सोचेको जस्तो हुने भए यो संसार कति रमाइलो हुन्थ्यो होला। सबै मानिस कति सुखी हुन्थे होलान्। कति खुसी हुन्थे होलान्। यो कलि युगमा मानिस एक अर्कासँग किन लडिरहेछ। मानिसले मानिसलाई किन बन्धक बनाउँछ। मानिसले मानिसलाई सुख शान्तिसँग खुसी भएर जिउन किन दिँदैन। आतङ्ककारीहरूले तर्साएर, धम्काएर, सास्ती दिएर बन्धक बनाई थुनिदिँदा कसरी एक जना मान्छेको जीवनको सपना चकनाचूर हुन्छ। कसरी दुई प्रेमीको प्रेमको मीठो सम्बन्ध नै लथालिङ्ग हुन जान्छ। यसरी मनपरी गर्न थाल्नेहरूलाई कसले नियन्त्रण गर्न सक्छ र! उनीहरू अनियन्त्रित हुन्छन्। अंग्रेजीमा यसलाई भन्छ ‘आउट अफ कन्ट्रोल’।
त्यतिखेर हिमाल मिनी बसमा चढेर त्रिभुवन युनिभर्सिटी पढ्न जाँदै थियो। काठमाडौंको मिनीबस, बस्नेभन्दा धेरै उठ्नेहरू थिए। सधैंझैं कोचमकोच, ठेलमठेल। उकुसमुकुस अनि पसिनैपसिना। त्यै पनि चढ्नै पर्ने। हुनेले त सररर कार चलाएर पढ्न आउँथे। झ्यालबाट बाहिर च्याएर यस्तै यस्तै सोच्दै थियो। उसको नजर अनायासै छेउमै कार चलाएर गइरहेकी सुन्दरीसँग जुध्न पुग्यो। केही मिनेट दुबैको आँखा हटेन। एकैछिनमा हिमालले नै नजर अन्तै घुमायो।
हिमाल धनी नभए पनि उसको व्यक्तित्व आकर्षक थियो। खुलेको अनुहार, सफा पहिरन, बलियो जिउडाल, अग्लो शरीर। निकै ह्याण्डसम थियो।
दिउँसो क्लास ब्रेकमा क्यान्टिनमा ऊ चिया पिउन पुग्यो। त्यहाँ त त्यही कारकी केटी साथीहरूसँग गफ गरिरहेकी थिई। फेरि दोस्रो पटक दुबैको आँखा जुँध्न पुग्यो। त्यो केटी चाहिँ साथीहरूसँग कुरा गरे पनि त्यतापट्टि चाख नदिएर लुकीलुकी पटक पटक हिमाललाई हेर्न थाली। हिमाल पनि कता कता केटीको रूपरङ्गप्रति आकर्षित हुँदै गइरह्यो।
केटीको लवाइखवाइ र हाउभाउ निकै खान्दानी मानिसहरूको जस्तो थियो। ब्रान्डनेमका वेशभूषाका पहिरन, कपालमाथि अडाएको चस्मा र महङ्गा गरगहनाले ऊ निकै धनवान होली जस्तो लाग्दथ्यो। उनको पहिरन र श्रृङ्गारले ऊ निकै राम्री देखिएकी थिई। उनको प्रत्येक हाउभाउ, नजानिँदो मुस्कान र खुसीले खुलेको सुन्दर अनुहार हिमाललाई उसकै निम्ति हो कि भन्ने भान परिरहेको थियो।
क्लास सकिएर छुट्टी भएपछि हिमाल युनिभर्सिटीको बसपार्कमा बस कुरिरहेको थियो। सररर एउटा कालो सिसाले ढाकिएको रातो मर्सिडिज कार आएर हिमालको अगाडि टक्क रोकियो। सररर गाडीको सीसा खुल्यो। गाडीमा त्यही केटी। आँखामा कालो चस्मा, हातमा राडो घडी, औँलामा टललल टल्किने ठूलो हिरा जडिएको सुनको औँठी।
'हाई! तपाईं माइन्ड गर्नु हुन्न भने म घरसम्म छोडिदिऊँ।' नरम बोलीमा त्यो केटीले रिक्वेष्ट गरेकी थिई। उनको मधुर बोली हिमाललाई खुबै मीठो लाग्यो।
हिमाल असमन्जसमा पर्यो। तर उसले त्यो काइन्डली अफर नकार्न सकेन।
'हुन्छ। थाङ्क यू' भनेर कारमा बस्यो अनि सिट बेल्ट लगाउन खोज्यो। तर ठ्याक्क बेल्ट अडाउने ठाउँ भेट्न सकेन। अनि त्यो केटीले ऊतिर झुकेर बेल्ट लगाउन सहयोग गर्दा अन्जानमा दुबै जनाको हातको स्पर्श भयो। दुबै जना थाहै नपाइ मन्द मन्द मुस्कानमा रोमाञ्चित भए। साँच्चै त्यो पहिले स्पर्श दुबैमा एउटा कहिले भुल्न नसकिने मीठो क्षण भएको थियो। हिमाललाई त्यो केटीको नरम मुलायम स्पर्शले खुब आनन्दित तुल्याएको थियो। अनि त्यस्तै त्यो केटीलाई हिमालको ह्रृष्टपुष्ट स्पर्शले।
'मेरो नाम नदी, तपाईंको नाम?' त्यो केटीले नै मुसुमुसु मुस्काउँदै परिचयको सुरूआत गरी।
'हिमाल' हिमालले नदीतिर हेर्दै जबाफ दियो।
एकछिन कहाँ जाने, के पढाइ हो आदि इत्यादि कुरा गर्दै र केही रमाइलो गफमा गफिँदै, हाँस्दै, रमाउँदा रमाउँदै हिमालको डेरा बसेको घर नजिकै गाडी रोकियो। त्यसपछि एकछिन उत्रिनु भन्दा अगाडि फोन, फेसबुक, इन्ष्टाग्राम आदि सोसल मिडियाका सम्पर्क हुने सबै आइडीहरू उनीहरूबीच आदानप्रदान भए।
‘म फोन गर्छु। फेरि भेटौँ है?' भन्दै नदीले गाडी आफ्नो घरतिर हुइँकाई।
नदीको पुर्खादेखिको घरानियाँ परिवार भएकोले विशाल कम्पाउन्ड भएको भव्य शान सौखिन सम्पन्न घर थियो। तर हिमाल जुम्लाबाट काठमाडौं पढ्न आएकोले डेरामा बस्थ्यो।
भेट्दा भेट्दै, सँगसँगै हिँड्दा हिँड्दै, कुराकानी गर्दागर्दै त्यसपछि दुबैको मित्रता प्रेममा बदलियो। कहिले रानीवन, कहिले गोदावरी, कहिले बालाजु जस्तै जहाँ जहाँ एकान्त छ, त्यहाँ त्यहाँ उनीहरू भेट्न थाले। घण्टौं मीठा मीठा कुरा गर्न थाले। एकअर्काको मायामा डुब्न थाले। रमाउन थाले र रङ्गीन सपनाहरू सजाउन थाले। अब त हिमाललाई नदी र नदीलाई हिमाल बाहेक अरू केही चाहिएन। उनीहरू एकअर्का बिना अपूरो हुने जस्ता भए। एउटालाई अर्को बिना जीवन नै अधुरो हुने जस्तो भयो।
एकदिन नदीले निकै भावुक भएर सोधेकी थिई, 'हिमाल तिमी मलाई भुल्न त भुल्दैनौ हैन?'
'के भनेको त्यस्तो। तिमी त मेरो हृदय हौ। म आफ्नो हृदयलाई कसरी भुल्न सक्छु!' भन्दै हिमाले नदीलाई खुब माया गरेर अँगालेको थियो।
हिमाललाई कृषिमा पिएचडी गर्नको लागि विदेशको ठूलो यूनिभर्सिटिबाट अफर लेटर आयो। सुरूमा त नदी पनि दङ्ग परेर हिमाललाई बधाई दिँदै थिई। तर अकस्मात उनलाई पिएचडी पढाइको लामो अवधिसम्म छुट्टिएर बस्न पर्ने हो कि भन्ने चिन्ताले सताउन थाल्यो। सँगै जाउँ भने बिहे पनि भएको छैन। त्यतिकै जान मिल्दैन।
तुरून्तै हिमालको क्लास सुरू हुने भएर जानुपर्ने बेला नजिकै भएकोले बिहे गर्ने समय पनि थिएन। त्यसमाथि बिहे कहाँ तुरून्तै हुन्छ र! नदीले आफ्नो परिवारसँग सरसल्लाह पनि गरेकी थिइन्। अझ हिमालको त जुम्लामा परिवार थिए। फेरि बिहेको लगनलाई पनि त कुर्नुपर्यो। एकातिर फरदर स्टडी गर्न पाउने भएकोले खुसी छाएको थियो। अर्कोतिर पहिलो पहिलो प्यारमा एक्कासि छुट्टिनु पर्ने पीडाले दुबै दु:खी देखिन्थे।
हिमाल उड्नुभन्दा अघिल्लो दिन उनीहरू न्यूरोडमा हातमा हात समातेर हिँड्दै थिए। हिमाललाई केही सामानहरू पनि किन्नु थियो। हिमालदेखि नदी निस्केर बगिरहेको सुन्दर पेन्टिङ देखेर नदीले त्यो किनी हिमाललाई चिनो स्वरूप दिँदै भनी, 'हेर त हिमाल, कति राम्रो आर्ट। नदी हिमालको हृदयदेखि कलकल बगिरहेको छ। म त यो नदी हुँ हिमालको मुटुमै सधैं रहिरहने। यो आर्टलाई सधैं त्यहाँ तिम्रो सिरानी नजिकै सजाएर राख्नु। मेरो याद आइरहन्छ। अनि बाडुली लाग्यो भने सम्झिनु कि म तिम्रो मनमा आएँ भनेर।'
हिमालले पनि नदीलाई एउटा औँठी छान्न लगाई किनेर उनको औँलामा लगाइदिँदै भनेको थियो, 'मेरो सानो चिनो। लगाई राख, यसलाई हेरेर मलाई तिम्रो छातीभित्र माया गरी लुकाइराख्नु।'
त्यो हिमाल जानु अघिको अन्तिम दिनको बिदाइमा दुबैलाई एक किसिमको नरमाइलो लागिरहेको थियो। नदीलाई लाग्थ्यो, ‘पढ्न विदेश नगए पनि त सँगै होइन्थ्यो।' तर भविष्य बनाउनलाई पढ्नै पर्यो। यस्तै यस्तै नमिठो लाग्दा लाग्दा नदीको आँखाबाट अविरल आँसु बग्न थाल्यो।
हिमालले नदीलाई अँगालेर सुम्सुमाउँदै अति नै मायाले भन्यो, 'स्टडीको बीचको छुट्टीमा आउँछु अनि हामी बिहे गरौँला। अनि विदेश सँगै जाउँला। नरोऊ नदी, केही समयको कुरो त हो नि।' भन्दै नदीको गालामा झरेको आँसु उसले हातले पुछिदिरह्यो। नदी झन् घ्वाँकघ्वाँक रून थाली। हिमालको पनि दुबै आँखा रसाए। छुट्टिने बेलामा हिमालले नदीको गालामा मीठो मायाको कहिले नबिर्सने स्पर्श छोडिदियो।
विदेश पुगेपछि हिमाल र नदीको प्रत्येक दिन कहिले मेसेन्जरमा, कहिले भाइबरमा फेसटाइम च्याटमा कुरा हुन्थ्यो। हिमालले आफू पढ्ने, बस्ने, खाने सबै सबै ठाउँहरू नदीलाई भिडिओबाट देखाइसकेको थियो। एकदिन भनेको थियो, 'हेर त नदी। यो सुत्ने बेड अहिले यूथ बेड हो, तिमी यहाँ आएपछि त किङ्ग बेड किन्नुपर्छ।'
हिमालको कुरा सुनेर नदी रातो गाला पारी केही लजाएर खुसीले फुरूङ परेकी थिई। सँगै त्यहाँ पुगेको अनि हिमालसँग बसेको कल्पना गरेकी थिई। त्यही बेडको सिरानीनिर नदीले दिएको हिमालदेखि नदी बगिरहेको आर्ट सजिइएको थियो।
के भो के भो तीन चार दिनदेखि नदीको हिमालसँग कन्ट्याक्ट हुन सकिरहेको थिएन।
नदीलाई किन यस्तो भयो, न केही भयो कि भनेर डर लागिरहेको थियो। एक्कासि पछि खबरहरूमा छापिन थाल्यो कि आतङ्ककारी समूहले धेरै जनालाई बन्धक बनाएकोमा हिमालको पनि नाम छ भन्ने। कसैले हिमाललाई बन्धक बनायो भन्थे। कतिले हिमाललाई मारिसक्यो भन्थे। दिनरातको यस्तो समाचारहरूले नदी एक्कासि छाङ्गाबाट खसेजस्तो भई। उनलाई खान मन लाग्न छोड्यो। निद्रा पनि लाग्न छोड्यो। ऊ हिमालको जीवन रक्षाको लागि क्षण-क्षणमै भगवानसँग प्रार्थना गर्दथी। सधैं सधैं हिमाललाई सम्झिरहन्थी।
‘हिमाललाई तुरून्तै सकुशल छाडिदिओस्’ भनेर मनमा भाकिरहन्थी। कहिले अति नै चिन्ताले मुर्छा पर्थी। कहिले एक्लै धुरू धुरू रून्थी। नदीको बुवाआमा पनि छोरीलाई यस्तो के भयो भनेर चिन्तित हुनुहुन्थ्यो।
दिन रात साल बित्यो। हिमालको अत्तोपत्तो लागेन। सबै पत्रपत्रिका, सोसल मिडियाले उसलाई मारिसकेको खबर दिन थाले। नदी हिमालले लगाइदिएको मायाको चिनो औँठीलाई ओठले चुमेर सधैं सधैं हिमाललाई सम्झेर ‘भगवान, हिमाललाई त्यस्तो नराम्रो केही नभएको होस्। ऊ सकुशल होस’ भन्ने कामना गर्दै रोइरहन्थी। पीर गर्दागर्दा हिमालको वियोगमा ऊ हाड छाला मात्र भएकी थिई।
भवितव्यलाई पनि कसले कन्ट्रोल गर्नसक्छ र। एक, दुई गर्दै तीन वर्ष बित्न थालेपछि नदीको बुवाआमाले नदीलाई ‘अब उमेर भयो बिहे गर्नुपर्छ छोरी’ भन्न थाल्नुभयो। नदीले चाहिँ 'म बिहे कहिल्यै गर्दिनँ। हजुरहरूसँगै सधै बस्छु' भन्थी। तर संसारको नियम एकदिन बिहे त गर्नै पर्थ्यो। बुवा आमाले फकाइफुल्याइ नदीको धुमधामसँग बिहे गरिदिनुभयो। नदीको श्रीमान बादल पनि नरम स्वभावका थिए। नदीलाई खुब माया गर्थे। उनीहरूको एउटा राम्रो छोरो पनि जन्मियो। नदी पनि परिवारसँग भुलिन थाली। छोराको तोते बोलीमा रमाउन थाली।
एकदिन नदी समाचार सुन्दै थिई। समाचारले भन्यो, ‘बन्धक बनाइएकाहरूलाई रिलिज गर्ने क्रममा हिमाललाई पनि छोडिदियो’। नदी एकछिन त हिमाल जिउँदै भएको खबरले साह्रै खुसी भई। उनको अनुहारमा एक्कासि हर्षको चहक आयो। अनि हिमालसँगको पुरानो दुनियाँमा पुगेर रमाउन थाली। हिमालको जीवन रक्षा गरिदिएकोमा भगवानलाई धेरै धेरै धन्यवाद दिई। तर पहिले जस्तो अब कहाँ थियो र! अहिले उनको बिहे भइसकेको थियो। बिहे हुनुभन्दा अघि नै हिमाललाई बन्धनबाट छोडेको भए पनि त हुन्थ्यो नि। यस्तै यस्तै सोच्दासोच्दै मेसेन्जेरमा आएको हिमालको कलले ऊ झस्की। नदीलाई अब के भन्ने, के गर्ने भयो। छोरोलाई हेरी। ऊ खेलौनासँग खेलिरहेको थियो। बेडरूममा झुन्डाइएको ठूलो लाइफसाइज फोटोमा ऊ र उनको श्रीमानको बिहेको फोटो मुस्कुराइरहेको थियो। त्यसपछि नदीले कल रिसिभ गरिन। उठाउनै लागेको कल पनि विस्तारै विस्तारै हात पन्छाई।
हिमालले नदीलाई कन्टयाक्ट गर्ने हजार कोसिस गर्यो। तर उसका सबै प्रयासहरू असफल भए। नदी सोच्दथी ‘अब हुनु भैगयो। किन हिमालको हृदयमा चोट पुर्याउनु।’
अनि नदीले हिमालसँगको सम्पर्कका सबै बाटाहरू डिलिट गरिदिई। न त फेसबुक, न त इन्ष्टाग्राम, न त फोन, सबैतिरबाट हिमाल डिलिट भइसकेको थियो। तर पनि उनले हिमालले दिएको औँठी चाहिँ हिमाल बन्धक हुँदा उसको जीवन रक्षाको निम्ति सधैँ हेर्ने गरेकोले लगाई नै रहेकी थिई।
धेरै वर्ष बित्यो। नदी र बादलका तीन जना छोराहरू भए। एक दिन छोराहरूले समोसा खाने जिद्दी गरेकाले नदीले छोराहरूलाई न्यूरोडको टपरी समोसा पसलमा लिएर गएकी थिई। उनीहरू समोसा खाँदै थिए। अकस्मात कसरी हो कुन्नि हिमाल पनि टुप्लुक्क त्यहाँ आइपुग्यो। हिमालले आँखै नझिम्काई केही परैबाट नदीलाई हेरिरह्यो। केही सेतो फुलेको कपाल। केही दुब्लाएको शरीर। कालो चश्माको ठाउँमा पावरवाला चश्मा। पहिले जस्तो न घरानियाँ तडकभडक न त चुल्बुले। शान्त, भलादमी अनि पारिवारिक। हिमालले अनुमान लगायो बिहे भएछ। तीन जना छोराहरू भएछन्।
नदीको आँखा पनि हिमालसँग जुध्न पुग्यो। ऊ पनि तीन छक्क परी। सेतै फुलेको कपाल, अनि सेतै फुलेको जुङ्गादाह्री। केही चाउरेको, निराशामा हराएको जस्तो मलिन अनुहार। ‘हिमाल अहिले यस्तो पो भएछ’ नदीले पनि मनमा अनेक कुरो खेलाउँदै अचम्मित भई एकटकले हिमाललाई हेरिरही।
'नदी, तिमीलाई बधाई छ। कति राम्रा छोराहरू।' हिमालले नदीको नजिकै गएर बधाई दियो।
'थ्याङ्क यू हिमाल, तिम्रो नि। कति जना छोराछोरी भए।' नदीले उत्सुकता जाहेर गरी।
'मैले त बिहे नै गरेको छैन। अब त बुढेसकाल पनि भइसक्यो।' भुँइतिर हेर्दै हिमालले जबाफ फर्कायो। नदीको पारिवारिक जीवन देखेर हिमालले साँचो कुरो बोल्न सकेन। उसले त नदीलाई नै कुरेर बसेकोले बिहे गरेको थिएन।
हिमालसँग बात मारून्जेल नदीले हिमाले दिएको मायाको चिनो त्यो औँठी नजानी नजानी सुम्सुमाइरहेकी थिई। पढ्न जानुभन्दा अघिको बिदाइको वियोगको अन्तिम भेटमा नदी आफूलाई थाम्न नसकेर रोएकी थिई। धेरै बेर रोएकी थिई। तर आज आफूले दिएको औँठी आजसम्म पनि लगाएर मायाले सुम्सुमाएको देखेर हिमालको हृदय करूणाले ओतप्रोत भएर रसाइरह्यो। आँखादेखि आँसुको एउटा ढिका खस्न लागेको थियो। तर हिमालले आँसुलाई जबरजस्ती आँखाभित्रै रोकिरह्यो। त्यो एक ढिक्का झर्न लागेकोलाई पनि सुटुक्क औँलाले पुछ्यो। ऊ चाहँदैन थियो नदीले उसको मन दु:खेको थाहा पाओस् भनेर। तर बाहिर खुसी जस्तो ऊ भए पनि उसको भित्र मन साह्रै दु:खेको थियो। त्यो मीठो अतितलाई सम्झेर। त्यो मीठो अतित आखिर अतितमै रह्यो।
ऊ खिस्स हाँसेर ‘नदी म जान्छु है’ भनेर आफ्नो घरतिर लम्क्यो, छेउकै पार्किङमा रोकेको त्यही रातो मर्सिडिज कारलाई हेर्दै हेर्दै।
आखिर समयको खेलो। समयलाई कहाँ कन्ट्रोल गर्न सकिने रहेछ र! एउटै घटनाले कसरी कसैको जीवनको कथा नै बदलियो। हिमाललाई आतङ्ककारीले नलगेको भए। नदीले बिहे गर्नु अगाडि नै हिमाल बन्धनबाट रिलिज भएको भए। अथवा हिमालले विदेशमा पढ्न नै नपाएको भए। खैर! हुने कुरोलाई कहाँ नियन्त्रण गर्न सकियो र! केही कुरा पनि कसैको नियन्त्रणमा छैन। 'आउट अफ कन्ट्रोल।'