सौन्दर्यकी बिहानी रातकी चाँदनी
स्वर्गकी अप्सरा जस्तै
मोहनी रूप रङले भरिएकी
चन्द्रमा जस्तै चम्किली तिमी
हर पल आउँछेउ मेरो सपनीमा।
हरपल घुमिरहन्छ्यौ तिमी मेरो आँखा वरिपरि
सपनीमै भए पनि तिमीलाई हेरेर टोलाई रहन्छु
बिपनीमा ओझेल पार्ने नशालु ती आँखा
कोकिलको झैँ मिठो बोली, माधुर्य भाका छ तिम्रो।
तिमीलाई
बिपनीमा देखूँ-देखूँ झैँ लाग्छ
बिपनी मै भेटूँ-भेटूँ झैँ लाग्छ
नजरमा नजर जुधाएर प्रेमिल संवाद गरौँ झैँ लाग्छ
तिमी मै मोहित भएको छु
नजिक नभए पनि हरपल
साथमा भएको झैँ लाग्छ
हर पल तिमीलाई सम्झेर
यो दिल मुस्कुराए झैँ लाग्छ।
मेरो जीवनको बार्दलीमा
आजकल तिमी नै झुमिरहन्छ्यौ
मुटुको माझमा मात्र हैन आँखाको नानीमा
अनि हृदयको अग्रभागमा पनि तिमी नै छ्यौ
मायाको सुन्दर फूलबारीकी बास्ना बनी
प्रीति पोख्दै मेरो दिलमा
शीतल मलम बनी तिमी नै बसेकी छ्यौ।
तिम्रो लालित्यपूर्ण मुस्कानमा
ओझेलमा परेको छु म
सुरताल मिलेको सङ्गीतजस्तो
मुहार छ तिम्रो जुनले चाँदनी पोखेजस्तो
सुन्दरताको यो अधिक रोशनीमा
तिम्रै गीत गाइरहन्छु म हरपल सपनीमा
आजकाल यी नजर पनि तिमीमै
टक्क अडिएका छन्
यो मनले पनि तिमीलाई अनिवार्य चाहेको छ
जसरी सराबीलाई सराब
अनिवार्य जस्तो भएको छ।
बर्खा यामको वर्षा झैँ तिम्रा यादहरू
छिनछिनमा वर्षिरहन्छन्
एक्लोपनाको न्याउलीले मनमा डेरा जमाउँदा
तिमीलाई नै सम्झिने गरेको छु
निराशाको पहाडले थिच्न खोज्दा
तिम्रो मुस्कानलाई सम्झिने गरेको छु
अधेरी रातको निन्द्रा भुलाउन
तिमीलाई सपनीमा देख्ने गरेको छु।
आऊ प्रिय सपनाकी रानी मेरो बिपनाको संसारमा
तिमी म मिली
कहिल्यै नटुङ्गिने अजम्मरी प्रेमको
एक निश्चित गन्तव्यको यात्रा तय गरौँ
मिठो अठोट लिएर अगाडि बढौँ
यात्राहरूको घुमाउरो घुम्तीमा पुग्दा पनि
पाइलाहरू अन्त नमोडिने गरी हिँडौँ
आऊ प्रिय अब बिपनीमै आऊ।