समाचारको हेडलाइन जस्तै
म पनि कति पटक ब्रेकिङ न्युज भएँ
लेखेँ, लेखेँ, शब्दहरू बुनेँ
समाजका चोटहरू खोलेँ
तर मेरा औँलाहरूले बुनिएका अक्षरहरू
कहिल्यै पारिश्रमिक हात लाग्ने बनेनन्।
साथीहरू मिडियाको घरभित्र
म त केवल अक्षरको छाया
न लेख्ने हातले तलब देख्यो
न विचारको मूल्य तोकियो
सिर्जनाहरू आत्म सन्तुष्टिको बलिमा चढे
आर्थिक मूल्य शून्य बनाइए।
तर समाचारहरूमा हरेक दिन
पुरस्कारको झिलिमिली छरिन्छ
पत्रकारलाई धन्य भनिन्छ
कहिलेकाहीँ लाग्छ
समाचारकै पात्र भइदिएको भए हुन्थ्यो
पुरस्कारको आकाशमा टल्किन्थ्यो
कम्तीमा कलमले
आफ्नै नाम लेख्न पाउँथ्यो।