'तपाईंको घर इलाम रहेछ है। फेसबुकमा तपाईंले राख्नु भएको पृष्ठभूमिको फोटोबाट थाहा पाएँ।'
अपरिचित व्यक्तिद्वारा म्यासेन्जरमा लेखिएको पाएँ। प्रोफाइल खोलेर हेरेँ तर चिनेको मान्छे होइन। हामीबीचमा म्युचुअल फ्रेण्ड पनि कोही थिएनन्। लेख्ने मान्छेको नाम थियो रञ्जु खतिवडा। उनले मलाई फ्रेण्ड रिक्वेस्ट पनि पठाएकी रहिछन्।
साथी बन्ने उनको अनुरोधलाई स्वीकार नगरिकनै मैले म्यासेन्जरमा उत्तर दिएँ 'हजुर मेरो घर इलाम हो।'
केही समयपछि रञ्जुले लेखिन् 'इलाम कहाँ हो नि?'
उसो त म सामाजिक सञ्जालमा सबै कुरा खोल्दिँन। तर रञ्जुको प्रोफाइल पिक्चरले उनी चार दशक कटेकी पौढ खालकी थिइन्। त्यही भएर सोझो जबाफ फर्काएँ 'नयाँबजार। इलाम जिल्लाको पूर्वउत्तरमा पर्ने एउटा गाउँ।'
'ओ माई गड' उनले आश्चर्यभावमा लेखिन्।
नयाँबजार भन्नासाथ उनले यस्तो प्रतिक्रिया दिइन्। सोचिन् होला भर्खरै स्थापना भएको बजार। मैले उनलाई प्रष्ट्याउन चाहेँ। अनि लेखेँ 'नाम मात्र नयाँबजार। यो बजार २०११ स्थालमा एक जना साधुले स्थापना गरेका हुन्। ती साधुको नाम बालागुरू हो। पहिले यसको नाम त्रिभुवन नगर थियो रे। पछि नयाँबजार भयो। अहिले त माइजोगमाई गाउँपालिकाको केन्द्र बनेको छ। पिलन्धरेको नाम वीरबहादुर, कन्जुसको नाम दानबहादुर, गरिबको नाम धनप्रसाद, डरछेरूवाको नाम योद्धा भए जस्तै हो नयाँबजार पनि।'
नयाँबजार।मेरो लामो लेखाइले झन्झट मानेर हो कि किन हो उनले कुनै जबाफ दिइनन्। म्यासेज सिन भएको थाहा भयो तर उत्तर नपाएपछि म आफ्नो काममा लागेँ।
तीन घण्टापछि म्यासेन्जर हेरेको त उनका दर्जनौँ सन्देश पालो पर्खेर बसेका रहेछन्। उनले थाहा पाएरै नयाँबजारप्रति आश्चर्यभाव व्यक्त गरेकी रहिछन्। साँच्चै भन्ने हो भने उनी नयाँबजारकै कसैलाई खोज्ने क्रममा मसँग जोडिएकी रहिछन्। उनले म्यासेजमा लेखेकी थिइन् 'हो त्यही नयाँबजार मैले खोजेकी हुँ। त्यो नयाँबजार जहाँ मेरो गहिरो प्रेम बसेको छ। मेरो पहिलो प्रेम, अनि चोखो र पवित्र पनि। अन्जान र बालापानको प्रेमले मलाई नयाँबजारका बारेमा धेरै कुरा थाहा छ। स्मृतिका पानाहरूले मलाई फुर्सदमा त्यही चिसो ठाउँमा उभ्याउने गर्छन्। त्यहाँको भुइँकुहिरो,टिङ्लिङ टिङ्लिङ घण्टी बजाउँदै दौडने घोडाहरू, थुम्के डाँडाको काखमा बसेर चिटिक्कको ठाउँ, भेडाका बथान चर्ने चौरहरू, एकान्तको जङ्गलमा रहेको उत्तरे पोखरी अनि त्यो अमर कल्याण स्कुल। देउरालीबाट केहीबेरमा पुगिने गुम्बा। त्यहाँ पुगेपछि धुपको बासना र लामाको मन्त्रोच्चारणबाट अथाह शान्ति प्राप्त हुन्छ।'
अमर कल्याण स्कुल
अरे मेरो आँगनको बखान मेरै अगाडि। यो त सूर्यलाई बत्ती देखाउनु जस्तो पो भयो। मलाई शंका लाग्यो नयाँबजारकै कुनै मेरो साथी केटीको फोटो फेसबुकमा राखेर मसँग जिस्किँदैछ। मैले लेखेँ 'तपाईंको घर पनि नयाँबजार नै हो कि?'
'मेरो घर विराटनगर। अहिले चाहिँ अस्ट्रेलिया बस्छु। तर नयाँबजारमा चालीस एकचालीस सालतिर दुई वर्ष बसेकी छु। त्यतिबेला मेरो उमेर ९ वर्षको मात्र थियो। त्यही अबोध अवस्थामा मेरो प्रेम बसेको। अथवा यसो भनौँ मलाई कसैले प्रेम गरेको। अहिले पनि मन उडेर त्यहीँ पुगिहाल्छ।'
हामीबीचमा किस्ताबन्दीमा कुरा हुन थाल्यो। कहिले दैनिक हुन्थ्यो, कहिले एक साता बिराएर। उनी परिवारसहित अस्ट्रेलिया बस्दिरहिछन्। उनकी छोरी पनि विश्वविद्यालय पढ्ने अनि श्रीमान जागिरे। उनी चाहिँ साताको २ दिन विश्वविद्यालयमा पढाउने रहिछन्।
कुराका सिलसिलामा उनले मलाई दुई कारणले गर्दा फेसबुकमा जोडेको बताइन्।
पहिलो मेरो थर र दोस्रो मेरो फेसबुकको पृष्ठभूमि फोटो।
मैले फेसबुकको पृष्ठभूमि बनाएर कन्यामको चियाबारीको फोटो राखेको थिएँ। उनले बताएका यी दुवै कुरामा कुनै रहस्य लुकेजस्तो लाग्यो।
नयाँबजारमा उनले आफ्नो प्रेमी रहेको र उसलाई एकचोटि भेट्ने उत्कट इच्छा रहेको बताइन्। राम्रो दाम्पत्य जीवन बिताइरहेकी उनलाई चालीस वर्ष पुरानो बाल्यकालको प्रेमी भेट्ने चाह आफैमा अनौठो र कौतुहलपूर्ण थियो।
उनले एकदिन मलाई सोधिन् 'तपाईं अमर कल्याणमा पढ्दा कति जना आचार्य थरका विद्यार्थी थिए? उनीहरूका नाम भन्नु त।'
केहीबेर सोचेर मैले जबाफ लेखेँ 'म र मेरो दाजु दीपक आचार्य एउटै कक्षामा पढ्थ्यौँ। हामीभन्दा एक कक्षामाथि हाम्रै काका पर्ने खिरिराज आचार्य थिए। त्यसबाहेक अरू कुनै आचार्य भए जस्तो लाग्दैन।'
'अत्यन्त राम्रा हस्ताक्षर भएको कुनै केटा थिएन आचार्य थरको?' उनले अनकनाउँदै सोधिन्।
यतिन्जेलमा हामी लेखेर होइन भ्वाइस कलमै कुरा गर्ने भइसकेका थियौँ। आफ्नो हस्ताक्षर त अझै पनि कुखुराले छेरेजस्तो छ। त्यतिबेला कस्तो होला कल्पना गर्नै परेन। कक्षा दसमा पढ्दा मलाई बासुदेव पौडेल सरले भन्नुहुन्थ्यो 'तेरो कापी जाँच गर्ने मान्छे त बेहोस हुन्छ होला है केही पनि नबुझेर।' बासु सर हामीलाई अंग्रेजी विषय पढाउनुहुन्थ्यो।
मेरो नकारात्मक जबाफले उनी निरास बनिन्।
भनिन् 'कत्रो आशा थियो उसका बारेमा केही जानकारी पाइन्छ कि भनेर। तपाईंले थाहा नपाएपछि अरू कसले भन्न सक्छ र।'
मैले कस्तै जोड गरे पनि उनले आफ्नो त्यो प्रेमीको नाम बताइनन्। मलाई कक्षाका साथीहरूको नाम सोध्ने गर्थिन्। म भन्थेँ नारायण चँदारा, हस्तबहादुर निरौला, रेशबहादुर निरौला, सरिता भट्टराई, नैनकला भण्डारी, मीरा भण्डारी अनि अरूअरू। उनी केही सम्झे जस्तै गरेर हो, हो भन्थिन् तर उनले चाहेको नाम नआएको भन्दै फेरि निरास हुन्थिन्।
'अनि तपाईंलाई नयाँबजारको केके कुरा याद छ? लौ भन्नु त।'
मैले जाँच्नका लागि सोधेँ। हिजोआज मान्छेले गुगल गरेर पनि धेरथोर जानकारी त बटुलेकै हुन्छन्। अझ कसैले ममाथि प्राङ्क पो गर्दैछ कि भनेर मैले सोधेको थिएँ।
उही परिचित हाँसोसँगै उनले भनिन्, 'भनिहालेँ नि। अरू कुरा त याद छैन। मात्र त्यही मेरो पहिलो प्रेमी मात्र। उसको अनुहार पनि सम्झन खोज्छु तर कस्तो थियो भनेर कल्पना गर्न पनि मेसो आउँदैन। जम्मा २ वर्ष त हो नि अमरकल्याण स्कुलमा पढेको। त्यो पनि कक्षा चार र पाँच। चालीस वर्ष अगाडिको कुरालाई कसरी सम्झनु। त्यसमाथि यता अस्ट्रेलिया आएको पनि २५ वर्ष पुगिसक्यो।'
'तै पनि दुई वर्षको समयमा त्यहाँका केही कुरा त याद होला नि। त्यहाँका मान्छे, भूगोल, बाटोघाटो, मठमन्दिर, हावापानी। केही नसम्झने मान्छेले आफ्नो प्रेमी चाहिँ कस्तो भुल्न नसकेको नि!' उनको स्मरण शक्ति जाँच्न चाहेँ।
केहीबेर सम्झेजस्तो गरी उनले भनिन्, 'अँ कमल सर। मिठाइ बनाउने मोदीको पसल र त्यो पसलमा रहने बुढी महिला। सधैं भुइँकुहिरो लाग्ने र बर्खाभरि पानी परेर जाडो हुने ठाउँ। फिक्कलबाट हिँडेर जान हामीलाई ठ्याक्कै एक दिन लाग्थ्यो। बाबा त चाँडै हिँड्नुहुन्थ्यो तर आमा र म हिँड्न नसक्ने। बर्खामास त चिम्ट्या माटोमा लड्दै र पड्दै नयाँबजार पुग्दा लुगा हिल्लाम्मे हुन्थ्यो। एउटा खोला तरेपछि उकालो लागिन्थ्यो। दुई घण्टा जति उकालो चढेपछि बाटोमा एउटा पाटी थियो। त्यो पाटीको भित्ताभरि अँगारले केके लेखेको थियो जस्तो लाग्छ। अँ अर्को पनि पाटी थियो। त्यो चाहिँ खोला तर्नुभन्दा अगाडि नै तेस्रो बाटोमा। त्यो पाटीचाहिँ अलिक सानो थियो। त्यो पाटी भएको ठाउँको नाम अझै याद छ। त्यसलाई मकरजुङ भनिन्थ्यो। किनभने त्यो गाउँमा कोही आफन्त छन् भनेर बाबाले भन्नुहुन्थ्यो तर कहिल्यै भेट भए जस्तो लागेन।'
उनले भनेका ठाउँहरू र मान्छेका नाम मिल्दै थिए। कुनै गायिकाको डाइहार्ट फ्यानले उनको सुरिलो गीत सुनिरहे जस्तो म उनका कर्णप्रिय ध्वनीसुनिरहेको थिएँ। बीचबीचमा 'अँ' र 'हो' मात्र मेरो मुखबाट निस्कन्थ्यो।
उनी धाराप्रवाहमा बोलिरहिन् 'नयाँबजारमा मङ्गलबाट ठूलो बजार लाग्थ्यो। बजार छिचोल्नै नसिकने। त्यसबीचमा भारी बोकेका घोडा पनि ल्याउँथे घोडावालहरू। त्यतिबेला ठूल्ठूलो स्वरमा उनीहरू कराउँथे "घोडा आयो घोडा"। यसो भनेपछि मान्छेले बाटो छोड्थे। पानी परेको बेला बजार छातैछाताले छपक्कै छोपिएको हुन्थ्यो। मङ्गलबार बिहानैदेखि घोडाका लस्कर मान्छे र भारी बोकेर भेलिन्थे। हाम्रो स्कुल १ बजे अगाडि नै छुट्टी हुन्थ्यो त्यो दिन।'
सुमधुर वाणीमा उनी बोल्दै जान्थिन्, मेरो मस्तिष्कमा नयाँबजार फनफनी घुमिरहन्थ्यो। साँच्चै भन्ने हो भने उनको वर्णन यति ताजा थियो कि म चालीस वर्ष अगाडिकै बेलामा उही नयाँबजारमा पुगेको भान हुन्थ्यो।
'स्कुल र कक्षाका साथीहरूका बारेमा पनि सुनौँ न। कतै तपाईंको प्रेमी म चिन्छु कि!' मैले उनको बोलीमा ब्रेक लगाएँ।
उनले कसैको पनि नाम याद नगरेको बताइन्। मात्र उनलाई प्रेमीको नाम याद छ रे तर मलाई भन्नै नचाहने कप्टी केटी।
उनले पुरानै गतिमा भन्न थालिन् 'हामी बजारको माथिल्लो भागमा बस्थ्यौँ। त्यहाँ रेन्जर अफिस थियो र बाबाको क्वाटर पनि। स्कुल जाँदा बजार छिचोलेर जानु पर्थ्यो। त्यस्तै पाँचदेखि सात मिनेट लाग्थ्यो होला। मूलबाटोबाट स्कुलतिर लाग्ने दोबाटोमा एउटा पानीको हिटी थियो। त्यहाँ पानी खानलाई टुटी खोल्दा बेस्कन प्रेसर दिएर पानी निस्कन्थ्यो र त्यसमा मुख गाडेर पानी खाँदा पूरै शरीर भिजाउँथ्यो। पानी फेरि कति चिसो नि। मैले अहिलेसम्म फ्रिजमा हालेको पानी पनि त्यत्तिको चिसो महसुस गरेकी छैन। मैले पढेका ४ र ५ कक्षाहरू भुइँतलामा थिए। कक्षा कोठा धुलैधुलोले भरिएका। हामीले आफ्नो पालोमा पहिलो घण्टीभन्दा पहिल्यै कक्षा बढार्नुपर्थ्यो। खराने र असारेका अँगालाभरिका स्याउला ल्याएर कक्षा बडार्थ्यौं। ढोका र झ्याल थिएनन् कुनै पनि कोठामा। सबभन्दा ठूलो समस्या चाहिँ शौचालय नहुनु। चौरका बुट्टाहरूमा छेलिएर शौच गर्नुपर्थ्यो। जुकाको त्यस्तै पीर।'
'भनेपछि जुकाले पनि टोकेछ है पिसाब गर्न जाँदा' मैले बीचमै प्वाक्क बोलेँ। यस्तो प्रश्न सोध्ने कुनै योजना मसँग थिएन। सोधेपछि अप्ठ्यारो लाग्यो।
मेरो सोधनीलाई सहज रूपमा लिँदै उनले भनिन्, 'टोक्यो नि तर पिसाब गर्न जाँदा चाहिँ होइन। बाबाले हामीलाई घुमाउन तारेभिरको घना जङ्गलतिर लानुहुन्थ्यो कहिलेकाहीँ। एक दिन बिहानको खाना खाएर हामी जङ्गल घुम्न निस्कियौँ। बिहान त टन्टलापुर घाम लागेको थियो। दिउँसो घनघोर पानी पर्यो। कसो आमाले छाता चाहिँ बोकेकी रहिछन्। हामीले ओडेका छातामाथि रूखबाट लफ्य्राङ लफ्य्राङ खरी जुका खस्थे। छेउतिरका झाडीबाट स्याउँस्याउँती जुका लाग्थे। मेरा खुट्टामा चढेका जुका देखेर मेरो त सातो जान्थ्यो। बाबाले बोके टिमुर टिपेर जुकामा घस्नुहुन्थ्यो। जुका त डल्लो परेर बेहोस हुँदारहेछन्। अझै पनि ती जुका सम्झँदा आङ नै सिरिङ्ग हुन्छ।'
'स्कुल पढ्ने फुच्ची किन जङ्गल चहार्नु परेको त?' यो प्रश्न चाहिँ जानीबुझीकनै सोधेको थिएँ।
'अँ है। अहिले सम्झँदा आफैलाई अचम्म लाग्छ।' उनले किलकिल गर्दै लामो हाँसेर भनिन्, 'मलाई पनि फरेस्टी साइन्स पढाउने इच्छा थियो बाबाको। त्यही भएर उहाँले जङ्गल घुम्नलाई खुब उकास्नुहुन्थ्यो। तारेभीरमा गिद्दले गुँड लगाएको थियो। ती गिद्दले बाख्राका पाठाहरू सिङ्गै बोकेर लैजान्छ भनेर बाबाले सुनाउनुहुन्थ्यो।'
'अनि बाबाको इच्छा अनुसार फरेस्टी साइन्स किन नपढेको?' उनलाई मात्र बोलिरहँदा दिक्क लाग्छ होला भनेर मैले थप प्रश्न गरेँ।
हाँसेर जबाफ दिइरहेकी उनी एकाएक गम्भीर बनिन्।
मलिन स्वरमा भनिन्, 'परिस्थिति त्यस्तै बन्यो। म कक्षा ९ मा पढ्दै गर्दा बाबा र आमाको सम्बन्ध बिच्छेद भयो। बाबाले अर्कै बिहे गर्नुभयो। म आमासँग अस्ट्रेलिया आएँ। आमासँग सम्बन्ध बिच्छेद गर्दा बाबाप्रति घृणा पलाएको थियो र फरेस्टी साइन्स पढिनँ। पछि आमाले भने अनुसार बाबाको ठूलो गल्ती रहेनछ।'
कुरा गर्दागर्दै मोबाइलको ब्याट्री सकिएको सङ्केत आएपछि अर्कोपटक कुरा गर्ने सहमति गर्दै हामीले कुरा टुङ्ग्यायौँ।
नयाँबजारमा केन्द्रित कुराको बिट मार्ने क्रममा उनले आफ्ना बाबा आमाको सम्बन्ध बिच्छेदमा अडाएकी थिइन्। नयाँबजारको गुनगान सुन्न एकोहोरिएका यी कानहरू उनको बाबा र आमाको सम्बन्धका बारेमा अलिक चनाखो भएका थिए। मोबाइलको ब्याट्री सकिएपछि कुरा बीचमै अड्कियो।
एक सातासम्म रञ्जुसँग कुरा भएन। एक सातापछि उनैले सन्देश पठाइन् म्यासेन्जरमा। लेखिएको थियो 'कता गायब हुनुभयो? जहिल्यै मैले सोधखोज गर्नुपर्छ है। कहिलेकाहीँ त्यताबाट पनि हाई हेल्लो लेखे हुने नि!' उनले जिब्रो टोकेको इमोजी पठाएकी थिइन्।
सानोतिनो काममा व्यस्त थिएँ भनेर लेखिसक्दा उनैले कल गरिन्। उनले भने अनुसार बाबा आमाको सम्बन्ध बिच्छेद हुनुको पछाडि नयाँबजारबाट सरूवा भएर गएको ४ वर्षपछि उनका बाबाको पहिलेकी प्रेमिकासँग भेट भएछ। एउटै अफिसमा काम गर्ने भएपछि प्रेम फेरि टुसायो। टुसाउनेसँगै अङ्कुराउन पनि थाल्यो। सबै थाहा पाएपछि उनकी आमाले सहमतिमै सम्बन्ध बिच्छेद गरिदिएकी सुनाइन् रञ्जुले।
'मेरी आमा त प्रेमकी पुजारी। उनैले हो मलाई पहिलो प्रेम खोज्न उक्साएकी।' बल्ल उनले रहस्यको गाँठो देखाइन्। त्यो गाँठो कहिले फुकाउँछिन् थाहा थिएन।
आफ्नो भनाइलाई व्याख्या गर्दै थपिन्, 'मलाई कला मन पर्छ, आमालाई साहित्य। साहित्यकारहरू अलिक भावुक नै हुन्छन्। आमाका प्राय: कविता र गीत पनि भावुक नै हुन्छन्।'
'ए तपाईं कलाप्रेमी?' नयाँ कुरा थाहा पाएर मैले जिज्ञासा तेर्स्याएँ।
खितखिताउँदै उनले भनिन्, 'त्यस्तो ठूलो कलाप्रेमी त होइन तर चित्र बनाउँछु। चित्र पूरा गरेको दिन मलाई अथाह आनन्द र सन्तोष लाग्छ। ए साँच्ची तपाईंलाई थाहा छ यो कलाको बिउ पनि त्यही नयाँबजारले रोपेको हो नि।' उही आनन्ददायक हाँसोका साथ उनले भनिन् 'एक दिन बाबा र आमासँग हामी नयाँबजारबाट तारेभिर छिचोलेर अर्को गाउँतिर गएका थियौँ। त्यो गाउँको नाम त बिर्सिएँ। बीचमा ठूल्ठूला ढुङ्गा र ओडार भएको खोला थियो। बाटोको उत्तरतिर बाटुलो चट्टानमा विशाल चित्र बनाइएको थियो। कमलको फूलमाथि विष्णु भगवान सुतिरहेको अनि विष्णुको शिरमाथि शेषनागको फणा। दुवैतिर लक्ष्मी र सरस्वती उभिरहेको त्यो रङ्गिन चित्र बजारमा पाइने पोस्टरभन्दा पनि जीवन्त देखिन्थ्यो।'
केहीबेर रोकिएर उनले भनिन् 'आमाले त्यो चित्र देखाउँदै तिमी पनि भविष्यमा यस्तै चित्र बनाउने हुनुपर्छ है भनिन्। त्यो कुरा मेरो मनमै गडेर रह्यो। त्यसपछि हो मैले चित्र बनाउन थालेकी।'
उनका केही चित्रहरू मलाई म्यासेन्जरमा प्राप्त भए। छिटफुट घरहरू गुजुमुज्ज परेको एउटा चित्रको मुनि लेखिएको थियो मेरो पहिलो प्रेमी बस्ने नयाँबजार। उनले स्कुल र वरिपरि केही ठूला र बुढा रूख बनाएकी रहिछन्। बीचबाट चिरिएका र सुकेका ती रूखले मलाई सम्झाउँदै थियो चालीस वर्ष अगाडि नयाँबजारका रूखहरू चट्याङ्ग लागेर यसैगरी सुकेका थिए। उत्तरे पोखरी र बालागुरूको शालिकको पनि उनले चित्र बनाएकी रहिछन्।
बालागुरू शालिक।
'अहिले त नयाँबजार घना भइसक्यो नि। फिक्कलदेखि कालोपत्रे सडक पुगेको छ। दिनदिनै दर्जनौँ गाडी चल्छन्। हिँड्नुपर्दैन। तर तपाईंले भने जस्तो हरेक मङ्गलबार हाट बजार चाहिँ लाग्न छोडेको छ।'
मैले नयाँबजारको फेरिएको रूपका बारेमा केही जानकारी दिएँ। बताउन त मन थियो तारेभिरमा अब जङ्गल छैन। जुका लाग्दैन। गिद्दले गुँड बनाउँदैन। बोके टिमुर पनि मासियो। आफैलाई उछित्तो काड्न मन लागेन र किलकिलेमा आएका शब्दलाई दबाएर राखेँ।
सबै कुरा खुलस्त बताउने रञ्जुले आफ्नो प्रेमीको नाम बताउन आलटाल गरिरहिन्। उनले वर्णन गरेको समयकै आसपास म पनि त्यही स्कुल पढेको। उनलाई प्रेमीको नाम बताउन बारम्बार कर गरिरहेँ। म पनि धेरै उत्सुक थिएँ। यत्तिका समय उनको मन हरण गर्ने को रहेछ त्यो व्यक्ति, जान्ने चाह थियो।
नयाँबजारमा खाएको विशेष चियाको उनले चर्चा गरिन्। घिउ र नुन हालेको चियाको स्वाद उनको जिब्रोमा अझै झुण्डिएको रहेछ। स्थानीय बोलीमा भोटे चिया भनिने चिया त्यसपछि कहिल्यै खान नपाएको पनि सुनाइन्। मोदीको पसलमा उनले पहिलोपटक बम्बइसन चाखेकी रहिछन्। कालिझारका पात भेला गरेर बनाइएको चुङ्गी खेल्न त्यहीँ सिकेकी रे।
उनका स्मृतिसँगै मैले पनि रफी दाइको पान पसल सम्झिएँ। जन्तरे दमाइले फिटेको मसक कानमै गुन्जन थाल्यो। मङ्गलबारे हाट भर्नलाई जौबारीबाट अग्लो घोडा चढेर आउने थुक्तेन, नामसालिङबाट अलैँची किन्न आउने कैयाहरू, पोकामा लुगाकपडा र चुरा धागो बोकेर धुलाबारीबाट आउने व्यापारीले नयाँबजारको रौनक बढाउँथ्यो।बालाचतुर्दशी र रामनवमीमा चाराना राखेर डाइस खेलेको ताजै छ। म त अतितमै पो पौडी खेल्न थालेछु। उनको बोलीले झसङ्ग भएँ।
'साँच्चि एकजना दिदी थिइन् नि नयाँबजारमा। खै कस्तो अनौठो नाम थियो उनको। गुण्डी दिदी कि के पो भन्थे' उनले अनौठो नाम उप्काउँदै सोधिन्।
खै त्यस्तो नाम गरेको मान्छे त नयाँबजारमा कोही भए जस्तो लागेन। म सोचिरहेको थिएँ।
उनले थपिन् 'ती दिदीले एउटा सानो बाँदर पालेकी थिइन्। साङ्ग्लीले बाँधेको त्यो बाँदर उनको टाउकोमा चढेर जुम्रा खोजिरहन्थ्यो। हामी केटाकेटीलाई चाहिँ झम्टिन्थ्यो। हामीतिर झम्टिएपछि हामी भाग्थ्यौँ। साङ्ग्लीले बाँधेकाले धेरै टाढासम्म त पुग्दैनथ्यो बाँदर। तर हामी चाहिँ पाँच सय मिटर टाढासम्म सुइँकुच्चा ठोक्थ्यौँ।'
बाँदरको कुरा गरेपछि मैले तुरून्तै सम्झिएँ र भनेँ 'गुण्डी दिदी हैन हउ डङ्गी दिदी हुन् तिनी।'
खितिती हाँस्दै भनिन् 'ए मैले बिर्सिएछु डङ्गी दिदी है। उनको नाम अनौठो भएकाले। अर्की दिदी पनि थिइन् सानो कुकुर पालेकी। दिदीको नाम त थाहा छैन तर कुकुरको नाम चाहिँ सिन्डु थियो क्यार। त्यो कुकुरले हामीसँगै पढ्नै केही साथीहरूको खुट्टामा टोकेको पनि थियो। ती दिदीका श्रीमान हुलाकमा काम गर्थे जस्तो लाग्छ।'
दालु दिदीले पालेकी थिइन् सिन्डु कुकुर। सानो र खिरिलो जिउको त्यो कुकुरको अनुहारलाई रौँले झ्याप्पै छोपेको थियो। त्यसले मेरै साहिँलो दाजु दीपकलाई पनि टोकेको थियो।
उनीसँग कुरा गरेपछि धेरै कुरा स्मृतिमा नाच्न थाले। डङ्गी दिदी त अझै पनि नयाँबजारमै छिन्। दालु दिदीलाई क्यान्सरले लग्यो। उनलाई भन्दा पहिले पासाङ भेनालाई लगेको थियो। रञ्जुले भनेका सबैका आदरणीय गुरू कमल सरले यो धर्ती छोड्नु भएको पनि थुप्रै वर्ष भइसकेछ। जगदिश मोदीकी आमा पनि उहिल्यै बितिसकिन्। अमर कल्याण माविले थुप्रै काँचुली फेरेर ख्याति कमाएकै छ। शङ्खाबुङको सिरानको गुम्बाको प्रतिष्ठा उस्तै छ।
म आफै जन्मिएर हुर्किएको ठाउँ जहाँ कक्षा १० सम्म अध्ययन गरेको थिएँ, हरेक मङ्गलबार हाट लागेको भिडमा च्यापिँदै बिनाकाम दर्जनौंपटक छिरिङ सरको घर अगाडिबाट माथिल्लो कुनामा पुगेर मोदीको मिठाइ पसल अगाडि हुँदै त्यही डङ्गी दिदीको घरबाट फेरि छिरिङ सरको घरतिर पुगेर फेरो जोडको ठाउँ। हरेक साता सौदापात गर्नका लागि मान्छे ओइरो लाग्ने ठाउँ। स्कुल वरिपरिका बुकीफूलका चौर हाम्रा लागि झुम्राको गोली खेल्ने रङ्गशाला। बर्खा लागेपछि असारेका दानालाई पर्याङ र निगालोमा हालेर बन्दुक पड्काउँदै हानाहान गर्ने हाम्रो हस्तिनापुर।
उमेरले आधा शताब्दी कटिसकेका बेला आफ्नै जन्मस्थल छोडेर बिरानिएको पनि साढे तीन दशक भइसकेछ। बालापनका धुमिल स्मृति मस्तिष्कमा झुल्किनलाई पनि साइत हेर्नु पर्ने जस्तो हुने रहेछ। यस्तो बेलामा रञ्जुका भनाइले समय यात्रालाई चार दशक अगाडिको क्षणमा डुबुल्की मार्न बाध्य बनाउँदै थियो।
उनीसँग नियमित कुरा हुन थालेको दुई महिना भइसकेको थियो। हामी भ्वाइसकलबाट भिडिओ कलमा पुगेका थियौँ। म जन्मभूमिका हिमाल नाघेर बेइजिङ पुगेको थिएँ। उनी समुद्र नाघेर अस्ट्रेलिया पुगेकी थिइन्। उनी बसेको ठाउँमा हिउँद हुँदा म बसेको ठाउँमा मध्य बर्खा भइसकेको हुन्थ्यो। उनका ठाउँमा लटरम्ब फलफूल झुलेका बेला आफ्नो ठाउँका वनस्पति सिङ्ग्रिङ्ग सुकेजस्ता देखिन्थे। हामी एक अर्कामा विषम ठाउँमा थियौँ। सबैकुरा उल्टोपाल्टो भए पनि हामीबीचमा एउटा कुराको समानता थियो, त्यो हो नयाँबजारप्रतिको प्रेम। नयाँबजार आफ्नो जन्मस्थल र हुर्किएको ठाउँ भएकाले मेरा लागि त्यो सामान्य थियो। उनको नयाँबजारमा पहिलो प्रेम बसेकाले त्यो उनका लागि विशेष। नयाँबजारका हरेक गोरेटा, खुड्किला, कुइनेटा र देउरालीका स्मृतिले तानेर मलाई त्यो ठाउँको प्रेममा डुबाउँथे। उनलाई त्यहाँको प्रेमले तानेर स्मृति गराउँथ्यो र डुबाउँथ्यो।
अर्थशास्त्रको माग र आपूर्तिको मिलन विन्दुजस्तो रञ्जु र मेरो मिलनविन्दु नयाँबजार थियो। दुवैको प्रेमिल भावना एकै ठाउँमा ठोक्किन्थ्यो। बाध्यात्मक रूपमा बिछोड भएको उनको पहिलो प्रेमले उनलाई चिमोटिरहँदोरहेछ। रहरमा बिछोडिएको मलाई पनि नयाँबजारको प्रेमले चिमोटिरहन्छ।
एक दिन मैले उनलाई अनौठो प्रश्न गरेँ 'उमेरले पाँच दशक पुग्ने बेलामा पुरानो प्रेमी खोज्दै हुनुहुन्छ। भेट भएमा बिहे गरेर अस्ट्रेलिया लाने बिचार छ कि के हो? त्यहाँ श्रीमान र छोरीले घरबाट निकाल्लान् नि फेरि।'
मैले आशा गरेभन्दा फरक ढङ्गले उनले बताइन् 'म एउटा उपन्यास लेख्दैछु। त्यसमा त्यो मेरो प्रेमीको कथा पनि छ। ऊसँग सामाजिक सञ्जालमै भए पनि कुरा गर्न मन छ। त्यसो त नयाँबजारको भुइँकुहिरोभित्र हराउँदै उनीसँग त्यो क्षण साट्न मन छ। उत्तरे पोखरीको डिलमा उभिएर पानीमा उनको छाया हेर्दै गफ गर्न मन छ। उसको पनि परिवार होला, छोराछोरी होलान्, म उसलाई डिस्टर्ब गर्न होइन मात्र याद दिलाउन चाहन्छु। मेरी आमाले पनि सोधिरहन्छिन् पत्ता लगाइस् भनेर। छोरी र श्रीमान्ले पनि सोध्ने गर्छन्। तपाईंसँग कुरा भएको उनीहरूलाई सुनाउने गर्छु। उनीहरू अझै आशावादी छन्। त्यो प्रेमी नभेटेसम्म मेरो उपन्यास पूरा हुँदैन।'
'तपाईंले उसको नाम कहिल्यै बताउनु भएन। नत्र म खोज्न सघाउँथेँ। त्यतिबेला फोटो खिच्ने चलन थिएन। अब कसरी पत्ता लगाउनू?' मैले अलिक दिक्क भएको भावमा भनेँ।
उनी निकैबेर चुप रहिन्। लामो सास तानेर भनिन् 'छन् केही स्मृतिका फोटाहरू। म्यासेन्जरमा पठाउँछु। तर कसैलाई नभन्ने र नदेखाउने कसम खानुहोस्।'
चलचित्रको क्लाइमेक्समा पुगेजस्तै मैले उत्सकु भएर जबाफ दिएँ 'प्रमिस।'
'म खोजेर पछि पठाउँछु ल। अहिले मेरो काम छ बिदा माग्छु।' उनले फोन काटिन्।
म्यासेन्जरमा उनले पठाउने सन्देश पर्खिएर बसेँ म। बिहान त्यसो भनेकी उनले त्यो दिन केही पठाइनन्। भोलिपल्ट म्यासेन्जरमा केही तस्बिर आए। उनले लेखेकी थिइन् 'यी कुराहरू आमाले सँगालेर राखेकी थिइन्। मलाई त उस्तो याद पनि थिएन। आमाका अनुसार पहिलो प्रेमका सौगातहरू अनमोल हुन्छन् रे। उपन्यासमा ती प्रेमीको वर्तमान अवस्थालाई जोड्नै पर्ने छ। उनले लेखेका भावनाको तात्पर्य उनकै मुखबाट सुन्न मन छ।'
कुनै डायरीका पानामा लेखिएका थिए ती तस्बिर। पुराना र खुम्चिएका पानामा धमिला अक्षर भएकाले पढ्न अलिक कठिन भयो। मैले कम्प्युटरमा डाउनलोड गरेर पढ्न थालेँ।
मधुरा तर सुन्दर अक्षरमा डायरीमा लेखिएको थियो -
कुनामा बसेर दुनामा खाने यो सोझो गाउँलेलाई
सम्झना आउँदा बाडुली लाग्दा सम्झनु गाउँलेलाई।
मलुखोलाको छरछरे पानी सुक्दैन कहिल्यै
यात्रामा तिर्खा लागेमा फेरि सम्झनु गाउँलेलाई।।
अर्को सायरी त्यस्तै सृङ्गारिक थियो -
तिमी हिमाल हौ कन्चन र स्वच्छ छवि
जाडो याममा न्यानो दिन झुल्कने प्यारो रबि।
आफू त लेख्न सिक्दै छु बल्ल के गर्नु हजुर
सायरी पढी नभनी दिनु सारै झुर रहेछ कवि।।
दुई वटा सायरी पढेपछि डायरीमा बिछोडिनु परेको कुरालाई कलात्मक रूपमा लेखिएको थियो। पानाको पुछारमा नाम र ठेगाना लेखिएको रहेछ - चन्द्रमणि आचार्य, कक्षा ५, अमरकल्याण मावि नयाँबजार इलाम।
मलाई भनन्न रिँगटा लाग्यो। नाम र ठेगाना मेरै थियो तर हस्तलेखन मेरो थिएन। मलाई त्यस्तो सायरी लेख्न पनि आउँदैनथ्यो। अझै पनि आउँदैन। कक्षा ५ सम्म मेरो नाम चन्द्रमणि आचार्य थियो। खै किन हो कक्षा ६ देखि मेरो नाम परिवर्तन गरेर चेतनाथ आचार्य बनाउनु भयो बाले।
अर्को फोटोमा एउटा कच्याकुचुक परेको पानाभरि उस्तै राम्रा तर मधुरा हस्ताक्षरमा लेखिएको चिठी थियो। चिठीमा लेखिएको थियो -
प्रिय रञ्जना मुटुभरिको माया।
यो प्रेमपत्र पाएर तिमी रिसाउँदिनौँ भन्ने विश्वास छ। अस्ति तिमीले पछाडि फर्किएर मतिर हेरेकी थियौ। त्यो दिन तिम्रो सामाजिक किताब रहेनछ। मसँग माग्यौ। मैले दिएँ। तिमीलाई किताब दिँदा मलाई साँच्चै रमाइलो र खुसी लागेको थियो। त्यसपछि तिमी मतिर हेरेर मुसुक्क हाँस्थ्यौ तर म लाजले बोल्न सक्दिनँ। त्यही भएर आज यो पत्र लेखेको हुँ। जाडो बिदापछि आजैदेखि स्कुल लागेको छ। म त चार कक्षामा पास मात्र भएँ। तिमी तेस्रो भइछौ। तै पनि हामी फेरि एउटै कक्षामा रह्यौँ। तिमीलाई थाहा छ आज प्रेमपत्र लेख्ने दिन रे। यदि तिमी मेरो प्रेम मन्जुर गर्छौ भने मलाई चिठीमा उत्तर देऊ। होइन प्रेम मन्जुर छैन भने मेरो पत्र मलाई नै फिर्ता दिनु। जे भए पनि मलाई मन्जुर छ। उही तिमीलाई चाहने तिम्रो प्रेमी चन्द्रमणि आचार्य।
अरे यहाँ पनि मेरै नाम। म कुहिराको काग बनेँ। राम्ररी सम्झँदा थाहा भयो हामीसँग कक्षा चार र पाँचमा सँगै पढ्ने एउटी केटी थिई। पोक्ची गाला, गोलो अनुहार, गुडियाजस्तै छुँदा मैला लाग्ने जस्तो रूप, थाइकट कपाल काटेकी त्यो केटीको नाम रञ्जना दाहाल थियो। उनका बुबाको नाम सागर दाहाल भनेर सरहरूले कुरा गर्थे। मोरङ बयरबनका उनीहरू दुई वर्षपछि नयाँबजार छोडेर गएका थिए।
अँ सम्झदै जाँदा ती सायरी र प्रेमपत्र मैले नारायण चँदारा साथीलाई लेख्न लगाएको थिएँ। नारायणजीका अक्षर अत्यन्त सुन्दर थिए। उहाँमा सायरी लेख्ने कला पनि उस्तै थियो। हामीले चौरमा बसेर इत्रिँदै प्रेमपत्र लेखेका थियौँ। त्यो दिन २०४१ साल फागुन ३ गते बिहीबार थियो। फेब्रुअरी १४ तारिख परेकाले कक्षा ९ मा पढ्ने गोबिन्द घिमिरेले हामीलाई प्रेमपत्र लेख्नुपर्छ भनेर उल्क्याएका थिए। त्यसैको परिणाम थियो त्यो।
भर्खर नयाँ शैक्षिकसत्र सुरू भएको थियो। त्यतिबेला मंसिरमा शैक्षिक सत्र सकिन्थ्यो र फागुनमा सुरू हुन्थ्यो। दुर्भाग्य त्यो प्रेमपत्रको कुनै जबाफ आएन। कक्षा ५ को अन्तिमतिर रञ्जनाका बुबाको सरूवा भएकाले उनीहरू जाने भए। रञ्जनाले डायरी भर्न दिएकी थिइन्। अरूले भरे भरेनन् थाहा भएन तर मेरो तर्फबाट नारायण चँदाराले उस्तै सुन्दर अक्षरमा डायरीमा सायरीसहित लेखिदिनुभयो।
म चन्द्रमणि आचार्यबाट चेतनाथ भए जस्तै रञ्जना दाहाल रञ्जु खतिवडा भएकी रहिछन्।
उनको प्रेमी को होला भनेर जान्ने चाहनाले उकुसमुकुस भएको थिएँ। तर त्यो प्रेमी त म आफै रहेको थाहा पाएपछि असिनपसिन भएँ। चन्द्रमणि आचार्य मै हुँ भनौँ भने उनले ब्ल्याकमेलिङ ठान्लिन्। यत्रो समय उनको भावनामा खेलेको आरोप पनि लाग्ला। अन्जानमै र अरूका हुँइयाँमा लागेर लेखेको प्रेमपत्र र सायरीले आफैलाई कोर्रा हान्दै गरेको जस्तो लाग्यो मलाई। टाउको ठोक्दै सम्झना थालेँ।
‘अब्बुई उ…बेलाको लभ’ आफै दङ्ग परेँ। साँच्चै अर्गानिक थियो त्यो पहिलो प्रेम।
उनको भावना चोखो थियो तर म उटाङ्गेँ निस्किएँ। अब उनको उपन्यासले कुन मोड लिन्छ भन्ने चिन्ता हुन थाल्यो।
घोत्लिँदा घोत्लिँदै म्यासेन्जरमा उनको कल आयो। उनलाई के जबाफ दिऊँ। भनिदिऊँ तिम्रो बाल्यकालको प्रेमी मरिसक्यो भनेर। हैट आफैलाई कसरी मार्नू! तिम्रो बाल्यकालको त्यो प्रेमी म नै हुँ भनेर भन्ने आँट त छँदैछैन।
असमञ्जसको भुँवरीमा बेरिँदै मैले पहिलोपटक उनको फोन काटिदिएँ। रन्थनिँदै वाइफाई अफ गरेर बर्लङ्ग ओछ्यानमा उत्तानो पल्टिएँ।