एक समय जब आउँछ
डरलाग्दा ज्वारभाटा सहितको
विगतका चित्रहरू
लिएर
यथार्थ सामु पछारी दिन्छ
आफ्नो मन मुटु जोडिएको पात्रसँग
बिछोड गराई
समयको निर्बाध
घनचक्करमा एक्कासि
बजारिदिन्छ
विस्मयको पर्खालभित्र
बिना कसुरको कैदी बनाएर
निमोठिन्छ
स्वतन्त्र अस्तित्व
पछारिन्छ स्वाभिमान
बढारिन्छ सपना
ढलाइदिन्छ आत्मगौरव
उजाडिन्छ ममताका
सम्पूर्ण द्वारहरू
र सन्देश दिइन्छ
बन्दी बनाएर भोकाएका
पेटलाई
घातपश्चात् भावशून्य बनाइएका
मस्तिष्कलाई
मनोमानी कु-कृत्यलाई
सेवा र कर्तव्यको नामबाट
हरेक साँझ
युद्धको विश्राम झैँ
कुण्ठित कैद बाहिरका
प्राणीहरूमार्फत प्रहार हुन्छन्
अनायासै दुष्ट आवेग र मनको द्वन्द्व शान्त पार्न
ताल्चा तोडेर आइरहेका छन्
यो निरीह कैदीलाई लाठी चार्ज गर्न
कुटिल र तिक्त वाणीसहित
कुनै आफ्नोको निशानी
नभएको आफ्नो बनेर
द्वेषको दुर्गन्धित ज्वाला फ्याकिरहेछन
उनीहरूलाई
त्रास छ भोलि यो
कैद बाहिर पुगेर
आफ्नोभन्दा स्वच्छ आकाश नदेखोस्
शान्त प्रकृति नभेटोस्
शान्त तलाउ नहेरोस्
फेरि हेर्न पायो भने भुल्नेछ हामीलाई
र बिर्सनेछ
दासत्वको कर्तव्यलाई
त्यहाँ पक्कै पनि सुन्दर हुनेछन्
हाम्रा आलिसान जेलका छतभन्दा
निला स्वतन्त्र आकाशहरू
त्यहाँ पक्कै पनि मिठा हुनेछन्
स्व-श्रमले आर्जेका भोजन
हामीले कैदभित्र राखेर
ईर्ष्या ओकलेर दिएका
परीकारभन्दा
त्यहाँ पक्कै मीठो हुनेछ निद्रा
मेहनतको आकाश अनि
पसिनाले भिजेको धर्तीको
ओछ्यानमा
शक्तिशाली शासकले
जेलभित्र दिएको तातो
सिरक र डसनाभन्दा
त्यहाँ पक्कै पाइनेछ
प्रेमको भाषा
जहाँ यो चिनिएको
र क्रूर अनुहारभन्दा
नवआगन्तुक वा
पूर्ण अनजान पात्रहरू
गुरुवर वा
पथप्रदर्शक बनेर उदाउनेछन्
जीवनमा र
दिनेछन्
जीवन्त ज्ञान जगतको
निस्वार्थ अनि
प्रेमिल मनका भाव सहितबाट!
पक्कै पनि यसका निमित्त
वसन्तले धेरै पटक पालुवा
फेर्न पर्नेछ
कोमल हृदयलाई समयले बनाएको
बन्धन तोडेर
बाहिर निस्कन!
चाहे धर्ती भित्र होस
चाहे बाहिर होस
वा अनन्त आकाशमा
आफ्नो भौतिक शरीरको समाप्ति भएर होस
सुविधाजनक नै
भए पनि दुष्ट नजरले
भरिएका जेलहरू कोमल
हृदयका लागि स्वीकार्य हुँदैनन्।