मलामी बनेर अर्कै अनुभूति प्राप्त गरेँ। आमाको वियोगमा कहालिएकी किशोरीको रूवाइको ध्वनी अनि विदेशमा आमा गुमाएको अबोध बालकको दृश्यलाई मनभित्र छापेर सबै मृत आत्माले शान्ति पाओस् भन्ने कामना गर्दै म उनीहरू सबैसँग बिदा भएँ।