आज मेरो मन र शरीर दुवै बेस्सरी थाकेको छ। शरीर दिनभर पार्टी प्यालेसमा काम गरेर थाक्यो अनि मनको त के कुरा गर्नु— भविष्यको चिन्ता, वर्तमानको लथालिङ्ग अनि केही थान रहरका र बाध्यताका बाटाहरू सम्झेर प्रायजसो थाकिरहन्छ। मन थाक्नु नौलो कुरा थिएन अनि शरीर थाक्नु पनि नौलो पक्कै हैन।
अर्को विशेष कुरा, काम सिक्ने अवसर मिल्यो। त्यो नै सिकाइएको सुरुवात हो। तपाईंको, मेरो अर्थात् हामी सबैका नजरमा वेटर भन्ने बित्तिकै कुनै होटेल, रेस्टुरेन्ट र बारमा टेबल सफा गर्ने अनि फोहोर उठाउने भन्ने कुरा मानसपटलमा झल्किन्छ। मलाई अस्तिसम्म यही लाग्थ्यो तर अनुभव लिएपछि यो मेरो नजरमा सामान्य काम रहेन।
यो सामान्य काम हुँदै हैन। यो कार्य पनि आफैँमा एक महान् छ। काम सानो ठुलो हुँदैन, तपाईं फोहोर उठाउनुस् वा प्लेन चलाउनुस्, दुवैको आफ्नै महत्त्व छ।
वेटर काम गर्न जाँदा केही यस्ता मान्छेसँग पनि भेट भयो, जो आफ्नो सानै उमेरमा ठुलो जिम्मेवारी बोकेका थिए।
राजधानीमा कोठा भाडामा बस्दा रुपैयाँको महत्त्व कति हुन्छ, त्यो राम्रोसँग भोगेको कुरा हो। डेरामा बेरोजगार बस्नुभन्दा फुर्सदमा कामको खोजीमा काठमाडौँका कुना-कुनासम्म भौँतारिएर हिँडेँ। तर कतै सोचेजस्तो काम भेटिनँ।
घरमा त सोचेजस्तो काम हुन्न, यो त झन् हाम्रो लागि परदेश हो। केही समयपछि पार्टी प्यालेसमा वेटर काम गर्ने अवसर मिल्यो। सुरुमा निकै मुस्किल भएको थियो। अनजान मान्छेसँग अनजान काम गर्न गाह्रो मात्रै हैन, अति नै गाह्रो थियो। कोठामा बसेर मोबाइलमा समय बरबाद गर्नुभन्दा काम गर्न जाँदा ठिकै हुन्छ भनेर काम गर्न जाने भएँ।
सुरुवातको एक हप्ता काम सिक्न र मान्छे चिन्न निकै मुस्किल परेको हो। पछि सबै मजस्तै पढ्ने र काम गरेर खर्च जुटाउने विद्यार्थी नै रहेछन्। कहिले सर्भिस, कहिले पिकअप, कहिले क्लिनिङ— ओहो! कति गाह्रो काम गरेर खान।
साथीहरूको हेपाइ, क्याप्टेनको गाली कति खानु, घरमा खानाभन्दा धेरै त्यहाँ काम गराउने। मान्छेको गाली खानुपर्ने। पछि काम सिकेपछि राम्रो-राम्रो ठाउँमा बोलाउनु हुन्छ। हातमाथि ट्रे अनि ट्रे माथि गिलास भिआइपीसम्म पुराउने त कस्तो अप्ठ्यारो! कतै फुट्ला, पोखिएला, झर्ला अनि झरेपछि क्याप्टेनको गाली खाइएला! यस्तै मनमा अनेकौँ चिन्ता खेलाउँदै काम गर्नु चानचुने कुरा होइन।
घरमा आमाले खाना बनाइदिँदा मिठो भएन भनेर कराउन पाइन्थ्यो, झर्किन पाइन्थ्यो, बेलाबेला खाना खान पाइन्थ्यो। कस्तो आनन्दको जिन्दगी थियो, अब उसो छैन। अब उमेर बढ्दै गयो, सपना झनै ठूला-ठूला भए। केही सपना र केही बाध्यताका लामा शृङ्खलाहरू लिएर सहर पसेको दिनदेखि नै रहर मार्नुपर्छ भन्ने कुरा त बुझेको हो।
वसन्तमा रूखको पालुवा पलाएजस्तै मनमा आशाका पालुवा पलाइरहेका छन्। दिनभर वेटर काम गर्न सजिलै हो लाग्थ्यो नगरिन्जेलसम्म तर सोचेजस्तो सजिलो रहेन। त्यो काम गरेर के गर्छस् भन्नेहरूलाई कुनै दिन सकियो भने सफलताले जवाफ दिउँला।
बिहान ५ बजे उठ्यो, निन्याउरो अनुहार ओठमा झुटो मुस्कान लिएर कलेज जानुपर्ने अनि ११ बजे फर्कियो। हतार हतार लुगा नै नबदली खाना खाएर नेपाल यातायातमा चढिन्छ। अनि गाडी र मेरो शरीर गन्तव्यतर्फ लाग्छ। मेरो मन र मेरो सोच भविष्य, विगत र वर्तमान अवस्था सम्झिनतर्फ लाग्छ।
सम्झिँदा कहिले आफैँलाई आकाशमा गन्तव्यविहीन उडिरहेको हावा महसुस गर्छु त कहिले कुवाको भ्यागुता जस्तो महसुस गर्छु। कतिखेर म जत्तिको भाग्यमानी कोही छैनन्, मसँग सबै कुरा छ।
क्षमता छ, रहर छ, घर परिवार छ, बाआमा दाजुभाइ छन्, मेरो त एउटा कल्पनाभन्दा बाहिरको दुनियाँ छ। कमी छ त केवल केही गर्ने अवसरको। अनि फेरि अर्को मनले सोच्छ, केही छैन, कोही छैन, म नितान्त मान्छेहरूको भीडमा भएर पनि एक्लै छु। सहयात्री केवल उही आफ्नै मन हो। आफैले आफैलाई हेर्दा एक्लो महसुस गर्छु।
सोच्दा सोच्दै सहिदगेट धरहरा झर्ने भाडा दिनुस् भनेर सहचालक कराउँछ। खल्तीबाट २० रुपैयाँ दिँदै झर्छु। एक छेउबाट धरहरा नियाल्छु। सोच्छु, यो धरहराबाट मेरो गाउँ बाजुरा देखिने भए त याद मेटाउन हुन्थ्यो, हेर्न हुन्थ्यो। फेरि अस्ति गाउँमा एम्बुलेन्स नभएर गर्भवती महिलालाई स्वास्थ्यकर्मीले बोकेको समाचार याद आयो। सोचेँ, यो बनाउनभन्दा बाजुरामा एम्बुलेन्स सेवा सञ्चालन गरेको भए पनि त हुन्थ्यो।
यहाँका मान्छे बाजुरा र त्यहाँका दुख कष्ट र अवसर केही चिन्दैनन्। हामीलाई त अनागरिक नै जस्तै व्यवहार गर्छन्। यति सोचेर कामतर्फ लागियो। हिजोआज यस्ता अनेकौँ सोच मनमा आउँछ। दिन प्रतिदिन काम गर्न सहज बन्दै गयो। केही गर्न नसके पनि अनुभव बटुल्न सहज भयो।
एक पटक कक्षामा आफ्नो जीवनको लक्ष्य बारे वक्तृत्वकला प्रतियोगिता भएको थियो। त्यहाँ मैले वेटर बन्छु भनेर भनेँ। साथीहरू र गुरुआमाले नराम्रो नजरेले हेर्नुभएको याद ताजै छ।
उनीहरू पो करोडपति छन्, घर, गाडी छन्, धनी छन्, सम्पन्न छन्, तर म छैन। म भुइँमान्छे हो। त्यही अनुसारको सपना देखेको छु।
यति भनेर त्यो दिन कक्षामा नबसी निस्किएको छु। म काम सबै बराबर हुन् भन्ने सम्झिन्छु। असत्यको विरोध गर्छु। त्यस कारण मलाई कक्षामा राम्रो ठान्दैनन्। सत्य सधैँ एक्लो हुन्छ। म उमेरले १८ कटेको तर अनुभूतिले ३६ कटेको भन्दा पनि फरक पर्दैन।
एक दिन अर्को ठाउँ काम गर्न जाँदा अन्दाजी १२/१३ वर्षका साना भाइबहिनी रेस्टुरेन्टको किचन छेउमा भाँडा माझिरहेको देखेँ। त्यो दृश्य देखेर मनमा अनेक जिज्ञासाहरू चलिरहे। के बाध्यता थियो होला? किन स्कुल नगएको होला? किन सानै उमेरमा काम गर्न थालेका होला? पैसा सबैलाई खाँचो पर्ने रहेछ। घर कता होला? यस्तै विभिन्न प्रश्नले मन उथलपुथल भइरह्यो।
काम सकिएर विश्राम गर्ने बेलामा उनीहरूको नजिकै गएर सोधेँ- ‘बाबुनानी, तिमीहरूको घर कता हो?’
ती भाइले सिन्धुपाल्चोक भन्यो।
फेरि प्रश्न सोध्न मन लागिहाल्यो, ‘यता कोसँग बस्छौ?’
‘मामासँग’ यस पटक बहिनी बोली।
मैले उनीहरूको आमाबुबा बारे सोधेँ। भाइको मुख चन्द्रमामा ग्रहण लागेजस्तै भयो, ती बहिनीले रातो पिरो मुख बनाई र एकछिन दुवै चुपचाप लागे।
मैले सोधेर गल्ती गरेको जस्तो महसुस गरेँ। तर कारण त्यो हैन रहेछ। छेउमा उसको माइजू रहिछन्, उनका अगाडि बोल्न डराउँदा रहेछन्। उनीहरू दुई भाइबहिनी हुन्। माइजू अलि पर गएपछि सिसाको गिलास पुछेर सके अनि आफ्नो आँखाको आँसु पुछ्न थाले। यो देखेर मेरो मन निकै भावुक भयो।
‘के भएको भन त?’ भनेँ।
उनीहरूको आमाको मृत्यु ती बहिनी १० वर्षकी र भाइ ८ वर्षको हुँदा भएको रहेछ। बाबाले अर्को श्रीमती लिएर बैंगलोर गएको एक वर्ष भइसकेको र घरमा कोही नभएको बताए।
यति सुनाएपछि मेरा आँखा आँसुले भरिए।
‘अनि विद्यालय जाँदैनौ त तिमीहरू?’ फेरि सोधेँ।
भाइ चाहिँले ४ र दिदी चाहिँले ५ कक्षामा विद्यालय जान छोडेको कुरा सुनाए। मामामाइजूले स्कुल नपठाउने र काममा लगाउने रहेछन्। यसरी नै उनीहरू दिनदिनै त्यहाँ भाँडा धुन आउँदा रहेछन्।
‘दाइ, तपाईं एउटा विद्यार्थी काम सिक्न आउनु भएको होला तर हाम्रा कति बाध्यता छन्, कति दुख छन्। मामा-माइजूले निकै दुख दिनुहुन्छ। हामीले काम गरेको पैसा चामल, दाल, नुन, तेल किन्ने, कोठा भाडा तिर्ने र बस्ने अनि मामाले कमाएको पैसाले उहाँको छोराको बिमा भर्ने र बाँकी बचत गर्ने हो। उहाँ पठाओ चलाउनुहुन्छ। दिनमा ३/४ हजार कमाउँछु भनेर माइजूलाई भन्नुहुन्छ। उहाँको छोरा बोर्डिङ पढ्छ।’
मेले उनीहरूको नाम सोधेँ। सुजन र रेश्मा तामाङ रहेछ। उनीहरू माघको जाडोमा थर्थर काँप्दै ठुला डेक्ची मस्काइरहेका थिए।
‘अब काम गरेर के गर्ने नानी बाबु?’ फेरि प्रश्न नसोधी बस्न मनले मानेन।
उनीहरूले एकैसाथ भने, ‘आजभोलि काम सिक्ने। पछि होटेल खोल्ने, पैसा जम्मा गरेपछि।’
ओहो! कत्रो ठुलो, कस्तो राम्रो सपना! भगवानसँग प्रार्थना गर्छु, यी नानी-बाबुको सपना पूरा होस् भनेर।
उनीहरूलाई आफूले कति कमाउँछु भन्ने पनि थाहा रहेनछ। पैसा सिधा मामाको बैंकमा जाने रहेछ। उनीहरूसँग मोबाइल पनि रहेनछ। आवश्यक पर्दा मामासँग मागेर फोन गर्ने रहेछन्। मैले मेरो नम्बर टिपेर दिएँ।
उनीहरूले भने, ‘तपाईं हाम्रो दाइ जस्तै लाग्छ। दाइ, हामीलाई नबिर्सिनुहोस् है, तपाईंका त घरमा सबै होलान्, हाम्रा कोही छैन।’
लाग्यो, दाजुभाइको माया नभएर भौँतारिएका भाइलाई एकछिन भए पनि दाइ भएको महसुस गराउन सकेँ, त्यो खुसीको कुरा हो। तर ती नानीबाबुको हाल देखेर मन खिन्न भयो।
त्यति बेला भाइबहिनी दुवैलाई साहुले काम गर्न बोलायो।
बहिनीले भनिन्, ‘दाइ, तपाईं उता गएर बस्नुहोस्, साहुजी धेरै रिसाउनुहुन्छ, बसेको देख्यो भने पछि पैसा काटिदिन्छन्।’
यत्तिकैमा खाजा खाने समय सकियो। अरू दिने चिज मसँग केही थिएन, आश्वासन बाहेक।
भोलिपर्सि भेट्नुपर्छ, म केही गर्न सके सहयोग गर्छु भनेँ। गोजीमा भाडा तिरेर बचेको तीन सय रुपैयाँ रहेछ, त्यो भाइको हातमा दिएँ। उसले मामाले कहाँबाट ल्याइस् भनेर रिसाउँछन् लिन्नँ भन्दै थ्यो। मैले जबरजस्ती खल्तीमा राखिदिएँ।
उनीहरूको पिठ्युँमा धाप मार्दै ‘तिमीहरू एक दिन पक्कै पनि सफल हुनेछौ। भगवान् छन् भने तिमी पनि सुखी र खुसी बन्ने पालो पाउने छौ’ भनेँ। मेरो आफ्ना अनुभव बताउँदै एउटा सम्झना स्वरूप फोटो खिचेर आ-आफ्नो कामतर्फ लाग्यौँ।
राति १२ बजे काम सकियो, गाडी डेरातर्फ लाग्यो। मनमा सुजन र रेश्माप्रति भाव आउँदै छुट्दै गए।
नेपालमा बालश्रम मुक्त भएको रहेन छ, रेश्मा र सुजन एउटा पात्र मात्रै हुन्। काठमाडौँका होटेल, रेस्टुरेन्ट, पसलहरूमा कति बालबालिका बालश्रमको सिकार भएका छन् होला? कतिले पढ्न पाएका छैनन् होला? कतिका आमाबाबु छैनन् होला? बाआमा, आफन्त बिनाको गरिब जिन्दगी कटाउन कस्तो महसुस हुन्छ होला?
अग्ला-अग्ला डाँडामा भ्यु टावर बनाउने राज्यले ती बालबालिकालाई खाना लाउन पुर्याइदिए हुन्थ्यो होला। असहाय बालबालिकालाई शिक्षाको पहुँचमा पुर्याए कस्तो हुन्थ्यो होला? स्थानीय सरकार, संघीय सरकार, प्रदेश सरकार तीन वटै तहले विशेष प्राथमिकता देशैभरका गरिब तथा अनाथ बालबालिकालाई राख्नुपर्छ। उनीहरूको आधारभूत आवश्यकता पूरा गर्नुपर्छ। संविधानका पानामा मात्रै हैन, यथार्थमा बालअधिकार लागू गरिनु पर्छ।
पछि काम गर्न गएको रेस्टुरेन्ट बारे बुझ्दा उक्त रेस्टुरेन्ट एकजना वडा अध्यक्षको रहेछ। स्थानीय सरकारको जिम्मेवारी पदमा बसेको प्रतिष्ठित व्यक्तिले बालश्रम गराएको देख्दा अनौठो लाग्यो। अब जे जस्तो भए पनि ती नानीबाबुको सपना पूरा होस्। सफलताले पछ्याउँदै आओस्।
समय बित्दै गयो।
घरको छतमा बसेर लेख लेख्दै गर्दाको एक साँझ अपरिचित व्यक्तिको फोन आयो। उठाएर कानमा लगाएँ।
‘दाइ, म सुजन, चिन्नुभयो?’
ती आफ्नै भाइ जस्तो प्रिय लाग्ने भाइलाई कसरी बिर्सिनु? चिनिहालेँ। उसको खबर सोधेँ।
उसले भन्यो, ‘मेरो त ठिकठाक छ दाइ तर दिदी…’ यति मात्रै भनेर बोली अड्कियो, सुक्क-सुक्क गर्न थाल्यो।
बुझ्दा उसको दिदीलाई गाडीले हानेर बितेको थाहा पाएँ। एकातिर क्षितिजमा सूर्य अस्तायो, उता रेश्मा अस्ताएको खबर सुनियो। सूर्य त भोलि पनि उदाउने छ तर रेश्मा कहिल्यै नउदाउने गरी अस्ताइछ। शरीर थर्थर काँप्न थाल्यो। ठुलो भिरबाट खसेको महसुस भयो। एकाएक मन भारी भयो। सायद धनी सम्पन्न भएको भए उनीहरूको यस्तो बिचल्ली हुँदैनथ्यो होला।
मैले पनि केही सहयोग गरेको भए यस्तो हुँदैन थियो होला जस्तै लाग्यो। ओहो! कस्तो दुखद घटना! आँखाबाट आँसु बेस्सरी पोखिए।
भाइले ‘रिचार्ज सकियो, दाइ म पछि फोन गर्छु मोबाइल मागेर’ भन्दै फोन काट्यो। त्यसपछि मैले धेरै पल्ट फोन गर्न कोसिस गर्दा सधैँ फोन स्विच अफ थियो। न उनीहरूसँग भेट भयो, न उनीहरूको फोन आयो। पहिलो भेट नै अन्तिम भयो।
भेट हुनु मिठो अनि छुट्टिनु तितो महसुस भयो। अर्को पटक काम गर्न जाँदा, उनीहरूले काम छोडेको धेरै भयो भन्ने सुनेँ। खोला बगेर सागरसम्म पुग्छ, बगर त्यहीँ छुट्छ। ठिक, त्यस्तै सुजन र रेश्मा मबाट छुट्टिए।
कुनै समय, कुनै घडीमा भेट हुने आशा राखेको छु। अब भविष्यमा यस्तो दुखद घटना कहिल्यै सुन्न र हेर्न नपरोस्। यसरी निर्दोष बालबालिका मरिरहन नपरोस्। सधैँ रक्षा गरुन् भगवानले। धेरै माया र सम्झना प्रिय भाइ सुजन।