मीरा तपाईं जस्तै 'जेन-जी' हुन्। 'जेन-जी' को आफ्नै स्वभाव छ। तपाईं पनि 'जेन जी' हो भने थाहा छँदैछ। उनी पनि ठ्याक्कै तपाईंले जस्तै एकछिन भनेर घण्टौं साथीसँग फोनमा गसिप गर्छिन्। बेला-बेला टिकटक भिडिओ बनाउँछिन्!
दिक्क लाग्नासाथ साथीहरूलाई 'र्यान्डम स्न्याप' पठाउँछिन्, 'इन्स्टा पोस्ट' मा आएका लाइक्स दोहोर्याई दोहोर्याई हेर्छिन्। लभ रियाक्टबाट आफ्नो लोकप्रियता जाँच्छिन्, कमेन्ट हेरेर मुसुक्क मुस्काउँछिन्!
उनीसँग कहिले नछुट्ने कुरा बनेको छ, उनको नयाँ आइफोन। उनी घरबाहिर निस्किनुअघि ऐना अगाडि टक्क अडिन्छिन्, मिरर सेल्फीमा आफू ठीकठाक रहेको यकिन गर्छिन् र आफ्नो कालो रेसमी कपाल देखेर मख्ख पर्छिन्।
नेटफ्लिक्समा कोरियन ड्रामा कहिल्यै नछुटाई हेर्ने उनलाई अहिले 'स्कु इड गेम्स' सिरिजले तानेको छ। सिरिजमा झैं च्यालेन्ज र डेयर उनलाई पनि उत्तिकै मनपर्छ। त्यसैले त साथीहरूमा पनि उनको छुट्टै 'भाइब्स' छ।
मीरा अरू सबैझैं घुलेकी छिन्, आफ्नो यस डिजिटल दुनियाँमा।
उनी नेपालमा छिट्टै ब्याचलर सकेर परिवारसँग बस्न अस्ट्रेलिया जाने निश्चित जस्तै छ। उनका सपनाले उनलाई अझै चाँडो नबोलाएको होइन, यतै रोजेको फ्याकल्टीमा भर्ना पाएपछि उनले आफैले पर धकेलेकी मात्र हुन्।
घरमा मीरासँग हजुरआमा बस्नुहुन्छ। उसो त हजुरआमासँग हुर्किएकी उनी अचेल बेला-बेला धैर्यता गुमाउँछिन्। मनमनै सोच्छिन्, 'आमा जहिल्यै त्यै पुरानो कुरा गर्नुहुन्छ, त्यै पुरानो सुनिसकेकै कथा सुनाउनु हुन्छ, बिस्तारै हिँड्नु हुन्छ, अनि मोबाइल चलाउन जति सिकाए पनि कहिले जान्ने होइन।'
हुन पनि हजुरआमालाई अस्ट्रेलियामा रहेका मीराका ममी बाबासँग भिडिओमा जोड्ने काम आजसम्म पनि मीराकै हुने गर्दछ।
आज फेरि बिहानै आमा 'नानी मेरो चस्मा कता राखे, हेर्दै त बा' भन्दा मीरा दिक्दार मान्दै बेडरूममै भुत्भुताइन्।
काम गर्ने दिदीलाई झर्को मान्दै चर्को स्वरमा भनिन्, 'आमाले फेरि बिर्सिनुभयो, चस्मा खोजिदिनोस् त दिदी।'
शान्त सालिन आमाले मीरालाई बोलाउँदै भनिन्, 'आऊ तिम्रा लागि हलुवा पस्केकी छु, बस। मैले चस्मा भेटाइसकें। बुढेसकाल लाग्यो बाबै। के गरूँ?'
बिहान बिहानै पाकेको आफ्नो फेब्रेट हलुवा खानेकी नखाने भन्ने दुबिधा 'वेट कन्सियस' मीराको सधैंको हो।
'तिम्लाई ठूलो भएर के गर्न मन छ मीरा?' आमाले हलुवा पस्कँदै सोध्नुभयो।
अधिकांश बाल्यकाल आमासँगै बिताएकी मीराको आमासँगको सम्बन्ध विशेष छ। मीराका बाबा-ममी अस्ट्रेलियामा आफ्नो भविष्य खोज्दा परिवारको दरिलो सहारा बनेर आमाले नै हुर्काएकी हुन्।
'हजुरलाई थाहा छ त, मलाई त घुम्नु छ, आफ्नै पैसाले, आफ्नै तालमा, सप्पै देश, आमा।' हुन पनि मीराले संसार घुम्ने सपना आफ्ना चम्किला आँखामा सजाएको थोरै भएको छ र? उनलाई थाहा छ- अस्ट्रेलिया त बस एउटा खुड्किलो हो, उनका इन्डिपेन्डेन्ट सपनाहरूका निम्ति।
'आमा तपाईंलाई संसार घुम्न मन लाग्दैन?' उनले सोधिन्।
आमाको जबाफ, 'लाग्दैन बा। मलाई यतै आनन्द छ' सुन्दा उनलाई आश्चार्य लाग्छ।
आमामा अपेक्षित उत्साह नदेखेपछि, एकछिनमा सोधिन्, 'तपाईंलाई कस्तो महशुस हुन्छ, आमा?'
'तिम्लाई साँचै जान्न मन छ, मीरा? बुढेसकाल कस्तो हुन्छ? म कस्तो अनुभव गर्छु? तिमी जम्मा एक दिन म जस्तो भएर बिताउ, हुन्न? मञ्जुर छ त च्यालेन्ज ?' आमाको अनपेक्षित जबाफ आउँछ।
'स्कु इड गेम्स' की दर्श मीरा चुनौतीसँग भाग्ने कुरै भएन। हजुरआमाको जबाफमा मिसिएको 'च्यालेन्ज' शब्द मात्रै उनलाई गजब लागेको हो। उनले हुन्छको भावमा टाउको हल्लाइन्।
अर्कोदिन सबेरै- काम गर्ने दिदिले मीरालाई एक जोडी ग्लभ्स दिइन्, जुन एकदमै भारी, बाक्ला र चिप्ला छन्। चिसोमा बाफले ढाकेको वा पानीले भिजेको प्रतित हुने एक चस्मा, जसले मीराको उज्यालो दनियाँ हिजोभन्दा निकै मधुरो देखिन्छ।
एक जोडी कानमा लाउने एयर फोन जसमा बाहिरी आवाजलाई मधुरो पर्ने अन्य आवाज राखिएको छ। यसमा कानमा बतास सुसाएजस्तो बेलाबेला आवाज समेत आउँछ। त्यसपछि क्रमश: काम गर्ने दिदीले आमाको इसारामा मीराको पाखुरा र घुँडामा टाइट ब्याण्डले बाँधिन्। अब भने मीराले शरीर चलाउन अलिकति अप्ठ्यारो जस्तो महसुस गरिन्। आमाले उनलाई सजिलो होस् भनेर एक लौरो समेत दिन अह्राइन्।
आमाले भनिन्, 'छोरी तिमीले आज सम्पूर्ण दिन राति सुत्ने बेलासम्म घरमै बिताउन पर्छ है।'
मैले तिम्रो कलेजमा कुरा गरिसकें।
उनले फिस्स हाँस्दै भनिन्, 'यो त के च्यालेन्ज भयो र? यसमा के नै अप्ठ्यारो छ?'
यसरी सुरू भयो मीराको १ दिने आमा च्यालेन्ज।
तपाईंलाई के लाग्छ? के आज मीरा दिनभरी अन्य दिनझैँ घरमै बिताएर यो च्यालेन्जकी सजिलै विजेता बन्छिन्? जितेपछि उनले आमालाई आफ्नो अनुभव सुनाउने र त्यसपछि आमाले उनलाई मन लागेको मलमा सपिङ लैजाने सम्झौता भएको छ। उनको पूर्ण कोसिस जित्नुमा रहनेछ भन्नेमा दुईमत छैन। उसै पनि दिनभरमा यो आमाले के नै काम गर्नुहुन्छ र?' उनले मनमनै सोच्छिन्।
उनी अचम्ममा तब परिन्, जब उनलाई दिइएको बडेमानका पन्जा आफ्नो हातमा लगाइन् र उनलाई आफ्नो गाउनको बटन फुकाउन निकै अप्ठ्यारो महसुस भयो।
नियम अनुसार मीराले दिइएका वस्तुहरू दिनभर फुकाल्न मिल्दैन। उनले हिम्मत हारिनन्। जसोतसो समय लगाएर लुगा फेरिन्, आफ्ना नित्य काममा लागिन्।
आज उनलाई अन्य दिन जस्तो नेटफ्लिक्सले मज्जा दिएन। देख्ने सुन्ने अनुभव अरू दिन जस्तो नभएको उनलाई मुभीले अरू दिन जस्तो तानिरहन सकेन। उनलाई छटपट भएर आयो। मोबाइल चलाउँदै घण्टौं बिताउने उनका निम्ति आज टिकटक, इन्स्टा आदि रुचिकर रहेनन्। साथीहरूलाई देखाउनुपर्ने केही थिएन।
उनले लगाएको चस्माले मोबाइलको म्यासेजसम्म देख्न निकै सकस भइरहेको थियो उनलाई। हिजोसम्म बुरुक-बुरुक उफ्रिँदै घरको कुना-कुना चहार्ने मीरा आज सुस्तरी सम्हालिँदै हिँड्दै थिइन्। भर्याङ चढ्न ओर्लन समेत निकै समय लगाइन्। त्यो जाबो लट्ठीले के नै पो सहयोग हुन्थ्यो र?
सबै कुरा देखेकी काम गर्ने दिदी बडो चाखले यी सबै कुरा आमालाई बेली बिस्तार लगाउँदै थिइन्। उता मीराको शरीर आज अन्य दिन जस्तो हलुको थिएन। दिन ढल्दै जाँदा उक्त नमिठो अनुभूति बाक्लिँदै गयो। स्वभावले हक्की मीरा कहाँ यति चाँडै हार मान्थिन् र ? उनको यो जिद्दी स्वभाव आमाबाट पनि कहाँ लुकेको छ र? अस्ति त हो साथीहरूसँग राति नाइट सो मूभि हेर्न जाने भनेर अड्डी कसेको। उनका अघि आमाको कहाँ चल्छ र?
त्यसैले यसलाई अझै अलिकति कठिन बनाउन आमाकै निर्देशन अनुसार काम गर्ने दिदीले पनि होस्टेमा हैंसे थप्दै मीरा नजिक बोलचाल गर्दा अन्य दिन भन्दा सुस्तरी मधुरो आवाजमा कुरा गरिन्।
फलस्वरूप अन्य बिदाको दिन खाना खाने समयमा दिदी र आमासँगै गफिने मीरालाई आज दुई जनाले बोलेका शब्दहरू अड्कल्दै बस्नपर्यो।
दिउँसो मीरा केही काम गर्न खोज्दा निकै अलमलमा परिन्। सामान्य काममा समेत निकै संघर्ष गर्नु परिरहेको थियो उनलाई। आज दिदीले पनि उनी अलमलिँदा सहयोग गर्न कुनै हतार गरिनन्। अन्य दिन आमाले सहयोग माग्दा मोबाइलमा झुन्डिएर 'पख्नुस् न आमा' भन्दै समय लगाउने मीरालाई आज आफ्नै व्यवहारको स्वाद चाख्न परेको थियो।
मीरा दिनभरमा निकै दिक्दार भइन्। 'बेक्कार च्यालेन्ज लिएछु' भनेर भुत्भुताइन्।
उसो त आमालाई नातिनीको माया नलागेको होइन तर उनका निम्ति यो च्यालेन्ज महत्वपूर्ण पनि उत्तिकै थियो नि, हैन।
साँझपखसम्म मीराको शरीर निकै थाकिसकेको थियो। उनले आज दिनभरिमा चिया ग्लास घोप्ट्याएकी थिइन्, गमलामा पनि हाल्दा उनको आफ्नै लुगा भिजेको थियो र अझ हिँड्दा हिँड्दै कार्पेटमा अल्झेर लडेकी समेत थिइन्।
मीरालाई कलेज नआएको देखेर साथीहरूले गरेको फोनकल समेत मिस गरेकी थिइन्। दिउँसो चिया गफमा समेत एक्लै झोक्राएर बसेकी थिइन् उनी। आमा र दिदीको कुरामा सहभगी हुँदा सुन्न छुटेका कुरा संकोचले दोहोर्याएर सोध्न सकेकी थिइनन् उनले। यस्तो अनुभूति उनलाई पहिलोपल्ट गरेकी थिइन्। उसो त कलेजमा प्रश्न गरिरहने उत्सुक छात्रामा गनिन्छिन् उनी। तर आज.….
तर उनलाई सप्पै भन्दा अप्ठ्यारो कुरा महसुस भएको भनेको एक्लोपन। भिडिओ कलमा सबै जना हाँसेर गफगाफ गर्दा बुझेर फर्काउन नसक्दा निकै एक्लो महसुस गरेकी थिइन् उनले। आज भिडिओ कल दिदीले जोडिदिएकी थिइन्। यसैकारण पनि होला पहिलोपल्ट महसुस गरिन्, आफू हरेक कुरामा छुटेको। आफ्नो कुनै आवश्यकता कसैलाई नभएको महसुस गरिन् उनले। हुन त उनलाई थाहा छ, यो अरूले आफ्नो वास्ता नगरेर भन्दा पनि अरूले आफ्नो समस्या पत्तै नपाएर भएको रहेछ। उनले सोचिन्, 'कति बुबा-आमाहरू नजानिँदो तरिकाले एक्लो महसुस गरी बाँचिरहेका होलान् है ?'
हुन पनि एक्लोपनले वृद्धवृद्धाहरूमा ल्याउने मानसिक सामाजिक समस्याहरू कहाँ लेखाजोखा राखिएको छ र? यो फास्ट पेस जिन्दगीमा सुन्ने मान्छे नै नभएपछि कसलाई सुनाउने?
यस्तै कुरा मनमा खेलाउँदै एकछिन घोत्लिइन्। उनलाई बिस्तारै हजुरआमालाई हेर्ने दृष्टिकोणमा परिवर्तन भएको महसुस भयो। उनका आँखा रसाउँदै थिए।
साँझपख मीराले ग्लभ्स र चस्मा फुकालिन्। आमाले आफूलाई सिकाउन खोजेको पाठ बुझिसकेकी उनलाई छिट्टै आमाको न्यानो काखमा बस्न हतारो थियो।
उनले आफू रातिसम्म उक्त चुनौती सामना नगर्ने जनाइन्। दिदीले कसेर बाँधिएको ब्याण्ड फुकाल्न सहयोग गर्नुभयो। त्यसपछि उनको शरीर त हलुको भयो तर मन निकै भारी भएर आयो। मलिन अनुहार लगाउँदै उनी सुस्तरी स्वेटर बुन्दै गरेकी आमा कहाँ गइन्। बिस्तारै 'आमा' भनिन्। कम्पित स्वरमा उनले बोलिन्, 'यति गाह्रो रहेछ हजुरलाई, महसुस गरेकी थिइनँ आमा मैले। रूखो भएकोमा माफ गरिदिनुहोस्। प्रत्येक दिन कति कुरा सहेर बाँच्न पर्दो रहेछ। मलाई त सम्झेर कस्तो दु:ख र डर लागिरहेछ आमा।'
आमाले मुस्कुराउँदै मीराको हात समाइन्।
उनी सम्झाउन थालिन्- प्यारो नानु, बुढेसकाल कुनै श्राप होइन। जीवनको एउटा पाटो न हो। शरीर काँपेको भए पनि मन स्थिर हुन्छ नि बुढेसकालमा। काम थोरै गर्न सके पनि, माया धेरै गर्ने आँट गर्न सकिन्छ नि बुढेसकालमा। तिमीले पनि कुनैदिन यही बाटो हिँड्नै पर्छ छोरी। त्योबेला तिमी अझै राम्ररी बुझ्नेछौ। बुढेसकालको आफ्नै नियम छ। अरूबेला जस्तै आफ्नै बाध्यता छ, आफ्नै स्वतन्त्रता छ। आफ्नै उद्देश्य छ, यी रजत वर्षहरूको नानु।'
दुवैले एकअर्कालाई अंकमाल गरे।
अचेल मीरा बुझक्की भएकी छन्। आमाले केही काम गर्न खोज्दा, आमाको छाया बनेर उनलाई सघाउँछिन्। उनी अचेल सधैं आमाका पुराना कथा सुन्न बस्छिन्, पुरानै सुनेका कथामा पनि नयाँ स्वाद, नयाँ सन्देश पाउँछिन्।
अचेल आफ्ना काला रेसमी कपालसँगै उनलाई आमाका सेताम्मे कपाल पनि उत्तिकै गजब लाग्दछन्। उनलाई ती बादल फाट्दा देखिने सूर्यबाट देखिने चाँदिका घेरा जस्ता लाग्छन अरे। एकदिने आमाको च्यालेन्जले उनलाई अरूप्रति अझै संवेदनशील बनाएको छ।
मीरा युवा पुस्ताकी प्रतिनिधि पात्र न हुन्। आत्मनिर्भर युवा विदेश पलायन हुँदा, समाजको जग भत्किन समय नलाग्ला। यसको प्रत्यक्ष-परोक्ष असर सुरुमा हाम्रा आफ्नै बा-आमामा पर्न सक्छ। आफ्नो करियर देशमा खोज्ने कि विदेशमा भन्ने प्रमुख प्रश्न रहेका युवालाई सायद आफ्ना हजुरबा-हजुरआमाको समस्याहरूप्रति संवेदनशील रहन उत्तिकै चुनौतीपूर्ण छ। 'जेन-जी'ले आफूलाई यत्तिको सबल बनाउने, समर्पणभाव राखेर ठूला-ठूला सपना पछ्याउन आफ्नो काँध थाप्ने पुस्तालाई कसरी पे ब्याक गर्ने हो, त्योचाहिँ हेर्न बाँकी छ।
यता मीरा चाहिँ अचेल साथीहरूसँग ट्रुथ एण्ड डेयर खेल्दा उनको फेबरेट बनेको छ आमाको डेयर।
बुढेसकाल बुझाउने, वृद्धवृद्धाप्रति युवा पुस्तालाई संवेदनशील बनाउने उक्त च्यालेन्जलाई मीराले नाम दिएकी छिन्- 'बा-आमा स्कु इड गेम्स'। हरेकपल्ट घरमा आउने साथीहरूलाई डेयर दिनुपर्दा उनी भन्छिन्, 'खेल्ने हो त बा-आमा स्क्विड गेम्स? मञ्जुर छ त च्यालेन्ज?'
(लेखक बुढेसकालसम्बन्धी समस्या र वृद्ध वृद्धाको स्वास्थ्यमा विशेष रूचि राख्दछन्।)