चिया, असाध्यै मन पराउने ऊ अनि पटक्कै मन नपराउने म! तैपनि हाम्रो गफ दमदार जम्थ्यो। यही दमदार गफमा कहिलेकाहीँ उसको र मेरो कुरा चियाकै बारेमा हुन्थ्यो। अनि बिस्तारै उसको चिया खाने आदत नै मेरो आदत बन्यो।
मौसम चाहे चिसो होस् या तातो, मलाई खासै फरक पर्दैन (मेरो भनौँ या हामी सबैको दैनिकी, जुन मौसम भए पनि बिहानीको सुरुवात नै चियाको सुर्कीबाट हुन्छ।) साथीभाइसँग बसेर चियाको चुस्कीसँगै थरीथरीका गफ, राजनीतिक, प्रेम, काम पुग्नु पर्ने ठाउँ, योजना, आदि प्रायः दोहोरिरहन्छ। तर मलाई भने उनीसँगको चिया गफ अलि बेग्लै लाग्छ।
हरेक वैशाख १५ मा चिया दिवस मनाइन्छ। मलाई भने राम्रो पक्ष भनेको उसलाई पर्खेर बस्दा चिया खायो, समय काट्यो, आफूले चिया पिउँदै गर्दा आफ्नो वरिपरि अनेक थरीका मानिसहरूका कुरा सुन्यो, समय बितेको पत्तै हुँदैन। हामी चियाका पियक्कडहरूलाई जहाँ नयाँ–नयाँ क्याफे खुल्यो, त्यहाँ–त्यहाँ चियाको स्वाद लिन पुगिहाल्छौँ।
तर मलाई भने सुर्खेतको काँक्रेविहारमा अवस्थित ‘दाह्री भाइको चिया पसल’ औधी मन पर्छ। त्यहाँ छुट्टै खालको तौर तरिका छ। त्यहाँ चिया दिँदा माटोको मड्कामा दिइन्छ। चिया पिइसकेपछि त्यही मड्कामा आफ्नो र उसको नाम जोडेर कालो मार्करले लेखेर सजाएर राख्नुको बेग्लै आनन्द लाग्थ्यो। तर के गर्नु, चियाका चुस्कीसँगै हाम्रो सम्बन्ध पनि पातलिँदै छ। खै! छुट्टाउनै सक्दिनँ, चिया फिक्का भयो कि हाम्रो सम्बन्ध?
त्यो चियामा मिठास भेट्दिनँ, प्रत्येक पटक चियाको चुस्कीसँगै मैले मेरो आँसु निलेको महसुस गर्छु। चियाका बेफाइदाहरू बेग्लै होलान्। तैपनि चिया पिउँदा तिमीलाई महसुस गर्छु। अँ! साँची कुनै–कुनै साथीहरूलाई चिया र चुरोट खुब जम्छ। ताकि चुरोटको ठुटो मुखमा नझोसी चिया नै मुखबाट नजाने जस्तो गर्छन्। ‘चियाको चुस्कीसँगै सपनाहरू निलेर चुरोटको धुवासँगै सपनाहरू उडाउँछन् कि क्या हो?’ अचम्म पर्छु!
अझै भनौँ त, राजनीति दलका कार्यक्रममा पनि चियापान भनेर थुप्रै पार्टीहरूको ‘चियापान कार्यक्रम’ आयोजना गरेको देख्छु। यसको मतलब चियाको स्वादले नेपाली राजनीतिलाई पनि छाडेको छैन। चियाको प्रभावबाट सर्वसाधारण मात्र हैन ठुला–ठुला नेताहरू, राजनीतिक विश्लेषक पनि पर्दछन्। सरकारी कार्यालय होस अथवा प्राइभेट कार्यालयमा किन नहोस् चियाको चुस्कीबाटै कामको सुरुवात हुन्छन्।
अरे! लेख्दै जाँदा राजनीतितिर मोडिएछु क्यारे! मेरो मायामा पनि राजनीतिकले छुला फेरि, अहँ! त्यो मलाई मन्जुर छैन। अनेकौँ कोरिएका छरपस्ट अक्षरहरू मध्य सुरुमै आँखामा आउने शब्द हो ‘तिम्रो नाम’ तिम्रो नाम र चिया उस्तै–उस्तै लाग्छ। अति नै मिठो, मधुर एकपछि अर्को फरक किसिमका गुन्जिएका नेपाली गीतहरू, छिनछिनमा आउँदै रित्तिँदै गरेका तिम्रा यादहरू, बादलहरू जस्तै मडारिएका चुरोटका मुस्लाहरू अनि साहित्यले भरिएका भित्ताहरूले साँच्चिकै तिम्रो स्वरूपलाई झल्काउँछ।
बिहानीको किरणसँगै आउने तिम्रा ती याद मानौँ कुनै ऋणीले साहुको ऋण चुक्ता गर्न नसकेको झैँ तिम्रा ती तिता–मिठा याद चुक्ता गर्न सकेकी छैन। सधैँ भन्ने गर्थ्यौ- ‘मेरा बा–आमा पछिको तिमी हौ, मेरो प्राण हौ।’ तिमीसँग मेरो अन्तिम प्रश्न- ‘के तिमी प्राणबिना पनि जीवित छौ र?’
तिम्रा याद पखाल्न सक्ने कुनै मदिरा भेटिन्न, त्यसैले चियाको सहारा लिएको छु।
हेर न कहानी अधुरै रह्यो! आँखाबाट खस्ने आँसुले नै जीवन बगाउने भयो। सजाउन अब उपहार छैन, सजिन पनि मनमा कुनै बहार छैन। मेरा सारा खुसी नै तिमीमा सीमित रहेछन्। हेर न तिमी गयौ, म एकपल्ट पनि मुस्कुराएकी छैन। तिमी जान्छु पनि नभनेर गयौ। मलाई रोकौँ कि अँगालो हालौँ केही होस नै भएन। धेरै कुरा सुनाउन मन छ भन्न मन छ। मेरा हालहरू बिसाउन मन छ। त्यसैले अन्तिम पटक हामी चिया गफमा भेटौँ न।
म बसेको कुर्सी नजिक आऊ न, एकछिन चिया गफ गरौँ न। चिया यस्तो होस कि जसले हाम्रो लवजलाई नपोलोस्। चियाको रङ यस्तो गाडा होस् कि हाम्रो सफेद जीवन नझल्कियोस्। आऊ, चियाको चुस्कीसँगै आज झुटको व्यापार गरौँ न है। तिमी मिठा–मिठा मायाका कुरा गर अनि हँसाएर बोल अनि म हाँसेर सुनिदिन्छु है। चिया गफ यस्तो बनोस् कि देख्नेले हामीलाई प्रेमी–प्रेमीका देखुन्।
अँ! सुन न,क तिमीसँगको चिया गफ आत्मीय र अनौठो हुन्छ। हुन त प्रत्यक्ष संवाद हुन्छ तर दूरी कायम हुन्छ। केही नजिकिए जस्तो त हुन्छ अनि एउटा भ्रम जस्तो पनि लाग्छ, न आफ्नै जस्तो गरी कुरा हुन्छ, न छुट्टाउन मिल्ने जस्तो सम्बन्ध हुन्छ। हुन त हामी साथमै छौँ तर खासमा भने छैनौँ।
लेख्दै गर्दा आज मेरो मनमा यी अनेक कुराले ठाउँ लिनुमा नजिकिँदै गएको प्रेमीहरूले प्रेम दिवस अर्थात् १४ फेब्रुअरीको प्रभाव जस्तै लाग्दछ। वर्षैपिच्छे फेब्रुअरी महिनाले प्रेमको संगीत बजाउँदै आए जस्तो लाग्छ। कति प्रेमीहरू १४ फेब्रुअरीको प्रतीक्षामा होलान्। तर तिम्रो र मेरो प्रेम दिवस सधैँ खल्लो नै रह्यो, चिनी बिनाको चिया जस्तै।
बाफरे! यो शब्दकोशमा च, चा, चि, ची, ... शब्द किन राखेको होला? नाइँ–नाइँ किन बनाएको होला? यो च, चा, चि, ची, ... बाट आउने शब्दहरू जति प्रिय छन् त्यति नै हानिकारक पनि छन् जस्तै: चिया, चिनी, चुरोट, चटपटे, चाउमिन, चियो–चर्चो, चिन्ता अनि यी सबैको अस्तित्व मेटाउने नै ‘चिता’ हुनेछ। खैर छोड, अब जसरी समय बदलिन्छ, भावनाको आधी पनि बिस्तारै शान्त हुनेछ।
जीवनमा हरेक व्यक्तिले कहिलेकाहीँ यस्ता क्षणहरूको सामना गर्नुपर्छ; जहाँ मन थिचिएझैँ लाग्छ, संसार ओझेलमा परेको महसुस हुन्छ। यस्तो समयमा आँखाले देख्न सक्दैन, कानले सुन्न सक्दैन र मनले बुझ्न सक्दैन। यो भावनाको आँधीले मानिसलाई असहाय बनाउँछ। त्यसैले यो कुरा बुझ्दै छु कि भावनाहरू असहाय हुन समयसँगै ती भावनाहरू पनि बिस्तारै थामिन्छन् होला।
धैर्य गर्दै छु, आफूलाई मौका दिँदै छु अनि अबको हाम्रो चिया गफ अन्तिम बन्नेछ कि बनाउने छौ, त्यो तिमी र ममा निर्भर हुनेछ। तर मलाई लाग्छ अब हाम्रो चिया अन्तिम बन्नेछ। हामी जुन चिया पसलमा बस्ने छौँ त्यो पसलले मेरो बरबादी देख्नेछ, तिमी जुन कुर्सीमा अडेस लाग्दै चियाको चुस्की लिनेछौ त्यहाँ मेरा आँसुहरू दबिएका हुनेछन्।
भयो! अबदेखि नहेर्नु मलाई एकनासले यसरी। आँसु कति बेला बर्सिन्छन् त्यसको ठेगान छैन मसँग। म चाहँदिनँ कि त्यो गुलियो कपमा मेरा नुनिलो आँसु एक थोपा पनि बर्सियोस्। म चाहँदिनँ कि यी आँसुका प्रत्येक थोपाहरूमा अलिकति पनि तिमीलाई मेरो ख्याल आओस्. हेर न त्यो खाट जहाँ म आराम गर्न भनी ढल्छु। वास्तविकता यो हो कि मेरो खाटले कहिल्यै आराम पाएको छैन।
तिमीलाई हाँसेको अनुसार सदैव राम्रो लाग्छ। चियालाई सेलाउन नदिऊँ जसरी हाम्रो सम्बन्ध सेलाएको छ। जीवन रमाउने अवसर हो। अहँ! यस्तो फिक्का भेट हाम्रो हुने छैन। छोटो भेट लामो यात्रा उफ्! चियाको बाफसँगै तिम्रा ती यादहरू उडाइदिऊ कि क्या हो। यसरी कि, दुनियाँले सोचोस् प्रेमका प्यालाहरू गगन चुम्न उडेका छन्।
ल चियाको कप रित्तियो प्रिय! अब हाम्रो भेट टुङ्गाइदिऊँ, हामी फेरि भेट्ने छौँ। म उत्साह बोकी आउँछु, तिमी सबैलाई छलेर थोरै समय लिएर आउनू।