तीन बिस हिउँद कटेपछि
जीवन यात्राका
अनगिन्ती मोडहरू पार गर्दै
सिप र सिर्जना बाँडेर
परिवारको दुःख सुखमा
बैसाखी जस्तै
सहारा बनी
पीडाहरू पचाएर
दुःखहरू चपाउँदै
व्यथाहरू साटासाट गरेपछि
जीवन उत्सर्ग गरेर
समयसँग पौँठेजोरी खेल्दै
युग हाँक्ने सारथि
तपाईं, ज्येष्ठ नागरिक।
छोराछोरीको दुःखमा
दुःखी हुँदै
छोराछोरीको सुखमा
सुखानुभूति प्राप्त गरेर
सन्तानलाई असल बाटो देखाउने
समाज परिवर्तनका
संवाहक तपाईं
कहिले विद्रोह बोल्नु भयो
कहिले समता खोज्नु भयो
तपाईंकै बाहुबलमा
समाज परिवर्तन भएपछि
परिवर्तनका चौतारीहरूमा
थकाइ मारेर
साथीभाइसँग
अङ्कमाल गर्नुभयो।
असमानताका पहाडहरू छिचोलेर
सन्तानका सारा सपना पूरा गर्न
रातो दिन तल्लीन रहनु भयो
जीवन त यात्रा रहेछ
यात्रामा
कहिले मर्नु भयो
कहिले बाँच्नु भयो
काँडाहरू पन्छाउँदै
आफ्नो गन्तव्य टेक्नु थियो
गन्तव्य टेक्नु भयो या टेक्नु भएन?
तपाईंको हिसाबकिताब कसले राख्यो?
तपाईं त बहादुर मान्छे
यात्रा रोक्नु नै भएन
गन्तव्य अलि टाढै भए पनि
गन्तव्य पुग्ने तपाईंको उत्साह
आत्मसात् गर्दै
गन्तव्य चुम्नु भयो नै होला!
नसुनाउनोस् हृदयविदारक कहानी
हाम्रो मन धरधरी रुन्छ
छोराछोरी
तपाईंकै बाटो हेरी बसेका थिए होलान्
यात्रा टुङ्ग्याएर
घर परिवारको जोहो मिलाउन
तपाईं गाउँ फर्कनु भएको हैन र?
तपाईं आएको खबर सुनेपछि
गाउँलेहरू पीडा लुकाएरै
हातमा फूलका गुच्छा बोकेर
तपाईंको स्वागतमा निस्किएका हैनन् र?
तपाईं त निर्भय हिँड्न सक्ने मान्छे
तपाईं स्तुत्य हुनु हुन्छ
तपाईंको पूजा गरिनु पर्छ।
इतिहास बन्ने छ तपाईंको जीवन
तपाईं दाइ-भाउजूबाट
आमा-बुबा बन्नुभयो
समय गतिशील छ
क्रमशः तपाईं बाजे-बोजू बन्नु भयो
नाति-नातिना काखमा राखेर
आशीर्वादका हातहरूले
शिरमा न्यानो स्पर्श गर्नु भयो
तपाईं अभिभावकको पनि अभिभावक
देश दुःखेको बेला
देशलाई सुमसुम्याउँदै
पथ प्रदर्शक बनेर
छोराछोरीहरूले
शाहदत्त प्राप्त गरे पनि
आँखाबाट आँसु छिपाएर
दुःखेको मनलाई
आफैले मलमपट्टी लगाउँदै
मुस्कान छरिरहनु भयो।
तपाईं कति धैर्यवान्?
तपाईं कति सहनशील?
तपाईं कति महान्?
तपाईंका ऊर्जाशील बिचारहरूले
तपाईंको अदम्य साहसहरूले
देशकै कायापलट भएको छ
तपाईंका बिचार र परिवर्तनकामी सोचलाई
हृदयदेखि नै हार्दिक सलाम छ।
तपाईं सहारा विहीन बन्नु हुँदैन
मायालु ओतको खाँचो छ
जीवन जीर्ण हुनै लाग्दा
भरोसाका लौराहरू टेकाउनु पर्छ
रोग व्याधले ग्रसित भएपछि
औषधि पानी पिलाइनु पर्छ
जब अन्तिम अवस्था हुन्छ
तपाईंका मनोकाङ्क्षाहरूलाई
सकेसम्म पूरा गरिनु पर्छ।
ओ महान् मान्छे!
हामीलाई आशीर्वादको खाँचो छ
हामी शिर थापी बस्छौँ
शिर स्पर्श गरी दिनुपर्छ।
दीर्घायुको कामनासहित
सुखमय जीवनको अपेक्षा राख्छौँ
दुई कर जोडी
हामी निरोगताको
विनीत भावमा
निरन्तर प्रार्थना गछौँ।
तपाईंको खुसी नै
हाम्रो खुसी ठान्दै
यात्रामा बामे सरिरहेका हुन्छौँ
जब हाँस्नु हुन्छ तपाईं उन्मुक्त भएर
तब मात्रै
हामीले संसार जिते जस्तो ठान्छौँ।